१३ मंसिर २०७९ मंगलबार
विचार

लखेटिने पालो

श्री ३ वीरका छोरा प्रधानसेनापति रुद्रशमशेरलाई पदच्युत गरेर श्री ३ जुद्धले पाल्पा धपाए। ऊबेला जुद्धले भनेका थिए–“कमान्डर–इन–चिफ, म तिमीहरूको मेल होस् भनेर १८ महिना अडेर बसेँ। तर दुई पार्टीको मेल हुन सकेन। मेरो त रणोद्दीपकै गति हुने भो। त्यसैले, एक पार्टीलाई मैले हटाउनै पर्‍यो। अब तिमी पाल्पा जाऊ। उहीँ गएर बस। हिरण्य अलि रोगी छ, ऊ धनकुटा जाओस्। सानु राजा (प्रतापशमशेर), तिमीचाहिँ इलाम जाऊ। रामशमशेर दौडाहामा गएको छ, उताबाट आएपछि मिलाउँला।” घटनाका प्रत्यक्षदर्शी बालकृष्ण समले रोचक शैलीमा लेखेका छन्।

सिंहदरवारको पश्चिम–उत्तरको चउरमा ‘स्विस कटेज’ भनिने ठूलो पाल टाँगिएको थियो। दिउँसो १२ बजे (१९९० चैत ५ गते) सबै भेला भए। भय, बेचैनी, शंका, षडयन्त्र, विद्वेष, प्रतिशोध, पश्चाताप, अन्योल र अनन्त प्रश्नहरूको मेला जस्तो थियो, त्यो भेला। सबै मुखामुख गरिरहेका थिए। सबैको मुहारमा उत्सुकता र प्रश्नैप्रश्न थियो।

राजा त्रिभुवन त्यहीँ थिए। उनी ‘भाग्ने र भगाउने’ खेल हेरिरहेका थिए। ‘देखिजान्ने, सुनिजान्ने किनाराका साक्षी’ र लाचार देखिन्थे उनी। यही सिंहदरवारमा उनले धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज जोशी (शास्त्री) र टंकप्रसाद आचार्य लगायतलाई श्री ३ जुद्धले चरम यातना दिएको हृदयविदारक दृश्य अनाथ जस्तो भएर टुलुटुलु हेरेका थिए। त्रिभुवनले ती क्रान्तिकारीलाई ‘डेमोक्रेसी ल्याउन’ मद्दत गरिरहेका छन् भन्ने रिपोर्ट पाएका जुद्धले व्यंग्य गर्दै भनेका थिए–कीराहरूले हीरा नै बिगार्न लागे।

१९९० माघ २ गतेको महाभूकम्पपछि ठूलो राजनीतिक भूकम्प गयो। भाग्ने र भगाउने खेल सुरु भयो। १९९० चैत ५ गते प्रधानसेनापतिलाई डाँडा कटाइयो। बेलुका चार बजेतिर बग्गीमा उनी थानकोट पुगे। आफ्नो प्रिय सहर काठमाडौँलाई टाढाबाट धीतमरुन्जेल हेरे। उनको आँसु थामिएन। रुमालले आँसु पुछ्दै ज्वालामुखी रोक्न खोजे। मन भक्कानिएको थियो।

राजा त्रिभुवन २००७ कात्तिकमा सपरिवार भारत गए पनि सुन्धारा नजिक हरि शमशेरको बागदरवार (राजा महेन्द्रको ससुराली घर) मा छुटेका थिए, त्रिभुवनका महिला नाति ज्ञानेन्द्र। राजगद्दी रित्तो राख्न नमिल्ने परम्परा भएकाले श्री ३ मोहन शमशेरले भारदारी सभा डाकेर तत्काल राजाका बारेमा टुंगो लगाउनुपर्ने कुरा उठाए।

राणाका केही चाकडीबाजले भाग्ने राजा र उनका सन्तानलाई मान्यता नदिऊँ भन्ने तर्क गरे। छलफल चर्किँदै गर्दा बडाकाजी रत्नमान सिंहले जुरुक्क उठेर बिन्ति गरे-“काटिबक्सन्छ भने सेवक गर्धन थाप्न तयार छ तर राजा त्रिभुवनलाई गद्दीच्युत गर्ने कुरा कदापि मञ्जुर छैन। तसर्थ, राजाका नातिलाई श्री ५ महाराजाधिराज घोषणा गरिबक्स्योस्। १९९० सालमा राणाजीहरूलाई ‘एबिसी’ जस्ता तीनवटा क्लासमा विभाजन गरेर हजुरहरूले गुहुको टीका पहिरिबक्सेको छ। त्रिभुवन सरकारलाई हटाइबक्सेमा त्योभन्दा पनि ठूलो गुहुको टीका पहिरिबक्सनेछ। त्यस्तो भूल नगरिबक्स्योस्।” यसको चर्चा गरेका छन्, इतिहासकारहरूले।

‘रत्नमान अब मारिने भयो’ भन्ने खासखुस चलेछ त्यहाँ। मोहन शमशेरले ‘मलाई श्री ५ हुने इच्छा छैन र राजा त्रिभुवनलाई च्युत गर्ने मनसाय पनि होइन’ भन्दै ‘त्रिभुवनका नाति ज्ञानेन्द्र नेपालमै होइबक्सन्छ, उहाँलाई नै गद्दी–आरोहण गराइनेछ’ भनेपछि सोही अनुसार हनुमानढोका दरवार (वसन्तपुर) स्थित नासलचोकमा बालक ज्ञानेन्द्रलाई राजगुरुले वेदका ऋचाहरू उच्चारण गर्दै राजमुकुट पहिरिदिएपछि शंकाको बादल हट्यो।

राजनीतिक अस्थिरता नहोस् र सयौँ वर्ष पुरानो राजपरम्परा अटुट, अविरल र अहर्निश रहोस् भन्ने मोहन शमशेरको सुझबुझपूर्ण फैसला परिपक्व थियो। श्री ३ चन्द्रका छोरा मोहनले श्री ५ बन्ने रहर गरेको भए भाग्ने र भगाउने खेलको नयाँ सिलसिला सुरु हुन सक्थ्यो।

इलाममा कक्षा ११ पढिरहेकी एउटी नानीले फोनमा भनिन्– “बुबा, म तपाईँका लेखहरू पढ्ने गर्छु। त्यसमा हिस्ट्रीको फ्लेवर (सुवास) हुन्छ। मन छुन्छ।” वास्तवमा नवीन पुस्ताकै लागि म लगातार लेखिरहेको छु। राष्ट्रप्रति गर्व गर्नुपर्छ भनिरहेको छु। संविधानविद् भीमार्जुन आचार्यदेखि लिएर धेरै मित्रले भन्नुभयो-“यसरी लेखिरहँदा नयाँ पुस्तालाई सचेत बनाउन सकिन्छ। राष्ट्र लुट्नेहरूलाई कसै न कसैले नियालेर हेरिरहेको छ भन्ने सन्देश दिन सकिन्छ।” शब्दशक्तिले ट्यांक पगाल्न सक्दैन तर कठोर मनहरू पगाल्न सक्छ भन्ने मेरो बुझाइ छ।

चेतनशीलहरू चाँडै उठ्छन्, बुद्धुहरू घर जल्न थालेपछि तातोले ब्युँझिन्छन्। अहिले नेपाली जनता ‘अब त अति भो’ भन्दैछन्। पढेलेखेका युवा भन्दैछन्–इनफ इज इनफ।

जहाँका युवा पुस्तामा इतिहास, धर्म, संस्कृति, परम्परा र पुर्खाको गाथाप्रति ज्ञान र श्रद्धा हुँदैन, त्यो राष्ट्र साँच्चै लुलो हुन्छ। संस्कारहीन घर भाँडिए जस्तो बिस्तारै राष्ट्र धुलो हुन्छ। जसरी विदेशी दान–दातव्यमा पराश्रित, परावलम्वी र पराधीन भएर धेरै राष्ट्रले आफ्नोपन गुमाए, त्यसरी नै हामी परमुखापेक्षी भयौँ भने नेपाल र नेपाली दुवैको पतन हुन्छ भन्ने ज्ञानीजनहरूको तर्क निराधार छैन।

जनता रिसाउँदा बर्माका राजा थिबाओ मिन भागे। ब्राजिलका राजा थिए, पेद्रो (द्वितीय), उनी पनि भागे। भियतनामका राजा थान्हथाइ, पोर्चुगलका राजा म्यानुअल (द्वितीय), लिबियाका राजा इद्रिस, थाइल्यान्डका राजा प्रजादीपक, इटलीका शासक भिक्टर इमान्युअल लगायत कैयन् राष्ट्रपति, प्रधानमन्त्री पलायन भएका छन्। जनता जब जाग्छन् तब राष्ट्रघाती भाग्छन्।

इतिहासले कोल्टे फेर्न लाग्दा जटिल प्रश्नहरू अनुत्तरित रहन्छ। सिक्किमलाई भारतले निल्दा चीन किन मौन बस्यो? इथियोपियालाई इटालीले सताउँदा लिग अफ नेसन्सको मौनता के जायज थियो ? जापानले चीनमा हमला गर्दा विश्वसंस्था किन बोलेन? ‘द ग्रेट इस्युज अफ पलिटिक्स’ ग्रन्थमा लिप्सनले विश्लेषण गरे जस्तो दोस्रो विश्वयुद्ध हुने धेरै कारणमध्ये ‘हेपिएका’ राष्ट्रको पीडा पनि एक थियो। पचासपल्ट ‘परिवर्तन’ भए पनि राष्ट्र र जनताको अवस्था सुध्रेन भने पटकपटक विद्रोह हुन्छ। चेतनशीलहरू चाँडै उठ्छन्, बुद्धुहरू घर जल्न थालेपछि तातोले ब्युँझिन्छन्। अहिले नेपाली जनता ‘अब त अति भो’ भन्दैछन्। पढेलेखेका युवा भन्दैछन्–इनफ इज इनफ।

धेरै राष्ट्र युरोपियन युनियन, चीन, अमेरिका जस्ता शक्तिका छायाँमा छन्। दक्षिण एसियाका राष्ट्रमा भारत ‘स्वामी–राष्ट्र’ (लिडर स्टेट) बनेको छ। सुनको हत्कडी लगाएर विदेशीका युद्धबन्दी (प्रिजनर अफ वार) बनेका छन्, नेपाल लगायतका कतिपय राष्ट्रका अगुवा। काठमाडौँ सहरका केही तस्करले इन्द्रावती नदीतटका दरिद्र माझीहरूका नाममा ‘लोन अफ क्रेडिट’ र व्यापारगृह खोलेझैँ नेपालको सार्वभौमसत्ताका मालिक भनिएको छ, जनतालाई। जनताका नाममा रहस्यमय पात्रहरूले निर्णय गर्छन्। राष्ट्र दिनदिनै भासिँदै गएको छ।

ब्रसेल्स, चीन, वासिङ्टन र मस्कोलाई ‘पिताजी’ मान्ने धेरै राष्ट्र आज सुनको हत्कडी र हीराको माला लगाउने दास बनेर साम्राज्यवाद र विस्तारवादको सेवक भएका छन्। दोस्रो विश्वयुद्ध (सेप्टेम्वर १, १९३९-सेप्टेम्वर २, १९४५) पछि दुई ध्रुवमा विभाजित विश्व आज ध्रुवीकरणको नयाँ चरणमा प्रवेश गरेको छ। संयुक्त राष्ट्रसंघले निष्पक्षता गुमाइरहेको यो अवस्थामा दुर्दमनीय परिस्थितिले अपूर्व संकट उत्पन्न हुन सक्ने जोखिम बढ्दैछ।

सन् १९४९ मा कम्युनिस्ट शासन सुरु हुँदा चीनलाई समर्थन गर्ने पश्चिमी राष्ट्रमा ब्रिटेन पनि एक थियो। कालान्तरमा माओको नीति त्यागेर देङ स्याओ–पिङ्ले विश्वका लगानीकर्तालाई आकर्षित गर्ने बाटो बनाए। १४ अक्टोबर १९९० मा प्रकाशित ‘चाइना डेली’ पत्रिकामा चीन विश्वको ‘आठौँ ठूलो अर्थ–व्यवस्था’ भएको राष्ट्र भनिएको छ। बत्तीस वर्षपछि चीन अमेरिकासँग टक्कर लिने शक्ति बन्नुको प्रमुख कारण हो-स्थायित्व र स्वाभिमान। उनीहरूले संसारका राम्रा कुरा स्वीकार्दै गए पनि साम्राज्यवादी र विस्तारवादीको जुठो खाएनन्। राष्ट्र सदैव सर्वोच्च हुन्छ भन्ने बिर्सेनन्।

आज कुनै पनि राष्ट्र समस्याहीन छैनन्। चीन र अमेरिकाका आफ्नै समस्या छन्। भारतमा बाइस प्रतिशतभन्दा धेरै जनता गाँस, बास र कपासको चिन्ताले घेरिएको तथ्यांक छ। अफगानिस्तान, सोमालिया, म्याडागास्कर, सियरालिओन, नाइजर, लाइबेरिया, कंगो, बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिक आदि हेरेर नेपालका कतिपय नेता र जिम्मेवार व्यक्ति भन्दैछन्-“उनीहरूको लंगौटी पनि फाटिसक्यो। हामीसँग त थोत्रो सुरुवाल छँदैछ।”

२०४६ सालपछि दलहरूलाई कसैको अंकुश थिएन। २०६४ सालपछि दल–गुट होइन, आठ दश जनाको ‘ग्याङ’ मिलेर राष्ट्र हाँकिरहेको अवस्था छ। ठाडो उकालो चढ्न नसक्दा गाडी ओरालोतिर झर्दैछ। ‘अरूले गीत गाएको भन्दा साइलीका बाउले सुसेलेको राम्रो’ देख्ने लाखौँ कार्यकर्ता यिनै भ्रष्ट, गतिछाडा, गफाडी, पामर, हुतिहारा, नामर्द र कर्तव्यच्युतहरूका पछिपछि कुदेका छन्। यही अवस्था रहिरहेमा वा ‘जिम्मेवारहरू’ अनुत्तरदायी भइरहेमा राजनीतिलाई धनार्जनको माध्यम बनाइरहेका कथित नेतागण कुखुरा चोर्न गाउँ पसेको स्यालझैँ लघारिने दिन धेरै टाढा छैन।

नेपालको आन्तरिक मामिलामा जरैदेखि हस्तक्षेप गरिरहेका विदेशीलाई किन देश निकाला गर्न सकिँदैन? सुदूर गाउँसम्म पुगेर राष्ट्रिय एकता विथोलिरहेका विदेशीका कथित परोपकारी र उनीहरूका नेपाली दासदासीहरूलाई किन जेलमा कोच्न सकिँदैन? मित्र राष्ट्र र टाढाका धनबहादुरहरूको धन खाएर नेपाललाई मृत राष्ट्र बनाउन कस्सिएकाहरूलाई किन पाता फर्काउन सकिँदैन? राज्यसंयन्त्र (स्टेट अप्राटस्) भित्रै घुसेर नेपाल ध्वस्त पार्न चाहनेहरूलाई किन कसैले दण्ड दिन सक्दैन?

जवाफ स्पष्ट छ, धेरैजसो बिकेका छन्। नबिकेकाहरू कायर छन्। एके फोर्टी सेभेन, रुगर वा कुनै अत्याधुनिक बन्दूक भए पनि कायरले ‘फायर’ गर्न सक्दैन। साहसपूर्वक राष्ट्रघातीको वध गर्न स्वाभिमान चाहिन्छ। इमान र सामथ्र्य चाहिन्छ। मालिक नै किन नहोस्, देशद्रोही हो भन्ने यथेष्ट प्रमाण छ भने त्यस्तालाई सत्ताको सिरानीमा राख्ने होइन, चिताको खरानी बनाउन सक्नुपर्छ।

ग्लासनोस्त र पेरेस्त्रोइकाको गीत सुनाउने मिखायल गोर्वाचोभका पालामा ‘युएसएसआर’ टुक्रिएर पन्ध्रवटा राष्ट्र भयो। वार्सा प्याक्ट, सियटो, सेन्टो र अनेक सैनिक गुटको गोलचक्करमा कैयन् देश भास्सिए। पुर्खा र पुराना राजा–महाराजलाई गाली गर्ने आजका नेपाली (??) लेण्डुप, मीर जाफर, क्विजलिङ र जयचन्दहरूलाई जनताले नै लखेट्ने हो भने लाखौँ युवा पेट पाल्न विदेशिनै पर्दैन। लाखौँ परिवार आँसु, अभाव र विरक्तिमा डुब्नै पर्दैन। हुँडार, ब्वाँसो, देशद्रोही र ठगहरू पालेर खुसी हुने जनताले अब सोच्नुपर्छ-कहिलेसम्म यिनीहरूको बन्धक बनेर बस्ने?

प्रकाशित: ३१ असार २०७९ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App