असी जना जति युवा कलाकारको टोलीको नेतृत्व गर्दै सत्र वर्षका अरनिको चीन गएका थिए, वि.सं. १३१७ अर्थात सन् १२६० मा। चीनका सम्राट कुबलय खाँको दरवारमा पुगेपछि राजसभामा ती कलाकारलाई अनेक प्रश्न गरियो। सम्राटले हाँस्दै सोधे– तिमी निर्भीक बनेर हरेक प्रश्नको उत्तर दिइरहेका छौ। मसँग धेरै मानिस डराउँछन्, तिमीलाई डर लागेन?
अरनिकोले सहज शैलीमा उत्तर दिए– भूल, कसुर वा अपराध गर्नेहरू डराउँछन्। विध्वंश गर्नेहरू डराउँछन्। म हजुरको देशमा एउटा सुन्दर बौद्ध बिहार बनाउन आएको छु। त्यसैले प्रसन्न छु।
इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन्– फग पाले बेइजिङ (पेकिङ भनिन्थ्यो पहिले) पुगेर सम्राट कुबलय खाँको दर्शन गर्न अरनिकोलाई आग्रह गरे। ल्हासाबाट झण्डै पाँच महिना यात्रा गरेर उनी पेकिङ पुगे। सम्राटले तिमीलाई मसँग कुरा गर्न डर त लागेको छैन भन्ने प्रश्न गर्दा अरनिकोले आत्मविश्वासपूर्वक उत्तर दिए– हामी नेपाली आफ्ना राजालाई पिताका रूपमा आदर गर्छौँ। त्यसैले एउटा अवोध बालकझैँ म हजुरका सामु हाजिर भएको छु। मलाई कुनै डर अनुभव भएको छैन।
तिब्बतमा रहेको ‘सक्य’ महाबिहार ऊबेला ध्यानकेन्द्र मात्र थिएन, ज्ञानकेन्द्र पनि थियो। भनिन्छ, देश/देशान्तरका पाँच हजार जति विद्यार्थी त्यहाँ अध्ययन गर्थे। सो विशाल र रमणीय क्षेत्रमा सुवर्ण स्तूप निर्माण गर्न बौद्ध विद्वान् फग पाले सम्राटसँग अनुमति मागेपछि अद्वितीय प्रतिभाका धनी अरनिकोलाई त्यहाँ बोलाइएको थियो। ललितपुरको सामान्य परिवारमा जन्मेका अरनिकोले हजारौँ किलोमिटर पैदल यात्रा गरेर विकट भूगोल, खराब मौसम र अनेक कष्टको सामना गर्दै लक्ष्यमा पुग्ने प्रण गरे। ललितपुरमै ती कलाकारको सुन्दर प्रतिमा बनाएर संक्षिप्त इतिहास अंकित गरियो भने आजका युवा र भावी पुस्तालाई ठूलो प्रेरणा मिल्ने थियो। संसारले उनको महिमा बुझ्ने थियो।
राजा भीमदेव मल्लको राज्यकाल (सन् १२५८–७१) चलिरहेका बेला अरनिको चीन गएको बुझिन्छ। नेपालका राजा र चीनका सम्राट कलाका पारखी भएकै कारण नेपालको पहिलो प्रतिनिधिमण्डल चीन पुगेको थियो भन्ने इतिहासकारको मत छ। बौद्ध धर्ममा दीक्षित कुबलय खाँ जति वीर, पराक्रमी थिए, उति नै ज्ञानपिपासु थिए भन्ने कुरा उनको दरवारमा ज्ञानीजनको सत्कार गरिएका अनेक प्रसंगबाट पुष्टि हुन्छ। सभ्यले मात्र स्रष्टाको सम्मान गर्न जानेको हुन्छ।
प्रसिद्ध सम्राट चंगेज खाँको मृत्युपछि उनका छोरा ओग्दोइ सम्राट भए। उत्तरी चीन उनको अधीनमा थियो। ओग्दोइका भतिजा मानगुले बाँकी क्षेत्रमा शासन गरे। सबैतिर दृष्टि दिन सम्भव नभएकाले समग्र चीनको शासन/प्रशासनको दायित्व मानगुले आफ्ना भाइ कुबलय खाँलाई सुम्पिए। सन् १२५९ देखि १२९४ सम्म उनले कुशलतापूर्वक शासन गरेको इतिहास छ।
माओले सन् १९४९ मा शासन गर्नुभन्दा ६९० वर्ष पहिलेदेखि नेपाल र चीनबीच अनुपम सम्बन्ध रहेको पाइन्छ। फग पालाई राजगुरु मानेका कुबलय खाँले गुरुको सिफारिसमा अरनिकोलाई अतुल्य र अनुपम महाबिहार बनाउने जिम्मेवारी दिनु नेपालप्रतिको विश्वास हो भन्ने बुझ्नुपर्छ। राजगुरु नै कुलपति रहेको विश्वविद्यालय परिसरमा अरनिकोले बनाएका बौद्ध स्तुपा आजसम्म सुरक्षित छ।
जुन राष्ट्रमा जनताले जिम्मेवारी दिएका जनप्रतिनिधिदेखि राज्य संयन्त्रका प्रत्येक तह र तप्कामा विदेशी भाइरस छन्, त्यो राष्ट्रको रक्षा कसले गर्छ?
इतिहासमा यस्ता अनेक प्रसंग छन्, जसले गर्दा हाम्रो मन गर्वोन्मत्त हुन्छ। इतिहासले उतिसारो चर्चा नगरेको सत्य हो, अरनिकोको वास्तु कला, चित्रकला र मूर्तिकलाबाट प्रभावित सम्राट कुबलय खाँले ती महान् कलाकारलाई राजदरवारमा प्रमुख कलाकारको उच्च दर्जा दिएर राखे। अर्थात, उनी चीनका कला शिरोमणि भए। सम्राटका कला सल्लाहकार बने।
युद्धमा विश्व थर्काउने नेपाली सैनिक हुन् वा विश्वप्रसिद्ध कलाकार, प्राचीन धर्मग्रन्थका धुरन्धर विद्वान्–विदुषी के थिएनन् हामीसँग। राष्ट्रले आज पनि सुयोग्य नेतृत्व पाउने हो भने धेरै क्षेत्रमा हामी प्रसिद्ध हुन सक्थ्यौँ।
‘सासू तीरथ, ससुरा तीरथ, तीरथ सालासाली है’ भन्ने घरज्वाइँको गीतझैँ यता सत्ता, उता सत्ता, चारैतिर सत्ता मात्र देख्ने राजनीतिक दृष्टिले नेपालको सृष्टि नै भत्काइरहेको छ। संसारले तिरस्कार गरेका भ्रष्टाचार, बेथिति, जालझेल र विदेशीका खेल यही माटोमा फस्टाइरहेको छ। कुनै बखत राष्ट्रनायक निरंकुश भए भनेर नारा लगाउनेहरूले दलीय अधिनायकवाद चलाएको देखिन्छ। अर्थात चार पाँच जनाले निर्णय गरेपछि संविधानको अर्थ रहँदैन। त्यो निरीह बन्छ। सुशासन टुहुरो बन्छ। दलको दलदलमा फस्नेले स्यावास भन्छ।
कतिपय कट्टरपन्थी मुस्लिम धर्माधिकारीहरूको परिषद् (उलेमा) टर्कीलगायतका राष्ट्रमा संविधानभन्दा उच्च स्थानमा थियो। उलेमाका अधिपतिहरूले गरेको निर्णय सर्वस्वीकार्य मान्नैपथ्र्यो। नेपालको भूराजनीति, समाजशास्त्र, प्राचीन धर्म–संस्कृति, परम्परा, इतिहास, धरातलीय यथार्थ, धार्मिक सद्भाव सबै बिथोलिएको यो अवस्थामा जनता मात्र विभाजित छैनन्, राज्यकोषबाट पेट पाल्ने सरकारी तलबजीवीहरू पनि ध्रुवीकरणको सिकार भएका छन्। कंक्रिटको जंगल बनिसकेको सिंहदरवार क्षेत्रभित्रै उच्च कर्मचारीहरूमा अमेरिकी, चिनियाँ, भारतीय र युरोपियन युनियनका दास बन्नेहरू पनि भेटिन्छन्। दाना स्वदेशको खान्छन्, गाना विदेशी गाउँछन्। बन्दूके काजीहरूमा पनि यस्तो रोग सल्कियो भने नेपाल छिट्टै अफगानिस्तान, लेवनान, सिरिया वा सुडान बन्न सक्छ।
जुन राष्ट्रमा जनताले जिम्मेवारी दिएका जनप्रतिनिधिदेखि राज्यसंयन्त्रका प्रत्येक तह र तप्कामा विदेशी भाइरस छन्, त्यो राष्ट्रको रक्षा कसले गर्छ?
सन् १९७१ मा पंक्तिकार एघार वर्षको थियो। अक्षरजीवी भएर बाँच्नुपर्ने नियतिले डोर्याएर होला, ऊबेला कपाल काट्ने ठाउँमा हजामले टाँसेका हिन्दी अखबार पनि पढ्थेँ म। एउटा खबरमा इरानमा राजतन्त्र स्थापनाको पच्चीस सय वर्ष पुग्यो भनेर लेखिएको थियो। तस्बिरमा इरान नरेश रेजा पहलबी। सम्भवतः मैले अन्तर्राष्ट्रिय खबर ध्यानपूर्वक पढेको त्यो पहिलो घटना थियो। कपाल काटिरहेका कान्छा हजामले भने– “ए भान्जा, बाल काट्दा धेरै चकचक नगर।” बीस वर्ष उमेर नपुग्दै म अखबारमा काम गर्न थालेँ। हिन्दीबाट एउटा खबर अनुवाद गरेँ– इरानमा राजतन्त्र अन्त्य।
इरानी राजतन्त्रले दुई हजार पाँच सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशाल समारोहमा भाग लिन राजा महेन्द्र तेहरान पुगेका थिए। बाह्य शक्तिको खेलमा त्यहाँका कट्टरपन्थी मुसलमानको शासन सुरु भयो। राजतन्त्रलाई तातो तावा मान्नेहरू सिधै अग्निकुण्डमा परे। कहाँ कसलाई प्रयोग गर्दा फाइदा हुन्छ भन्ने बुझेका ‘गोरा साहब’ तथा उनीहरूको सुविधा लिने दास, कृतदास र उपदासहरूले राष्ट्र एवं जनताको हित हेर्ने कुरै भएन।
सुडान टुक्र्याउन सुडानीलाई विभाजित गरियो। इथियोपियामा सम्राट हेली सेलेसी रहेसम्म राष्ट्र अखण्ड थियो। कम्युनिस्टलाई प्रयोग गरेर त्यहाँ गृहयुद्ध गराइयो र इरिट्रिया नामको भूमि छुट्टै देश बनाइयो। इन्डोनेसियाबाट इस्ट टिमोर अलग गराउन लोभीपापीहरूको बथान बनाइयो। ‘जनताले गरेको निर्णय’ भन्दै जगत्लाई उल्लु बनाउन सिक्किमझैँ ती देशमा जनमत संग्रहकै नाटक रचियो। यस्ता उदाहरणबाट हामीले पाठ सिकेनौँ।
‘फरेन इन्टरभेन्सन इन अफ्रिका’ (क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशित) पुस्तकमा भनिएको छ– सन् १९५६ देखि १९७५ सम्म उपनिवेषबाट मुक्ति खोज्ने क्रममा होस् वा सन् १९४५–९१ बीचको शीतयुद्धकालमा, अथवा सन् २००१ बाट दश वर्ष चलेको ‘आतंकवाद विरोधी युद्ध’ सबैमा नयाँ जामा लगाएर अन्तर्राष्ट्रिय हस्तक्षेप नाचिरह्यो।
श्रीलंकाको तनाव अन्त्य गर्न मध्यस्थकर्ता बनेको नर्वेले कोलम्बोमा पठाएका दूतहरूले भूतको काम गरे। कहिले सरकारलाई त कहिले विद्रोहीलाई तर्साए। पाँच वर्षसम्म षडयन्त्र मात्रै गरेको रिपोर्ट पाएपछि सेनाले राष्ट्रपतिसमक्ष यस्ता विदेशीलाई धपाइएन भने राष्ट्र झन ठूलो संकटमा पर्ने चेतावनी दियो। नेता, उच्चपदस्थ कर्मचारी, कथित मानव अधिकारवादी, प्रेस आदिलाई धनले थिचेर ऐठन गराए पनि श्रीलंकाको सेना पैसामा बिकेन। आज त्यो राष्ट्र आर्थिक संकटमा छ तर डुब्ने स्थितिमा छैन। नेपालमा इमान, नैतिकता, विश्वास र सिद्धान्तको संकट छ। सेनालाई भत्काउन सकियो भने बाँकी सबैलाई नियन्त्रणमा लिन सकिन्छ भनेर डेमोक्रेसीका विदेशी होलसेलरहरू सक्रिय छन्।
एकपल्ट युरोपका एकजना राजदूतले तत्कालीन प्रधानसेनापतिलाई ‘माओवादीलाई हामीले सही बाटोमा ल्याएका छौँ, सेनाले हेप्ने काम नगरोस्’ भनेर तर्साउन खोजेछन्। सरल स्वभावका तनहुँवासी सेनापतिले कुर्सीबाट जुरुक्क उठेर उल्टै थर्काएछन्– के गर्ने, के नगर्ने भनेर हामी निर्णय गर्छौँ। तपाईँ को हो, हामीलाई चेतावनी र उपदेश दिने? अहिले नै यहाँबाट गइहाल्नुहोस्। गेट् आउट्। गेट लस्ट...।
सैनिक मुख्यालयका केही उच्चपदस्थहरूबीच यो घटना चर्चित भयो। एकजना पूर्व जनरलले सुनाए, चिफ साहबले त्यसरी हप्काएपछि चार पाँच महिनासम्म कतैबाट कुनै दबाब आएन।
गणतन्त्र, संघीयता र धर्म निपेक्षताको खेती गर्न नेपालमा बसेका कतिपय विदेशीले सरकार पाल्ने र ढाल्ने काम गरिरहेको सञ्चारमाध्यममा हजारौँ पल्ट आइरहेको छ। दलहरूलाई खेताला बनाइएको छ। गणतन्त्रको ‘उलेमा’ राष्ट्रका लागि अभिशाप भएको छ। राष्ट्र र जनता अभिशप्त छन्। यतिबेला मलाई एउटा विदेशी कथनको सम्झना भइरहेको छ– बलात्कार हुँदा पनि सशक्त प्रतिरोध गर्न सक्दैनौँ भने त्यसैमा आनन्द मानेर बस।
प्रकाशित: २४ असार २०७९ ००:५२ शुक्रबार