२४ मंसिर २०७९ शनिबार
विचार

कूटनीतिको पासो

सत्तरी वर्ष पहिलेदेखिका घटनाहरू मात्र सम्झिने वा अध्ययन गर्ने हो भने कूटनीति सबैभन्दा ह्रासोन्मुख देखिन्छ। पृथ्वीनारायण शाहको कूटनीतिक दृष्टिकोण उनको अवसानपछि क्रमशः बिर्सिंदै जाँदा नेपालले ठूलो क्षति भोग्नुपरेको इतिहास छ। दृश्य–अदृश्य आन्तरिक र बाह्य खेलका कारण धेरै ठाउँमा हामी असफल भए पनि लड्दै उठ्दै अघि बढेका थियाैँ। एउटा जापानी कहावत छ–'सातपल्ट लडे पनि आठौँपल्टमा उठेर सरासर हिँड्ने मान्छे हार्दैन।'

मोहन शमशेरले प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्री बनेर कूटनीतिको प्रत्यक्ष साइनो राजनीति र राष्ट्रिय सुरक्षा नीतिसँग हुन्छ भन्ने संवेदनशीलता बिर्सेनन्। सामान्य परिवारबाट २००७ सालपछि प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइराला निपुण कूटनीतिज्ञ ठहरिए। चीन, भारत, ब्रिटेन र अमेरिकाबीच सन्तुलन कायम गर्ने क्रममा परराष्ट्रमन्त्रीका रूपमा उनको भूमिका दोषरहित थिएन तर सानो भुल भए पनि तत्काल सच्याउन उनी तयार हुन्थे।

२०४० सालतिर बानेश्वरस्थित कोइराला निवासमा उनले पंक्तिकारसँग केही कुरा खोलेका थिए, अन्तर्वार्ताका क्रममा। भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक गान्धी र प्रथम राष्ट्रपति डा. राजेन्द्रलगायतको सङ्गतमा उनले केही वर्ष बिताए। श्री ३ चन्द्र शमशेरको कुदृष्टिबाट बच्न कृष्णप्रसाद कोइराला भारतमा शरणार्थीजस्तै बसेका बेला कोइराला परिवारले चना, सातुलगायत सस्तो खानेकुरा खाएर पेट पाल्नुपरेको थियो। मातृकाका भाइ विश्वेश्वरप्रसादले कलकत्ताको रेल्वे स्टेसनमा आफ्ना पिताले ‘हरेक माल दो पैसा, दो पैसा’ भन्दै सामान बेचेर परिवार पालेको मार्मिक कथा लेखेका छन्।

डा. राजेन्द्रप्रसाद भारतको प्रथम राष्ट्रपति छँदा उनको निजी सचिव भएका थिए, मातृका। बनारसमा दैनिक १६ किलोमिटर साइकल चलाएर टाइपिस्टको जागिर खान्थे, सुशील कोइराला। तुलसी गिरीको निजी सचिव पनि भए उनी। भारतमा हुर्किएका मातृका नेपालीबाहेक हिन्दी, अंग्रेजी, मैथिली, बिहारी आदि भाषाका ज्ञाता थिए। प्रधानमन्त्री भइसकेका मातृकालाई राजा महेन्द्रले अमेरिकाका लागि राजदूत बनाएर पठाए। उनले स्तरीय कूटनीतिक शिल्प देखाए। अंग्रेजी भाषा र विश्व राजनीति बुझ्ने क्षमताका कारण उनले हरेक घटनाक्रमको विश्लेषण गरेर राजालाई सन्देश पठाउँथे। परराष्ट्र मामिलाको सूक्ष्म अध्ययन र राष्ट्रप्रतिको इमानदारी दुवै उनको गुण थियो। उनले आफ्नो ग्रन्थमा धेरै कुराको खुलासा गरेका छन्।

चीनका लागि नेपाली राजदूत बनेर माओसँग मित्रता गरेका तत्कालीन परराष्ट्रमन्त्री रणधीर सुब्बा बारम्बार भन्थे, 'घरभित्रै एकता भएन भने राष्ट्र भाँडिन्छ। कूटनीतिको पासो कसिँदै जान्छ।'

खड्गमानसिंह बस्न्यात, डिल्लीरमण रेग्मी, गुन्जमान सिंह, चूडाप्रसाद शर्मा, केआई सिंह, पुरेन्द्रविक्रम शाह, विश्वेश्वरप्रसाद कोइराला, तुलसी गिरी, हृषिकेश शाहदेखि कीर्तिनिधि विष्ट परराष्ट्रमन्त्री छँदा पनि कूटनीतिमा प्रदूषण देखिएन।

गेहेन्द्रबहादुर राजभण्डारी, ज्ञानेन्द्रबहादुर कार्की (धनकुटा), कृष्णराज अर्याल, केबी शाही, सूर्यबहादुर थापा र पद्मबहादुर खत्रीले परराष्ट्र मन्त्रालय चलाइरहँदा राजदरबारको प्रत्यक्ष चासो प्रतिबिम्बित भएको पाइन्थ्यो। पञ्चायतकालमा केही वर्ष संसदीय गतिविधिको रिपोर्टिङ गरेको पंक्तिकारले पद्मबहादुर खत्रीको निवास (ज्ञानेश्वर) मा केही प्रश्न गर्दा ‘कतिपय विषयमा बोल्दा परराष्ट्रमन्त्रीले संकेत मात्रै गरे पुग्छ’ भनेका थिए। उनका छोरा प्राध्यापक श्रीधर खत्री हाल अमेरिकामा नेपालका राजदूत छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा गर्ने अमेरिका भ्रमणको चाँजोपाँजो मिलाइरहेको मिडियामा आएको छ। कतिपय राजनीतिज्ञ, कूटनीतिज्ञ, विश्लेषक आदिले देउवाले त्यहाँको रक्षा मन्त्रालय (पेन्टागट भवन) भित्र कतै नेपाललाई आघात गर्ने ‘गुप्त’ योजनाको समर्थन त गर्दैनन् भन्ने प्रश्न उठाएका छन्। चर्को कूटनीतिक र राजनीतिक दबाब त छँदै छ। यहीबीचमा नेपाल आएका एसिया प्यासिफिक कमान्ड जर्नेलका शब्द, हाउभाउ र शैली अध्ययन गर्दा नेपाललाई जबर्जस्ती घिसारेर अमेरिकी स्वार्थमा मिसाउन खोजेको त होइन भन्ने आशङ्का थपिएको छ।  

चीनका लागि नेपाली राजदूत बनेर माओसँग मित्रता गरेका तत्कालीन परराष्ट्रमन्त्री रणधीर सुब्बा बारम्बार भन्थे, 'घरभित्रै एकता भएन भने राष्ट्र भाँडिन्छ। कूटनीतिको पासो कसिँदै जान्छ।' पाँचथरको मेलबोटेमा जन्मेर कालिम्पोङ (भारत) मा हुर्केका सुब्बा सेन्ट अगस्टिन स्कुलमा पठाउँथे। विदेशमा बसेका शिक्षित नेपाली युवालाई स्वदेशमै बोलाएर अनेकौं जिम्मेवारी दिएका थिए, राजा महेन्द्रले। अम्बर गुरुङ, लैनसिंह वाङ्देल, चन्द्रकला किरण (पूर्वसचिव) लगायत कैयन्ले नेपालमा काम गरे।  

तीमध्ये रणधीर उच्चकोटिका थिए। सुरुमा गोरखा परिषद् दलमा आबद्ध सुब्बाले राणाकी छोरीसँग बिहे गरे। नेपाललाई बलियो बनाउने अनेकौं सूत्र थिए, उनीसँग। तर २०४६ सालको राजनीतिक परिवर्तनपछि परराष्ट्र मन्त्रालय सम्हालेका धेरैले परराष्ट्र सेवालाई स्वदेशको सेवा होइन, परको राष्ट्रको सेवा भन्ने बुझे। धोती च्यातेर रुमाल बनाए। कूटनीतिको बलियो डोरीले राष्ट्रको घाँटी कस्न थाले।

सङ्ख्यात्मक दृष्टिले नेपालसँग दौत्य सम्बन्ध भएका राष्ट्रको सङ्ख्या थोरै छैन। होन्डुरसदेखि टुभालुसम्म, एल साल्भाडोरदेखि नाइजेरिया र निकारागुआ सबै साथी छन्। आवश्यक मौकामा ती कति सहयोगी र हितैषी बन्छन्, त्यो अर्कै कुरा हो। कूटनीतिमा चाहिने प्रमुख घटकद्रव्य (कम्पोनेन्ट) विश्वास हो, समझदारी र निरन्तरता हो। सरकार परिवर्तन हुँदैपिच्छे छेपाराले रङ फेरेजस्तो नेपाली कूटनीतिको रङ बदलिइरहेको छ। यसले कूटनीतिलाई नगरबधूको बिछ्यौनाजस्तो बनाएको छ।

भारतको मुम्बई सहरको प्रमुख आकर्षण हो, मरिन ड्राइभ। समुद्रतटमा अंग्रेजीको ‘सी’ अक्षरको आकारमा फराकिलो सुन्दर सडक साँझपख झलमल्ल हुन्छ। चलचित्रका कलाकारहरूको बसोबास भएको जुहु र मरिन ड्राइभबीचको सडक प्रायः व्यस्त रहन्छ। अभिताभ बच्चन, मनिषा कोइराला, ऋत्विक रोशन, अजय देवगण, साहिद कपुर र अनिल कपुर आदिका महलहरू यही क्षेत्रमा छन्। एकदिन एउटी नायिका गाडी चलाएर जाँदै गर्दा ट्राफिक जाममा परिन्। एउटा भिखारी युवक छेउमा आएर पैसा माग्दै थियो। उनले केही रूपैयाँ दिएपछि युवकले सोध्यो 'म्याडम, तपाईं बिरामी हुनुहुन्थ्यो। सन्चै हुनुहुन्छ अब?' छक्क पर्दै उनले युवकलाई सोधिन् –'मलाई चिन्छौ?'

'किन नचिन्नु नि, हामी फेसबुकमा साथी छौं।' युवक बोल्यो। नेपालले कूटनीतिक साथी बनाएका कैयन् राष्ट्रको हालत पनि त्योभन्दा गतिलो छैन।  

सरकारको निर्णय राष्ट्रहित अनुकूल छैन भन्ने लागेमा हरेक राष्ट्रमा सेनाले छुट्टै मार्गचित्र बनाउँछ। त्यस्तो अप्रिय अवस्था उत्पन्न नहोस् भनेर कतिपय राष्ट्रमा सरकार र सेनाबीच सुमधुर सम्बन्ध बनाइराख्ने प्रयत्न भएका उदाहरण छन्। ग्वाटेमाला, मोजाम्बिक, निकारागुवा, म्यान्मार (बर्मा), बंगलादेश, माल्टा, माली, सुडान, पाकिस्तानलगायतका पचासौं राष्ट्रमा सेनाले विद्रोह गरेर ‘राष्ट्र बचाउन’ कठोर निर्णय गर्न वाध्य भयौं भनेको पाइन्छ।

नेपालमा पनि राजनीतिक स्वार्थका लागि राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता बचाउन मध्यरातमा कुनै पनि सरकारले कुनै शक्ति राष्ट्रसँग राष्ट्रघाती सम्झौता गरेमा त्यो बेला सेनाले के गर्छ भनेर प्रश्न गर्नेहरू प्रशस्तै छन्।  

संवैधानिक र कानुनी शक्तिको दुरूपयोग गरेर कतिपय राष्ट्रमा सेनालाई ‘भाडाका सिपाही’ (मर्सिनरी) जस्तो बनाइएका उदाहरण छन्। नेपालमा २०६२/६३ सालअघि सैनिक ऐन र तत्सम्बन्धी व्यवस्थामा ‘मुलुक, मुकुट र मुलुकी (जनता)’ बचाउने दायित्व सेनाको रहने छ भनिएको थियो। ‘मुकुट’ सङ्ग्रहालयमा स्थापित गरिएपछि मुलुक र मुलुकीको रक्षा गर्ने काम संविधानले सेनालाई सुम्पेको छ। ‘नेपाल एकीकरणको इतिहास (वि.सं. १८०१–१८७२)’ नामक ग्रन्थ नेपाली सेनाले नै प्रकाशित गरेको छ। सो पुस्तकलगायतका अन्य ग्रन्थहरू अध्ययन गर्दा राजा पृथ्वीनारायण शाह, जनता र सेनाको त्रिशक्ति मिलेर नेपाल बलियो बनाएको उल्लेख छ। तसर्थ, धेरैले राष्ट्र सङ्कटमा परेकाबखत निजी स्वार्थ त्यागेर सेनाले अवश्य पनि राष्ट्रहित अनुकूल साहसी र निर्भीक निर्णय गर्छ र त्यस्तो अवस्थामा सरकार, दल वा अन्य दबाबको सामना गर्दै ‘राष्ट्र सर्वोच्च हुन्छ’ (नेसन फस्ट) भन्ने स्पष्ट सन्देश दिनसक्छ भन्ने जनविश्वास छ।

राजनीतिक अस्थिरता बढ्दा, कूटनीतिक पासोमा नेपालको घाँटी कस्सिँदै गर्दा वा चरम वितृष्णा बढेर हजार प्रश्न छताछुल्ल भएका बेला सबैतिरबाट चिन्ता व्यक्त गरिनु अस्वाभाविक होइन। आआफ्नो अधिकार जमाएर प्राचीनकालदेखि स्वतन्त्र रहेको नेपाललाई ‘उपराष्ट्र’ बनाउन खोज्नेहरूले कतिपय दललाई उनीहरूका अनुयायी बनाएका छन्। विभिन्न पेसा, व्यवसाय, मानवअधिकार वा डेमोक्रेसीको डमरु बजाउने काममा व्यस्त देखाएर कैयन्लाई कृतदास बनाएका छन्। सेनालाई त्यही कित्तामा खडा गराएर नेपाललाई अर्को अफगानिस्तान वा इराक बनाउने खेल भइरहेको जगजाहेर छ। तसर्थ, नेपाली सेनाका निम्ति सुगौली सन्धिपछिको यो सबैभन्दा कठिन परीक्षा हो।

प्रकाशित: ३ असार २०७९ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App