२ भाद्र २०७९ बिहीबार
विचार

क्यान्सरको ओखती: विकास र भविष्य

अणुवांशिक पदार्थको बनोट दुई पोयाले बनेको डोरी जस्तै डबल स्ट्रयान्डेड हुन्छ। दुई धागोरूपी त्यान्द्रा एकापसमा अनुशासित हिसाबले रहन्छन्।

गत हप्ता द न्यु इंगल्यान्ड जर्नल अफ मेडिसिनमा रेक्टल (मलाशय) क्यान्सरको क्लिनिकल ट्रायलको नतिजा प्रकाशित भयो। अमेरिकाको न्युयोर्कस्थित मेमोरिएल स्लोन केटरिंग क्यान्सर सेन्टरमा गरिएको अन्वेषणको आधिकारिक घोषणापछि उक्त खबर संसारभर फैलियो।

विगतमा मलाशयका क्यान्सरको इलाजमा सर्जरीपछि केमोथेरापी र रेडिएसन इलाज गर्ने संहिता कायम रहेको अनि उपचारपछि पनि बिरामीमा धेरै किसिमका जटिलता देखिन्थ्यो। तर उल्लिखित नवीन परीक्षणमा संलग्न सबै संक्रमित केबल ओखतीको बलमा नै रिमिसन पुगेको देखियो।

क्यान्सर उपचारमा रिमिसन र किओरको अर्थ फरक छ। उपचारपछि उपलब्ध विधिले जाँच गर्दा क्यान्सर पत्ता लागेन भने त्यसलाई रिमिसन भनिन्छ भने लगातार ५ वर्षसम्म परीक्षण गर्दा पनि अर्बुद कोसहरू देखिएन भने त्यसलाई किओर (निको भएको) मान्ने प्रचलन छ। स्लोन क्यान्सर सेन्टरको क्लिनिकल ट्रायलको सफलतापछि के रेक्टल क्यान्सरबाट सबै रोगीले मुक्ति पाउने दिन आयो त?

परीक्षण उपचारको सफलताबाट कति उत्साही हुने ? लगायतका प्रश्नको उत्तर दिनु यो आलेखको लक्ष्य हो। अणुवांशिक पदार्थ डिएनएको आकृतिको अध्ययनले व्यक्तिको स्वास्थ्य अवस्था भन्छ। अणुवांशिक पदार्थको बनोट दुई पोयाले बनेको डोरी जस्तै डबल स्ट्रयान्डेड हुन्छ। दुई धागोरूपी त्यान्द्रा एकापसमा अनुशासित हिसाबले रहन्छन्।

जीवनकालमा सेल (कोस) को विभाजन अरबौँ पटक हुन्छ। नवीन कोस बन्दा अणुवांशिक पदार्थको विभाजन अपरिहार्य बन्छ। त्यस्तै, बायोलोजिकल तनाव तथा थकानका क्रममा डिएनएले धेरै क्षति बेहोर्न पुग्छ। अणुवांशिक पदार्थको विसंगति तुरुन्त ठीक गर्न नसके क्यान्सरलगायतका विभिन्न रोगले गाँज्ने भएकाले उक्त जटिल समस्या समाधानका खातिर हाम्रो शरीरमा चुस्त मर्मत संयन्त्र छ।

डिएनको निर्माण र अणुवांशिक क्षतिका क्रममा देखिने त्रुटि सुधारका लागि उपलब्ध धेरै साधनमध्येको एक हो मिसम्याच रिपेएर सिस्टम। मिसम्याच रिपेएर सिस्टमको संयन्त्रमा आउने कैफियतको परिणामस्वरूप मलाशयलगायत धेरै किसिमका क्यान्सर देखिए। यद्यपि यो एउटा प्रक्रियामा आउने त्रुटि मात्र क्यान्सरको कारक होइन बरु दर्जनौँ अन्य विधिका कारण अर्बुद रोग लाग्छ भन्ने बिर्सनुहुँदैन।

अब, स्लोन क्यान्सर सेन्टरमा गरिएको अनि विश्वव्यापी चर्चामा रहेको क्यान्सरको इलाजको आयतन हेरौँ। मलाशय क्यान्सर रोगीमध्ये झण्डै ५ देखि १० प्रतिशत बिरामीको उत्पत्ति मिसम्याच रिपेएर सिस्टमको संयन्त्रमा आउने खराबीका कारण हुन्छ। अथवा,९० प्रतिशत रेक्टल क्यान्सरको उत्पत्तिमा मिसम्याच रिपेएर सिस्टमको खराबीको भूमिका देखिएन।

उल्लिखित क्लिनिकल ट्रायलकोमा अन्य क्यान्सरको उपचारमा प्रयोग हुँदै आएको डोस्टार्लिम्याब भन्ने ओखतीको प्रयोग गरी मिसम्याच रिपेएर सिस्टमको संयन्त्रमा आएको खराबीका कारण रेक्टल क्यान्सर लागेका बिरामीलाई सन्चो बनाउन सकिन्छ कि त भनेर हेरियो। मिसम्याच रिपेएर सिस्टमका कारण नै क्यान्सर लागेको हो भन्ने एकिन गर्न शरीरमा एम एल एच वान, एम एस एच वान, एम एस एच सिक्स र पि एम एस टु जिनहरूको मात्रा जाँच गरियो।

दोस्रो र तेस्रो चरणका क्यान्सरका बिरामी मात्र क्लिनिकल ट्रायलमा परुन् भन्नका लागि म्याग्नेनिक रिजोनेन्स इमेजिंग (एम आर आई) मार्फत रोगीको अवस्था एकिन गरियो। यसरी क्लिनिकल परीक्षणमार्फत बिरामीको अवस्था पक्का गरिएका १८ वर्ष भन्दा माथिका बिरामीलाई मात्र संलग्न गराई परीक्षण सुरु भयो। संलग्न बिरामीलाई तीन तीन हप्ताको फरकमा रक्तसञ्चारमार्फत ९ खोराक डोस्टार्लिम्याब दिइयो।

आवधिकरूपमा बिरामीको क्लिनिकल परीक्षण गर्दा क्यान्सरका कोसहरू घट्दै गएको देखियो। ओखतीको खोराक पूरा गरेपछि परीक्षण गर्दासमेत क्लिनिकल ट्रायलमा सहभागी भई औषधिको ९ खोराक सेवन गरेका सबै १२ रोगीमा क्यान्सरको कुनै लक्षण देखिएन। अझ अचम्मको कुरा त ओखती सेवनका क्रममा क्यान्सरका रोगीमा देखिने साइड इफेक्ट पनि यो ड्रग्स प्रयोग गर्ने बिरामीमा खासै देखिएन।

अर्बुद रोगको परीक्षण गर्न क्लिनिकल परीक्षणमा प्रयोग गरिने अत्याधुनिक संयन्त्र एमआरआइ, टोमोग्राफी, इन्डोस्कोपी तथा बायोप्सी समेतको प्रयोग गरेका कारण बिरामीहरू पूर्ण रिमिसनमा रहेको दाबा गर्छन् अध्ययनका मुख्य अनुसन्धान कर्ता डा. लुइ डिएज।

अर्बुद रोगको परीक्षण गर्न क्लिनिकल परीक्षणमा प्रयोग गरिने अत्याधुनिक संयन्त्र एमआरआइ, टोमोग्राफी, इन्डोस्कोपी तथा बायोप्सीसमेतको प्रयोग गरेका कारण बिरामीहरू पूर्ण रिमिसनमा रहेको दाबा गर्छन् अध्ययनका मुख्य अनुसन्धानकर्ता डा. लुइ डिएज। क्लिनिकल ट्रायलको इतिहासमै सहभागी सबै बिरामी क्यान्सर रिमिसनको अवस्थामा पुगेको यो घटना पहिलो भएको दाबी गर्छन् डा. डिएज।

युनिभर्सिटी अफ् क्यालिफोर्निया सान फ्रान्सिस्कोका कोलोरेक्टल क्यान्सरका विज्ञ डा. एलन भिनुकसमेत डा. डिएजको भनाइसँग सहमत हुँदै सहभागी सबै रोगी क्यान्सरमुक्त भएको क्लिनिकल परीक्षण डाटा आफूले विगतमा नदेखेको भन्छन्। अहिलेसम्म प्रचलनमा आएका क्यान्सरका ओखतीहरूले सबै बिरामीमा समान प्रभावकारिता देखाउँदैनथ्यो।

एकै प्रकारको क्यान्सर भए पनि त्यही ओखतीले कसैलाई सन्चो हुने अनि कसैलाई भने फिटिक्कै नछुने क्यान्सरको ओखतीको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहँदै आयो। तर यो औषधिले सहभागी बाह्रैजनालाई काम गरेको देखियो। जर्नलमा प्रकाशित नतिजाले रोगी केही समयदेखि क्यान्सर मुक्त भएको भन्छ। तर संलग्न विशेषज्ञका अनुसार बिरामीले ५ वर्षसम्म अर्बुद रोगबाट स्वतन्त्रता नपाउन्जेल क्यान्सर फ्रि भन्न मिल्दैन।

त्यसैले डोस्टार्लिम्याबले रेक्टल क्यान्सरबाट पूर्ण छुटकारा दियो कि रोगको रफ्तारीमा अल्पबिराम मात्र हो हेर्न केही वर्ष कुर्नुपर्ने हुन्छ। अर्को महत्वपूर्ण कुरा क्लिनिकल ट्राइलको आकार सानो भएकाले यथार्थ धरातलमा यो ओखतीले कस्तो परिणाम देखाउला हेर्न बाँकी नै छ। रोगीको ठूलो जमातमा परीक्षण गर्दासमेत यस्तै परिणाम देखिएको खण्डमा यो अनुसन्धानले क्यान्सरको ओखती आविष्कारमा नयाँ आयाम थपिने पक्का छ।

अब अहिले चर्चामा रहेको डोस्टार्लिम्याबको चरित्र हेरौँ। मोनोक्लोनल एन्टिबडीको श्रेणीमा पर्ने यो ओखतीको प्रारम्भिक ल्याब अन्वेषण झण्डै ३ दशकअघि भएको देखिन्छ। प्रयोगशालमा सफल देखिएपछि टेसारो भन्ने सानो बायोटेकले यसको बागडोर सम्हाल्यो। अनि ओखती उत्पादन र परीक्षण सुरु गर्‍यो। ओखतीको भविष्य उज्यालो देखिएपछि टेसारोलाई ग्लाक्सो.स्मिथ.किनले सन् २०१९ मा किन्यो।

सन् २०२१ मा संयुक्त राज्य अमेरिकामा क्यान्सरको इलाजका लागि अनुमति पायो यो ओखतीले। उक्त दबाइले विभिन्न क्यान्सरका लागि क्लिनिकल परीक्षण गर्दागर्दै अहिले सफलताको उकालो चढेको देखियो। इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) अन्तरगतको प्रोटिनलाई एन्टिबडी भनिन्छ। भाइरस, ब्याक्टेरियालगायतका कुनै पनि बाह्य संक्रमण हुनेबित्तिकै शरीरमा एन्टिबडी पैदा हुन्छ। अनि बाह्य विषाक्तलाई पहिचान गरी प्रतिरक्षा प्रणालीका कोसलाई संक्रमणकारी शक्तिलाई विनाश गर्ने वातावरण पैदा गरिदिन्छ एन्टिबडीले।

त्यसो त एन्टिबडीले शरीरमा अर्बुद कोसहरू पैदा हुनेबित्तिकै खतराको घण्टी त बजाउँछ तर प्रतिरक्षा प्रणालीले क्यान्सरलाई नियन्त्रण गर्न सक्दैन। अनि बिरामी शिथिल बन्दै जान्छ। एन्टिबडीलाई प्रयोग गरी क्यान्सरको नियन्त्रण गर्न सकिन्छ कि भनेर धेरैअघिदेखि नै अनुसन्धान हुँदै आएको छ। ल्याबमा बनाइने यो विशिष्ट क्षमताको प्रोटिनलाई मोनोक्लोनल एन्टिबडी भनिन्छ। धेरै किसिमका मोनोक्लोनल एन्टिबडीहरू क्यान्सरको उपचारमा प्रयोग हुँदै आएको छ।

बिरामीकै इम्युन सिस्टमलाई प्रयोग गरी क्यान्सर नियन्त्रण गर्ने लक्ष्यका साथ इम्युनो थेरापी उपचार विधि सुरु भयो। इम्युनो थेरापीमा मोनोक्लोनल एन्टिबडीलाई परिस्कृत गरी क्यान्सरजन्य कोसलाई पहिचान गर्ने सक्ने बनाइन्छ। एन्टिबडीले क्यान्सरका कोस पहिचान गरेपछि इम्युन सिस्टमले क्यान्सरलाई विनाश गर्छ। यसै सिद्धान्तमा आधारित मोनोक्लोनल एन्टिबडी रिटक्सीम्याब क्यान्सर इलाजमा प्रयोग गर्न थालेको लामै समय भयो।

क्यान्सरका कोस र इम्युन सिस्टमका सेललाई दूरीको हिसाबले नजिक ल्याउन सके प्रतिरक्षा प्रणालीले अर्बुद रोग नियन्त्रणमा सघाउँथ्यो भन्ने ठान्नु अन्यथा होइन। अंग्रेजी अक्षर बाइ जस्तो बनोट भएको एन्टिबडीको दुई आर्मसलाई परिमार्जन एकापट्टी अर्बुद कोस अनि अर्कोतिर प्रतिरक्षा प्रणालीअन्तर्गतको टि सेल बाँधिन सक्ने बनाइयो। यसै सिद्धान्तमा आधारित ओखती ब्लिनाटुमोम्याब रगतको क्यान्सर ल्युकिमिया नियन्त्रण गर्न बजारमा आयो।

यसरी अर्बुद कोस र संक्रमणकारी शक्तिलाई परास्त पार्ने तागत भएको टि सेल सामीप्यमा भएपछि क्यान्सर नियन्त्रणमा आयो पनि। रेक्टललगायतका विभिन्न क्यान्सर नियन्त्रणमा प्रयोग भएका ओखती र परीक्षणमा रहेका रासायनिक पदार्थको विश्लेषण गर्दा बाह्य ओखतीले अर्बुद रोगलाई नियन्त्रण गर्न नसक्ने बरु शारीरिक प्रतिरक्षा प्रणालीलाई नै सशक्त बनाउनुपर्ने देखियो। त्यसका लागि उपयुक्त माध्यम भनेको एन्टिबडी परिमार्जन नै देखियो।

दर्जनौँ किसिमका क्यान्सरका बिरामी भेटिन्छन्। एकै अंगमा लाग्ने क्यान्सर भए पनि व्यक्ति नै पिच्छे क्यान्सरका चरित्र फरक फरक पाइन्छ। एउटा ओखतीले क्यान्सरका सीमित बिरामीलाई मात्र काम गर्छ। त्यसैले गर्दा क्यान्सरको इलाज जटिल देखियो। रेक्टल क्यान्सरका लागि हालै क्लिनिकल परीक्षणमा प्रयोग भएको ओखती डोस्टार्लिम्याबले मलाशयमा क्यान्सर लागेका १० प्रतिशत भन्दा कमलाई मात्र सन्चो बनायो।

उल्लिखित तथ्यांकले दशकौँको प्रयासपछि पनि क्यान्सरको मेडिसिनको विकास प्रारम्भिक चरणमै छ भन्ने देखियो। यद्यपि डोस्टार्लिम्याबले पाएको सफलता हेर्दा क्यान्सर अन्वेषण भने सही दिशामै छ भन्न कर लाग्छ। अनि, आगमी दशकभित्र विभिन्न किसिमका क्यान्सरका प्रभावकारी ओखती बजारमा आउलान् भन्ने आशा दिलायो।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App