१२ असार २०७९ आइतबार
विचार

बन्चरेडाँडाबासीको बिलौना

फाइल तस्बिर।

घरको फोहोर सडकमा फाल्नु कस्तो सभ्यता हो भन्ने कुरा बहसकै विषय बन्नसक्छ। यद्यपि घरको फोहोर सडकमा फाल्नु समाधान नै चाहिँ हुँदै होइन। सडक आखिर घरसँगै जोडिएको हुन्छ। सडकबाटै हामी आफ्नो घर पुग्छौँ। सडक फोहोर भयो भने घर मात्रै सफा रहिरहन सक्दैन। हामीले घरबाट उठाएर सडकमा फालेको फोहोर कुनै न कुनै माध्यमबाट फेरि हाम्रो घरसम्म आइहाल्छ।

चाहे हाम्रै पैतालामा टाँस्सिएर होस् अथवा हावाले उडाएर होस्। केही नभए पनि त्यसको गन्ध मात्रै भए पनि हावामार्फत हाम्रो घरसम्म आइपुगिहाल्छ। गन्ध मात्रै होइन, कुहिएको फोहोरबाट रोगका किटाणु पनि आइपुग्छन्। सडक फोहोर भएर सहर नै फोहोर हुनु र सहर फोहोर भएको बेला हैजा अथवा झाडापखाला फैलिनु हामीले जथाभावी सडकमा फोहोर फाल्नुको परिणाम हो। सडकमा फालिएको फोहोरबाट अरूसँगै हामी आफैँ पनि प्रभावित नभइ रहन सक्दैनौँ। रोगले मान्छे चिन्दैन। रोगले धनी र गरिब पनि भन्दैन। अनि रोगले मान्छेले जस्तो पक्षपात गर्न पनि जान्दैन।

घरबाट उत्सर्जित फोहोर गाड्नलाई खाल्डो खन्ने एक टुक्रा खाली जग्गा पनि नछोडी सिनित्तै ढलान गरेर घरलाई सफा राख्न खोज्छौँ हामी। अनि फोहोर फाल्नका लागि चाहिँ जबरजस्ती सडक प्रयोग गर्छौ र सडकलाई नै डम्पिङ साइट बनाउँछौँ। गल्ने र खाल्डोमा गाड्न मिल्ने फोहोरलाई पनि आफ्नै बारीमा विसर्जन नगरी सडकमा फालेर हामी असभ्यताको परिचय दिन्छौँ र उल्टै सरकारलाई दोष लगाउँछौँ सडक फोहोर भयो भनेर अनि फोहोर उठाएन भनेर।

फोहोर नउठ्नुको सम्पूर्ण दोष सरकारलाई दिएर हामीचाहिँ कति चोखो बच्यौँ र? फोहोर फाल्ने त हामी नै हौँ नि। के आफ्नो घर–कम्पाउन्ड सफा राख्न घरको फोहोर सडकमा फाल्न मिल्छ? सडकमा फोहोर फालेर आफैँ नाक थुनेर हिँड्छौँ सडकमा। आफैँबाट उत्सर्जित जैविक अथवा अजैविक फोहोरसँग आफैँ नाक थुनेर हिँड्न तयार छौँ हामी, तर त्यसलाई व्यवस्थित विसर्जन गर्नमा आफ्नो भूमिका र आफ्नो दायित्वप्रति हामी बेखबर छौँ र निरपेक्ष छौँ। सहर फोहोर हुनुको अर्थ हाम्रो चेत फोहोर छ भन्ने पनि त हो नि।

घरको फोहोर सडकमा फाल्नु र सडकबाट उठाएर बन्चरेडाँडा वा सिसडोलमा फाल्नु दिगो समाधान होइन। दिगो समाधानको विकल्प खोज्न विलम्ब भइसक्यो र अझै विलम्ब गर्नु हुँदैन। फोहोर विसर्जनको वैकल्पिक उपायको खोजी पनि तत्काल आवश्यक भइसकेको छ। सधैँ यसैगरी कुनै ठाउँमा फोहोर फालेर मात्रै दिगो समाधान हुँदैन र यस्तो समस्या निरन्तर दोहोरिइरहन्छ।

अब फोहोरलाई उपयोग गर्ने प्रविधिको पनि विकास गर्नु जरुरी छ। विज्ञहरूले भनेझैँ फोहोरबाट प्रांगारिक र रासायनिक मल बनाउने प्रविधिको प्रयोग गर्न सके यो फोहोरको समस्या सधैँका लागि अन्त्य हुन सक्छ। अनि हरेक वर्ष रासायनिक मलको अभावमा खेतीको समयमा किसानले भोग्नुपर्ने समस्या पनि अन्त्य हुन्छ। यस्तो ‘एक पन्थ दो काज’ को विषयमा सरकार किन गम्भीर हुन सकेको छैन? किन फोहोर व्यवस्थापनको दीर्घकालीन नीति, योजना र कार्यक्रम तर्जुमामा राज्य गम्भीर बन्न नसकेको?

बन्चरेडाँडा अथवा सिसडोलमा फोहोर फाल्ने समस्या समाधानको एउटा उपाय स्थानीय बासिन्दालाई अन्तै स्थानान्तरण गर्नु पनि हुन सक्छ। यदि अर्को व्यवस्था नभएसम्मका लागि हालका लागि काठमाडौँको फोहोर फाल्ने उपयुक्त ठाउँ त्यही बन्चरेडाँडा नै हो भने फोहोरबाट प्रभावित स्थानीय जनतालाई आवश्यक मुआब्जा दिएर अन्तै स्थान्तरण गर्नु वा राज्यले नयाँ ठाउँमा बस्ती र जीवन निर्वाहको उचित व्यवस्था गरिदिनु उत्तम विकल्प हुन सक्छ। होइन भने आफ्नो आँगन सफा राख्न अर्काको आँगनमा फोहोर फाल्न त हाम्रो नैतिकताले पनि नदिनुपर्ने हो। काठमाडौँलाई सफा राख्न बन्चरेडाँडालाई फोहोर पार्न मिल्छ र त्यहाँका जनतालाई रोग लागे पनि लागोस् भनेर हाम्रो संविधानले नै भनेको त छैन नि।

बन्चरेडाँडाका बासिन्दाले फोहोर फाल्न अवरोध गरे। यो उनीहरूको हक र अधिकार हो। काठमाडौँको फोहोर उनीहरूले चूपचाप स्वीकार्नुपर्छ भनेर कुनै कानुनमा लेखिएको छैन। लेखिनु पनि हुँदैन। काठमाडौँलाई स्वच्छ राख्न र काठमाडौँका जनतालाई निरोगी राख्न बन्चरेडाँडालाई फोहोर र दुर्गन्धित बनाउने र त्यहाँका जनतालाई रोगी बनाउने काम अमानवीय व्यवहार नै हो र मानव अधिकारको उल्लंघन पनि।

यस्तो व्यवहारको विरोध हुनु स्वाभाविक हो। तर प्रहरी प्रशासनको सहयोगमा अनावश्यक बल प्रयोग गर्नु र घरघरमा गएर धरपकड गर्नु अर्को मानव अधिकारविरुद्धको काम हो। विरोधका नाउँमा अवरोधमा उत्रेका स्थानीय जनतालाई प्रहरीले बल प्रयोग गरी लछारपछार पार्नु ज्यादती हो। फोहोर फाल्ने काममा अवरोध पुर्‍याएका बन्चरेडाँडाबासीलाई प्रहरीले धरपकड गरेको दृश्य टेलिभिजनमा देख्ने जोसुकैको मनमा पीडित जनताप्रति सहानुभूति जाग्छ।

बन्चरेडाँडाबासीले सातवटा माग राखेका छन्। उनीहरूले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने, प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरी उचित क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने, फोहोरजन्य वस्तु पुनः प्रयोगमा ल्याउन मिल्ने उद्योग स्थापना गरिनुपर्ने, स्थानीयलाई रोजगारको व्यवस्था गर्नुपर्ने, स्थानीयलाई बाली तथा घरभाडा रकम दिनुपर्ने, स्थानीयलाई उपचार र शिक्षामा सहुलियत दिनुपर्ने र अधिकार सम्पन्न फोहोर संघर्ष समितिको कार्यालय सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

यी माग नाजायज छैनन्। आफ्नो गाउँ–ठाउँमा फोहोर फाल्न दिएबापत मुआब्जा, रोजगारी र स्वास्थ्य सुरक्षा माग गर्नु अनुचित होइन। बरु उनीहरूको त्यो माग राज्यले बेवास्ता गर्नुचाहिँ अनुचित हो। यसो त सातबुँदे माग राखेका बन्चरेडाँडाबासीसँग सरकारले १८ बुँदे सहमति गरेको छ। यो सहमतिको पूर्ण कार्यान्वयन होस्। विगतमा पटकपटक सहमति भएर पनि कार्यान्वयन नभएका नजिर छन्।

फोहोर मोहोर बन्न सक्छ। फोहोरबाट मोहोर प्राप्त गरेका धेरै उदाहरण हामीले देख्दै, पढ्दै र सुन्दै आएका छौँ। काठमाडौँ उपत्यकाबाट उत्सर्जन हुने यति धेरै (दैनिक ६२० मेट्रिक टन) फोहोरबाट धेरै मोहोर बनाउने नीति र योजना सरकारले अहिलेसम्म किन ल्याउन सकेको छैन? फोहोरलाई फोहोरकै रूपमा रहन दिएर सधैँ समस्यालाई ब्युँताइरहनु बुद्धिमत्ता हुँदै होइन।

काठमाडौँबासीलाई फोहोर मन पर्दैन भने बन्चरेडाँडाबासीलाई पनि मन पर्दैन। यो कुरा काठमाडौँबासी र फोहोर व्यवस्थापनको जिम्मा लिएको निकायले पनि बुझ्नु जरुरी छ। फोहोर व्यवस्थापनको नाउँमा स्थानीय जनतामाथि वितण्डा नै मच्चाउनु कदापि उचित होइन। बन्चरेडाँडाबासीले फोहोरकै कारण स्वास्थ्य समस्यामात्रै होइन, सामाजिक समस्यासमेत भोग्नुपरेको यथार्थ बिर्सनु हुँदैन।

फोहोरको स्रोतमै वर्गीकरण गरी घरमै विसर्जन हुन नसक्ने फोहोर मात्रै अन्त व्यवस्थापन गर्ने र यसका लागि काठमाडौँ उपत्यकाका नगरपालिका सँगसँगै वडा तहका जनप्रतिनिधिसमेतको सहभागितामा समस्याको दिगो समाधानको पहल हुनु आवश्यक देखिन्छ। काठमाडौँको फोहोर व्यवस्थापनको विषय प्रतिनिधिसभा बैठकमा समेत उठिसकेको छ।

अब अपेक्षा छ दिगो समाधानको। बन्चरेडाँडाबासीले फोहोर व्यवस्थापनमा गरेको अवरोध काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह अथवा सरकारलाई दिएको चुनौती होइन। बरु बन्चरेडाँडाबासीको विलौना हो। सरकारले बन्चरेडाँडाबासीको अवरोध मात्रै देख्यो र बुझ्यो। उनीहरूको विलौना देखेन र बुझेन। जुन सरकारले सुन्नैपर्छ। 

प्रकाशित: ३० जेष्ठ २०७९ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App