१३ मंसिर २०७९ मंगलबार
विचार

इतिहासको उपहास

साहित्यकार डा. ईश्वर बरालले झण्डै पैँतीस वर्ष भारतको राजधानीमा प्राध्यापक भएर सेवा गर्नुभयो। सिरहाका यी विद्वान्को वास्तविक नाम हो, लीलानटेश्वर शर्मा बराल।

काठमाडौँको सिफलस्थित निवासमा उहाँले भन्नुभएको थियो–‘पृथ्वीनारायण शाहको विराट व्यक्तित्वबाट प्रभावित भएकाले मैले विद्यावारिधिको विषय उनैलाई बनाए। सन् १९६४ (२०२० सालतिर) लन्डन विश्वविद्यालयमा मैले ‘लाइफ एन्ड राइटिङ्स अफ पृथ्वीनारायण शाह’ शोधप्रबन्ध बुझाएँ। ठूलो सन्तोष मिल्यो।

योगी नरहरिनाथले काशीबाट २०११ सालमा प्रकाशित गर्नुभएको गोरखालीहरूको सैनिक इतिहास, जगदीशचन्द्र रेग्मीको ‘हिरोज एन्ड बिल्डर्स अफ नेपाल: ग्रेड किङ पृथ्वी आदि धेरै ग्रन्थमा इतिहासको अन्वेषण, उत्खनन र मूल्यांकन गरिएको पाइन्छ। ज्ञानी, सज्जन, शालीन, भद्र तथा सभ्यहरूका दृष्टिमा इतिहास प्रेरणाको स्रोत हो। मुर्खहरूका लागि ‘मुण्डमाला’ मात्रै हो।

कौटिल्य (चाणक्य) रचित ‘अर्थशास्त्र’ पुस्तकमा नेपाल राष्ट्रको उल्लेख छ। उत्तर भारतका प्रसिद्ध शासक समुद्रगुप्तले प्रयागमा राखेको शिलालेखमा नेपालको सिमाना दक्षिणमा गंगानदी, पूर्वमा कामरूप (हाल आसाम राज्य) र पश्चिममा कर्तृपुर (कमाउँ) सम्म रहेको उल्लेख छ। लिच्छविकालमै लुम्बिनी दर्शनका लागि आएका चीनका विद्वान् हुयेन साङको यात्रा वृत्तान्त र अर्का विद्वान् फाहियानले लेखेका ग्रन्थलगायत धेरै प्राचीन अभिलेखमा ‘नेपाल’ उल्लेख छ।

विश्वका प्राचीन सत्रवटा राष्ट्रमध्ये नेपाल एसियाको महत्वपूर्ण मानिन्थ्यो। त्यसैले हजारौँ वर्ष पुराना मन्दिरमा राखिएको चन्द्र–सूर्य अंकित देवध्वज नै हाम्रो राष्ट्रिय झण्डा भयो। यस्तो ‘तीनकुने’ झण्डा नेपालबाहेक कुनै राष्ट्रमा छैन। नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहसँग उनका भाइहरूले भागबन्डाको कुरा उठाए।

एकजना भाइलाई उनले राजसभामै चेतावनी दिए–‘नेपाल टुक्र्याउने कुरा गरिस् भने तेरो गर्धन काटिदिन्छु।’ उनले त्यसपछि जनताका छोराहरूलाई अधिकार दिएर प्रशासक बनाए, राष्ट्र टुक्र्याउन चाहने भाइहरूप्रति भरोसा गरेनन्। पच्चीस वर्षसम्म एकीकरण अभियान चलाए, पृथ्वीनारायणले। काठमाडौँ उपत्यका जितेपछि विजित क्षेत्रमा छुट्टै शासन गर्न खोज्ने भाइहरूप्रति उनको भरोसा भएन। त्यस्तो पृथकतावादी सोच उनले रुचाएनन्।

राष्ट्र कमजोर हुन्छ भन्ने भयका कारण उनको चिन्ता थपियो तर राजाले इमानदार, सक्षम, देशभक्त र विश्वासी मानिसलाई जिम्मेवारी दिएमा राष्ट्रपतन हुँदैन भन्ने शास्त्रको मतअनुसार पृथ्वीनारायण शाहले योग्यहरू मात्रै छाने। “योग्य योग्याय दातव्यम्’ भनिन्छ। उनले त्यसै गरे। पृथ्वीनारायणका कान्छा छोरा बहादुर शाहको योगदान विशिष्ट थियो भनेका छन्, इतिहासकारहरूले।

यस्तै राजेन्द्रलक्ष्मीको नेतृत्व उल्लेखनीय छ। साउँ अक्षर मात्र पढेकी ती नारीले दिएको योगदान महत्वपूर्ण छ। उनले धनदौलतलाई महत्व दिइनन्। राष्ट्र प्रबल बनाउने अभियानमा आफूलाई समर्पित गरिन्। पृथ्वीनारायणकी जेठी बुहारी हुन् उनी। २५/२६ वर्षकै उमेरमा पति प्रतापसिंह शाहको निधन भएपछि उनले ‘रिजेन्ट’ (नायवी) बनेर आठ वर्ष राष्ट्रको बागडोर हातमा लिइन्।

छोरा रणबहादुरलाई काखमा राखेर शासन गरिन्। उनलाई राजमाता मानेर जनता र सेनाले मद्दत गरेको उल्लेख छ, इतिहासमा। पृथ्वीनारायणले जित्न खोजेका धेरै भूभाग राजेन्द्रलक्ष्मी र बहादुर शाहका पालामा नेपालमा गाभियो। त्यसैले इतिहासमा बहादुर शाहलाई वीर र राजेन्द्र लक्ष्मीलाई वीरांगना भनिएको छ। कास्की, तनहुँ र लमजुङ उनकै पालामा जितेकी थिइन्। घोडा चढेर सेनाको नेतृत्व गर्दै युद्ध मैदानमा जान्थिन् उनी। सेनालाई प्रेरणा दिन्थिन्।

इतिहासमा एकजना धुर्त बाहुनको प्रसंग आउँछ। शक्तिशाली रानी राजेन्द्रलक्ष्मीलाई सती बनाएर उनी बालकराजाको नाममा राष्ट्राध्यक्ष जस्तै शक्तिशाली बन्न चाहन्थे। सत्ताका लोभी ती कृतघ्न थिए, व्रजनाथ पौडेल। उनको कुकृत्य थाहा पाएपछि राजमाता राजेन्द्रलक्ष्मीले चारपाटा मुडेर काठमाडौँ उपत्यकाबाटै निकाला गरिन्। त्यस्तो प्रवृत्ति भएका व्यक्तिहरू आज पनि प्रशस्त भेटिन्छन्।

स्याङ्जाका पण्डित जयमंगलका छोरा थिए, ब्रजनाथ। षडयन्त्र, छलकपट र बदमासीका लागि उनको तुलना अरूसँग हुनै सक्दैन भन्ने इतिहासकारहरूको मत छ। उनका छोरा रंगनाथ प्रमुख प्रशासक (मुख्तियार) भए। इतिहासको उपहास गरेर आफ्नो दुनो सोझ्याउनेहरू प्रशस्तै थिए। आज त्यो संख्या अत्यधिक बढेको छ। सत्ता, सुविधा, सम्पत्ति र शक्तिबाहेक अरू नदेख्ने प्रवृत्ति बढेको छ।

त्यसैले राजाहरूका सालिक ढालेर, इतिहासलाई रछानमा फालेर, सत्यलाई जुठेल्नुमा पुरेर उनीहरू इतिहास आफैँबाट सुरु भएको प्रचार गरिरहेका छन्। पछिल्ला पच्चीस/तीस वर्षमा राष्ट्र भत्काउने र बिगार्नेहरू सक्रिय भए। राष्ट्र सिँगार्नेहरू अपमानित भए। राजनीति प्रहसन र परिहास जस्तो बन्यो। इतिहासको उपहास भयो। यसैलाई ‘परिवर्तन’ भनियो। मुर्खहरूले ताली बजाए। लिडर बनेर आएका विदेशी कम्पनीका डिलरले मालिकले भनेअनुसार ‘मार्केटिङ’ गरे।

ती सबै नक्कली माल बेच्ने मानिस रहेछन् भनेर जनताले चाल पाए। ठगहरूलाई लखेट्न लाखौँ राष्ट्रवादी युवा आज संगठित हुँदैछन्। चीनमा युरोपका व्यापारीले अफिम बेच्ने, त्यहाँका हरेक कुरामा हस्तक्षेप गर्ने र फिरंगी धर्म फैलाउन थालेपछि १२३ वर्षपहिले युवाले विदेशीलाई मुक्का हान्न थाले। जहाँ भेट्यो, त्यहीँ ठटाउँथे। मुड्कीले टाउकोमा हानेर ‘तिरिमिरी झ्याइँ’ बनाए। अंग्रेजले त्यसलाई ‘बक्सर युद्ध’ भन्न थाले।

नेपालका गाउँगाउँमा पसेर प्राचीन धर्म–संस्कृति मास्ने कतिपय नक्कली परोपकारी विदेशीलाई सरकारले नै पुल्पुल्याउने गरेको पाइन्छ। उच्च पदस्थहरूलाई प्रशस्त आर्थिक सुविधा सहायता, विदेश भ्रमण र उपहार दिएर नेपाल भत्काउन चाहनेका खेल युवाले देखेका, बुझेका छन्। बक्सिङ होइन, टाउकोमा फलामको घन र काठको मुङ्ग्रो हान्न बेर छैन। तिम्रो गणतन्त्र, संघीयता र धर्म निरपेक्षताले नेपाल कमजोर बनायो, तिमीहरू फर्केर जाऊ भन्न बेर छैन।

दूत बनेर पसेका दुष्ट, षडयन्त्रकारी र अपराधी भूत मन्छाउन युवा नै जागेका छन्। घुस्याहा, लोभी, पामर, नामर्द, पाखण्डी, कुरौटे, भ्रष्ट र दुष्टले त नेपाल बर्बाद बनाए। यसको रक्षा गर्न युवा नै लागेका छन्। इतिहास बिगार्न खोज्ने ब्रजनाथ प्रवृत्ति उनीहरूले निर्मुल गर्ने अवस्था आउन सक्छ। चन्द्रशमशेर प्रधानमन्त्री छँदा काठमाडौँमा सान्चा नामका गुण्डा रहेछन्। उनी बलियो साँढे पनि पछार्न सक्थे भनिन्छ। मिचाहा, हुल्याहा, उपद्रयाहा ती युवाले अनेक बदमासी गरे पनि प्रधानमन्त्रीले क्षमा दिएको कुरा बालकृष्ण समले लेखेका छन्।

शायद ती ‘प्रायोजित गुण्डा’ थिए। सहरका अरू गुण्डालाई तर्साउन प्रोत्साहन दिइएको हुन सक्छ। नेपाली राजनीतिमा कुनै न कुनै आवरणमा त्यस्तो प्रवृत्ति फस्टाइरहेको छ। ‘भारतको गुप्तचर संस्थाले विमान अपहरण गर्न लगायो, भारु तीस लाख रुपियाँसहित नेपालको विमान मेरै निर्देशनमा विराटनगरबाट भारतको फरबिसगन्ज पुर्‍याएँ। युरेनियम बेचेँ। नक्कली नोटहरू बेचे’ भनेका छन्, नेपाली कांग्रेसको एक नेता तथा पूर्व प्रधानमन्त्रीले।

उनको आत्मकथा पढ्दा लाग्छ, ती भारतले संरक्षण गरेका ‘सान्चा’ थिए। अर्का एकजना पूर्वप्रधानमन्त्रीले पाँच हजार मान्छे मारेको जिम्मा लिन्छु भनेका छन्। उनी अर्का सान्चा हुन। विदेशीले हुर्काएका यस्ता सान्चा र कान्छाकै वरिपर घुमिरहेको छ, नेपाली राजनीति। राष्ट्रको रक्षा गर्ने प्रतिज्ञा गर्नेहरूले भ्रष्टको रक्षा गरिरहेका छन्। जनता छक्क परेका छन्।

भोटेबहालका तुलसीमान सिंहले राजा त्रिभुवनलाई ट्युसन पढाउँथे, राजदरबारमा गएर। श्री ३ चन्द्रशमशेरले भनेका रहेछन्, राजालाई गतिलो कुरा नसिकाउनू। पढाएझैं मात्र गरेर कथाकुथुंग्री सुनाउनू। तुलसीमानको चियोचर्चा (जासुसी) गर्न दरबार स्कुलका बंगाली शिक्षक बटुकृष्ण (बटुबाबू) लाई खटाइएको रहेछ, ट्युसन पढाउन।

उनले तुलसीमानले इतिहास, भूगोल, दर्शनशास्त्र, धर्मशास्त्र तथा विश्वघटना पढाइरहेका छन् भनेर श्री ३ चन्द्रलाई जाहेरी गरेछन्। तुलसीमानलाई चन्द्रले झपारेछन्। उनै तुलसीमानका छोरा हुन, सरदार हंसमान। राजा त्रिभुवनसँग मिल्दोजुल्दो उनको व्यक्तित्व, भद्र तथा विनम्र स्वभाव र ज्ञान विचित्रको थियो। म कलेज पढ्दा भोटेबहालमा डेरा गरेर बसेको थिएँ। त्यही बखत सरदार हंसमानसँग केही क्षण कुराकानी भएको थियो।

नेपाल अधिराज्यको संविधान २०१५ अनुसार गठित दुई सदन (महासभा र प्रतिनिधिसभा) गठनमा उनको पनि भूमिका थियो। राजा महेन्द्रका विश्वासपात्र थिए उनी। प्रतिनिधिसभामा १०९ र महासभा (माथिल्लो सदन) मा ३६ जना रहने व्यवस्था रहेछ। २०१५ सालको चुनावपछि संसद्को पहिलो बैठक २०१६ साल असार १६ गते बसेको र महेन्द्र सरकारबाट हुकुम बक्सेबमोजिम आफूले दरवारबाट संसद्मा पत्र पठाएको प्रसंग सुनाएका थिए, उनले।

निर्वाचन सकिएपछि लामो समयसम्म राजाले प्रधानमन्त्री नबनाउँदा बिपी कोइरालाले गुनासो गरेछन्। त्यसबेला महेन्द्रले ‘संसदीय परिपाटी मलाई भन्दा तपाईलाई थाहा छ। संसद्मा विजयी हुने सबै भन्दा ठूलो दलले प्रधानमन्त्रीका लागि दावी गरेपछि मात्र प्रधानमन्त्री बनाउने प्रक्रिया सुरु हुन्छ, होइन र?’ भन्ने प्रश्न गरेपछि बिपी निरुत्तर भएको प्रसंग पनि हंशमानले सुनाएका थिए।

मैले हाँस्दै भनेँ–‘हजुर, त्यो त म जन्मिनुभन्दा आठ महिना पहिलेको कुरा रहेछ।’ मेरो कुरा सुनेपछि उनले भने ‘हो बाबू, अब त इतिहासको कुरा भयो।’ राति १२ बजे सुरु भएको संसद्को अधिवेशन चलिरहँदा कुलशेखर शर्मा संसद्का सचिव रहेछन्। सबैका लागि नयाँ विषय र अनुभव भएकाले त्यसबेलाको संसद्का केही कमीकमजोरी अवश्य थिए। तर नेपाली कांग्रेस, गोर्खा परिषद्लगायतबाट विजयी सांसदहरूले देखाएको परिपक्वता अहिले पनि चर्चाको विषय बन्ने गर्छ।

१०४ वर्षसम्म चलेको राणा शासन अन्त्य भए पनि २००७ सालपछि स्थापित दलहरूले सही ढंगले काम गर्न नसक्दा लामो कालखण्ड आपसी तानातान र निरर्थक विवादमा बित्यो। २०१५ सालको चुनावमा अत्यधिक मत पाएको कांग्रेसमा पनि केही सीमित नेताबाहेक धेरैसँग जोश मात्रै थियो, तर अनुभव, क्षमता र सांसदमा हुनुपर्ने धेरैजसो गुण थिएनन्। मौका पाएर पनि कांग्रेसले गति लिन नसक्नुको प्रमुख कारण त्यही हो भन्ने इतिहासकारहरूले उल्लेख गरेका छन्।

अहिलेको अवस्था हेर्दा शिक्षित र उत्साहीहरूको संख्या बढ्दै गए पनि राजनीतिमा गुणात्मक सुधार भएको देखिँदैन। त्यसैले आउँदो संसदीय चुनावमा जनताले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने अवस्था आएको छ। आफूले स्वीकार गरेको वा मन पराएको व्यक्ति र दल भन्दै गलत प्रवृत्तिलाई अघि बढाउने हो भने नेपाल सदैव पछाडि पर्ने सम्भावना रहन्छ। इतिहासको अवमूल्यन र उपहास भइरहन्छ, त्यो भनेको राष्ट्रको दुर्भाग्य हो।

प्रकाशित: २७ जेष्ठ २०७९ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App