७ वैशाख २०८१ शुक्रबार
विचार

नायकको प्रतीक्षा

आइरिस लेखक स्यामुअल बेकेटको तहल्का मच्चाउन सफल नाटक ‘वेटिङ फर गोदो’ अर्थात् ‘गोदोको प्रतीक्षा’ हाम्रा निम्ति निकै सान्दर्भिक छ। हामी नायकको प्रतीक्षामा छौँ। ऊ आउने खबरसँगै बेचैन पर्खिबसेका छौँ। ऊ आएको क्षण कस्तो होला? नाटकका दृष्यझैँ व्यतित छन् हाम्रा क्षणहरू।

अन्तिममा गोदो नआउने खबरजस्तै अनौठो र मूर्खतापूर्ण छ हाम्रो समय। हामीले गरेका आशा पूरा भएका छैनन्। तैपनि आशा गरिरहेका छौँ। हामी हाँस्य र दुखान्तको संगममा छौँ। यथार्थमा यो रुन्चे हाँसोको समय हो। हामीले के सोचेका थियौँ, आज के भयो?

हामीले नायक सम्झेकाहरू खलनायक भएका छन्। हिजो जसलाई सुन्न हामी लालायित थियौँ, आज तिनमा कुनै आकर्षण बाँकी छैन। बस्, ती छन्, हामी पनि छौँ। तिनी र हामीबीच एउटा दूरी छ–हाम्रा सपना विशृंखलित छन्। हामीले प्रत्येक युगमा पर्खेका छौँ। हरेक १० वर्षमा पर्खेका छौँ। अचेल पाँचपाँच वर्षमा पर्खिने बानी परिसकेको छ।

काठमाडौँ महानगरपालिकामा निर्वाचित भएका बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल कार्यालयमा आइरहेको समय भोगेर म आश्चर्यमा छु। सिंगो संगठन, दैनिक उत्पादन हुने भाषण, नेताका तुजुक, कार्यकर्ताको लर्को आदि सबैप्रति विश्वास हराएको छ। यी एक्लै आएका नायकप्रति फेरि आज आम आदमीको आशा जागेको छ।

बालेन महानगरपालिकामा बहाली गर्न आएको समय भुइँचालो जस्तो छ। ‘बालेन दाइ’ मानिसहरू उनीतिर दौडिरहेका छन्। अति प्रिय ढंगले बूढाबूढीदेखि केटाकेटीसम्म बोलाइरहेका छन्–बालेन दाइ... बालेन दाइ...। बूढाबूढीहरूलाई सहरमा कतै टुुसुक्क बस्ने ठाउँ पनि छैन। केटाकेटीहरूका निम्ति खेल्ने चौर छैन। यी सबै बालेन दाइलाई सुनाउन चाहन्छन्। केटाकेटीदेखि बूढाबूढीसम्मका प्रिय बालेन दाइ। सहर समस्याले ग्रस्त छ। देश निराशाले चौपट छ।

यही सहरको भीड हो, जहाँ लौह पुरुष गणेशमान सिंहलाई एक झलक देख्न लालायित थियो। टुँडिखेलमा भाषण गरेर हिँडेका भर्खरै भूमिगत जीवन परित्याग गरेका युवा नेता झलनाथ खनालका बारेमा समाचार बन्थ्यो– को हुन् जे एन? मदन भण्डारीका निम्ति पनि हाम्रो समय उस्तै रह्यो। मानिस त्यसैगरी लोकप्रियताको शिखर चढेका नेताका पछि लाग्यो।

२०४६ सालको जनआन्दोलन सफल भएपछिको पहिलो संसदीय निर्वाचनमा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर मदन भण्डारीले काठमाडौँ क्षेत्र नं. १ को निर्वाचन जितेको समय संसारका निम्ति आश्चर्यजनक थियो। लोकप्रिय अमेरिकी म्यागेजिन ‘न्युजविक’ २७ मे १९९१ (जेठ १३, २०४८) को संस्करणमा उनको अन्तर्वार्ता छापियो–‘इन नेपाल, कार्ल माक्स लिभ्स’ अर्थात् ‘नेपालमा कार्ल माक्स जिउँदा छन्।’

आजको समय भाइरलको हो। जतिबेला फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालले कुनै प्रभाव नपारेका बेलामा पनि मदन भण्डारीको चर्चा व्याप्त थियो। एउटा नायकको आगमनलाई पश्चिमा संसारले समेत अनुभूत गरेको त्यो समय थियो। अहिलेका धेरै नेताले तीस वर्षअघि नायकको जस्तो ‘इन्ट्री’ मारेका हुन्।

नेताहरू हामीकहाँ आएको समय सम्झिँदै गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बालेनसँग लिएको तस्बिर सञ्चार माध्यममा भाइरल भइरहेको छ। यी दुबैको अनुहार हेर्छु अनि कल्पना गर्छु। एउटा अनुहार बिस्तारै मुर्झाइरहेको छ, अर्को झल्मलाउँदै छ। यसको पनि एउटा समय छ, फेरि नयाँ पात पलाउँछन्। र, फेरि पात झर्नेछ।

दाहालले बालेनलाई भनेछन्–‘देश र जनतालाई काँधमा राखेर काम गर्नू।’ आशीष पनि त्यसैको लाग्छ, जो यथार्थमै त्यागी छ। त्यही नेताले भनेको पनि सुहाउँछ, जसले आफ्नो समयमा गरेर देखाएका छन्। बालेनसँग दाहालको तस्बिर हेरिरहँदा गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्व कालमा बालुवाटारमा उनको अवतरणको सम्झना गरिरहेको छु।

उनको एक झलक पाउन हामी घन्टौँघन्टा त्यहाँ कुरेका थियौँ। असार २, २०६३ को मध्यरातमा उनी त्यहाँ पत्रकार सम्मेलनमार्फत् सार्वजनिक भएका थिए। त्यो बेला दाहाल मात्र नायक थिए। अरू नेता त्यहाँ उपस्थित भएर पनि दाहालको व्यक्तित्वले छायामा परेका थिए। आज बालेनसँग सबै नेताहरूले पालैपालो तस्बिर खिचाइरहेका छन्।

क्रमशः नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा हुँदै तेस्रो शृंखलामा दाहाल आइपुगेका हुन्। अब बाँकी नेताले पनि उनलाई भेट्ने र आशीर्वाद दिने/लिने क्रम जारी हुनेछन्। बालेनलाई तिनले फेरि पनि भन्नेछन्– ‘देश र जनतालाई सम्झेर काम गर्नू।’

सहर नामको एउटा विस्तीर्ण झोपडपट्टीका बासिन्दा हामी जता हिँड्दा पनि नाक थुन्छौँ। बाटैपिच्छे हाम्रा पाइला लड्खडाउँछन्। ढलमा डुबेका जगमाथि बसेर हामी देखिरहेछौँ स्वस्थ, सुन्दर र समृद्ध भविष्यको सपना। यी छरपस्ट सपनाहरू तिनैले छाडेका हुन्, जो हिजो नायक थिए। आज फेरि अर्को नायक बालेनका काँधमा ती छाडेर जान तयार छन्।

बालेन समयको पदचाप हो। बालेन पदचापले ल्याएको उत्साह त्यही गोदो आउने बेलाको जस्तै लाग्छ कहिलेकाहीँ। त्यो सम्झेर अत्यास पनि लाग्छ। ऊ आउँदै छ भन्दा नै कस्तो उत्साह हुन्छ। त्यो आउँछ भनेको हामीले खोजेको सपनाको सार्थक रूप हो। बालेनहरूले त्यो काम गर्न सकून भन्ने कामना पनि हो।

कस्तो संरचनाले जकडेको अवस्था छ भने कतै बालेनहरू महाभारतका अभिमन्युजस्तो नहुन्। विजय हासिल गरेका छन्। काम गर्ने इच्छा छ। काममा लागिसकेका छन्। तर ती चारैतिरबाट संकटले जेलिएका छन्। काम गर्न भन्दा नगर्नका निम्ति तिनलाई अप्ठ्यारोमा पार्ने वरिपरि छन्।

यहाँ बालेनजस्ता पात्रको प्रवेशले त्यही गोदो आउने सन्देशबाहकको जस्तो उपस्थिति भइरहेको छ। उनलाई भेट्न मानिसहरू आँखामा आँसु लिएर आएका छन्। तिनले आफ्ना पीडा सुनाएका छन्। मुलुकमा क्रान्ति गरेर आएका, ठुल्ठूला परिवर्तनका संवाहकहरू आउँदा नसुनाएका गुनासा तिनले बालेनलाई सुनाएका छन्।

कतैबाट केही नभएपछि कैयन् मानिस राजा ज्ञानेन्द्रलाई पनि सुनाउन गएका थिए। तिनका अगाडि पनि आँसु चुहाएका थिए। ज्ञानेन्द्रले ‘बुझेँ’ भन्दै टाउको हल्लाएका क्षण पनि त्यत्तिकै बितेर गए। त्यही भएर हाम्रो असफल नायकको समय हो।

मानिस एकाध पटक आफ्ना गुनासा सुनाउन आउँछन्। तिनलाई समस्या समाधान गर्ने व्यक्ति हो भन्ने लागेमा मात्र ती फेरिफेरि आउँछन्। यिनले केही गर्दैनन् भन्ने लागेपछि फेरि ती आउँदैनन्। नेताका अगाडि झुम्मिएको भीड पनि केही कामका निम्ति मात्र हो। अन्यथा, त्यो भीड पातलिँदै जान्छ। मेयर बालेन्द्र सुन्धारास्थित आफ्नो कार्यालयमा आएको समयलाई मैले साह्रै उत्सुकतापूर्वक अवलोकन गरेको छु।

एक महिला उनी नजिक आएर रुँदै आफ्ना समस्या समाधानका निम्ति आग्रह गर्छिन्। बालेन एक्लैले यतिका धेरै अपेक्षा पूरा गर्न सक्दैनन्। तर, कम्तीमा यिनले मानिसका अपेक्षा मर्न दिएनन्। जुन समाजमा मानिसका आशा मर्छन्, त्यहाँ फेरि विकल्पको खोजी हुन्छ। बालेनजस्ता नयाँ पात्रले आशा जगाएका कारण फेरि यो धर्तीमा केही हुन्छ भन्ने आशा पलाएको हो।

धरानका हर्क साम्पाङका एकएक गतिविधि फेरि एकपटक हेरेँ। कस्ता तपस्वीजस्ता मानिस। केही हुन्छ भन्ने अपेक्षाका साथ निरन्तर लागेको देखेर मानिस तिनीसँग फेरि विश्वासले पुगेका छन्। धनगढीका गोपी हमालको पनि त्यही अवस्था हो। सिंगो पार्टी, संरचनाभन्दा पनि अब दृढ इच्छाशक्ति भएका मानिसहरूले मात्र समस्याको खातबाट हामीलाई निकाल्छन् भन्ने आशाको दियो यिनले बालेका छन्।

त्यही भएर आगामी संसदीय निर्वाचनका निम्ति युवाहरूले धमाधम आफ्नो उम्मेदवारी घोषणा गर्दै छन्। समस्या कसरी जकडिएर बसेका छन् भने बालेनले सपथग्रहण गरेलगत्तै ‘लाइभ’ गरिएको नगर कार्यपालिकाको बैठकमा भाग लिने केही वडाध्यक्ष उनी जन्मेको वर्षतिरै महानगरमा सक्रिय भइसकेका थिए। बालेनको ३४ वर्ष बराबर उनीहरूको राजनीति भइसकेको छ।

उनीहरू बालेनलाई काम गर्न दिन होइन कसरी ठेगान लगाउन सकिन्छ भन्नेमै सक्रिय हुने निश्चित छ। जनता ढुंगा टिपेर मूर्ति बनाउँछन्। आफूजस्तै सर्वसाधारणलाई टिपेर नेता बनाउँछन्। तर ती नायकत्व परित्याग गरी खलनायकत्वमा रमाउँछन्। उस्ताद नुसरत फतेह अली खान, आतिफ अस्लमलगायतले गाएका यी गजल पंक्तिजस्तै लाग्छ हाम्रो नियति शृंखला–

सोचता हुँ के वो कितने मासुम थे

क्या से क्या हो गए देखते देखते

मैने पत्थर से जिनको बनाया सनम

वो खुदा हो गए देखते देखते।

प्रकाशित: २२ जेष्ठ २०७९ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App