२३ श्रावण २०७९ सोमबार
विचार

रूपान्तरणका लागि मतदान क्रान्ति

मानवीय स्वभाव नै हो ऊ आफ्नो जीवनलाई विकसित देख्न रूपान्तरण चाहन्छ। भौतिक परिवर्तनदेखि लिएर आन्तरिक रूपान्तरणको महसुस नै विकासको मापन हो। दैनिक जीवनमा त मानिस एकै किसिमको खानासँग सन्तुष्ट हुँदैन नयाँ स्वाद खोज्छ। समाचार च्यानल र मनोरञ्जनका माध्यम परिवर्तन गर्न चाहन्छ र टिभी च्यानल फेरी फेरी हेर्छ।

मौसम अनुसार पहिरन परिवर्तन गर्छ। सामान्य लाग्ने यी परिवर्तन साना पनि हुन्। तर जीवन, समाज र राष्ट्रमा यी भन्दा ठूला परिवर्तन र रूपान्तरण पनि मानिसले खोजेको हुन्छ जुन दैनिक, बारम्बार र केही महिना या वर्षको अन्तरालमा सम्भव हुँदैन। यसका लागि केही समय आवश्यक पर्छ। त्यसकै एउटा उदाहरण हो जनप्रतिनिधिको परिवर्तनको चाहना, राजनीतिक शक्तिको परिवर्तनको चाहना या नेतृत्व परिवर्तनको चाहना।

व्यक्तिगत प्रगति र जीवनशैली परिवर्तन आफूमा प्रभाव पार्ने तत्त्व हुन् भने नेतृत्व परिवर्तनले आमनागरिकमा खुसी र सकारात्मक तरंग ल्याउन सफल हुन्छ। यो अनुभूति समग्रमा सबैले एकैसाथ गर्न सक्छन्। नेपालको हकमा भन्नुपर्दा दशकौँदेखिको राजनीतिक अस्थिरता र निराशाको कारण नयाँ वा परिमार्जित नेतृत्वरूपी रूपान्तरण जनताले खोजेका थिए।

यसकै परिणाम हो–यसपटक काठमाडौँमा मेयर बालेन्द्र साहको उदय। अनि सुनिता डंगोल उपप्रमुखको उदय युवा नेतृत्वको चाहना। त्यसो त राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने सबै उमेदवार निराशाका केन्द्र थिएनन्। सबैलाई एकै दाँजोमा राखेर हेर्न र मूल्यांकन गर्न मिल्दैन तर समग्रतामा दशकौँदेखिको अभ्यासलाई हेर्दा यस प्रकारको परिवर्तनलाई राजनीतिक परिवर्तन भनिन्छ जसले परिवर्तन मात्र होइन, रूपान्तरण नै ल्याउने अपेक्षा नागरिक समाजको रहेको हुन्छ।

सन्तुलनको पुनर्स्थापना

कतिपय अवस्थामा नेतृत्व तहले आफूले गरेको काम ठीक छ भनी सोचिरहेको हुन्छ तर त्यसले नागरिकलाई कति अन्याय पुगेको छ या नागरिकको अपेक्षाअनुसार हामीले सेवा दिन र विकासका कार्यलाई अगाडि बढाउन सकेका छैनौँ कि भन्नेतिर ध्यान गएकै हुन्न। नागरिकमाथि शासन गर्नु पो राजनीतिक नेतृत्वको तह हो भन्ने भ्रम रहेको पत्तै हुँदैन। यसकै कारण त दशकौँदेखि जनप्रतिनिधि र नागरिकको बीचमा वैचारिक द्वन्द्व उत्पन्न भइरहेको हुन्छ। वैचारिक द्वन्द्वलाई सन्तुलनमा ल्याउनका लागि या नागरिकले आफ्नो जीवनशैलीलाई स्वीकार गर्नुपर्छ, जे छ चलिराछ, यस्तै हो भन्न सक्नुपर्दछ या त जनप्रतिनिधि अर्थात् नेतृत्वलाई फरक ढंगले कार्य गर्न उत्साहित गर्न सक्नुपर्दछ।

तर नेपालको परिप्रेक्ष्यमा नेतृत्व तहमा पुगिसकेपछि नागरिकको आवाज सुन्ने अभ्यास कमै भएका कारण आजको अवस्था र परिणाम आएको हो। राजनीतिक परिवर्तन भनेको सरकार परिवर्तन होइन, नेतृत्व परिवर्तन होइन, यो त नेतृत्व तह र जनताबीचको बेमेल विचार र मूल्यहरूबाट सन्तुलन पुनर्स्थापित गर्नु हो। तर नेपालको हकमा निर्वाचनपछि निर्वाचित नेतृत्वले नागरिकको विचार नै नसुन्ने परम्पराले गर्दा नेतृत्व परिवर्तनको यो क्रान्ति गर्न बाध्य भएका हुन् नागरिक समाज।

राजनीतिक परिवर्तन प्रायः राज्यले सामना गरिरहेका सामाजिक वा आर्थिक समस्याहरूबाट उत्पन्न हुन्छ। तर यसपटक स्थानीय तहले ल्याएको परिणाम भने पुराना राजनीतिक दलहरूका भ्रष्ट र मनोमानी प्रवृत्तिको विरुद्ध र विकल्पमा आएको परिणाम हो र त्यो परिवर्तन विशेष गरी युवा पुस्ताको आवाजले ल्याएको हो।

काठमाडौँमा बालेन्द्रको उदय होस् या धरानमा हर्क साम्पाङको विजय, यी स्वतन्त्र उम्मेदवारहरूको विजयले लोकतन्त्रको आभाष दिएको अनुभूति सबैमा रहेको छ। यो अनुभूति नेपाली लोकतन्त्रमा अति दलीयकरण, दलभित्र र बाहिर दलहरूले ल्याएको बेथिति, हरेक क्षेत्रको भ्रष्टीकरण, कार्यकर्ता र दलका नेतृत्व तहबीचको खाडल, शीर्ष नेताहरूको मनोमानी अनि पार्टीभित्र एकल निर्णयबारे खबरदारी गराउने परिणाम र घटनाको उदाहरण हो। अनि पुस्तान्तरणको अभ्यासको सुरुवाती पनि हो। युवा पुस्ताको उदय नै राजनीतिक तह र नेतृत्वबीचमा सन्तुलनको पुनस्र्थापना गर्ने माध्यम हो।

मतदानको क्रान्ति

राजनीति वा सामाजिक व्यवस्थामा ठूलो परिवर्तन ल्याउनका लागि गरिने विद्रोह क्रान्ति हो। राज्यसत्तामा आमूल परिवर्तन ल्याउने माध्यम क्रान्ति हो। कसैलाई नेतृत्वमा पुग्ने चाहनाले मात्र क्रान्ति हुँदैन। यो त यो दीर्घकालीन समस्या समाधानका लागि रोजिने माध्यम र प्राकृतिक स्वभाव हो।

नागरिक र नेतृत्व तह दुवैलाई सचेत, सङ्गठित र अनुशासित बनाएर विकास कार्यमा रूपान्तरण ल्याउनु हो। जब राजनीतिक या नेतृत्व परिवर्तनका लागि क्रान्ति हुन्छ तब नीतिहरूमा परिवर्तन ल्याउने या नेतृत्वमा परिवर्तन भन्ने रोजाई आउन सक्छ। नीतिमा परिवर्तन खोजिने राजनीतिक परिवर्तनलाई सामाजिक क्रान्ति मानिन्छ भने नेतृत्वमा नै परिवर्तन चाहने क्रान्ति महसुस भयो भने त्यो हिंसात्मक पनि हुन सक्छ।

नेतृत्वमा परिवर्तन ल्याउन क्रान्ति, कु–युद्ध वा गृहयुद्ध पनि हुन सक्छ। तर यसपटक स्थानीय तहमा स्वतन्त्र उमेदवारलाई नेतृत्वमा ल्याउने क्रान्ति केवल मतदानको अधिकार प्रयोग गरी सभ्य र शालीन क्रान्ति भएको छ। यो सभ्य र शालीन क्रान्तिबाट, जनताको मताधिकारबाट निर्वाचित जनप्रतिनिधिलाई अवमूल्यन गर्ने, काममा बाधा पुर्‍याउने अधिकार कसैलाई रहन्न। किनकि जनताको प्रतिनिधि जनताबाट चुनिएर गएको प्रतिनिधि हो र उसलाई सघाउनु र योजना मुताविक काम गर्न दिने धैर्य र साहस राख्नुपर्दछ। किनकि अब जनप्रतिनिधिले जनताको अपेक्षाविपरित कार्य गरेमा नागरिक समाजले त्यसको हिसाब माग्नेछन्।

बालेन्द्र साहले पहिलो दिनमै गरेको सुरुवात एउटा पारदर्शी तरिका पनि हो। यस्तो अभ्यास अगाडि बढ्यो भने उनलाई पनि नागरिक समाजको सहयोग मिल्नेछ। पुराना प्रक्रिया, पुरानै सोचलाई लिएर अलमलिनु भन्दा उत्तम हुनेछ नयाँ सोचले काम गर्न दिनु। किनकि परिणाम विकासको आधारमा मूल्यांकन गर्नुपर्नेछ।

भ्रष्टाचारी या गलत कार्यमा फसेको कार्यकर्तालाई दलगतरूपमा जोगाउने परिपाटी र संस्कारलाई अब निस्तेज गर्नु नै पर्दछ। प्रशासनिक कार्य होउन् या पूर्वाधार विकासका कार्य, ठेकेदारी हुन् या कर्मचारी, अब पारदर्शिता र इमान्दारितापूर्वक विकासको मार्गमा अघि बढ्ने संस्कार स्थापित गर्नुपर्नेछ। किनकि मतदानको क्रान्तिले जसरी नेतृत्व चुनेको छ, विकासको फल त्यसरी नै चाहन्छन् जनता।

स्वतन्त्र जनप्रतिनिधिलाई अबको चुनौती

स्वतन्त्र रूपमा विजयी नेतृत्वले अब आफूलाई लोकतान्त्रिकीकरण र जनमुखीकरण हुने अभ्यास सुरु गर्नुपर्दछ। पारदर्शिता र इमान्दारिताका साथ जनसेवक भएर विकासका कार्यमा अघि बढ्ने मूल मन्त्रलाई हरपल स्मरण गर्नुपर्ने हुन्छ। सर्वाधिक मत प्राप्त गर्ने प्रभावशाली र लोकप्रिय व्यक्तित्वका रूपमा मात्र नलिएर विकास कार्यका योजना र दीर्घकालीन समाधानका भिजनसँगै आफूलाई अघि बढाइरहनुपर्ने हुन्छ। स्वतन्त्र जनप्रतिनिधि सार्वभौम जनताका सेवकका रूपमा उभिन सक्नुपर्दछ।

नागिरक समस्यालाई राजनीतीकरणसँगै समाधानमुखी अभियानका अगुवाका रूपमा आफूलाई स्थापित गर्नुपर्नेछ। नागरिक आवाज, संवाद, सल्लाह र सहकार्यलाई प्राथमिकतामा राखिनुपर्दछ। प्रतिपक्षबाट आएका सहयोग र खबरदारी दुवैलाई मार्गदर्शनमा रूपान्तरण गर्न सक्नुपर्दछ।

युवाहरूको प्रेरणा स्रोत बनी अरू देशमा जस्तै युवा शक्तिले प्रतिनिधित्व गरेको विकास कार्य नमुनायोग्य हुनेछ भनी उदाहरणीय बन्ने समय आएको छ। आफ्नो विजय दलगत निराशाको पराकाष्टा मात्र होइन नागरिक समाजको आफूप्रतिको आशा र भरोसा हो भन्ने मूल मन्त्र बिर्सनु हुन्न।

प्रकाशित: १९ जेष्ठ २०७९ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App