coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

मधेस–पहाडका सेतु बालेन

मलाई अझै सम्झना छ, साढे दुई दशकअघि बिहे भएर भर्खरै काठमाडौंमा पाइला टेकेकी थिएँ। तराई वीरगन्जकी चेलीलाई काठमाडौंको वातावरणमा निकै रमाइलो महसुस भइरहेको थियो। म यहाँको धार्मिक पर्यटकीय क्षेत्रहरूमा घुम्दा निकै रमाएकी थिएँ।

सातापछि नन्दका साथमा म कालीमाटीमा केही घरायसी सामान किन्न गएकी थिएँ। त्यहाँ मधेशी मूलका नेपाली देखेँ। धेरैजसो साइकलमा तरकारी फलफूल बेच्थे भने कतिपय किराना र कपडा पसल थापेर व्यापार गरिरहेका थिए।

केहीबेरमा केही स्थानीय युवाहरूको जमात आएर साइकलमा तरकारी बेचिरहेका अधबैंसे उमेरका व्यक्तिलाई लात्तीले हानेर साइकल ढलाइदिए र गालीगलौज गरे अनि तरकारी पनि खोसेर लगे। म भने काठमाडौंमा भर्खरै आएकाले त्यतिखेर केही बुझ्न सकिनँ। मलाई यस्तो लाग्यो कि उसले केही गल्ती गरेको थियो कि? घटनापछि ती अधबैंसेले बिस्तारै साइकल उठाए। तरकारीको दौरीलाई फेरि साइकलमा राखे र उदास अनुहारमा केही बेर चुप लागे।

मैले उनको नजिक गएर घटना बुझ्ने कोसिस गरेँ। तब ती व्यक्तिले भने, ‘ती युवाहरू पहाडी समुदायका हुन्। मसँग तरकारी लिए। तरकारीको पैसा माग्दा मधेशी भन्दै उल्टै कुटे। नजिकैको प्रहरीले पनि केही गरेन।’ उनको जवाफ सुनेपछि त्यतिखेर म अकमक्कमा परेँ। घर आएँ। राति निदाउन पनि मलाई निकै गाह्रो भयो।

त्यसको केही दिनपछि फेरि मैले कालीमाटीमै अर्को घटना देखेँ, जुन मेरा लागि असह्य बन्यो। कालीमाटीकै केही स्थानीयले किराना पसलबाट सामान किनेँ। पसलेले पैसा माग्दा ती स्थानीयले त ‘मधेशी, धोती, इन्डियन बढी बोल्छस्’ भन्दै छोराका अगाडि नै उसको बुबालाई लात्तीले हाने। त्यतिखेर मलाई भित्री मनदेखि असह्य भयो। मैले तत्काल कालीमाटी नजिकैको प्रहरी चौकीमा गएर सूचना दिएँ। प्रहरी आए। प्रहरीले पसले र आक्रमणकारीलाई सम्झाइबुझाइ गरी घटनालाई साम्य मात्र पारे तर दोषीलाई कुनै कारवाही गरेनन्।

केही दिनपछि त्यो पसलेका परिवार नै तराईतिर लागे। काठमाडौंमा दुव्र्यवहार सहेर बस्न सकेनन्। तर म भने निकै दुःखी बनेँ। मैले वीरगन्जमा कहिल्यै कुनै प्रकारको विभेदको सामना गर्नुपरेको थिएन। तर काठमाडौंमा किन मधेशी–पहाडीको विभेद? बुझ्दै जाँदा थाहा पाएँ कि यहाँ त नेपाल भनेकै काठमाडौंलाई पो भनिँदो रहेछ। तराईलाई त भारत पो भन्दा रहेछन्।

 यो कुरा बुझेपछि मलाई त निकै चिन्ता लाग्यो। वीरगन्जकी चेली म, कहिल्यै कुनै विभेद भोगेकी थिइनँ। मेरी बालसखा नै मनिषा मानन्धर अर्थात् नेवार थिइन्, उनी अत्यन्त मिल्ने साथी। उनको गुफा राख्दा होस् वा दसैँको टीका थाप्दा, मलाई सबैमा सहभागी गराउँथिन्। उनी र मबीच कहिल्यै मधेशी र पहाडीको भावना आएन। अनि मेरो टोल गोश्वारा रोडमा नेवार, जनजाति, दलित, ब्राह्मण, क्षत्री अर्थात् सबै समुदायका व्यक्तिहरू कति मिलेर बसेका थिए। हामी सबै नेपाली बोल्ने, मिलेर बस्ने, दुःखसुखमा साथै हुन्थ्यौँ। होली, दसैं, छठ, तिहारलगायतका पर्वहरू एकअर्काको घरमै गएर मिलेर मनाउने गरेका थियौं।

मेरो बिहेमा त मेरो परिवारभन्दा पनि टोलछिमेकीका श्रेष्ठ, लामा, थापामगर, क्षत्री अनि शर्मा अंकलहरूले नै भोजभतेर, सरसजावट, जन्तीको स्वागतदेखि सबै व्यवस्थापन गरेको याद मलाई अझै ताजा नै छ।

यस्तो व्यवहार र संस्कार मैले सुरुमा काठमाडौंमा पाइन। जहाँ गयो त्यहीं मधेशी र पहाडीको कुरा निकालिहाल्ने। म बस्ने क्षेत्र त पूरै नेवार समुदायकै छ। मैले घर बनाउने समयमा पनि एकजना नेवार समुदायका दाइले मलाई मधेशी समुदायको भनेर धम्क्याउनसमेत आए। ‘बहिनी तिमीलाई थाहा छ, यो नेपालीको बस्ती हो,’ ती दाइले भने, ‘तिमी मधेशी भारतीय बस्न गाह्रो हुन्छ।’ म त छक्क परेँ। ‘वीरगन्ज भारत रे! के भन्नुभएको दाइ?’ मैले प्रश्न गरेँ। उनी केही बोल्न सकेनन्। पछि उनले कुरा सम्हाल्दै भने, ‘होइन, केही होइन।’

आज साढे दुई दशकपछिको काठमाडौं एकाएक परिवर्तन र सचेत भएको देख्दा मेरो मन फुरुङ्ग भएको छ। समय र परिस्थितिले हामी सबै हिमाल, पहाड र तराईका बासिन्दाहरू नेपाली हौं भन्ने भावना काठमाडौंबासीमा पनि जागेछ। यो सबको श्रेय युवापुस्तालाई जान्छ। किनभने युवा पुस्ताहरू पढेलेखेका शिक्षित बने। अध्ययनकै सिलसिलामा विदेशिन थाले। नेपालको भौगोलिक अवस्था, रहनसहन, रीतिरिवाज, धर्मसंस्कृति बुझ्न थालेका छन्। एकले अर्कालाई सम्मान गर्ने चेतना बढ्दै छ। त्यति मात्र होइन युवा पुस्ताका मानिसले जात, क्षेत्र आदिका बारेमा सन्तानलाई धेरै बताउन छाडेका छन्। यसको अर्थ हो नयाँ पुस्ताले सबैलाई नेपाली मानिसका रूपमा मात्र चिन्छन्।

आहा ! कति राम्रो र प्रशंसनीय बन्यो हाम्रो काठमाडौं। जसले एक होनहार मधेशी समुदायको युवालाई मेयरका रूपमा स्वीकार गरेको छ। काठमाडौंका नेवार समुदायका युवाहरूकै जोडबलकै कारण काठमाडौंबासीले बालेन साहलाई मतदान गरी भारी बहुमतका साथ विजयी गराई एक नयाँ युगको सुरुवात गरेका छन्। युवाहरूले चाहेमा देशको विकास सम्भव छ, परिवर्तन सम्भव छ भन्ने बालेनको जितले प्रष्ट पारेको छ।

स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदको उम्मेदवारी दिएको दिनदेखि नै बालेन्द्र साह मधेशी मूलका हुन् भन्ने थाहा पाउँदापाउँदै पनि काठमाडौंका नेवार समुदायको साथ पाउनु नै काठमाडौं अब परिवर्तन चाहन्छ, विकास चाहन्छ भनी प्रष्ट भएको छ। उनले निर्वाचनमा स्वतन्त्र र मधेशी दोहोरो चुनौतीको सामना गर्नुपर्ने अवस्था थियो। तर यस्तो चुनौतीको बाबजुत बालेन्द्र साहले काठमाडौंबासीको बहुमतले मेयर पदमा जित हासिल गरे। जसको एउटै कारण हो, उनको पाँच वर्षदेखिको तयारी। उनी आफू नेपाली भएकाले देशको हितका लागि काम गर्ने आफ्नो कर्तव्य ठानी तयारीमा जुटेका थिए।

भुइँचालोको बखत ६२ जिल्लाहरूमा भ्रमण गरी सामाजिक कार्य गरेको अनुभवका आधारमा उनले काठमाडौं सुधारको पाँच वर्षे स्पष्ट दृष्टिकोण बनाए।

उनको स्पष्ट दृष्टिकोणसहितको घोषणापत्र आयो। उनको घोषणापत्रमा कुनै ठुलाठुला काम गर्ने वा जादुको लौरो घुमाएर काठमाडौंको कायापलट गर्ने थिएन। उनको घोषणापत्रमा उनले काठमाडौंलाई कसरी व्यवस्थित, सुन्दर र सफा सहरका रूपमा स्थापित गर्न सकिन्छ भन्ने स्पष्ट भिजनसहितको विचार प्रस्ट थियो।

त्यही भएर बालेन मधेशी भएको थाहा पाउँदापाउँदै पनि काठमाडौंका सबै सुमदायले उनलाई मतदान गरे।

मेरी नन्दकी साथी सृजन श्रेष्ठ, मन्दिका श्रेष्ठ, महर्जन भाउजूहरूलगायत थुप्रै चिनेजानेकाहरूले उनको स्पष्ट दृष्टिकोणका आधारमा गर्वसाथ मतदान गरेको सुनाए। यति मात्र होइन, चुनावमा बालेनको मेयरमा उम्मेदवारी घोषणापछि नै उनका बारेमा नानाथरी अड्कल हुन थाले।

मतदानको दिनसम्म पनि बालेनलाई राजाको मान्छे भएको, भारतीय दुतावासले उठाएको, अमेरिकी र युरोपेलीले उचालेको एवम् राप्रपा र माओवादीलगायत दलमा जाने निश्चित भइसकेकोसम्मका दुष्प्रचारसमेत गरियो। यस्ता कुराले उनका मतदातालाई फरक पारेन। उल्टै सक्षम र योग्य मेयरको उम्मेदवारलाई मतदान गरेकोमा गर्व महसुस गरिरहेका छन् काठमाडौंका बालेनका मतदाताहरू।

काठमाडौंको गल्लीबस्तीमा अचेल चर्चा छ, ‘खराब नेताभन्दा त स्वतन्त्र र स्पष्ट दृष्टिकोण भएको युवा बालेनलाई मेयर छान्न पाएकोमा गर्व लागेको छ।’ सृजनाले सुनाइन्, ‘अब दलहरूले पनि यसबाट पाठ सिकून् कि अब काठमाडौंका जनता भेडा होइनन्, सचेत नागरिक हुन्। सक्षम र योग्य, जसले काठमाडौंलाई सुन्दर बनाउँछ, उसलाई नै मतदान गछौं।’ उनी थप सुनाउँछिन्, ‘जुनसुकै जात, समुदायको भए पनि बालेन नेपाली हो। त्यही भएर हामीले उसलाई मतदान गरेका हौं।’

काठमाडौंबासीले भोगिरहेका साधारण समस्यालाई समाधान गर्नेबारे स्पष्ट धारणा राखेका छन् बालेनले। उनले काठमाडौंमा लामो समयदेखि कायम रहेको विकृति, विसङ्गति र महिला हिंसाका क्रियाकलापलाई न्यून गर्दै आफ्नो काम अघि बढाउने लक्ष्य लिएका छन्। उनी जुनसुकै समुदायका भए पनि पहिला उनी नेपाली हुन्।

उनले सबै सरकारी कार्यालयहरूलाई बिहानमा सुचारु गर्ने, जन्मदर्ता, मृत्युदर्ताजस्ता महत्वपूर्ण कागजपत्र निर्माणका लागि होम डेलिभरीको व्यवस्था गर्ने, महानगरको फोहोरलाई मलमा परिणत गरी बिक्री गर्ने र घरेलु हिंसा मुक्त सुरक्षित काठमाडौं सहर निर्माण गर्नेबारे घोषणा मात्र होइन, स्पष्ट योजना नै तयारी गरेका छन्। जसका लागि उनले शिक्षा, स्वास्थ्य, सहरी विकासलगायतका क्षेत्रमा काम गर्ने विज्ञहरूसँग विगत्देखि नै निरन्तर भेटघाट गरिरहेका छन्।

साथै उनले स्कुलमा निःशुल्क सेनेटरी प्याड, सार्वजनिक स्थलमा स्तनपान कक्ष, भ्रष्टाचार रोक्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग सहकार्य, प्रविधि सुधार्न राष्ट्रिय अविष्कार केन्द्रसँग सहकार्य, मेलम्ची खानेपानीको अनुगमन र सहकार्य, ढुंगेधारा पुनःजागृत, बहुतले पार्किङ, क्यालिस्थेनिक पार्क, हरेक वडामा खेल मैदान स्थापना गर्नेमा स्पष्ट धारणा राखेका छन्। यसका साथै उनले काठमाडौं महानगरको जात्रासंस्कृति र सम्पदाको प्रर्वद्धन, प्रदूषणको मूल कारणको समाधान र पूर्वाधारमा सुधारलाई मुख्य एजेन्डा बनाएका छन्।

उनले अगाडि सारेका काठमाडौंबासीको दैनिकीसँग जोडिएका यिनै एजेन्डालाई पूरा गराउन साथ मात्र दिएका हुन् काठमाडौंबासीले, जसको परिणाम उनको जित हो। यसमा पनि युवाजमातको सङ्ख्या बढी छ। दलहरूका ठूला कुराले मात्र जनताको समस्या समाधान नहुनेबारे काठमाडौंका नागरिकले हाल राम्ररी बुझेका छन्।

दलबाट निर्वाचित हुने जुनसुकै नेताहरूले पद पाएपछि अहिलेसम्म काठमाडौंबासीका लागि काम गरेनन्। महानगरलाई दलको कार्यकर्ता भर्ना गर्ने, जागिर खुवाउने ठाउँ बनाए। उनीहरूले सधैँ जातीयताको मुद्दा उठाएर राजनीति गरे। देशमा अस्थिरता कायम गरी आफ्नो कुर्सीमात्र जोगाइराख्ने नेता र तिनका दलहरूमा कायम भएको विकृतिले नगरबासीमा दलप्रति वितृष्णा जगाएको छ। विशेषगरी युवाजमात जसले स्वदेशमै बसेर देशका लागि केही गर्छु भन्ने सोच राख्दाराख्दै पनि बाध्य भएर विदेशी भूमिमा जोखिमपूर्ण काम गरी परिवार पाल्नुपरेको छ।

तिनै युवा जमातले यसपटक परिवर्तनकै लागि पनि स्वतन्त्र उम्मेदवार बालेनलाई जिताएर छाडे। विकासको चाहनाका लागि परिवर्तनको परिणाम हो बालेनको जित। बालेनको जितले मधेश र पहाडबीच भावनात्मक सम्बन्ध जोडेको छ। उनीसँग काठमाडौं नगरबासीले राखेको आशा, भरोसा र विश्वास पूरा गर्न उनी आफ्नो बलबुताले भ्याएसम्म सबैको साथ र सहयोग लिएर काममा जुट्नुपर्छ। बालेनका लागि काठमाडौं घर भएको छ भने यहाँका नागरिक उनको परिवार। अब मतदातासँग गरेको बाचा पूरा गरी आफूलाई नगरबासीको सेवकका रूपमा समर्पित गर्नु नै उनको मुख्य दायित्व हुने छ।

प्रकाशित: १४ जेष्ठ २०७९ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App