१९ मंसिर २०७९ सोमबार
विचार

कांग्रेस न एमाले!

मोही माग्ने ढुुंग्रो लुकाउने!

वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। मत परिणामको चित्र भने करिव करिव स्पष्ट नै भैसकेको छ। ७ सय ५३ स्थानीय तहमध्ये मंगलबार रातिसम्मअथवा बुधबारभित्र सबै मतगणना सकिने र परिणाम सार्वजनिक भैसक्ने अनुमान निर्वाचन गणनामा खटिएकाहरूको रहेको छ। 

स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए। यसको ६४ प्रतिशत अर्थात १ करोड ७ लाख मतदाताले प्रत्यक्ष मतदान गरेको निर्वाचन आयोगले जनाएको छ। तर यहीँनेर बिर्सन नहुने कुरा के हो भने लगभग साठी लाख नेपाली युवा वैदेशिक रोजगारीलगायतका काममा विदेशमा छन्। र, निर्वाचनमा खटिएका पाँच लाख (सैनिक, प्रहरी र कर्मचारी)ले मत दिन पाउने संभावना छैन। यिनलाई मतदान गर्ने अवसर भएको भए नेपालको राजनीतिक परिवर्तन अझ तीव्रगतिमा हुनेमा कुनै शंका अब रहेन।

अहिलेसम्म प्राप्त मतपरिणामकाकेही अपवादलाई छाडेर केलाउने हो भने यो सर्वथा चाखलाग्दो रहेको छ। यो यसकारण पनि रोचक छ कि निर्वाचनमा भाग लिने कतिपय दलले घोषणापत्र लिएर आफ्नो नीति, कार्यक्रम र उद्देश्यसाथ उम्मेदवारीसम्म दिएका छैनन्। त्यसैले चुनाव परिणामपछि कामगर्दा विवाद बढेर डेडलक भयो भने आश्चर्य नमाने हुन्छ। प्रत्यक्ष हेर्न केही समय कुर्नैपर्छ। नेपाली कांग्रेसको नेतृत्वमापाँच दल नेकपा माओवादी केन्द्र, समाजवादी फोरम, अघिल्लो स्थानीय निर्वाचनमा अस्तित्वमै नरहेको नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर स्थानीय निर्वाचन लडेको जगजाहेर नै छ।

तर नेकपा एमाले एउटै चुनाव चिह्न लिएर देशव्यापीरूपमा चुनाव लड्यो। पार्टीभित्र आन्तरिक लोकतन्त्र विवाद, भर्खरैको पार्टी विभाजन, सत्ताबाहिरको प्रतिकूल अवस्था, सत्तासीन पाँच दलको आक्रामक गठबन्धनलाई टक्कर दिन सफल हुनुले एमाले संगठन र जनमत देशव्यापीरूपमा मजबूत देखियो। यो चुनावले देश दुई दलीयतातर्फ अगाडि बढेको पुनर्पुष्टि गरेको छ। कांग्रेसले दक्षिणपन्थी प्रजातान्त्रिक र एमालेले वामपन्थी लोकतन्त्रवादीहरूको प्रतिनिधित्व गरेको जगजाहेर छ।

मुलुकको पहिलो राजनीतिक शक्ति नभएर पनि नेकपा माओवादी कोसँग मिलेर चुनाव लड्दा फाइदा हुन्छ, त्यसो गर्न लामोसमयदेखि माहिर सावित भैरहेछ। यसपालि पनि त्यसोगर्न माहिर सावित भएको छ। २०७४मा कांग्रेससँग स्थानीय चुनाव लड्यो। फाइदै लियो। संसदीय र प्रदेश चुनाव एमालेसँग एकभएर लड्यो। फाइदै लियो। यसपालि त पाँचदललाई सहमत गरायो। फाइदै लियो। माधव नेपाल गठबन्धनको दरिलो आड पाउँदा पाउँदै पनि प्रभावकारी रहेनन्। उनको दुखान्त गठबन्धनमाथि दोषारोपण रहेको छ।

यसअर्थमा कांग्रेस नेतृत्वमा एमालेविरुद्ध पाँच दलको मोर्चा एकातिर र अर्कोतर्फ पन्ध्रवर्ष महासचिव रहेका माधव नेपालले चोइट्याउँदा चोइट्याउँदै पनि एमाले एक्लै निर्वाचनमा होमिएकाले पाँच दलको गठबन्धनले एमालेलाई पाताल पुर्‍याउनेछ भन्ने जुन अड्कल गरिएको थियो, गठबन्धनले न निर्वाचनअघि मतदाता आकर्षित गर्ने लहर ल्याउन सक्यो नत निर्वाचनपछिको मत परिणामले नै त्यसअनुरूपको रिजल्ट देखायो !एमाले एक्लै जबर्जस्त,संगठित र बलियो दलका रूपमा स्थापित हुन पुगेको छ। 

त्यसबाहेक निर्वाचन परिणाम आउनुअघि खासै लोकप्रिय नठानिएका, मिडियाले पनि वास्ता नगरेकास्वतन्त्र उम्मेदवारहरूले पूर्वको धरान, जनकपुर, काठमाडौँ र धनगढीका महानगर र उपमहानगरहरूकोमतगणना अवधिभर सबैको ध्यान आफूतर्फ तानिरहे। किनभने ठूला ठानिएका दलका भीमकाय उम्मेदवारहरूलाई स्वतन्त्र युवा उम्मेदवारहरूले धुलो नै चटाइदिए।उनीहरूको यो आकर्षणले नेपाली निर्वाचन राजनीतिलाईभविष्यमा अझ जबर्जस्त प्रभावित पार्ने विश्वास देशव्यापीरूपमा जागृत भएको छ।

 यसले ठूला राष्ट्रिय दलहरूले जनता के चाहन्छन् भन्ने कत्ति नबुझेको देखायो। यतिधेरै वर्षदेखि मुलुकको ताल्चा साँचो लिएका पार्टीहरू, शीर्षस्थ नेताहरूको बसोबास रहेको वडामै तिनका उम्मेदवारहरूले लज्जास्पदहार बेहोर्नुप¥यो।आफ्नै घरठाउँको समाजमा पनि नेताहरूगहिरो गरी भिज्न नसकेको देखियो। भर्खरै सम्पन्न निर्वाचनले नेताहरूको जनाधारलाई उदांगो पारिदिएको छ। नेताहरूको बसोबास काठमाडौँमै भएको र जिल्लाका वडाहरूमादेखाउन मात्र घर/जग्गाराखेको जगजाहेर भएको छ।

नेताका घरलाई चुनाव उठ्ने ठाउँमात्र बनाइएकोरहेछ। तर न मतदाताले टुरिस्ट बासिन्दाको कुरा सुने नत तिनले भनेकालाई भोट नै खसाले। चुनावका सात दिन बस्ने पिकनिकस्थल निर्वाचन सकिएपछि पुनः निर्जन बने। जनताले टुरिस्ट नेतालाई पर्यटक बनाइदिए, स्थायी बासिन्दामा स्वीकार नैे गरेनन्।

निर्वाचनमा मतदान पनि पहिले भन्दा घटेर ६४ प्रतिशतमा खुम्चिएको छ। त्यसमाथि महत्वपूर्ण महानगर, नगरहरूमा भनौँ न ‘जुँगाको रेखी नबसेका’भनिएका युवाहरूले जिते, जित्दैछन्। तर शक्तिशाली नेताका परिवारका,आसेपासेउम्मेदवारहरूले चुनाव हारे। यसबाट थाहा हुन्छ, पार्टीभित्र सुधार गर्ने गुन्जाइस रहेनछ। भएको भए न यसरी नातावाद कृपावादले प्रश्रय पाउँथ्यो नत पार्टीमै दिन/रात नभनी काम गर्नेहरूले स्वतन्त्र बनेर आफ्नै पार्टी उम्मेदवारविरुद्ध उठ्ने र जितेर देखाइदिने थिए।

जनता सेवामुखी राजनीतिको चाहना राख्ने र नेताहरूआफ्नै परिवार र वरिपरिकाचाकरवाजलाई उम्मेदवार उठाउन लागेपछि आउने परिणाम यस्तो नभए कस्तो हुन्छ त?आमजनतालाई रोजगारी दिने योजना बनाउने, शिक्षा–स्वास्थ्य अवस्थामा सुधार ल्याउन जोड दिने, विकासका योजनालाई अगाडि बढाउने, महँगी कालोबजारी घटाउने, उत्पादन बढाउने काममा दत्तचित्त भएर लागिरहने र उत्प्रेरित गर्ने प्रतिनिधिको खोजीमा लागिरहेका छन्।

तर नेता र जिम्मेवारहरू उम्मेदवार चयन गर्दादेखि नै तस्कर, भ्रष्टाचारी, दलाल, कालोबजारी, बिचौलिया, डन खोज्दै धनार्जन गर्न लागेपछि जनताले त्यस्तालाई मतदिने कुरा पनि भएन। यसअर्थमा यो निर्वाचन आउँदा निर्वाचनहरूका लागि लोकतान्त्रिक गणतन्त्र नेपालको रिहर्सल मात्र हो।

दलहरूले उम्मेदवार छनोट गर्दादेखि नै जनस्तरमा भिजेको योग्य उम्मेदवारलाई अगाडि बढाउन लाग्नुपर्ने हो तर सामन्तले आफ्नो कारिन्दा छाने जसरी जालीफटाहा, किर्ते गर्ने, जाली, भ्रष्टाचारी, दलाल, कमिसनखोर, चाकरवाजलाई राजनीतिक प्रतिनिधिका रूपमा टिप्न थालेपछि मतदाताले छाड्ने रहेनछन् भन्ने प्रमाणित हुन पुगेको छ। तर यो चुनाव आउँदो संसदीय र प्रादेशिक निर्वाचनको कास्टिङ मात्र हो। खेला त त्यहाँ पो देखिनेवाला छ। अझै पनि दलका नेताहरू नचेत्ने हो भने तिनलाई जनताले ‘नारायणहरि’ नै बनाइदिनेमा अब शंका रहेन।

नेपालको निर्वाचनलाई मिहीनरूपमा हेरिरहेका एक मानवशास्त्री प्राध्यापकले भने, पञ्चायतकालदेखिको चुनावी परिणामलाई मैले हेरिरहेको छु। हरेक चुनावमा बलियाहरू हार्छन्। बलियो माओवादी २०६४पछिको चुनाव हार्‍यो। बलियो काँग्रेस पनि हारेको छ। बलियो एमालेले पनि हारेको देख्नुभयो। कारण सत्तामा पुगेकाहरूसँग नेपाली जनतामा शायद रोष उत्पन्न हुनेगर्छ। राजनीतिक दलका नेताहरूबाट जनता निरास छन् भने नेतालाई एकथोक भन्छन् र मतदानका बेला अर्कोथोक गर्छन्। उनले ठट्टा गर्दैभने, तपाइँको स्तम्भको नाम जस्तै नेताहरूले ‘मोही माग्ने ढुंग्रो लुकाउने’ गरेपछि कसले सहन्छ?

ती प्राध्यापकले थप्दै भने, अहिलेका पार्टीहरूको विकल्प मिडिया बने। सबैकुरा तत्काल बाहिर ल्याइदिए। पीतपत्रकारिताले गलत कुरा पनि ल्यायो। यथार्थपत्रकारिताले सत्यतथ्य ल्यायो। भीडको राजनीतिप्रति पनि जनताले वितृष्णा जनाएको देखियो।मिडिया नै यसको कारक बन्यो। सहभागीहरूको विचारसमेत आमसञ्चारले तत्काल संप्रेषण गरिदियो। फेरि जनताको हात–हातमा हिजोआज मोबाइल फोन छ। भ्रष्ट, तस्कर, कालाबजारी, दलाल, माफिया उम्मेदवारले जति कुरो मिलाए पनि, अकुत पैसा छरे पनि, जति षडयन्त्र गरे पनि मोबाइल हेरेर मोबाइलबाटैमतदाताले तत्कालै ‘टुस’ पारिसक्छन्।

जसको पत्तो नेताले पाउनै सक्दैन अनि ‘खलास’ हुन्छ ! त्यसैले पार्टीहरूअझबढी लोकतान्त्रिक नभई सुखै छैन। राजनीतिक सुधार, लोकतान्त्रिकीकरण, जनकेन्द्रित संगठन, नीतिहरूलाई सुधार गर्दै सुदृढ पार्ने खाका, योजना र कार्यक्रमसाथ कर्मशील, योग्य र प्रभावशाली उम्मेदवारहरूलाई अगाडि नबढाई सुखै छैन। राजनीति सार्वजनिक विषय हो, यो निजीकरण हँुदैन। जतिसुकै धन, बलशालीलेदुरूपयोग गर्न खोजेपनि लोकतन्त्रमा जनताले त्यसलाई सहँदैन, किनारा लगाउँछकिनभने लोकतन्त्र तलबाट विकसित हुँदै अगाडि बढ्ने पद्धति हो।

लोकतन्त्रसँगै लामो समयदेखि राष्ट्रिय नीति बनाउने ठाउँमा विदेशीले हस्तक्षेप गरेर नेपाल सुहाउँदो जनतामैत्री नीति बनाउनै दिइरहेका छैनन्। तल्लो निकायमा जहाँ सर्वसाधारण रहन्छन् तिनलाई चाहिएको नीति नियम बनाउने र कार्यान्वयन गर्ने ठाउँका प्रतिनिधि चुन्ने चुनावमा फेरि पार्टीको केन्द्रले हस्तक्षेप गरेर असललाई पन्छाएर गलत उम्मेदवार लाद्न लागेपछि लोकतन्त्र फष्टाउन र जनताको हितमा अगाडि बढ्न सक्दैन। सकस हुन्छ। लोकतान्त्रिक संस्कृति नै भताभुंग हुन पुग्छ। आफ्नो नीतिकार्यक्रमको सट्टा एक पार्टी र अर्को पार्टीमाथि गालीगलोज गरेर चुनावलाई सत्तासीनहरूले दुरूपयोग गर्न लागेकाले जनताले स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा भोट ओइर्‍याइदिए।

स्वच्छ छवि, क्षेत्रीय र जातीयताको बदलामा राष्ट्रिय आकांक्षा, सामाजिक आधार, युवा जोश र जाँगरले चुनावी मैदानमा दादारूपी पार्टीहरूलाई कसरी हल्लाइदिने रहेछन् भन्ने सन्देश पछिल्लो निर्वाचन परिणामले दिएको छ। त्यसैले गर्दा चर्चैमा नरहेका स्वतन्त्र उम्मेदवार बनेर उठेकाहरूलाई जनताले नेपाली केजरीवाल बनाएर चुनाव जिताइदिए। मेयर, उपमेयर, वडाध्यक्षको पदमा पुर्‍याइदिएका छन्। ती त थोरै स्वतन्त्र उम्मेदवारका प्रतिनिधिपात्र मात्र हुन्। यसको प्रभाव ढोकैमा आइपुगेको संसदीय निर्वाचनमा पक्कै हेर्न पाइनेछ। त्यो कस्तो होला ? आउँदो समयले बताउनेछ।

यसपालिको चुनावमा देखिएको अर्को गाईजात्रा नीति, सिद्धान्त, आदर्श, दर्शन राजनीति नमिल्ने दलहरू गठबन्धन बनाएर चुनाव लड्नु हो। कतै विपरित ध्रुवका दलहरूले एकअर्कालाई स्वीकार गर्नुले विचारको राजनीतिमा पूर्णविराम लाग्न पुगेको छ। जसको विरोध तत्तत् पार्टी पंक्तिभित्रै भयो। पार्टीलाई निर्णय बदल्न स्वाभिमान भएका, सिद्धान्तनिष्ठ र आदर्श नेता/कार्यकर्ता पंक्तिले अनेक प्रयत्न गरे। तर केही नलागेपछि उनीहरूले स्वतन्त्र उम्मेदवारी दिए। ढिठ नेतृत्वले अझ तिनलाई नै पार्टीबाट निष्काशनसमेत ग¥यो। यसले पार्टीभित्र हारलधुरल र आरोप प्रत्यारोप चरमचुलीमा पुगेको देखिएको छ। 

आदर्श सिद्धान्तछोड्दा पार्टी कमजोर हुनु स्वाभाविक पनि हो। केही नेतालाई भने यसबाट फाइदा भए पनि पार्टी कमजोर बन्न पुगेको छ। सिद्धान्त र आदर्शको धरातल नभएको हुल सफल भए पनि त्यो बालुवामा हालेको पानीसरह बिलाउनेछ। पञ्चायतले कतिपय काँग्रेस वामपन्थी नेतालाई किनेर प्रयोग गर्‍यो तर तिनको नाउँ पनि अहिले कतै सुनिँदैन। 

अवसरवादी, सिद्धान्तहीन, स्वार्थी गठबन्धन प्रजातान्त्रिक कित्तामा बढोस् कि वामपन्थी कित्तामा, त्यसले अब हुने चुनावहरूमा स्वतन्त्र उम्मेदवारहरूको बाढी नै लगाउने निश्चित छ। अनेकखालका प्रतिस्पर्धा पनि बढ्ने छन्। पैसा र शक्तिले मात्र चुनाव जितिने भएको भए काठमाडौँमा बालेन साह, धरानमा हर्कराज राई, जनकपुरमा मनोजकुमार साहसुंढी, धनगढीमा गोपी हमालअगाडि आउने थिएनन्। समय बलवान हुन्छ भनेको हो रहेछ ! पैसा र पावरले काम नगर्ने समय पनि आउँदो रहेछ। स्वतन्त्रहरूले जित्न लागेको र जितेको ठाउँमा भएको यही हो। जनता नै जागेपछि कसैको केही लाग्दोरहेनछ !न कांग्रेस जित्दो रहेछ, नत एमाले नै!

राजनीतिशास्त्रमा सर्वमान्य कुरा हो–आवधिक निर्वाचनले जस्तोसुकै तानाशाह र भ्रष्टचारको किल्लालाई पनि धुलोपिठो पारिदिन्छ। किनभने जतिसुकै कठिन अवस्थामा पनि जनताले चुनावमार्फत फोहोरमैलारूपी डंगुरलाई बढारेर फ्याँक्ने हैसियत राख्छ। त्यसैले निर्वाचनलाई पानी बगिरहेको नदी पनि भनिन्छ। 

नदीमा जतिसुकै फोहोर फ्याँके पनि जसरी पानीको बहावले त्यसलाई किनारा लगाइछोड्छ, त्यसैगरी निर्वाचनले लोकतन्त्रलाई स्वच्छ बनाउँछ। जनतालाई त्यसै जनता जनार्दन भनिएको होइन। उसले सूक्ष्मरूपमा हरेकका गतिविधि नियालिरहेको हुन्छ। निर्वाचन यही सामान्य विशेषताबाट उत्कृष्ट पद्धति बन्न पुगेको हो। लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र नै हो।

प्रकाशित: ११ जेष्ठ २०७९ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App