११ असार २०७९ शनिबार
विचार

बा र बालेनहरू

बाइरोडको बाटोमा

‘तपाईहरूले हामीजस्ता सन्तानको अनुहार हेरेर भोट हाल्नुभयो?’ एकजना युवा आक्रोशित भएर चिया खाइरहेका केही पाका मानिससँग कुरा गर्दै थिए। ‘राम्रो मान्छे आए हामीले विदेश जानुपर्दैनथ्यो,यहीँ गरिखान पाइन्थ्यो।’

वैशाख ३० को स्थानीय तह निर्वाचन परिणाम देशैभरिबाट आइरहेको छ। केही दिनयता कसले कति ल्यायो? को अगाडि छ आदि/इत्यादिमै सबैको ध्यान छ। चुनावी समाचारको बीचमा बिहान घुम्न निस्कँदा जहिल्यै यस्ता संवाद कानमा पर्छन्।

यस्ता अनेकन संवादमध्ये बुधबार बिहान जगडोलको एउटा चिया पसलअगाडि मोटरसाइकलमा बसेका एक दाह्रीवाल युवाका यी कुरा सुन्दै म अगाडि बढिरहेको छु। एक हिसाबले यो बालेन पुस्ता हो।बालेन अर्थात् बालेन्द्र शाह, जो यतिबेला घर–घरको चर्चाको विषय बनेका छन्। सबै गाउँपालिका र नगरपालिकामा बालेन थिएनन् तर उनीजस्ता उम्मेदवार अवश्य थिए। यस्ता उम्मेदवारले जित्नुपर्छ भन्ने मान्यता यसपटक सबैका मनमा रहेको देखिएको छ।

चिया पसलका ज्येष्ठ नागरिकसँग उनी रिसाउनु स्वाभाविक हो। युवा ज्येष्ठ नागरिक मतदातासँग रिसाइरहेका छन्। युवा कार्यकर्ता ज्येष्ठ नेता बाहरूसँग आक्रोशित छन् तर केही भन्न सक्दैनन्। धन्य, मतदातामा भने अहिले केही हदसम्म चेत पलाएको देखिन्छ।

पार्टी नेतृत्वमा रहेका बाहरूलाई लागेको थियो हामीले जसलाई उठाए पनि भोट नहाली सुख छैन। त्यसैले उनीहरूले असल र काम गर्न सक्ने उम्मेदवार भन्दा आफूलाई मन परेका, चाकडी गर्न सक्ने, पत्रम्पुष्पम्को व्यवस्था गर्न सक्ने व्यक्तिलाई नै तिनले छाने। तर आममतदाताका मनमा अर्थोकै पाक्दै थियो।

अहिलेको राजनीति बुझ्न केही सहज तथ्यलाई अगाडि सारे पुग्छ। कुनै पनि दल सिद्धान्तका आधारमा चलेका छैनन्, भक्तपुरको नेपाल मजदूर किसान पार्टीबाहेक। त्यसैले आममतदाताका निम्ति नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) आदि सबै दल भिन्नाभिन्नै साइनबोर्ड भएका एकै किसिमका किराना दोकान हुन्। यी दोकानमध्ये जो जहाँ गए पनि हुन्छ।

दोकाने बाहरूले आममतदातालाई बाध्य पार्दै आएका हुन्। विगतमा यिनै दलले आह्वान गरेका आमसभामा अटाइ/नअटाइ मानिस हुन्थे। यिनीहरू परिवर्तनका निम्ति हुन् भन्ने परेको थियो। आज बालेनको पछि लागेका युवाहरूलाई देख्दा तिनै दिनको सम्झना भइरहेको छ, जतिबेला राजधानीको काठमाडौँ नगरपञ्चायतको निर्वाचनमा हरिबोल भट्टराई र तीर्थमान डंगोल जनपक्षीय प्रधानपञ्च र उपप्रधानपञ्चमा उठेका थिए। मतगणना भइरहेका बेला हाम्रा युवा भावना अहिले बालेनका निम्ति जस्तै जागेका थिए। समय क्रममा ती बिस्तारै हराएर गए।

परिवर्तनको उच्छवास प्रत्येक कालखण्डमा अभिव्यक्त हुन्छ। सपना देख्न छाड्नु हुँदैन। अहिले बालेन बनेर देख्न खोजेका सपनालाई सलाम छ। लोकतन्त्र यस्तो प्रणाली हो जसले आफैंँभित्रबाट यसको शुद्धीकरण खोज्छ। बाहरूले यसलाई रसातलमा पुर्‍याउने देखिएपछि अरू कोही छन् कि भनेर खोज्ने क्रमको थालनीका रूपमा अहिलेको अभियानलाई लिन सकिन्छ।

बालेनहरू जितून् वा हारुन्। तर, अभियान सुरु भयो। धेरैलाई यहाँ अहिलेका दलहरूको विकल्प छैन भन्ने लागेको छ भने अब त्यो धारणामा परिवर्तन गर्न थाले हुन्छ। मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुन: स्थापना भएपछि डा. देवेन्द्रराज पाण्डे, टंक कार्की लगायतले प्रजातान्त्रिक लोकदल बनाएर छुट्टै अभियान सुरु गर्न खोजे पनि त्योबेला सफल हुन सकेन। त्यो सफल नहुनुको कारण भने दलहरूको परीक्षण भइसकेको थिएन। ३० वर्ष लामो आन्दोलनपछि आएका दलका नेताहरू पक्कै चेतेका होलान् भन्ने आममानिसलाई लागेको थियो। तर, होइन रहेछ। अहिले ३० वर्षपछि फेरि परिवर्तनको चाहना अभिव्यक्त हुँदैछ।

आम मानिसका आकांक्षा सधैँ उस्तै हुन्छन्। कुनैबेला ‘सबै नेपाली पञ्च सबै पञ्च नेपाली’ थिए। २०४६ सालको परिवर्तनपछि ‘सबै नेपाली कांग्रेस–कम्युनिस्ट, सबै कांग्रेस–कम्युनिस्ट नेपाली’ भए। २०४७ पछि अबिर लगाएर हिँडेका मानिस फेरि माओवादी पनि भए। अहिले किन सबै ‘बालेन–बालेन’ भनिरहेका छन्?

त्यसमा पनि अहिले त स्थानीय सरकारको निर्वाचन हो। यो मुलुकमा प्रधानमन्त्रीले गर्न नसकेको काम नगरपालिका र गाउँपालिकाले गर्न सक्लान्? आम नागरिकले देशभित्रै रहेर श्रम गर्न पाउलान्? तर, सर्वसाधारणले सपना देख्न थालिसकेका छन्। धेरै सर्वसाधारण नेपालीले बितेका केही वर्षमा संसार देखेका छन्। ती देश बनेको पनि देखेका छन्। आफैँले ती देश बनाउन आफ्ना पाखुरी बजारेका पनि छन्। अनि संसारका सबै देश बन्छन्, यही नेपाल किन बन्दैन? तिनका मनमा खुल्दुली छ।

त्यसको जवाफ पनि सर्वसाधारणले फेला पारिसकेका छन्। असल नेतृत्व नभई देश बन्दैन। मुलुकमा लोकतन्त्र भएर मात्र पुग्ने रहेनछ, त्यसलाई चलाउने संस्कार र संस्कृति आवश्यक हुन्छ। लोकतन्त्रजस्तो राम्रो प्रणाली चलाउने नेतृत्वको उच्च गुण नभई अपेक्षित परिणाम आउँदैन। त्यही भएर स्थानीय सरकारको निर्वाचनमा बालेन शाहजस्ता पात्रको खोजी भएको हो।

अहिलेको राजनीतिक नेतृत्व कस्तो छ? त्यो मुखाले छ। काम गर्न जान्दैन। गफास्टक छ। त्यसमा देखिएको अपुरोपन बालेनजस्ता युवाहरूमा अहिलेको समयले खोजिरहेको छ। दलका नेतालाई हराएर स्वतन्त्र उम्मेदवारलाई जिताउन अहिले किन आममानिस तयार भए? किनभने दलहरूले यो देशलाई आफ्नो जिमिन्दारी सम्झिए। आफूलाई सेवक होइन, तिनले शासक सम्झिए। तिनका ठस्सा देखेर यो ३० वर्षमा भित्रभित्रै नमुर्मुरिने मानिस छैन। अहिलेसम्म एकजुट पार्ने मानिस नपाएर मात्र हो, यिनका अकर्मण्यताका विरुद्ध जाग्न ती तम्तयार भइसकेका छन्।

यसकारण अहिलेको स्थानीय तह निर्वाचनको सन्देश सुध्रिनका निम्ति पूर्वचेतावनी हो। बाहरू कृपया सुध्रिनुहोस्। नसुध्रिने हो भने बालेनजस्ता पात्र यही समाजबाट आउँछन्। धेरैलाई लागेको थियो–नेता यिनै हुन्, यी सुध्रिँदैनन्। तर, अब प्रष्ट भएको छ–नसुध्रिएर सुखै छैन।  

वैकल्पिक राजनीतिक दलको खोजी पाँच वर्षअघि पनि भएको हो। विवेकशील दलले अहिलेको निर्वाचनसम्म आइपुग्दा गति लिन सक्ने थियो। त्यो दल रवीन्द्र मिश्रको साझा पार्टीसँग मिलेपछि बिलिन भएको छ।

अहिले विवेकशील साझाको नेतृत्व उनै मिश्रले लिएका छन्। देशविदेश घुमेका, विश्व मिडियामा काम गरेका र वक्तृत्व कला भएका व्यक्तिले पनि नेतृत्व दिन सक्दा रहेनछन्। तर, बालेन जस्ता पात्रहरूले आएर फेरि विकल्प भएको सन्देश दिँदा यो मुलुकमा राम्रै तरंग आएको छ।

बालेन जस्ता व्यक्तिहरूले मिलेर राम्रो दल बनाए, आगामी दिनमा विकल्प हुन सक्ने संकेत गरे भने स्वाभाविक रूपमा फेरि एकपटक राजनीतिमा अहिले देखिएको निराशा चिरिन्छ। जसरी अघिल्लो संसदीय निर्वाचनका बेला स्थायित्व मूल तत्त्व बनेर आएको थियो, अहिले युवालाई देश जिम्मा लगाउनुपर्छ भन्ने भावना आएको छ।

अघिल्लो निर्वाचनका बेलाको स्थायित्वको आमभावनालाई केपी शर्मा ओलीको महाराज अवतारले सखाप पार्‍यो। अहिले कसैले पनि कुनै दलविशेषलाई बहुमत दिएर स्थायित्व खोज्नुपर्ने आवश्यकता महसुस गर्न छाडिसकेका छन्। त्यसैले अहिले दलविशेषको घमण्डको हुंकारलाई होइन, असल व्यक्ति चयनको चमत्कार खोजेको देखिन्छ।

मतदाताले गरेको मतोले वास्तवमै मुलुकमा परिवर्तन गर्न सक्छ। बालेनले अहिलेसम्म ल्याएको मतबाट आममतदाताको मनोभाव बुझ्न सकिन्छ। यसले निर्वाचन धेरै महँगो भयो, खर्च नगरी जितिँदैन भन्ने पक्षलाई बिस्तारै चिर्दै जाने देखिन्छ। राम्रा उम्मेदवार भए भने तिनले खर्च गर्नुपर्दैन, बालेनको जस्तो कालो चस्माको फेसनमा हिँड्दैमा पनि चुनाव जितिन्छ।

निर्वाचनअगाडि र त्यही दिन बिहान पनि बाटोमा हिँड्दा मानिसका कुराकानी मेरा कानमा ठोक्किने गरेका थिए। सडकमा हिँड्नुको फाइदा यही छ, जहाँ मानिसका आकांक्षा सहजै थाहा पाउन सकिन्छ। उनीहरू भनिरहेका थिए–एउटा भोट लौरोमा हाल्ने हो, बाँकी जहाँ जे गरे पनि हुन्छ।लौरो अहिले परिवर्तनको प्रतीक बनेको छ। यो अनेकन आयाममा अहिले प्रकट भइरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App