६ जेष्ठ २०७९ शुक्रबार
विचार

पहिरिने प्रविधिको स्वास्थ्यमा प्रभाव

स्मार्टवाच, रिङ, नाडीफित्तालगायतका पहिरिन मिल्ने उपकरणले हाल उपयोगकर्ताको जीवनका विभिन्न पक्षको सटिक र सूक्ष्म मापन सम्भव भएको छ।

आपल घडीले प्रतिदिन लाखौँ तथ्यांक संकलन गरिरहेको हुन्छ। प्रविधिको यो विकासले यसअघि संभव नरहेको स्तरमा मानिसले आफूलाई निरन्तर अवलोकन गर्न संभव बनाएको छ र उपलब्ध तथ्यांकका आधारमा आफ्नो स्वास्थ्य र खानपान परिवर्तन गर्न थालेका छन्। त्यसो त, मानिसले आफ्ना विभिन्न भौतिक मापन र आनीबानीको अभिलेख सत्रौँ र अठारौँ शताव्दीको पुनर्जागरण युग (इनलाइटमेन्ट एज) र तथ्यांकको विकाससँगै राख्न थालेको हो। तर त्यतिबेला, यस्ता जानकारीको उपयोग विभिन्न जनसंख्यालाई बुझ्न र नियन्त्रण गर्न गरिन्थ्यो।

यही मापनका आधारमा मानिसलाई बिरामी तथा कमसल परिभाषित गरेर दण्ड दिनेसमेत गरिन्थ्यो। तर अहिले गरिने मापनले व्यक्ति स्वयंले आफूभित्रको विभिन्न पक्षको जानकारी लिन संभव पारेको छ। सन् २०११ देखि यस्ता प्रविधिजन्य उपकरणको प्रयोग गर्नेहरूका बारेमा अनुसन्धान गर्दै आएकी न्युयोर्क विश्वविद्यालयकी सांस्कृतिक मानवशास्त्री नताशा सुलले उद्यमीहरूले उपयोगकर्ताको यो रुझानलाई सम्बोधन गर्न विभिन्न एप तथा ग्याजेटको विकास गरेको ठान्छिन्। आपलले सन् २०१५ मा पहिलो घडी सार्वजनिक गर्र्नुभन्दा ६ वर्षअघि अर्काे कम्पनी फिटबिटले फिटनेस ट्रयाकर बजारमा ल्याइसकेको थियो र त्यतिबेला बजारमा ५०० भन्दा बढी थरीका उपकरण उपलब्ध भैसकेका थिए।

बजार अनुसन्धान कम्पनी सिसिएस इनसाइटका अनुसार स्मार्टवाच र फिटनेस ट्राकर जस्ता उपकरणको बिक्री हाल ७ अर्ब अमेरिकी डलर भन्दा बढी छ। सन् २०२१ मा यो विधामा विश्वव्यापीरूपमा २९ अर्ब अमेरिकी डलर खर्च भएको र यो रकमको आधा भन्दा बढी खेलकुदसम्बन्धी सरसामानमा भएको देखिएको छ। सन् २०२१ मा हरेक ४ जना अमेरिकीमध्ये एकजनाले स्मार्टवाच र फिटनेस ट्रयाकरको उपयोग गर्ने गरेको पाइएको छ भने बेलायत र फिनल्यान्डमा पनि उपयोगको स्तर उस्तै छ।

सन् २०१५ को तुलनामा सन् २०२१ सम्म आइपुग्दा उत्तर अमेरिकामा स्मार्टवाच र फिटनेस ट्रयाकरको सामुन्द्रिक ढुवानी दुई गुणाले बढेको थियो। सन् २०१९ मा स्विस घडी कम्पनीको कुल बिक्री भन्दा आपल घडीको बिक्री अधिक रहेको छ। सबै ब्रान्ड गरी २०२६ सम्म प्रतिवर्ष कुल ४० करोड यस्ता उपकरणको बिक्री हुने आकलन गरिएको छ। सन् २०२० मा यस्ता उपकरणको बिक्री २० करोड थियो।

स्वास्थ्य उपचार र बिरामीलाई हेर्ने दृष्टिकोणका हिसाबले पश्चिमी समाज एक छैन। अर्थतन्त्रको आधारमा पनि यो असमान छ। तर शरीरमा लगाउन मिल्ने यस्ता उपकरणले यो खाडल पुर्न सहयोग गरेका छन्। राति सुतेका बेला मुटुको धड्कनसमेत नाप्न सहयोग गर्ने यस्ता उपकरणले जीवनलाई एकातिर चिकित्सामय पारेका छन् भने अर्काेतिर स्वास्थ्य उपचारमा क्लिनिसियन र सम्बन्धित व्यक्तिको भूमिकालाई रूपान्तरण गरेको छ।

कोभिड–१९ महामारीले यो प्रक्रियालाई तीव्रता दिएको छ। यो अवधिमा यस्ता उपकरणको महत्व झन् बढेको थियो। व्यायामशाला बन्द रहँदा मानिसले यस्ता उपकरण खरिद गरेर आफू कति हिँडेको, दौडेको तथा साइक्लिङ गरेको भनेर आफैँ रेकर्ड राख्न थालेका थिए। गार्टनर नाम गरको रिसर्च फर्मका रञ्जीत एटवालका अनुसार महामारीअघि यस्ता उपकरणको प्रयोग स्वेच्छिक हिसाबले हुने गरेको थियो र नचाहिँदा मानिसले यिनलाई दराजमा राख्ने गरेकामा हाल यस्ता सरसमानको उपभोग नियमित हुन थालेको छ। अमेरिका र युरोपमा वृद्धवृद्धाले समेत स्मार्टवाच लगाउन सुरु गरेका छन्।

उनीहरूको स्वास्थ्य स्थितिको जानकारी लिन र समस्या देखिएका आफन्तलाई एलर्ट जारी गर्न यी घडीले सहयोग गरेका छन्। यसरी प्रविधिले मानिसको जीवनको व्यवस्थापन र अनुगमन गर्न सहयोग गरेको छ र यसको फाइदा अनेकन छन्। अनुसन्धानकर्ताले डेनमार्कमा गरेको एक समीक्षात्मक अध्ययनले यस्ता उपकरण प्रयोगकर्ता झन बढी गतिशील बनेका देखाएको छ। यस्ता उपकरणका प्रयोगकर्ताले दिनहुँ थप ८०० मिटर हिँडेको र थप ४९ मिनेट व्यायाम गरेको पाइएको छ। भौतिक गतिविधिमा हुने सामान्य परिवर्तनको महत्व पनि अत्यधिक पाइएको छ। धेरै वर्ष लगाएर गरिएका अध्ययनले प्रतिदिन १ हजार पाइला बढी हिँड्दा ६ देखि ३६ प्रतिशतले मृत्यु दर घट्ने देखाएको छ। यसअघि गतिहीन भएर बस्नेहरूमा यसको प्रभाव सबैभन्दा बढी देखिएको छ।

अध्ययनका यस्ता नतिजाका कारण अमेरिकाका बिमा कम्पनीले आफ्ना ग्राहकलाई यस्ता उपकरण दिन थालेका छन्। युनाइटेड हेल्थकेयर नामक बिमा कम्पनीका अनुसार यस्ता उपकरणका ५९ प्रतिशत प्रयोगकर्ताले व्यायामको जानकारी लग गर्ने गर्छन्। यस्ता उपकरणले बिरामीको राम्रो हेरचाह गर्न सहयोग गर्ने भएकोले अमेरिका र युरोपका चिकित्सकले यस्ता उपकरणका प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्।

बिरामीलाई उसको निद्रा कस्तो छ भनेर नसोधी चिकित्सकले उपकरणमा उपलब्ध तथ्यांकको समीक्षा गर्न थालिसकेका छन्। यस्ता तथ्यांकलाई क्लिनिकल केयरको महत्वपूर्ण अंगका रूपमा लिन थालिएको छ। फिनल्यान्डले यस्ता व्यक्तिगत तथ्यांकलाई आफ्नो राष्ट्रिय स्वास्थ्य रेकर्डसँग जोडेको छ। यसैगरी यस्ता उपकरणको प्रयोग नयाँ औषधिको परीक्षणमा समेत गर्न थालिएको छ।

यो प्रसंगमा केही समस्या पनि छन्। गोपनीयताको प्रश्न एकातिर छ भने अर्काेतिर स्वास्थ्य तथ्यांकको आधारमा विभेद हुन सक्ने देखिएको छ। तर यसका बेफाइदा भन्दा फाइदा धेरै छन्। अमेरिकामा कुल रोगभारको ८० प्रतिशत हिस्सा जीवन यापनको तौरतरिकाले लिन्छ। गरिब देशमा पनि यसको अनुपात उस्तै छ। करिब ५० प्रतिशत मानिसलाई औषधिले अपेक्षित परिणाम दिन्छ भने कतिपय रोगको उपचार नै छैन। त्यसैले डिजिटल हेल्थ केयरले यसमा सहयोग पुर्‍याउन सक्छ।

(दि इकोनमिस्टबाट)

प्रकाशित: २८ वैशाख २०७९ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App