६ जेष्ठ २०७९ शुक्रबार
विचार

विकास: तथ्यांक कि गुणात्मकतामा ?

दीपक चोपरा भन्छन्–“तिमी मानसिक सोच परिवर्तन गर तिम्रो जीवन रूपान्तरण हुन सक्छ।” देशलाई विकासमा रूपान्तरण गर्ने सूत्र पनि यही हो, नेतृत्वमा हुनेको मानसिक सोच परिवर्तन। निर्वाचनको माहोल यति ऊर्जामय बनिरहेको छ कि अब सबै ध्यान विकासमा केन्द्रित हुन थालेको भान हुन्छ।

विकासको उत्कृष्ट मापदण्ड भनेकै संख्यात्मक रूपमा के कति परिवर्तन भयो त्यसको मापन हो। त्यसमा पनि अन्तर्राष्ट्रिय मानव विकास सूचकांककै आधारमा भन्नुपर्दा औसत आयमा वृद्धि, मानिसको आयुमा बढोत्तरी र शिक्षित जनसंख्याको वृद्धि। यी तीन महत्वपूर्ण तथ्यांकीय विषयले एकअर्कासँगको सम्बन्ध राख्ने भएकाले मुलुकको मानव विकास स्थितिलाई यसकै आधारमा श्रेणीबद्ध गरिन्छ।

नेपालमा यसलाई कसरी हेर्ने गरिएको छ भन्ने कुराको सही तथ्यांक छ छैन मूल्यांकन नै गर्नुपर्ने हुन्छ। तर, यी सूचकले मात्र विकासको समग्र स्थितिलाई प्रतिबिम्बित गर्न सक्दैनन्। यथार्थमा, मुलुकमा के कस्तो विकास भएको छ भन्ने बुझ्न विकासबाट आमनागरिकको जीवनमा के कस्तो प्रभाव पारेको छ भन्ने बुझ्नैपर्ने हुन्छ। तब मात्र परिवर्तनको गुणस्तरीयता र गुणात्मकता थाहा लाग्छ।

शैक्षिक स्तरोन्नति: समग्र शैक्षिक विकासको तथ्यांक संकलन नगरी सरकारी तथा निजी विद्यालयको गणना र सहरी क्षेत्रको तथ्यांकले शैक्षिक स्तरोन्नतिको आँकडा थाहा हुँदैन। दूर दराजमा वर्ष दिन बित्दासम्म पुस्तक नपुगेको समाचार आइरहँदा, विद्यार्थी भर्नाको सही अभिलेख थाहा नहुँदा विद्यालय जाने उमेरका बालबालिकाको कुल संख्या कस्तो छ? त्यसमा पनि छोरीको संख्या र छोराको संख्या कस्तो छ ? अपांगता शैक्षिक गतिविधि र तथ्यांक कस्तो अवस्थामा छ?

शिक्षकको पदपूर्ति र पाठ्यक्रम अनुसारका शिक्षकको उपलब्धता, शिक्षक र विद्यार्थी सुविधा, खाजा, खाना, स्वास्थ्य, खेलकुद, अतिरिक्त क्रियाकलाप आदिको उपलब्धता र गुणस्तर शिक्षाले मात्र शैक्षिक स्तरोन्नतिको वास्तविक तथ्यांक थाहा लाग्छ।

पाठ्यक्रममा योग ध्यान, स्वास्थ्य, मनोविज्ञान, रचनात्मक ज्ञान लगायतका विषयवस्तु समेटिएको नसमेटिएको र विद्यार्थीको रुचि तथा सन्तुष्टि र सिकाइमा प्रभावकारिता भए नभएको समेतलाई मूल्यांकन गरेर मात्र शैक्षिक विकास मापन गर्न सकिन्छ।

चेतना जागृतिका शिक्षा, परम्परागत हानिकारक अभ्यास, बालविवाह न्यूनीकरणमा जोड दिने सचेतनामूलक पाठ्यसामग्री, छोरीहरूका लागि महिनावारीको प्राकृतिक ज्ञान र यसलाई छोइछिटोसँग नजोडी वैज्ञानिक र व्यावहारिक ज्ञान दिने शैक्षिक अभ्यास कसरी विकसित हुँदैछन् तिनको समेत तथ्यांक खोजिनु र आवश्यक अभ्यासमा लाग्ने शिक्षाको गुणात्मकताले मात्र शैक्षिक विकासलाई सही मापन गर्दछ।

सहरी क्षेत्रका र पहुँच पुग्ने नानीहरूको तथ्यांकको आधारमा समग्र शिक्षालाई मूल्यांकन गर्न सकिन्न। धेरै ठाउँ छन् सुधार्नुपर्ने जुन कुराहरू राजनीतिक कारणले नै ओझेलमा परेका हुन सक्छन्। समग्रमा सकारात्मक जीवनशैली, सुरक्षात्मक शैक्षिक वातावरण, मनोभावनात्मक स्वीकारयोग्य स्वस्थ वातावरण र सिर्जनात्मक ऊर्जा शक्तिको विकासमा मद्दत पुर्‍याउने शैक्षिक अभ्यासले मात्र चेतना जागृत गराइ अनुशासित समाज निर्माण गर्ने हुँदा शिक्षा र विकासलाई यी आधारमा अघि बढाइएको छ छैन विचार पुर्‍याउनु जरुरी हुन्छ।

स्वास्थ्य, खानपान र पोषण: शिक्षा, खानपान र पोषणलाई प्रतिव्यक्ति आयका आधारमा आर्थिक अवस्थाको मापन अनि स्वास्थ्यमा पहुंच हेर्न सकिन्छ। आर्थिक अवस्थाकै कारण चेतना जागृत शिक्षा छैन, पोषणयुक्त खानपानको पहुँच छैन, सरसफाइ र बिरामी पर्दा आवश्यक उपचार पाउने अवस्था छ छैन त्यसको आधारमा गुणात्मक विकास हेर्न सकिन्छ।

एकातिर स्रोत, साधनको उचित प्रयोग नहुनु, प्राकृतिक र मानव संसाधनको स्रोत पहिचान नहुनु र अर्कोतिर सतहीरूपमा नीति नियम र भाषणले मात्र समग्र जीवनस्तर सुधार हुन नसक्ने हुँदा संकल्प एकातिर परिणाम खासै प्रभावकारी नआइरहेको अनुभूति गर्नुपरेको छ।

हाम्रो ध्यान केमा छ? हाम्रो स्वार्थ केमा छ? विकास र पहुँचलाई समग्रतामा हेर्ने करुणादायक दायित्वबोध कसले गर्ने? सुविधा र अनुदान कसलाई वितरण भइरहेको छ ? जसका लागि छुट्टयाइएको बजेट त्यसकै लागि प्रयोग भएको छ छैन? यस्ता धेरै प्रश्नका चाङले विकासलाई गिज्याइरहेको छ। अविश्वासको विकास भइरहेको छ।

रोजगारी सिर्जना: पासपोर्ट बनाउने लाइनमा देशका ऊर्वर युवा जमात देख्दा सबैको मन कुटुक्क खान्छ। पढाएर, हुर्काएर, परिश्रमको फल खाने बेलाका आफ्ना छोराछोरी विदेश जाऊन् कुन बाआमाको इच्छा हुन्छ? शैक्षिक जनशक्ति विदेशिदा गाउँघर शून्य छ। बूढापाका एक्लै छन्। कमाइ आउला भनेर आश गरेका बाआमाले बाकसमा लाश बुझ्न जानुपर्ने यथार्थ कसैबाट छिपाउन सकिन्न।

नेपाल जस्तो कृषि भूमि, जलस्रोतको खानी, जंगल र जडीबुटीको धनी देशले आफ्ना स्रोतसाधनको प्रयोग भएर उत्पादन बढ्ने र निर्यात गर्ने उद्योग कलकारखाना खोलेर रोजगारी दिन, सिपमूलक शिक्षा दिन नसकेकै कारण आज अर्थतन्त्रको चिन्ता गर्नुपर्ने अवस्था आएको छ।

उत्पादनमूलक कार्य छैन, रोजगारी छैन, तिनै विदेशिएकाले धानेको रेमिटेन्सले देशको अर्थतन्त्र सुचारु हुन्छ भन्ने विश्वास गरेको या कुनै तरिका र सोच फेला नपरेको? यतिका थिंक ट्यांक र विज्ञले सुझाएका सल्लाह मुताविक चल्न बाधा केले पारेको? निर्वाचनको नाममा महँगी र अस्थिरता, असहज जीवनशैली र राजनीतिक क्रियाकलापदेखि दिक्क बनेका नागरिकलाई दिने जवाफ के छ?

अनुगमन र मूल्यांकन: प्रत्येक वर्ष बजेट भाषण हुन्छ। विकास खर्च पनि छुट्टिएको हुन्छ तर विकास बजेटको खर्च असारे विकासको नामले हुने गर्छ। नागरिक असन्तुष्टि सधैँ नै कायम छ।

कुनै पनि योजना, नीति, आयोजना तथा कार्यक्रममा गरिने लगानी तथा स्रोतसाधन प्रवाह समुचित तरिकाले भएको छ कि छैन र ती आयोजना या कार्यक्रम सुरु भएर समापन हुने समयसम्म तयार गरिएको कार्यतालिका अनुसार काम भएको छ कि छैन र लक्षित प्रतिफल प्राप्त भएको छ कि छैन भनेर विभिन्न तहका सम्बन्धित व्यवस्थापन पक्षले ती आयोजना र कार्यक्रमहरूमाथि कार्य संम्पन्न नहुँदासम्म, समय समयमा गरिने निगरानी नै अनुगमन तथा मूल्यांकन हो।

विकास प्रक्रियालाई प्रमाणमा आधारित देखिने तरिकाले नतिजामूलक, पारदर्शी र लैंगिक सामाजिक समावेशीकरण एवं समतामूलक बनाइ सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्दै दिगो विकासमार्फत जनताको जीवन स्तरमा सुधार ल्याउनका लागि कुनै पनि कार्यक्रम, नीति, योजना तथा आयोजनाको अनुगमन तथा मूल्यांकन गरिनु आवश्यक छ।

सामान्य भाषामा घर व्यवहार र सानातिना काममा पनि बोलीचालीको भाषामा भन्ने गरिन्छ–कामको मूल्यांकन नै हुँदैन त्यसैले गर्न मन लाग्दैन या त गरेको कामको मूल्यांकन हुन्छ र त काम गरौँ गरौँ लाग्छ।

कार्यक्रमका मासिक तथा वार्षिक कार्यक्रम कसरी, के उद्देश्यका लागि तय भएका हुन् र ती क्रियाकलापहरूको कार्यान्वयन भएको छ कि छैन भनेर विभिन्न तहका व्यवस्थापनले तोकेको व्यक्ति या सार्वजनिक निकायबाट निरन्तर र आवधिकरूपमा निगरानी राख्ने र सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा समीक्षा गर्ने कार्य नै अनुगमन हो।

हामीकहाँ अझै पनि प्रभावकारी ढंगले कार्यान्वयन भएका योजना, नीति, कार्यक्रमहरूको सान्दर्भिकता, प्रभावकारिता, कार्यदक्षता, दिगोपना तथा प्रभावहरूका सम्बन्धमा आन्तरिक या बाह्य मूल्यांकनकर्ताबाट उद्देश्यपूर्ण र व्यवस्थित तरिकाले मूल्यांकन हुने गरेको पाइँदैन।

नेपालको सन्दर्भमा सरकारी, गैरसरकारी, निजी एवं अन्य विभिन्न किसिमका सामाजिक आयोजना हुन् या कार्यक्रम जे उद्देश्यले लागु भएका हुन्छन् त्यो उद्देश्यमा पुग्न नसकेका र लक्षित सफलता हासिल नगरी समाप्त हुने गरेका धेरै आयोजनाहरू उदाहरणका रूपमा भेटिन्छन् भने धेरै आयोजनामाथि समय समयमा अनुगमन तथा मूल्यांकन गरिने हुनाले उद्देश्य र लक्ष्य हासिल गर्न सम्भव भएका उदाहरण पनि छन्। अब विकासलाई जीवनशैली सुधार र गुणात्मक रूपमा परिचय दिने हो भने प्रत्येक राजनीतिक दल र सरकारले यसमा इमान्दार हुनैपर्छ। 

प्रकाशित: २५ वैशाख २०७९ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App