६ जेष्ठ २०७९ शुक्रबार
विचार

क्यान्सर खोपको संभावना

क्यान्सर मानव सभ्यताकै चुनौतीका रूपमा देखियो। विश्व स्वास्थ्य संगठनको आवधिक तथ्याड्कअनुसार विश्वमा क्यान्सरका कारण सर्वाधिक मानिस मर्छन्। संगठनको आकडाले सन् २०२० मा १ करोड मानिसको मृत्यु अर्वुद रोगका कारण भएको भन्छ।

६ मरणमा एक मृत्युको जड क्यान्सर देखियो। २०औँ शताब्दीको अन्त्यसम्म मुटुसम्बन्धी रोगका कारण विश्वमा सर्वाधिक मानिस मर्ने गर्थे। तर जनचेतना अनि मेडिकल साइन्सको अनुसन्धानका कारण पछिल्ला वर्षहरूमा मुटुरोगका कारण हुने मृत्युको संख्या घटदै गयो। तर क्यान्सरको हकमा कथा फरक देखियो। क्यान्सर इलाजका सम्बन्धमा हालसम्म भएका आयुर्विज्ञानका अन्वेषणहरू खासै प्रभावकारी देखिएनन्।

क्यान्सर इलाजका सम्बन्धमा धेरै प्रकृतिका अनुसन्धान भए। केमो थेरापी र रेडियो थेरापी धेरै अघिदेखि नै प्रयोगमा छन्। पुराना उपचार संहिताले खासै काम नगरेपछि इम्युनो थेरापी, हर्मोन थेरापी अनि टिस्यु स्पेसिफिक क्यान्सर टार्गेटलगायतका विभिन्न विधि अर्वुद रोग नियन्त्रणका खातिर प्रयोग गरिएका छन्। तर दुर्भाग्यवस उपलब्ध उपचार विधिले रोगीलाई केही आरामको अवसर दिए पनि समष्टिगतरूपमा क्यान्सर बिरामीले निर्धक्क सास फेर्ने अवसर आएका छैनन्।

रोग निको भएर घर फिरेको केही समयपछि पुनः क्यान्सरका लक्षण देखिने सामान्य परिदृष्य भयो। बृहत् तथ्यांकको विश्लेषणका आधारमा भन्नुपर्दा क्यान्सर लागिसकेपछि बिरामीले स्वस्थ जीवन पूर्णरूपले व्यतीत गर्ने अवस्था बनाउन अहिलेसम्म पनि विज्ञान सफल भएको छैन भन्दा अन्यथा नहोला। अर्वुद रोग लागेपछि रोगीलाई बिसेक पार्न प्रायः असंभव हुने भएकाले भ्याक्सिनमार्पmत क्यान्सर लाग्नै नपाउने अवस्था ल्याउन सकिन्छ कि भन्ने अनुसन्धान भएका छन्। क्यान्सरका भ्याक्सिन विकासका सम्बन्धमा भएका प्रगतिको विवेचना यो लेखको लक्ष्य रह्यो।

हाम्रो अणुवांशिक पदार्थ (डिएनए अथवा जिन) बाबु–आमाको डिएनएबाट उत्पत्ति हुन्छ। मातापितामा कायम रहेका जिन हामीमा सर्छन्। तसर्थ, बाबु र आमामा कायम रहेका सबल र दुर्बल दुबै किसिमका जिन हाम्रो शरीरमा आउँछन्। कदाचित पुर्खामा क्यान्सरका कारक जिनहरू छन् भने तिनीहरूसमेत हामीमा सर्छन्। तर आमा–बुबामध्ये एकजनामा मात्र अर्वुद जीन रहेको खण्डमा भविष्यमा हामीलाई क्यान्सर लाग्छ नै भन्ने छैन। तर संभाव्यता भने रहन्छ। डिएनए सिक्वेन्सिङ विधिले हाम्रा शरीरमा रहेका कुन जिन कैफियतपूर्ण र कुन दुरुस्त छन् भन्ने जानकारी दिन्छ। एउटा बच्चालाई भविष्यमा के÷कस्ता रोग लाग्ला त भन्ने अडकल गर्न मद्दत गर्छ उसको अणुवांशिक अध्ययनले।

अब एक उदाहरण हेरौँ– मानिसको अणुवांशिक पदार्थमा आउने खराबीका कारण लिन्च सिन्ड्रम भन्ने रोग लाग्छ। यो अणुवांशिक खराबीका लागि एमएचएल १, एमएसएच २ लगाएतका ५ विभिन्न जिनको भूमिका रहन्छ। कोस (सेल) विभाजन हुँदा अणुवांशिक पदार्थको हुबहु कपीहरू बन्नुपर्ने हुन्छ। तर डिएनए निर्माण तथा मर्मतमा भूमिका खेल्ने उल्लिखित जिनमा खराबी भएको मानिसमा अणुवांशिक पदार्थको सही प्रति बन्न सक्दैन।

कैफियतपूर्ण अणुवांशिक पदार्थ नै अर्वुद रोगको कारण भएकाले लिन्च सिन्ड्रम भएको मानिसलाई भविष्यमा विभिन्न किसिमका क्यान्सर हुने संभावना अत्यधिक रहन्छ। अझ महत्वपूर्ण कुरा त धेरैवटा जिनमा आएका खराबीले लिन्च सिन्ड्रमलाई हौस्याउने भएकाले यो रोग सन्तान दरसन्तानमा सर्छ। एकातिर क्यान्सर लागेका मानिसलाई पूर्वावस्थामा फर्काउन कठिन हुने अनि अर्कोतिर अर्वुद रोगलाई प्रश्रय दिने जिनहरू सन्ततिमा सहजै पुस्तान्तरण हुने भएपछि क्यान्सरको इलाजमा नया विधि आवश्यक भयो।

अघिल्लो अनुसन्धानमा हासिल भएका सफलतामा टेकेर नै विज्ञानका नवीन अन्वेषणको प्रारम्भ हुन्छ। फाइजर र मोडर्नाका भ्याक्सिनहरू कोभिड–१९ को महामारी नियन्त्रण गर्न मात्र सफल भएनन्, बरु करोडौँ मानिसको पाखुरामा घोपिएका एमआरएनएमा आधारित भ्याक्सिनहरू अति नै सुरक्षित भएको सन्देश दियो। ल्याबका टेस्टट्युबमा सीमित रहेका एमआरएनएले आतंककारी भवितव्यबाट संसारलाई जोगाएको देख्दा यही संहितालाई परिमार्जन गरी अर्वुद रोगका भ्याक्सिन बनाउन सकिन्छ कि भन्ने आशा पलायो। तद्नुरूपका अन्वेषण सुरु भए, वैज्ञानिकहरू अनुसन्धानमा खटिए।

अब एमआरएनएमा आधारित कोरोना भ्याक्सिनले कसरी काम गर्छ पुनरावलोकन गरौँ। कोरोना भ्याक्सिनका झण्डै ३ दर्जन प्रोटिनहरूमध्ये एउटा प्रोटिन बनाउने सन्देश बोकेर एमआरएनएलाई भ्याक्सिनका रूपमा स्वस्थ मानिसको शरीरमा पठाइयो। परिणामस्वरूप स्वस्थ मानिसको शरीरमा भाइरसको एउटा प्रोटिन बन्यो। हाम्रो शरीरमा रहेका प्रोटिन भन्दा नितान्त फरक रहेको उक्त बाह्य तत्वलाई मानविन इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) ले सहजै चिन्यो। अनि, प्रतिरक्षा प्रणालीका सिपाहीरूपी कोसहरूले विभिन्न चरणको स्वपरिमार्जनपछि भाइरल प्रोटिन नास गर्न सफल हुन्छ। प्रतिरक्षा प्रणालीका कोसहरू अति नै चलाख हुन्छन्।

एकपटक देखेको वस्तुलाई लामो समयसम्म पनि चिन्छन् उनीहरूले। पछि जब कोरोना भाइरसले भ्याक्सिन लिएको मानिसलाई संक्रमण गर्छ। हाम्रो शरीरमा कोभिड–१९ का दर्जनौँ प्रोटिनहरू उत्पादन हुन्छन्। उत्पादित धेरै भाइरल प्रोटिनहरूमध्य भ्याक्सिनका कारण उत्पन्न भएको एउटा प्रोटिनलाई प्रतिरक्षा प्रणालीले सहजै ठम्याउँछ। अनि, विगतमा भ्याक्सिन प्रेरित प्रोटिन नास्नका लागि प्रयोग भएको प्रतिरक्षा कोसको उत्पादन अविलम्ब सुरु हुन्छ। अन्तत, प्रतिरक्षा प्रणालीले भाइरसलाई जित्छ, हामी स्वस्थ बन्छौँ। समष्टिगतरूपमा भ्याक्सिनले प्रतिरक्षा प्रणालीका कोसलाई संभाव्य संक्रमणबाट कसरी जोगाउने भन्ने तालिम दिन्छ।

अत्यधिक रफ्तारमा विभाजन हुने क्षमता भएका क्यान्सरका सेलहरू सामान्य कोसहरू भन्दा बायोलोजिकलरूपमा मात्र फरक हुँदैनन् बरु तिनीहरूले विषाक्त बायोमोलिकुल्ससमेत पैदा गर्छन्। त्यस्ता दूषित पदार्थलाई ‘ट्युमर एसोसिएटेड एन्टिजिन’ भनिन्छ। दर्जनौँ किसिमका क्यान्सरले आआफ्नै चरित्रका एन्टिजिन उत्पादन गर्नु अस्वाभाविक भएन। क्यान्सर कोसहरूले आफ्नो वृद्धि र फैलने क्रममा प्रोटिनरूपी एन्टिजिन प्रयोग गर्ने भएकाले त्यही अणुलाई उत्खनन गरी अर्वुद रोगको भ्याक्सिन बनाउन सकिने वैज्ञानिक आकलन तार्किक रह्यो।

पृथक चरित्रका क्यान्सरले फरक फरक किसिमका एन्टिजिन उत्पादन गर्ने भएकाले निश्चित अर्वुद रोगलाई लक्षित गरी विशिष्ठ किसिमको भ्याक्सिन बनाउन सकिन्छ। क्यान्सरै पिच्छेको भ्याक्सिनको अन्वेषण र प्रयोग व्यावहारिकरूपले कठिन हुन्छ। तसर्थ, भिन्न क्यान्सरका लागि फरक फरकको भ्याक्सिन बनाउनु भन्दा धेरै किसिमका क्यान्सरलाई लक्षित गरी एउटै भ्याक्सिन प्रयोग गर्न लाभप्रद् देख्छन् संयुक्त राज्य अमेरिकास्थित मेयो क्लिनिकका इम्युनोलोजिस्ट प्राध्यापक किथ नट्सन। त्यसै सन्दर्भमा युनिभर्सिटी अफ् वासिङ्टन, सियाटलका डा. नोरा डेसिस कोलोन क्यान्सरलाई लक्षित गरी भ्याक्सिन अनुसन्धान गर्न आफू लागेको भन्छिन्।

स्वस्थ मानिसको शरीरमा स्थापित एमआरएनए विधिको खोपमार्पmत अर्वुद कोसमा उत्पन्न हुने एन्टिजिन उत्पादन गर्दा प्रतिरक्षा प्रणालीका कोसहरूले उक्त एन्टिजिन नास गर्ने शक्ति भएको इम्युन सेल उत्पादन गर्छ। अर्वुद रोग सरुवा रोग नभएर शरीरमा स्वयम् उत्पादन हुने लक्षण भएकाले जसै शरीरमा उपरोक्त चरित्रको एन्टिजिन उत्पादन गर्ने क्यान्सरका कोसहरू बन्न थाल्छन् इम्युन सिस्टमले त्यस्ता विषाक्त कोसलाई अविलम्ब नास गर्ने भएकाले क्यान्सर फैलन सक्दैन। बरु उदगमस्थलमै नासिन पुग्छ। भ्याक्सिन लिएका मानिस उक्त चरित्रको क्यान्सरबाट जोगिन्छन्।  

कुनै किसिमको एन्टिजिन अर्वुद कोसले मात्र उत्पादन गर्छ। तर केही एन्टिजिन भने सामान्य र क्यान्सरस सेल दुवैले बनाउँछ यद्यपि तिनको मात्रा फरक हुन्छ। उदाहरणका लागि प्रोस्टेट क्यान्सर भए÷नभएको ए्कीन गर्न रगतमा प्रोस्टेट स्पेसिफिक एन्टिजिन (पिएसए) को परीक्षण गरिन्छ। सामान्य मानिसमा मात्रा कम हुन्छ भने प्रोस्टट क्यान्सर भएको बिरामीमा पिएसएको मात्रा आकासिन्छ। यस्तो अवस्थामा पिएसएलाई आधार मानी भ्याक्सिन बनाउँदा अटो इम्युनको समस्या देखिने भएकाले ध्यान दिनुपर्ने हुन्छ।

क्यान्सर संसारकै पीडाका रूपमा रहेको सर्वविदितै छ। अर्वुद रोगका कारण आफन्त नगुमाउने मानिस शायदै कोही होलान्। त्यसैले क्यान्सरविरुद्धको भ्याक्सिनको अन्वेषण र परीक्षण सबैको चासोको विषय हो नै। कोभिडको भ्याक्सिनको सफलतम परीक्षणपछि एमआरएनएमा आधारित क्यान्सरका भ्याक्सिन बनाउन दौड सुरु छ। क्यान्सरजन्य कोसले मात्र उत्पादन गर्ने प्रोटिनजन्य एन्टिजिनलाई लक्षित गरी भ्याक्सिन बनाउन सके उक्त क्यान्सरबाट जोगाउन सकिने देखियो।

विकसित प्रयोगशाला परीक्षणले क्यान्सरको खोपको सफलताको संभाव्यता देख्छ। यद्यपि ल्याबमा गरिने परीक्षण र मानिसको शरीरमा घोपिने सुइले समान परिणाम नदिन सक्छ भन्ने हेक्का गर्न आवश्यक देखियो। आजका मितिसम्म भाइरसका कारण लाग्न सक्ने क्यान्सरविरुद्धको खोपमात्र प्रचलनमा छन्। 

जस्तो कि कलेजोको क्यान्सरको कारक हेपाटाइटिस बि भाइरस र सर्भाइकल क्यान्सरको उद्गमका रूपमा रहेको ह्युमन पेपालुमा भाइरसको खोपहरू मात्र चलनमा रहेकामा आउँदा दिनमा भाइरस इतर समूहमा पर्ने धेरै किसिमका क्यान्सर निरोधक भ्याक्सिन प्रयोगमा आउने संभावना देखियो। तर क्यान्सरले सताएको व्यक्तिको इम्युन सिस्टम सामान्य मानिस भन्दा पृथक चरित्रको हुने भएकाले अर्वुद रोगले पहिले नै थलिएको समूहको हकमा भने महारोगको भ्याक्सिन लाभप्रद् नहुने देखियो।

प्रकाशित: २० वैशाख २०७९ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App