coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

घिमिरे, समय र संस्मरण

“सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेको छ, म राजनीतिमा अनफिट रहेछु्र, स्थानीय चुनावपछि निर्णय लिन्छु, स्थानीय तहको चुनावमा उम्मेदवार बन्नुभएको सबै साथीलाई शुभकामना।”

कांग्रेस नेता गुरुराज घिमिरेद्वारा मंगलबार १३ वैशाख २०७८ मा सामाजिक सञ्जालमार्फत प्रेषित उल्लिखित अभिव्यक्तिले भावुक बनायो। नेविसंघका पूर्वअध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा हालका नेकाका महामन्त्री गगन थापालाई नेविसंघको महामन्त्रीमा मनोनित गरेका थिए। लामो राजनीतिक विरासत भएका घिमिरेको अभिव्यक्तिले जसकसैलाई पनि संवदेनशील बनाउँछ। मलाई पनि बनायो। महाभारतको वनपर्वमा युधिष्ठिर र यक्षको संवाद छ। यक्षले कसको हृदय हुँदैन भनेर सोधेको प्रश्नमा युधिष्ठिरको जवाफ थियो– पत्थरको हृदय हुँदैन।” त्यसलाई पनि सम्झेँ।

कत्तिको सम्झनामा छ वा छैन थाहा छैन, जनकपुरका समिर घिमिरेले केही वर्षअगाडि कान्तिपुरमा आलेख नै लेखेर “मैले किन कांग्रेस छाडेँ” भनेर आफ्नो भाव सार्वजनिक गरेका थिए। घिमिरेका बुबा २००७ सालको आन्दोलनमा सरिक थिए भने कान्छा बुबा २०४१ सालसम्म नेकाको केन्द्रीय सदस्य थिए। २०२५ सालमा सहिद सरोज कोइरालाबाट पार्टीको सदस्यता ग्रहण गरेका घिमिरेको हातबाट पूर्वराष्ट्रपति रामवरण यादवले सदस्यता लिएका थिए २०३६ सालमा। राजनीतिमा दुइटा वर्ग हुन्छन्, बनाउने र बन्नेहरू। बन्नेहरू अग्रपंक्तिमा हुन्छन्, बनाउने सधैँ नेपथ्य र अज्ञातमा हुन्छन्, त्यसमा पनि अहिले समय नै अभिषप्त लाग्छ वैश्य युग भएर पनि होला त्यस्तो भएको।

बाल्यकालीन संस्मरण पनि छ कांग्रेस र कम्युनिस्टको विषयमा जुन “उदय मन्जरी” साहित्यिक पत्रिकामा प्रकाशितसमेत भएको थियो (पूर्णाङ्क ११, संस्मरण विशेषाङ्क, उदयपुर साहित्यिक परिषद्)। एकैचोटी कक्षा चारमा जनता प्राथमिक विद्यालय बिराटनगरमा भर्ना भएको थिएँ। त्यसबेला पहिलोपल्ट मैले कांग्रेस, कम्युनिस्ट र राष्ट्रवादी भन्ने शब्द सुनेको थिएँ। त्यसबेला कलेजमा पढ्ने विधार्थीलाई पुलिसले पक्रेर लागेको देख्थेँ। किन पक्रेको थाहा पाउँदिनथेँ। पक्राउ पर्ने विधार्थीप्रति बाल संवेदनशीलता भएर हो या आफू पनि विधार्थी भएकाले समाउँछ भन्ने बाल भयले हो, के भन्दा र गर्दा पुलिसले समाउँदैन भनेर साथीलाई सोध्थेँ। साथीहरू थुप्रै थिए। उनीहरूको सम्झना छ। ती साथीमध्ये विमला कोइराला र चुडा रेग्मी चलाख रहेछन्।

अहिले लाग्छ, त्यसबेला चुडाले भनेकी थिइ– “राष्ट्रवादी भन्यो भने पुलिसले समाउँदैन, कम्युनिस्ट भन्यो भने पनि समाउँदैन तर कांग्रेसचाहिँ भन्दै नभन्नु। पुलिसले पक्रनबाट त्यसबेला साथीले सुझाएको उपाय कहिलेकाहीँ सम्झन्छु, हास्छु। अहिले चुनावी गठबन्धनले अझ सम्झाएको छ। त्यसबेला सुझाएको उपायको अर्थ खोज्छु। मेरो स्कुले शिक्षा पनि वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ , मनोज गजुरेलहरूको जस्तै छ। त्यही विराटनगरमा जनता, भानु मोरङ (चतुर्भुज आशावादी सम्बद्ध भएको धुमिल सम्झना) आदर्श बालिका तीनवटा स्कुलसँग जोडिन पुगेँ।

मामाको घर बनाउन भनी आमा र मामासँग तीनटोलियामा प्रेमप्रसाद गिरीको घरमा भाडामा बस्दा र घर बनेपछि मामाको घरमा बस्दाका केही सम्झना छन्। त्यसबेला क्रमशः ५ र ६ मा भानु मोरङ र आदर्श बालिकामा पढ्दाको धुमिल सम्झना छ।

कांग्रेस र कम्युनिस्ट कसलाई भनिन्छ? त्यो त थाहा थिएन। मात्र मेरा लागि पुलिसबाट बच्न कम्युनिस्ट भन्नुपर्छ भन्ने ज्ञान थियो। थाहा नपाए पनि त्यसबेला विराटनगरको बरगाछी कांग्रेसको र तिनटोलिया कम्युनिस्टको गढ मानिन्थ्यो। एउटाको गढमा अर्कोलाई छिर्न नदिने भएर होला, तीनटोलियामा बस्ने उत्तरकुमार चापागाईँ र उमेश गिरी कोपभाजनमा परेको सम्झन्छु।

उमेश गिरीलाई वाम विद्यार्थीले खेदेको त्यसबेलाको दृश्य अहिले पनि सम्झनामा ताजै छ। त्यस्तै उत्तरलाई कुटेर मर्‍यो भन्ने ठानेर इन्द्रबहादुर प्रधान (डा. भरत प्रधानको बुबा) को घर कम्पाउन्डमा फालेको थियो भनेर सुनेको थिएँ तर देखिन। त्यसरी विद्यार्थी संगठन गर्ने, दलका लागि खट्ने विपक्षीको तारो बनेका उनीहरूको कांग्रेस दलमा कुनै हैसियत छ वा छैन? थाहा छैन। गिरीको बारेमा दुर्गा सुवेदीको पुस्तक “विमान विद्रोह” मा चर्चा छ। पुस्तकबाट थाहा पाएँ, गिरी कोइराला परिवारप्रति वफादार र निष्ठाबान थिए। त्यस्तै बरगाछीमा कति वाम विद्यार्थी कुटिए होलान् भन्ने लाग्छ अहिले।

तीनटोलियामा प्रेमप्रसाद गिरीको घरमा भाडामा बस्दाको सम्झना छ। दुइटा घर थियो। एउटा घर सबै भाडामा लगाएका थिए। हामीबाहेक सबै त्यहाँ विद्यार्थी बस्थे। उनीहरू सबै अहिले सम्झँदा वाम विद्यार्थी थिए। प्रेमप्रसाद गिरीका भतिजा वासु अग्रपंक्तिमा थिए। मोटा कदका उनी अहिले के÷कस्तो अवस्थामा कुन वाम घटकसँग सम्बन्धित छन् वा छैनन्, थाहा छैन।

चार कक्षामा पढ्दाको कुरा हो। विमलाको घर बरगाछी गोग्राहमा थियो। ठूलो कम्पाउन्ड भएको कच्ची घर थियो जस्तो लाग्छ। थुप्रै केटाकेटी त्यहाँ खेल्नका लागि भेला हुन्थ्यौँ। विमलाको दाजु माधव कोइरालाको सहपाठी भएर हो वा एकै संगठन भएका कारणले हो, विद्यार्थी राम–लक्ष्मण जुम्ल्याहा दाजुभाइ (पछि ओखलढुङ्गा वा सोलु काण्डमा मारिएका) त्यहाँ आउँथे। उनीहरूको धुमिल सम्झना छ। हामी केटाकेटीहरूलाई उनीहरू सोध्थे पनि– राम लक्ष्मण को हौँ, लौ छुट्याओ भनेर। विमला छिटी र टाठी पनि थिइ। ऊ जवाफ दिन्थी तर मिल्दैनथ्यो। त्यसपछि को राम, को लक्ष्मण भनेर आफैँ चिनिन्थे। कांग्रेस स्वयंले बिर्सेका राम लक्ष्मणलाई मैले भने अहिलेसम्म भुल्न सकेकी छैन।

नेपाल ल क्याम्पस पढ्दाको बेला सम्झन्छु। त्यसबेला नेविसंघ र अखिलको विवाद र झडप भैराख्थ्यो। नेविसंघकाले अखिलका विद्यार्थीलाई भन्थे हाम्रो त नेता छ, तिमीहरूको नेता नै छैन, तिमीहरूको नेता को हो देखाउ? के भनेको होला भन्ने लाग्थ्यो। त्यसबेला बिपी कोइराला हाम्रो नेता भनेर गर्वसाथ उनीहरू भन्थे। वाम विद्यार्थीसँग जवाफ हुँदैनथ्यो। भूमिगत र विभिन्न घटकमा विभाजित भएर होला, उनीहरू त्यसबेला नाजवाफ भएका। यही प्रश्नको जवाफ अहिले पनि कसैसँग छैन।

गुरुको अभिव्यक्ति र दलीय गठबन्धनले त्यो समयको स्मरण गरायो। धेरै छन् त्यस्ता स्मरण। एउटा आलेखमा सबै अटाउन सम्भव भएन। त्यसरी संगठितरूपमा विकसित हुँदै आएका कार्यकर्ताको मानसिकतामा गठबन्धनको के/कस्तो असर पर्छ, त्यो म जान्दिन, समयले नै बताउनेछ तर कार्यकर्ता र मतदाता फरक हुन्छन्। गठबन्धनको भन्दा मतदाताको विवेकमा निर्वाचन प्रभावित हुन्छ। फेरि घिमिरेहरू जस्ता निष्ठावान कार्यकर्तालाई नेतृत्वले विचलित बनाउँदै जाने हो भने राजनीतिक संगठनको भविष्य पनि सुखद नहुन सक्छ।

प्रकाशित: २० वैशाख २०७९ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App