१९ मंसिर २०७९ सोमबार
विचार

पाएकाले जित्ने, नपाएकाले जिताउने!

२०७९ को पहिलो दिन वैशाख १ गते अग्रज, साथीभाइ, इष्टमित्र शुभचिन्तक सबैमा शुभकामना आदान–प्रदान गरियो। उत्साह, उमंग र सकारात्मक चिन्तनकासाथ नववर्षको पहिलो दिन बिताइयो। भनाइ नै छ–नयाँ दिन, नयाँ महिना र नयाँ वर्षको पहिलो दिन सिर्जनशील भएर बिताइयो भने हरेक दिन, महिना र पूरै वर्षऊर्जाशील हुन्छ !

नयाँ वर्षको दिन साँझ आठबजे बत्तीमुनि उज्यालो पुस्तकका लेखक अश्विनकुमार पुडासैनीले फोन गर्दै भने, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बेलुकी नौबजे भेट्न बोलाउनुभएको छ। भतिजोको विवाहको तयारीमा दाजुकै घरमा थिएँ। पुडासैनी त्यहीँ लिन आइपुगे। अनि लिएर हिँडे ओलीजीको घर भएको ठाउँ भक्तपुर जिल्लाको बालकोटतर्फ। साढे नौदेखि मध्यराति साढे बाह्रबजेसम्म अन्तरंग कुराकानी भयो।

नयाँवर्षको शुभकामना आदान–प्रदान गरियो। पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले मध्यरातसम्म जुन चमक र आत्मविश्वासकासाथ संवाद गरे त्यसले उनमा रहेको ऊर्जा र आत्मबल प्रष्टै देखियो। भन्दै थिए, हरेक दिनको समय यस्तै हो। भोलि दिउँसो लमजुङ र नुवाकोटका आमसभामा संबोधन गर्नुछ। तर ओलीसँग भेट्न एमालेका काठमाडौँ जिल्ला प्रमुख एवम् सांसद दीपक निरौला बसिरहेकै थिए।

केपी ओलीसँगको कुराकानीको सुरुवात नै पुडासैनीले यसै दैनिकमा प्रकाशित स्तम्भमा चुनावमा केजरीवाल उम्मेदवारहरूको चर्चाबाट गरे। ओलीले त्यो लेख त मैले पढेको छैन भन्ने बित्तिकै मोबाइलमा डाउनलोड गरेको लेख सुनाउँछु भनेर पुडासैनी वाचन गर्न थालिहाले। रातको चकमन्न शान्त समयमा यही स्तम्भ पढिरहँदा त्यहाँ प्रस्तुत उदाहरण, सन्दर्भ र शब्दहरूले लेखको समसामयिकता र सान्दर्भिकता प्रकट गरिरहेको थियो। त्यस लेखमा भ्रष्टाचाररहित विकास अवधारणा, संघारमा आइपुगेको स्थानीय तह निर्वाचन, जनसहभागिता, जनसशक्तीकरण, स्थानीय संस्कृति निर्माणमा विगतमा गुमेको अवसर, अहम्, दम्भ, एकांगीपन, लोलोपोतो, समृद्ध नेपाल–सुखी नेपाली र मुलुक निर्माणका सन्दर्भ र प्रसंगहरूपटक–पटक दोहोरिएका थिए।

संवाद त्यही आलेखबाट सुरु भयो। आलेख सुन्दै गर्दा ओली गंभीर, संयम र एक चिन्तकले झैँ श्रवण गरिरहेका थिए। आलेख वस्तुपरक प्रस्तुति भएको उनको औराले बताइरहेको थियो। शायद पहिलोपल्ट हुनुपर्छ आफ्नैबारेमा आलोचना र टिप्पणी गरिएको आलेख लेखकको सामु बसेरै सुनिरेहको। बिरलै प्राप्त हुन्छ संसारका राजनेताहरूलाई यस्तो अवसर। जुन अवसर बत्तीमुनि उज्यालोका लेखकले जुराइदिएका थिए।

निर्वाचन महाउत्सव

स्थानीय निर्वाचनमा देशभरका उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गरेका छन्। आइतबार र सोमबार दुई दिन चुनावमा उम्मेदवार बन्नेहरू एक लाख बढी भएको निर्वाचन आयोगबाट थाहा पाइएको छ अर्थात् देश चुनावमय बनेको छ। पत्रपत्रिका, सामाजिक सञ्जाल पढ्दा, रेडियो सुन्दा र टेलिभिजन हेर्दा स्थानीय चुनावी माहोलमा देश होमिएको छर्लंग हुन्छ। अबको दुई साताका लागि निर्वाचन महाउत्सव सुरु भएको छ। हरेक पाँच वर्षमा आउने निर्वाचनरूपी चाडपर्वमा हरेक क्षेत्र, पेसा, व्यवसायका वालिग मतदाता जुनसुकै आस्था, विचार भएका उम्मेदवार किन नहुन् मानसिक र भौतिकरूपमा चुर्लुम्म डुबेर चुनावमा हेलिने छन्।

लोकतन्त्रमा आवधिक निर्वाचन भनेको त्यस्तो अवसर हो जसमा जनताले उम्मेदवारहरूको आनिबानी,व्यवहार र विगतको ट्रयाक रेकर्डलाई झलझली हेरेर मतदानको मनस्थिति बनाइरहेका हुन्छन्। चुनावलाई धेरै महँगो बनाइयो, शक्तिको दुरूपयोग गरियो भने निर्वाचनप्रति नै जनताको वितृष्णा र घृणा उत्पन्न हुन्छ।

मतदाताहरूले त्यस्तो मतदानमा जागरुकता नै देखाउँदैनन्। मतदाताले जागरुकता नदेखाएपछि चुनाव परिणाम वास्तविक जनताको प्रतिनिधित्व हुने किसिमले हुँदैन ।जुन पार्टीले जनताले खोजेअनुरूपका उम्मेदवार खडा गरेका छैनन्, त्यस्ता उम्मेदवारविरुद्ध जनताले आफ्नै खुसी र रोजाइका उम्मेदवारलाई भोट हाल्छन्। विद्रोही उम्मेदवारहरूको पक्षमा जान सक्छन्। नो भोट भनेर पनि हिँड्न सक्छन्।

व्यापारिक कारोबार

आममतदाता र पार्टीका प्रतिबद्ध कार्यकर्ता जसलाई उम्मेदवार बनाउन खोजिरहेका थिए त्यसको उल्टो गठबन्धनको नाउँमा अर्कै चुनाव चिह्नमा भोट हाल भनिएपछि त्यसको प्रभाव बिलकुल उल्टो पर्न सक्ने संभावना छ। सिद्धान्त, आदर्श र विचारविरोधीलाई मतदेऊ भन्न थालियो भने चुनाव व्यापारिक कारोबार जस्तो बन्न पुग्छ। अनि लोकतन्त्र जिम्मेवार होइन, गैरजिम्मेवार बन्नपुग्छ।

लोकतन्त्रको प्रयोगशाला बन्नुपर्ने स्थानीय चुनावलाई केन्द्रले हस्तक्षेप गरेर धेरै गिजोल्यो भने स्थानीय तह दलाल, भ्रष्टाचारी, तस्कर, ठेकेदार, माफियाको अखाडा बन्न पुग्छ। मतदाता जसलाई चाहिरहेको छैन केन्द्रबाट उसैलाई उम्मेदवार तोकेपछि त्यसको विपक्षमा जनताले मत खन्याइदिएका प्रशस्त उदाहरण छन्। एकपल्ट, दुई पल्ट गर्दै आफ्नो संगठनको बाहेक अर्कै चिह्नमा भोट हाल्न मतदातालाई बाध्य बनाइयो भने तेस्रोपल्ट भोटहाल्दा मतदाताले आफ्नो पार्टीको चुनावचिह्न नै बिर्सन्छ र पहिला हालेकै चिह्नमा भोट हाल्न पुग्छ। अनि भविष्य बनाउने अभियान विगत दोहोर्‍याउने कारखाना बन्न पुग्छ।

यथास्थितिलाई मलजल गर्नेहरू विगतका बन्धक बन्ने चक्रसुरु भयो भने तिनीहरूत्यसैमा बिलाउन पुग्छन्। यसैले राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्, नेपालको निर्वाचन इतिहासलाई नजिकबाट हेर्ने हो भने जनताका स्वाभाविक चाहनामाथि हैकम जमाउन खोज्ने सत्ताधारीहरूलाई नेपाली मतदाताले सधैँ चुनावमा हराइदिएका छन्।

यो चुनावी उत्सवले निर्वाचन हुने मिति अर्थात आउँदो वैशाख ३० गते हुने चुनावमा कसले टिकट पायो वा पाएन भन्ने विषयलाई उम्मेदवारी दर्ताको चरणले समाप्त पारिदिएको छ। अब चर्चाकोविषय को उम्मेदवार भयो र को भएन भन्ने नै रहेन। त्यो उचालपछारको चरण उम्मेदवारी दर्ता गरेसँगै सकिएको छ।

नयाँ अवस्था

नयाँ अवस्था त्यस्तो नेतृत्व छान्ने चरणमा प्रवेश गरेको छ जसको मुहारमा जनताको अनुहार प्रतिबिम्बित भएको हुनेछ। चुनाव त्यसैमा केन्द्रित हुन थालेको छ। जसको व्यक्तित्वमा मतदाताले आफ्नो प्रतिनिधित्व देख्छ, जीत उसैको हुनेछ। अब माफिया, डन, दलाल, तस्कर, अपराधी, बिचौलिया, ठेकेदार, भ्रष्टाचारी नारायणहरि बनाउने दिन दुई साता भन्दा बढी बाँकी रहेन ।‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा लागेकाहरूलाई मतदाताले मतमार्फत ऊर्जा दिने काम यही निर्वाचन मार्फत पूरा हुनेछ।

वैशाख ११ र १२ गते टिकट नपाउनेहरू रोएका, ३० गतेपछि चुनाव हार्नेहरूले पुर्पुरोमा हात राखेर रुनुपर्ने र मतदाताले भने आगामी पाँच वर्षसम्म रुनुपर्ने दिनहरूआउलान् कि भनेर यतिखेर सामाजिक सञ्जालहरू मार्फत मतदाताले नै खबरदारी गरिरहेका छन्। त्यसको सन्देश हो, मतदाताहरू सही उम्मेदवार चुन्न आतुर छन्। उनीहरू आफ्नो प्रतिनिधि छान्न सक्षम छन्।

आलोचनात्मक छन् तर सही ब्यक्ति मात्र छान्नुपर्छ भन्ने सन्देश प्रवाह गरिरहेका छन्। शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ, धाँधलीरहित र भयरहित वातावरणमा मतदाताले आफ्ना प्रतिनिधि छान्ने अवसरको सुनिश्चितता गर्न राज्य, राजनीतिक दल, निर्वाचन आयोग सबैले सतर्कता र संवेदनशीलताकासाथ लाग्नुपर्छ भन्ने कुरा संवादका क्रममा पूर्व प्रधानमन्त्री ओलीले पटक पटक दोहोर्‍याउनुभयो।

स्थानीय तहको निर्वाचनमा अहिले मतदिन नपाउने भए पनि संसारको जुनसुकै कुनामा रहेको एउटा नेपाली चाहे त्यो संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोप, जापान, मलेसिया, कोरिया, खाडीका देशहरू नै किन नहोउन्, त्यहाँ रहेका प्रत्येक नेपाली मनले यो निर्वाचनलाई हेरिरहेका छन्। उनीहरू पनि आफ्नो स्थानीय तहमा कोको उम्मेदवार भए र केके प्रतिबद्धता ब्यक्त गरिरहेका छन् ? उनीहरू पनि जान्न चाहिरहेछन्। उनीहरू जुन ठाउँमा काम गरिरहेका छन् आफ्नो देशको स्थानीय तहका उम्मेदवारहरू पनि त्यस्तै काम गर्न सक्ने स्वयमसेवी नै चुनियून् भन्ने कामना गरिरहेका छन्। गतिला जनप्रतिनिधि चुनिए भने आफ्नो कर्मभूमिभन्दा मातृभूमिमा नै आइ त्यस्तै वातावरण र विकासमा रम्न चाहन्छन्। यो अत्यन्तै संवेदनशील र महत्वपूर्ण कुरा हो। ओलीले पनि यसैमा चिन्ता व्यक्त गर्नुभयो।

ऋणले छाडेन

हामीले आँखैअगाडि देखेका, कानले सुनेका र बेहोरेका जनप्रतिनिधिका उदाहरणीय काम पनि प्रशस्तै छन्। निर्वाचनमा स्वच्छ व्यवहार गर्ने, आचारसंहिताको पूर्ण पालना गर्ने, तडकभडक नगरी निर्वाचनमा विजय हासिल गर्ने कतिपयले उम्मेदवारी दोहोर्‍याउन नमानेर छाड्ने पनि नभएका होइनन्। २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्दा लागेको खर्च अझै तिर्न बाँकी रहेका जनप्रतिनिधि पनि यहीँरहेछन्। इमान्दार र पारदर्शी जनप्रतिनिधिहरूलाई चुनाव जित्दा पनि ऋणले छाडेको छैन। त्यसैले उनीहरू दोहोरिनबाट भागेका हुन्।

कतिपय विदेश पलायन भए पनि आफ्नै गाउँ÷नगरमा विकासका काम अगाडि बढाउनेहरू ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ भनेर आफ्नो ठाउँलाई माया गर्ने, सद्भाव जनाउने अवसर पनि यहीनिर्वाचन बनेको छ। सफल जनप्रतिनिधिले आफ्ना लागि मत माग्दा आगामी पाँच वर्षमा गर्ने सेवाका योजना, सिप, ज्ञान, कौशलता प्रदर्शन गर्ने कुरा टोलटोलमा जसरी निर्वाचनरूपी चाडमा खुसी व्यक्त गर्छन् त्यसले पार्टी फरक भए पनि प्रदर्शन गर्ने भ्रातृत्वभाव र बनाएका योजनाहरू निर्वाचनको ‘टर्निङ प्वाइन्ट’ हुनसक्छ। त्यसमाथि २५/३० लाखको संख्यामा नयाँ युवा मतदाता यसपालि थपिएका पनि छन्। तिनले मतदानमा सहभागी बनेर निर्वाचन मत परिणामलाई कायापलट गरिदिन सक्छन्। नयाँ वर्षको शुभकामना आदान–प्रदानको संवादमा पूर्वप्रधानमन्त्री केपीओलीसँग नेपालको यस्तै परिस्थितिबारे थप कुरा भयो।

छानौं केजरीवाल

स्थानीय तहको विकासका लागि केजरीवाल मोडलको व्यापक चर्चा/परिचर्चा गरियो। उनले भने–जनमतकै आधारमा हामी उम्मेदवार छनोट गर्दैछौँ। चुन्ने र जनप्रतिनिधिलाई केजरीवाल बनाउने जिम्मा मतदाताकै। मुस्कुराउँदै मध्यरातमा बिदाइ अभिवादनसँगै उनले भने, जजसले टिकट पाउँछ, पाएकाले जित्ने र टिकट नपाएकाले टिकट पाउनेलाई जिताउने!  

प्रकाशित: १४ वैशाख २०७९ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App