९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

शिक्षकको सम्मान

स्कुल पढ्दै गरेको कुनै 'प्रतिभाशाली' विद्यार्थीलाई, भविष्यमा तिमी के बन्न चाहन्छौ? भनेर प्रश्न गर्दा डाक्टर वा इन्जिनियर बन्छु भनेर उत्तर दिन्छ। शिक्षक बन्छु भनेर उत्तर दिने विद्यार्थी भेट्न मुस्किल पर्छ। शिक्षणमा दुःख बढी गर्नुपर्ने, तर सेवासुविधा कम रहेको तथ्य उसलाई थाहा नहुने कुरै भएन। शिक्षण पेशालाई यसैगरी हेयको दृष्टिले हेरिने हो भने गुणस्तरीय शिक्षाको अभावमा लामो समय मुलुक छटपटाइरहने छ।हिजोसम्म डाक्टर, इन्जिनियरलगायतका बढी आम्दानी हुने र इज्जतिलो क्षेत्र अधिकांशको पहुँचबाहिर थियो। तर, अचेल निजी र सरकारीस्तरमा समेत प्राविधिक विषय पढाउने थुप्रै कलेज खुलेका छन्। अब त्यस्ता विषयको पठनपाठन सरल र सहज बन्दै गएको छ। शिक्षण गर्दागर्दै पनि अधिकांश शिक्षक विकल्पको खोजीमा दौडिरहेका छन्। त्यसैले प्रत्येक वर्ष निजी स्कुलमा ठूलो संख्यामा शिक्षक फेरिइरहन्छन्। अन्य क्षेत्रमा अयोग्य र असफल व्यक्ति शिक्षण कार्यमा योग्य बनिरहेको छ! शिक्षण कर्मलाई आकर्षक क्षेत्र र शिक्षणलाई सम्मानको दृष्टिले हेर्ने पद्धति विकास नगरेसम्म गुणस्तरीय शिक्षाको सपना साकार हुन सक्दैन।

शिक्षणप्रति सम्मान भन्नुको अर्थ शिक्षकको आर्थिक सुरक्षाको सुनिश्चितता तथा यसलाई इज्जतिलो पेशाको रूपमा विकास गर्नु हो। यतिबेला निजी विद्यालयको प्रथमिक तहमा दिनभर पढाउने कतिपय शिक्षकको मासिक तलब १० हजार रुपैयाँभन्दा कम छ। यति तलबले जीवन कसरी चल्छ? उसले बिहान–बेलुका अर्को काम नगरी सुख छैन। शिक्षकले आफ्नो व्यक्तित्व विकास गर्ने, सिर्जनात्मक बन्ने र कक्षामा प्रत्येक दिन सिर्जनात्मक ढंगबाट प्रस्तुत हुन आवश्यक तयारी गर्नै पाउँदैन। विश्वमा प्रत्येक दिन नयाँ ज्ञान र शिक्षणमा नयाँ शैली विकास भइरहेको छ। यो ताजा ज्ञान शिक्षकले कक्षा कोठाभित्र पुर्या्उनुपर्ने हुन्छ। तर, अनिश्चित भविष्यको चिन्ताले ग्रस्त शिक्षकले यस्ता जानकारी बटुल्न पाउँदैन।

देशमा बेरोजगारी बढ्दै गइरहेको अवस्थालाई अवसर मानेर विशेषगरी निजी विद्यालयले शिक्षकको शारीरिक र बौद्धिक श्रमलाई सस्तो मूल्यमा खरिद गरेका छन्। आर्थिक समस्याबाट ग्रस्त र आफ्नो पेशाप्रति असन्तुष्ट शिक्षकले तिनै असन्तुष्टि, पीडा र तनाव बोकेर कक्षा कोठाभित्र पस्छ। यसको असर सिक्ने–सिकाउने प्रक्रियामा पर्छ। सिक्ने प्रक्रियामा विद्यार्थी ठगिन्छन्। कमाउने धन्दामा रहेको विद्यालयले सस्तो मूल्यमा शिक्षक किन्ने र परीक्षाका लागि रटाउन निर्देशन दिनेबाहेक अरु कुरामा खास मतलब राख्दैन।

फिनल्यान्ड, क्यानाडालगायतका विकसित मुलुकमा शिक्षक बन्न उच्च प्रतिभा आवश्यक पर्छ। त्यहाँ शिक्षक बनेपछि आर्थिक सुरक्षा हुनुका साथै सामाजिक सम्मान पनि मिल्छ। त्यसैले त्यस्ता मुलुकको शिक्षाले संसारलाई आकर्षित गरेको छ। नेपालका सरकारी स्कुलका शिक्षकलाई सकारात्मक ढंगबाट नियन्त्रण गर्ने संयन्त्रको अभाव र निजी स्कुलका शिक्षकलाई पेशागत असुरक्षाका कारण समस्या खडा गरिरहेको छ। सरकारको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ ले प्रत्येक संस्थागत विद्यालयका शिक्षकलाई सरकारले तोकेको तलब, सेवा–सुविधा उपलब्ध गराउनुपर्ने भनेर निर्देशन त दियो, तर तोकेको तलब दिन नसक्ने विद्यालयलाई सरकारले केही गर्न सकेन!

यसपटकको एसएलसीमा निजी विद्यालयका करिब ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भए। यो नतिजा निजी विद्यालयमा शिक्षण गर्ने युवा शिक्षकको खटाइको परिणाम हो। तर, त्यस्तो खटाइको सम्मान अधिकांश निजी विद्यालयले दिन सकेका छैनन्। साठी वर्ष उमेर कटिसकेका शिक्षकलाई सम्मानजनकरूपमा अवकास दिन नसक्दा सरकारी विद्यालयको शिक्षाको स्तर माथि उठ्न सकेको छैन।

शिक्षक देशलाई चाहिने दक्ष र अनुसााशित जनशक्ति निर्माण गर्ने प्रक्रियाको 'माउ' हो। यसैले उच्च क्षमता र दक्षता भएका व्यक्तिमात्र शिक्षक बन्न पाउनुपर्छ। यस्तो जनशक्तिलाई यस क्षेत्रमा आकर्षण गर्न तिनलाई दैनिक भार कम र सेवा–सुविधा पर्याप्त दिने काम हुनुपर्छ। र, शिक्षणलाई उच्चस्तरको पेशाको रूपमा विकास गर्नुपर्छ। सरकारले तोकेको सेवा–सुविधा दिन नसक्ने निजी विद्यालयलाई खारेज गर्नेसम्मको निर्णय गर्न सक्नुपर्छ। शिक्षकको पेशागत सम्मान त्यस्तो शक्तिशाली उपाय हो जसले देशभरको शिक्षामा क्रान्ति ल्याइदिन सक्छ।

प्रकाशित: ३१ असार २०७२ २०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App