coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कमल थापाको सूर्य र कांग्रेसको हसिया हथौडा!

नेपालको राजनीति दुई ध्रुवमा केन्द्रित छ। जसका दुई बाहक हुन्– एमाले र कांग्रेस। एकातिर वामपन्थी प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी प्रजातन्त्रवादी अर्थात एमाले र कांग्रेस यिनै दुई कित्तामा नेपालको राजनीतिक ध्रुवीकरण तीव्र गतिमा देखिँदैछ।

तर सुनिँदैछ, विनासकाले विपरित बुद्धि ! एक कित्तामा रुख र हसिया हथौडा र अर्कोमा सूर्य र पूर्वपञ्च कमल थापा चुनावी एकता गर्न गैरहेका छन्। कांग्रेस र माओवादीका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहालले यसैसाता संयुक्त वक्तब्य निकालिसकेका छन्। पूर्वपञ्च राप्रपा नेपालका कमल थापा सूर्य चिह्नलाई साझा बनाउन प्रयत्नरत रहेको धुइरो धुइरो सुन्नमा आइरहेको छ! यसबारे एमाले अध्यक्ष केपीओलीभने अहिलेसम्म बोलेका छैनन्। यथार्थ के हो? थाहा पाउन अब धेरै कुर्नुपर्ने देखिँदैन किनभने चुनाव दैलोमै आइसकेको छ।

उपरोक्त कुरो सही हो भने यसलाई नेपाली राजनीतिक बिचलनको चरमोत्कर्ष भन्नुपर्छ। वास्तवमा यस्तो किन भैरहेछ? यो कुन प्रवृत्ति हो? के यो साँच्चै हुँदैछ? दुई बेग्लाबेग्लै ध्रुवको राजनीतिक मान्यता, सिद्धान्त र आदर्श बोक्ने कांग्रेस र माओवादी एक भएर जानु भनेको जस्तोसुकै सिन्डिकेट गरेर भए पनि सत्तामा रहिरहने चालबाजी मात्र हो। जो राजनीतिक पतनको चरम हो। सात दशक बढीदेखिको राजनीतिक आदर्श, सिद्धान्त र नैतिकताको पत्रु संस्करण अरू के हुन सक्छ?

त्यस्तै नेकपा एमालेसँग मिलेर चुनाव लड्ने अभिव्यक्ति खुंखार पूर्वपञ्च कमल थापा जसरी गरिरहेका छन् त्यसले वामपन्थी प्रगतिशील पक्षको राजनीतिक, नैतिक र सैद्धान्तिक बिचलन छर्लंग पार्छ। थापा अनेक महापञ्चमध्ये एक त्यस्ता हुन् जसका विरुद्ध ऐतिहासिक भनिने २०४६ र २०६२/६३ को जनआन्दोलन केन्द्रित थियो। महापञ्चहरूमध्ये कमल थापा मुसा प्रवृत्तिको द्योतकका रूपमा बदनाम छन्। उनी एमालेसँग एकता गर्न सफल बने भने लोकप्रिय एमाले जहाजलाई जुनसुकै कुनाबाट पनि भ्वाङ पारिदिनसक्छन्। यसमा कसैले शंका नगरे हुन्छ।

जनआन्दोलन विरोधीसँग सत्तानिम्ति अपवित्र गठबन्धनको कुरो सुन्नमा आएदेखि आफूलाई भने सपनामा पनि पूर्वपञ्चहरूसँग घमासान सुरु हुन थालेको छ। सपना पनि मण्डलेहरूको लखेटाइबाट भाग्दै गर्दा अग्रपंक्तिमा भने एमालेका मूर्धन्य नेता र कांग्रेसका हस्तीहरू देखिन्छन्। हिजो भेटेमा सकिदिने मिसनका पञ्चहरूलाई एमाले/कांग्रेसले बोकेपछि सिद्धान्त र निष्ठाको राजनीति नारायणहरि हुने नै भयो।

हिजोका प्रहरी हिरासतका कहालीलाग्दा दिनरात र जेलका प्रत्येक क्षणले घोच्न थालेको छ। अभिव्यक्ति, संगठन स्वतन्त्रता, लोकतन्त्र र जनतामा सार्वभौमसत्ताको माग गरेबापत पिटाइ, गैरकानुनी पक्राउ र झुटा मुद्दा झेलेर थुनिनुपरेका अनगिन्ती सन्दर्भले पिरोल्न र मांसपेशी बाउँडिन थालेका छन्। जतिबेला सबै कुरा छाडेर मुलुकमा प्रजातन्त्र पुनस्र्थापना निम्ति होमियो, पञ्चायती प्रलोभन र दमनलाई वास्ता गरिएन र सधैँ अलोकतान्त्रिक कुरालाई लेखेर, बोलेर, संगठन गरेर प्रतिकार गरिएकाले गर्दा नै होला मनमा चरम घृणा उम्लिरहेछ।

देशको प्रथम जननिर्वाचित सरकारलाई सैन्यशक्तिको बलमा अपदस्त गरेर लादिएको राजाको निर्दलीय निरंकुश पञ्चायती शासनले चलाएको दमन र यातनाविरुद्ध त्यससँगको सम्झौताहीन संघर्ष, शान्तिपूर्ण प्रतिरोध, प्रतिबन्धित संगठनहरूको विद्रोही गतिविधि, विद्यार्थी, किसान, श्रमिकको संगठित आन्दोलन, त्यसमा वामपन्थी र लोकतान्त्रिक योद्धाहरूको सहादत, जेल वा निर्वासनमा धकेलिएका योद्धाको ख्याउटे तर तीक्ष्ण दृष्टि संझनामा आइरहेछ। हत्या, बलात्कार, अपहरणका अनगिन्ती कथा झलझली हुन थालेको छ। नमिता–सुमिता बिर्सिएकै छैन। बम्बैका कोठीमा नेपाली चेली बिक्री गर्नेहरूका संरक्षक र दरबारिया मण्डलेहरू झलझली आइरहे।

गरिबी, विपन्नता र न्यूनतम प्रजातान्त्रिक हकबाट पनि वञ्चित जनताले जनाएको ऐक्यबद्धताको देशव्यापी अभियान सिनेमाको रिलझैँ आँखाको नानीमा घुमिरहेछ। त्यही रिलको प्रवाहमा अलोकतान्त्रिक, अप्रजातान्त्रिक, असैद्धान्तिक, अनैतिक र आदर्शविपरित संझौता गर्न खोजिरहेका बदनाम नेताको अनुहार पनि हेलिकोप्टरको पंखेटाझैँ फनफनी घुमिरहेछ ।

आश्चर्य लाग्छ, संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि नेतालाई सत्तामा पुग्न र बसिरहन यस्तो अनैतिक र सिद्धान्तहीन संझौता गर्नु थियो भने निरंकुश राजा र तिनका मतियार पञ्चहरूसँग त्यतिबेलै गएको भए कमसेकम जनतालाई धोका त हुने थिएन! नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनले तिनको अवसरवादबाट बेलैमा मुक्ति पनि पाउने थियो र अहिलेको दुर्दशा र दुर्भाग्यको मोसो अनुहारमा दल्नुपर्ने त थिएन कि! गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र पुष्पलाल, मनमोहन अधिकारीहरूले जुन पतनबाट जोगाउन अनेक प्रयत्न गरेका थिए। शेरबहादुर प्रवृत्तिलाई जनआन्दोलनको पूर्वसन्ध्यामा पढाउने बहानामा बेलायत पठाएर उनको छवि जोगाएका थिए।

तर समयकालमा घुमिफिरि उनीहरू जनताविरुद्ध उही ठाउँमा पुगेर उही कर्तुत गर्न प्रवृत्त भएका छन् जुन परशुनारायण चौधरी, विपिन कोइराला, विश्ववन्धु थापा, तुल्सी गिरी, सूर्यबहादुर थापा आदिले गरेका थिए। केशरजंग रायमाझी, शैलेन्द्र उपाध्याय, राधाप्रसाद घिमिरे, राधाकृष्ण मैनाली, देवीप्रसाद ओझा चोखा रहन सकेनन्। जो निरंकुश राजाको हिलोमा आहाल बस्न पुगेका थिए। अहिले फेरि घुमिफिरि रुम्जाटार!

जुन आदर्श, सिद्धान्त र सपनाका लागि युवा पुस्ताले रगत पसिना बगायो, जीवनका कल्कलाउँदा वर्षहरू न्यौछावर गर्‍यो, हजारौँको संख्यामा घाइते अपांग भए, जीवन नै होमे, तिनैविरुद्ध डुबुल्की मार्न पुग्नु कम विडम्बनापूर्ण होइन। नेपाली वाम–प्रजातान्त्रिक आन्दोलनको यो दुखान्त पटाक्षेप देश र जनताले भोग्नुपरेको घात–प्रतिघात र प्रताडना सहिसक्नु छैन।

यी आरोपका सैद्धान्तिक राजनीतिक आधारछन् ।रणनीतिक र व्यावहारिक कारण छन्। जनता र देशविरुद्धको कुनै पनि गठबन्धन प्रदूषित र हानिकारक हुन्छ। यस्तो गठबन्धन र सिन्डिकेट पार्टीको विधान, घोषणापत्रको पनि विरुद्ध छ। जनताले निर्वाचनहरूमा दिएका मतपरिणाम पनि चलखेलविरुद्ध छ। जसलाई जनताले बहुमत दिए, त्यसबाट जनविरोधी सकपकाएका छन्। जो जनतालाई मन परेको छैन। मतदातारूपी जनता जनार्दन गठबन्धनको पक्षमै छैनन्। त्यसैले प्रमुख प्रतिपक्षका चुनावी सभा जुलुसहरूमा अपार सहभागिता जनाएर अपवित्र गठबन्धनलाई खबरदारी गरिरहेछन्। यसबाट आत्तिएर सत्तापक्ष निर्वाचनबाट भाग्ने दुलो खोज्ने हर्कत गरिरहेछ।

निर्वाचनमा सत्तापक्षबाट प्रदर्शित त्रासयुक्त अभिव्यक्तिले यसैतर्फ संकेत गरिरहेछ। र, अझ महत्वपूर्ण कुरा, गठबन्धन सरकारका गतिविधि संविधानविपरित छन्। नेपालको संविधानले लोकतान्त्रिक विधि, पद्धति र सिद्धान्तलाई अंगीकार गरेको छ। यसले लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्नुपर्ने मान्यतालाई अंगालेको मात्र होइन, स्वतन्त्र निर्वाचनको आधारमा समृद्ध नेपाल सुखी नेपालीको भविष्यको खाका कोरेको पनि छ। तर सरकार जालझेल, अपवित्र साँठगाँठ र कुटिल चाल चलिरहेको छ।

जबकि संविधान प्रत्येक निर्वाचनले बासी सडेगलेका होइन, ताजा नेतृत्व ल्याएर नेतृत्व सञ्चारित गर्नुपर्छ भन्ने मान्यतामा आधारित छ। तर गठबन्धनको नेतृत्व आधारभूत कुरालाई नै तिलाञ्जली दिएर युवा, मजदूर किसान, पछाडि परेका जनतालाई पाखा लगाएर सडेगलेका, बदनाम नेतृत्वलाई नमरुन्जेल सत्तामा राखिरहन लक्षित देखिन्छ। समतामूलक, न्यायपूर्ण, समानता आधारित समाज बनाउने संवैधानिक उद्देश्यलाई जानाजान तिलाञ्जली दिइरहेछ। बहुदल आएपछिका तीन दशकसम्म सधैँ पदमा बसिरहेकालाई पुन जिताउने षड्यन्त्रमा लिप्त छ। शरीरलाई प्राणले छोडिसक्दा पनि नेताले पद छाडिरहेका छैनन्। लोभी, पापी, तस्कर, भ्रष्टाचार, ठेकेदार, दलाल, माफियासँगको साँठगाँठ लोकतन्त्रको सर्वथा विपरित छ। जनविरोधीसँगको लज्जाशरणम् लाजलाग्दो र कुरीकुरी छ। दण्डहीनताले ‘रुल अफ ल होइन, रुल अफ पावर’ सर्वेसर्वा भैरहेछ ।

लोकतन्त्रमा राजनीतिक दलले सिद्धान्त र विचारधारालाई तिलाञ्जली दिएर जे गर्दा सत्तामा रहिरहन सकिन्छ त्यो गर्न लाग्ने हो भने यसको मार सबैभन्दा बढी तिनै नेता र दलमाथि पर्ने निश्चित छ किनभने घुमिफिरि दलहरूले जनताको अदालतमा अर्थात निर्वाचनमा नगई सुखै छैन। जनता र राष्ट्रिय हितबाट च्युत हुने पार्टी र नेतालाई जनताले गरेको दण्ड थाहा पाउन कसैलाई मन छ भने इतिहासका कुख्यात खलनायकहरूको जीवनी गुगलमा खोजेर पढ्दा हुन्छ।

नेपालकै इतिहासलाई फर्केर हेर्ने हो भने वर्षौँवर्ष शासन गर्ने अधिकांश राजा/महाराजादेखि प्रधानमन्त्री/मन्त्रीहरू पत्रुसरह छन्। कसैलाई तिनको मतलब छैन। तिनकै सन्तानलाई समेत ती लुटको धन फुपूका श्राद्धमा परिणत भएका छन्। देश र जनतालाई घोका दिनेहरू उनकै सन्तानले समेत सराप्नुपर्ने कुलंघार पात्र बनेका छन्!

नेपालको राजनीतिक इतिहासलाई चिरफार गरिरहेका राजनीतिशास्त्रका एक प्राध्यापकले भने– जुन किसिमले अपवित्र गठबन्धन स्थानीय निर्वाचनमा देखिँदैछ त्यो फगत सत्तामा बसिरहने निकृष्ट दुष्प्रयत्नमात्र हो। सिद्धान्तहीन एकता लोकतान्त्रिक उद्देश्यबाट विचलित हुन्छ। प्रतिपक्षमा हुँदा बोलेका कुरा सत्तामा पुगेपछि स्वार्थीहरूले बिर्से पनि जनताले कहिल्यै बिर्सँदैनन्। 

ती प्राध्यापकले जोड दिँदै भने–प्रतिगामी र सिद्धान्तहीन एकता गर्ने नेताहरूले अहिले सरासर चार कुरालाई तिलाञ्जली दिएको देखिँदैछ–पहिलो, आफ्नै पहिचान। जे भनेर उनीहरूले पार्टी बनाएका थिए, त्यसभन्दा धेरै टाढा पुगिसकेको छ नेतृत्व। दोस्रो,पार्टी भन्दा नेता ठूलो भन्ने मान्यता उनीहरूले स्थापित गरे तरयथार्थ त्यसविपरित छ। नेता होइन, पार्टी ठूलो हो।

तेस्रो हो, अधिकांश नेता पार्टीको विचार र नीति छाडेर स्वार्थमुखी बने। उनीहरूको स्वार्थ धनार्जन र गुटबन्दीमा गएर टुंगियो। धन थुपार्न बिचौलिया, तस्कर, डन, माफिया, भ्रष्टाचारी निष्ठावान नेता/कार्यकर्ता भन्दा नजिक भए। नेतृत्वले नीति सिद्धान्त नमान्नेहरूलाई पार्टी सदस्यतामात्र होइन,नेतृत्वमै पुर्‍याए। र, हुँदाहुँदाउनीहरूलाई नै उम्मेदवार चयन गर्ने समितिमा राखेरसम्म थप धन बटुल्न थाले।

कांग्रेसका निवर्तमान महासचिव तथा बिपी कोइरालाका छोरा डा. शशांकले यसैसाता सार्वजनिकरूपमा भनेका कुरा यतिखेर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। उनले भनेका थिए– ‘मैले नवलपरासीको क्षेत्र नम्बर १ बाट ३ चोटि संसद्को निर्वाचन जितेँ। पहिलो चोटि चुनाव लड्दा मेरो खर्च ८० हजार भएको थियो। दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा त ६ करोड खर्च भयो। तपाइँहरू कोही मेरो निर्वाचन क्षेत्रबाट चुनाव लड्न चाहनुहुन्छ भने म छाड्न तयार छु। चुनाव जित्ने हो भने तपाईँले कम्तीमा ७ करोड रुपियाँ खर्च गर्नुपर्छ।’

चौथो कुरा, पार्टी नीति, सिद्धान्त र आदर्शविहीन बन्दै गएपछि उकुसमुकुस भएका नेता/कार्यकर्ताले आआफ्नै पार्टी नेतृत्वविरुद्ध सामाजिकरूपमा मजदूर, किसान, महिला, दलित, गैरसरकारी, जनजाति क्षेत्रमा ककस बनाइरहेका छन् ।जसबाट पार्टीका गलत निर्णयविरुद्ध मतदान गर्ने अवस्था सिर्जना भएको छ। विकृतिको जडमाथि आउँदो निर्वाचनमा जनताको बज्र प्रहार बर्सिनेवाला छ। केजरीवालले भारतमा पचास वर्ष शासन गरेको भारतीय काँग्रेस र जगमगाउँदो बनिरहेको बिजेपीलाई जसरी किनारामा पारिरहेको देखिँदैछ, त्यस्तै अवस्था यहाँ पनि दोहोरिन सक्छ। समयमै चेतना भया!

प्रकाशित: ३० चैत्र २०७८ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App