coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

प्रहरीमा नयाँ नेतृत्वको अस्वाभाविक प्रतिस्पर्धा

यतिखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ नेतृत्वबारे चर्चा सुरु भैसकेको छ। राज्य व्यवस्थाबारे कुनै चासो नराख्नेलाई पनि हातहातमा सहज बनेको सूचना प्रविधिले गर्दा यावत् खबर प्रवाह भैरहेको जमानामा छौँ हामी। प्रहरीले वर्षभरि राज्यमा निभाएको भूमिकामध्ये सकारात्मक कम र नकारात्मक प्रचुर मात्रामा प्रसारित भैरहने गर्छ यो देशमा। सामान्य ठाना, कुनै युनिट या जिल्लामा सरुवा हुँदा समेत ठूलो समाचार बनाएर प्रचार गर्न र समाचारमा फोटोसहित छाउन सञ्चारकर्मी एवं स्वयं अधिकृतहरूसमेत रमाएको पाइन्छ। झन् यसमा प्रहरीका प्रमुख अर्थात् आइजिपी नै बन्ने कुरा सबैको चासोको बिषय बन्छ। अझ बनाइन्छ।

प्रहरीको आइजिपी किन यति धेरै चर्चा पाउँछ? राज्यमा तीन तहका सरकारै छन्, सांसदहरू छन्, मन्त्रालयभरि कर्मचारी छन् जहाँ विभिन्न पद पनि छन्। मर्यादा क्रममा आइजिपी भन्दा माथि धेरै व्यक्तित्व छन्। राष्ट्र निर्माणको मार्गमा प्रत्यक्ष/परोक्ष काम गर्ने प्राज्ञिक एवं महत्वपूर्ण कैयौँ निकाय छन् तर अरूको चर्चा हुँदैन। यही प्रहरीको मात्र यस्तो किन हुने गर्छ ? राम्रो सन्देशको लागि चर्चा भैरहेको छ कि यसभित्र केही कुरा पनि हुन्छ ? त्यो आमवर्गलाई बेलिविस्तारमा थाहा हुँदैन। छापिने, हेरिने र पढिने समाचारभरि युनिफर्ममा फुली र तक्मा लगाएको झकझकाउँदो फोटो छापिएपछि सबैको एकपटक ध्यान अवश्य पुग्छ नै।

आइजिपीबारे दुवै संगठनका ऐन, नियमहरू छन् त्यसको परिधिभित्र रहेर सरकारले बनाउने हो। प्रहरीबाहेक सिधै कसैलाई आइजिपी बनाउन पाइँदैन। लामो करियरका खुट्किला पार गरेर पुगिने अन्तिम पद आइजिपी हो। तर यतिविध्न चर्चा, विवाद, रन्थमोलसँग आइजिपी बन्छन् कि यसैमा खेल्न सबैलाई रमाइलो लाग्छ। एउटा इनिङ हम्मे हम्मेसँग सकिन्छ तर अर्को इनिङमा त्यही डाँवाडोल फेरि सुरु भैदिन्छ। त्यसैले अब आगामी वैशाख १८ गतेसम्म यो एक प्रकारले महासंग्राम जस्तै बन्नेछ। जसको युद्धविराम सरकारले निर्णय गरेपश्चात् हुनेछ, कोही मलाई अन्याय भयो, म हुनुपर्ने भनेर अदालतमा गएन भने बाहेक। तर युद्ध भने भित्रभित्रै रहिरहनेछ अझै।

नेपाली सेनामा करियरको दौरान बीचमै विभिन्न कारणले अगाडि पछाडि पर्न सक्छन् तर ज्येष्ठ लेफ्निेन्ट जनरलहरू नै चिफ बन्दै आएको पाइन्छ। नेतृत्व छनोटमा कुनै पनि विवाद रहँदैन। नेतृत्व निर्माण प्रक्रिया सहज र उदाहरणीय हुन्छ।

तर प्रहरीहरूमा भने एकाध अवस्थाबाहेक सदा विवादित हुन्छ। यस्तो किन हुन्छ? किन यसलाई सहज रूपमा व्यवस्थापन गर्न सकिँदैन? कैयौँ सरकारहरूको चक्र चलिरहँदा पनि यो विवादकै विषय बनिरहन्छ। सबैले यसको जवाफ राजनीतिलाई नै दिइरहेको पाइन्छ। हुन पनि राजनीति, राजनीतिले निर्माण गर्ने सरकार नसङ्लिएसम्म यस्तै दुश्चक्रमा चलिरहने देखिएको छ।

प्रहरीमा यतिविध्न राजनीति किन हुन्छ र किन गर्नुपरेको हो त ? यसको जवाफ कोहीसँग छैन शायद किनकि प्रहरीको राजनीतिभित्र गुप्त, खुला अनेकौँ सवाल जोडिएका छन्। यसको अर्थ सबैलाई आफ्नो प्रहरी चाहिएको छ र प्रहरीलाई आफ्नो बनाउनुपरेको छ। तर लामो अनुभवले के देखाएको छ भने एकाध दाउ लागेकाबाहेक कोही पनि प्रहरी भने जस्तो सधैँ आफ्नो बनेको पाइँदैन। देश सेवाको पवित्र कसम खुवाएर आम जनताका लागि निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने, स्वच्छ रूपमा कानुन कार्यान्वयनमा उत्रनुपर्ने निकाय कुनै दल विशेषको निगाहमा चल्ने भयो भने समग्र देशको शान्ति सुव्यवस्था तथा सुरक्षाको अवस्था कस्तो होला ? नागरिक ढुक्कसँग निदाउन सकेनन् भने के हुन्छ? सहजै अनुमान गर्न सकिने हुन्छ।

यसर्थ आइजिपी होस् या प्रहरीका अरू बढुवा, सरुवा, नियुक्ति जस्ता पक्षलाई राजनीतिको फेरो समात्न नपर्ने बनाइदिन जरुरी छ। कतै धाउन नपर्ने गरी ढुक्कले सेवा मार्गमा लाग्न सक्ने बनादिने हो भने कोही पनि रहरले ढोका ढक्ढक्याउन जाँदैन। बाध्यता सिर्जना गरिएपछि सबै चिने/जानेका सांसद, मन्त्री, भातृसंगठनका अगुवा, गाउँदेखि केन्द्रसम्मका नेता, कर्मचारीका पहुँचदार आदि खोज्दै चिन्नुपर्ने अवस्था सिर्जना गरिएको छ।

यतिविध्न संवेदनशील निकायको नेतृत्व छनोट लगायत उच्च अधिकृत पदका दरवन्दी, बढुवा बढाबढमा कुनै टेन्डर परेजस्तो बनाइन हुँदैन र फूली थप्न चिन्न अनि किन्न पर्ने जस्तो पार्दिन त झन् हुँदै हुँदैन। सरकारको फेरबदलसँगै दरवन्दी, पदोन्नति सबै फेरिने हो भने वर्षौ काम गरेको मूल्यांकन, त्यसले बोक्ने अंक किन भरिराख्न पर्‍यो ? मूल्यांकनको आधार के हो सबैले थाहा पाउने बनाउन किन सकिँदैन? फूली लगाउनेले पनि अहिलेसम्मको मेहनत, अनुभव, संगठन, देश र जनताप्रतिको समर्पणले प्राप्त गरेँ भनेर आफ्नो करियरप्रति गर्व गरोस् न कि कसैको निगाहामा पाएको आधारमा। समाधान खोज्ने हो भने थिति पनि बस्छ र अकिञ्चन प्रहरीले आफ्नो भएभरको सामथ्र्य, अनुभवको् आधारमा देश सेवाप्रति मुखरित हुन पाउँछ।

संगठनलाई बाँध्ने, सही मार्गमा हिँडाउने, नेताको मुठ्ठीको हैन, जनताको र देशको प्रहरी बनाउनेतर्फ संगठन सञ्चालन र व्यवस्थापनको दस्ताबेजका रूपमा रहेको नियमावली सरकारले चाहेकै भरमा व्यक्ति हेरेर परिवर्तित गर्न सकिने हो भने केही विषयवस्तु शीघ्र परिवर्तन गर्न नसकिने ऐनमै उल्लेख गरेर बलियो बनाउन जरुरी देखिन्छ। यति थोरै संख्यामा रहेको दुई प्रहरीको वृत्ति विकास सहजैरू गर्न सकिने विषय हो।

किन सधैँ सरुवा, बढुवा, विदेश, तक्मा जस्ता पक्षहरूमा प्रहरी शक्तिकेन्द्र खोज्दै चाहार्छन् ? यस्तो कोही कसैकोमा जानै नपर्ने, भन्नै नपर्ने खालको बनाउँ भनेर सम्बन्धित संगठन, मन्त्रालयले केही महिनाको गृहकार्य गर्ने हो भने यसको समाधान निकाल्न सकिन्छ। निष्पक्ष, पारदर्शी एवं व्यक्तिको क्षमता देखिने मूल्याङ्कन पद्धति बनाइदिने हो भने उक्त विधिविधानको परिधिमा रहेर हिँड्न सबै बाध्य हुनुपर्छ र तोकिएको कार्यक्षमता, इमान्दारिता, संगठनप्रतिको विश्वासमा अडिग रहेर देशको सेवार्थ उच्च मनोबलका साथ प्रस्तुत हुने पद्धति विकास हुँदै जान्छ। परिणामस्वरूप देशको शान्ति सुव्यवस्था कायम गर्ने पक्षमा नागरिकको सन्ततिबाट आमनागरिकले भनेजस्तो सेवा प्राप्त गर्न सक्छ।

सबैलाई उच्च पदमा पुग्ने चाहना हुन्छ नै। तर जति माथि गयो पदहरू थोरै हुँदै जान्छन् भन्ने पनि सबैले बुझेका हुन्छन्। संगठन, मन्त्रालय एवं सरकारले सबैलाई चाहेजस्तो सबै पदमा पुर्‍याउन सक्दैन र त्यो संभव पनि हुँदैन। प्रतिस्पर्धा संगठनमा आबद्धहरूभित्र सदा भैरहन्छ तर सबै देखिने मापदण्डको परिधिमै रहेर अब्बल ठहरिने तराजुमा सँगैको प्रतिस्पर्धी अगाडि आयो भने त्यसलाई भने सबैले स्वीकार गर्नुपर्ने हुन्छ र गर्छन् पनि।

ज्येष्ठता, कार्यक्षमता, फौजलाई कमान्ड गर्न सक्ने सोच, हालसम्मको विभिन्न नियुक्तिमा भित्रैका सदस्यमा आर्जन गरेको विश्वास जस्ता माध्यमबाट पारदर्शी छनोट सबैको स्वीकार्य विषय हुन्छ। यसो भएको खण्डमा सँगै बीसौँ, तीसौँ वर्ष काम गरेको साथीको मन भाँच्चिदैन र उच्च कार्यक्षमता भएकोलाई स्वीकार गरेर अघि बढ्न कुनै संकोच रहँदैन। हैन भने संकटमा घाइते साथी बोक्ने, रगत दिने, दुःखमा रुने र सुखमा रमाउने सँगैको मित्र कालान्तरमा परमशत्रुमा परिणत हुन जान्छ र मनभित्र रहेको तृष्णासँगै त्यो पीडा र शत्रुता नमरुन्जेल आफू, परिवार र आफन्तसम्म विद्वेषका रूपमा फैलने संभावना हुन्छ।

यही भैरहेको छ आजसम्म। यसर्थ अबको नेतृत्व छनोट जुन सन्मुख आइरहेको छ यिनै अन्तर्यहरूलाई दृष्टिगत गरी विवादरहित बनोस्। नेतृत्वमा पदासीन भएको भोलिपल्ट संगठनकासबै सकल राष्ट्रसेवकहरू गौरव गर्दै एकजुट भएर देश र जनताको सेवामा लागून्। जो संगठनको ताज पहिरन सक्षम हुनुहुनेछ, उहाँहरूलाई अग्रिम बधाई एवं कार्य सफलताको शुभकामना। जय नेपाल। जय निरीह प्रहरी। 

प्रकाशित: २८ चैत्र २०७८ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App