८ वैशाख २०८१ शनिबार
विचार

पूर्वचिहानबाट चियाउँदा

बस्ती नजिकैको डाँडोमा शवको अन्तिम संस्कार गरिने ठाउँ। त्यसैले ठाउँको नामै चिहान डाँडा हुने नै भयो। आफ्नो बस्ती नजिकको ठाउँलाई चिहान विशेषण जोडेर चिनाउनुपर्दा स्थानीयको मन अमिलो हुन्थ्यो। त्यसैले सबै सल्लाह गरे र उक्त चिहानलाई बस्तीभन्दा केही पर सारी उक्त ठाउँलाई उद्यान बनाउने निर्णय गरे स्थानीयले।

निर्णय त गरे तर सनातनी प्रचलन हटाइहाल्न सजिलो कहाँ हुन्थ्यो र? आपसमै कुटाकुट पर्ने अवस्था सिर्जना भयो। उक्त ठाउँलाई चिहानै कायम राख्ने र त्यहाँ उद्यान बनाइछाड्नेबीच तीव्र ध्रुवीकरण भयो। मिलेर बसेको गाउँ हेर्दाहेर्दै वादी/प्रतिवादीको कित्तामा बाँडियो। उद्यान बनाउनुपर्ने पक्षका अभियन्ता दलबहादुर तामाङले सुनाए– शव ल्याएर तिमीहरूको आँगनमा अन्तिम संस्कार गर्छौ भनेर समेत धम्क्याए।

आफ्नो गाउँ/बस्ती सुन्दर भएको हेर्न को चाहँदैन र? स्थानीय नेता तथा प्रदेश सांसद रामेश्वर फुयाँलले प्रदेश सरकारबाट बजेट मिलाए। जो उद्यान कि चिहान भन्ने बहसमा सुरुदेखि नै संलग्नमात्र हैनन्, उद्यानकै परिकल्पनाकारमध्येका एक समेत हुन। नगरपालिकाले सहयोग गर्‍यो। कृष्णप्रसाद अर्याल, विश्वराज श्रेष्ठलगायतका स्थानीयले होस्टेमा हैँसे गरे। प्रतिवादीलाई बुझाउने काम भयो। आखिर उद्यानवालाकै जीत भयो। यसरी हेर्दाहेर्दै चिहान डाँडो लोकतान्त्रिक शहीद उद्यानमा परिणत भयो।

अहिले यो ठाउँमा शव आउँदैन। जिउँदा मानिस आउँछन्। पिकनिक मनाउन। काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भागमा लुकेको साङ्ग्रिलाको मजा लिन। गुराँस र रैथाने जङ्गली फूल/वनस्पतिको सुगन्ध नजिकैबाट चाख्न। अनि स्वच्छ हावासँगै हाइकिङको तृष्णा मेटाउन। साँच्चै, काठमाडौँको मुटुबाट मात्र २२–२४ किलोमिटरको दूरीमा अवस्थित प्राकृतिक भ्युटावरबाट टाढाटाढाका दृश्यावलोकन गर्न पाउनु चानचुने अवसर पक्कै होइन। यस्तै प्रतिक्रिया सुनिन्छन् यहाँबाट फर्कनेका मुखबाट।

मकै, भटमास खाजा। गुन्द्रुक (त्यो पनि काउलीको सागबाट बनाइएको) को अचार। सामान्यतया मालामा प्रयोग नगरिने नारानपातीको माला। भिरपाखामा आफ्नो बैँस प्रदर्शन गरिरहेका रैथाने जङ्गली फूलको बुके। आगन्तुकलाई टोपी समातेर मास्तिर हेर्न बाध्य पार्ने रुखैपिच्छेका गुराँसको न्यानो स्वागत। यही हो यहाँका तामाङ दिदी÷बहिनीले आगन्तुकलाई स्वागत गर्ने सामग्रीको मेनु।

‘अमेरिकाको मिनिसोटामा रहेको कागको प्रतिमालाई विश्वकै सबैभन्दा ठूलो मानिने रहेछ। जुन १३६० किलोग्रामको रहेछ, हामीले यहाँ स्थापना गरेको कागको मूर्ति त १९४०.९५ किलोग्रामको छ, त्यसैले यो विश्व कीर्तिमान कायम भएकोठाउँ पनि हो’–कागेश्वरीमा कागको प्रतिमा स्थापना गर्नुको औचित्य पुष्टि गर्दै सांसद फुयाँलले दाबी गरे। जुन उनकै नेतृत्वमा स्थानीयसँग घरघरको कुनाकाप्चामा फ्याँकिएको कबाड सङ्कलन गरेर निर्माण गरिएको हो।

काग मात्र हैन, यहाँ लोकतान्त्रिक आन्दोलनका लागि जीवन उत्सर्ग गर्ने गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारी लगायत २५ जना शहीदको सालिक बनाउने कामको श्रीगणेश पनि भइसकेको छ। यो उद्यान यस कारण पनि विशेष बन्नेवाला छ कि जहाँ उपेक्षामा परेका ऐतिहासिक पात्र बिसे नगर्चीको पनि सालिक बन्दैछ। त्यो पनि पूर्ण कदको।

बिसे नगर्चीको सालिक मात्र बन्दै छैन, मुलुक बनाउन मोरु १ दिएर त्यसैगरी सबैसँग उठाउन सल्लाह दिने उनको नीतिसमेत अनुशरण गरिएको छ। विशेष गरी स्थानीय महिलाले मोरु १ उठाउने अभियान थालेका छन्। जसबाट मुख्य सडकबाट उद्यानसम्म जानका लागि सिँढी निर्माण भइरहेको छ। यो अभियानबाट एकै दिन ४५ सय रुपियाँ उठेपछि आफूहरू निकै हौसिएको भनाइ छ मोरु अभियानकी एक अभियन्ता कविता सुनारको।

सरकारी बजेट ताक्ने हो वा कुनै दानवीरलाई प्रस्ताव राख्ने हो भने एक्लैले पनि यो सिँढी बनाइदिन सक्ने सम्भावनासँग पनि उनीहरूजानकार नभएका हैनन्। तर विकास निर्माणमा सबैलाई सहभागी हुन आकर्षित गर्ने र यसप्रति अपनत्व महसुस गराउने अभिप्रायले यस्तो अभियान थालिएको प्रष्टोक्ति छ–कविताको।

यिनै जगका आधारमा यतिबेला सबैजना मिलेर लोकतान्त्रिक शहीद उद्यान र वरपरको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाइछाड्न जुटेका छन् स्थानीय। जो चिहान डाँडालाई इतिहासमा सीमित गराउन चाहन्छन्। अनि वर्तमानमा उद्यानका रूपमा ख्याति कमाउन चाहन्छन्। आफ्नो ठाउँलाई पृथक बनाउने अभियानअन्तर्गत नै हो कि उनीहरू यो ठाउँमा चुत्रो, ऐँसेलु, काफल आदिका बिरुवासमेत रोप्नुपर्ने चिन्तनमा छन्। कागेश्वरी मनोहरा नपाकी उपमेयर विन्दु सिम्खडाकै शब्दमा अहिलेको पुस्ताले यस्ता रैथाने चिजबिज बिर्सन लागेकाले पनि रोपराप गर्न आवश्यक छ।

सांसद रामेश्वर फुयाँल साहूसँग टोपी नथाप्ने, छोरीलाई माया गर्ने, पहाडसँग मितेरी लगाउने सिर्जनशील समाज निर्माण गर्ने उद्देश्यस्वरूप थालिएको एक अभियान ठान्छन् कागेश्वरी क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने काम।जसले स्थानीयलाई आत्मनिर्भर बनाइ भनसुन नलाग्ने र मनसुन कुर्न नपर्ने बनाउँछ रे–उनकै शब्दमा। त्यसैले त उनकै पहलमा काठमाडौँका साविकका ३७ गाविसमा लप्सी उत्पादक किसान तयार भएका छन्। सांसद आफैँ पनि७० बोट लप्सीका मालिक हुन्। उनीबाटै प्रभावित भएर परीक्षणका रूपमा ४ बोट लप्सी रोपेकी शोभा रोकाले गर्वसाथ सुनाइन्–मैले गएको सिजनमा मात्र ४ बोटबाट ५० हजार रुपियाँ आम्दानी गर्न सकेँ।

माथिका प्रमाण साक्षी छन्–कागेश्वरी वास्तवमै अर्गानिक पर्यटकीय क्षेत्र बन्ने योग्यता राख्छ। तारेभिरको काखमा अवस्थित यो क्षेत्र शिवपुरी, मणिचुड, जहरसिंह पौवा हुँदै नगरकोटसम्म एउटै पेरिफेरीको प्याकेज निर्माण गर्न सक्षम छ। जसले कङ्क्रिटको जङ्गलबाट एक दिन भए पनि मुक्ति चाहनेलाई हर्षविभोर बनाउने हैसियत बनाएको छ। चाहे त्यो दृश्यावलोकनका हिसावले होस् या हाइकिङका हिसावले, चाहे त्यो काठमाडौँको काँठ क्षेत्र अध्ययन गर्ने हिसावले होस् या उपत्यका नै नछाडी पर्वतीय मजा महसुस गर्नका लागि होस्। कागे अष्टमीका दिन मेला नै लाग्ने नजिकको धार्मिक स्थल यहाँको अर्को विशेषता हो।

वरपर रिसोर्टहरू बन्न थालिसकेका छन्। जहाँ मःमः, चाउमिन र पिजाका मेनु भेटिन्छन्, काठमाडौँ खाल्डोका रेस्टुरेन्टमा जस्तै। तर यहाँका बासिन्दाले बुझिसकेका छन् कि कागेश्वरी आउनेहरू त्यही पिजा, बर्गर र चाउमिनबाट मुक्ति खोज्नेहरू हुन्। त्यसैले उनीहरूले माथि उल्लेख गरिएजस्तै स्थानीय स्वादका परिकार निर्माण गर्ने योजना बुनिसकेका छन्। खास गरी उद्यान वरपरका तामाङ दिदी/बहिनीले स्थानीय अचारदेखि अन्यत्र नपाइने उत्पादन के के हुन सक्छ भनेर सामूहिक छलफल थालेका छन्। ताकि यहाँ खाने मात्र हैन, घर फर्कँदा लैजाने कोसेली पनि बन्न सकून् त्यस्ता चिज भन्ने उनीहरूको धारणा छ।

मौलिक होम स्टेले कागेश्वरी क्षेत्रलाई पृथक पर्यटकीय क्षेत्र बनाउन सघाउने बुझाइ पनि उनीहरूमा भरिइसकेको छ। त्यसैले उनीहरू होटल/लज/गेस्टहाउसको सुविधा हैन, विशुद्ध गाउँकै रहनसहन र परिवेशमा पर्यटकलाई रमाउन दिने घरबासको परिकल्पनामा जुटेका छन्। यसका लागि सकभर स्थानीय स्तरमै पाइने कच्चा पदार्थबाट बस्नेदेखि खाने हुँदै सुत्नेसम्मका सामग्री तयार पार्ने उनीहरूको योजना छ। जसले एकातिर प्रयोगविहीन अवस्थाका स्थानीय स्रोत/साधन उपयोग हुने अर्कोतर्फ त्यसबाट गाउँमा पैसा पनि भित्रने योजना सुन्दै सुन्दर लाग्छ। पर्यटक पनि खुसी, स्थानीयको आर्थिक अवस्था पनि सुदृढ। गजबको छ काइदा।

विवेकशील दिमागहरू, सिर्जनशील हातहरू तथा सहयोगी सोचका धनीहरू मात्र हैन, सकारात्मक सोच राख्ने मनहरूसमेत मिल्दा शवको अन्तिम संस्कार बन्ने स्थल पनि हेर्दाहेर्दै कति प्रिय बन्न सक्दोरहेछ भन्ने उदाहरण हो–पर्यटकीय क्षेत्र बन्ने दौडमा रहेको कागेश्वरीको उद्यान परिसर।जुन अन्य क्षेत्रका यस्तै पखेराहरूका लागि पनि अनुशरणीय बन्ने पक्का छ। साधुवाद छ, नवीन सोचका प्रवर्तकहरूप्रति।

प्रकाशित: २३ चैत्र २०७८ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App