१९ मंसिर २०७९ सोमबार
विचार

डरलाग्दो खेल

अस्ट्रियाका लेखक तथा पत्रकार हेनरी ग्रनवार्डले भनेका छन्,'सत्य बोल्ने र सुन्ने साहस गर्दैन भने ऊ पत्रकार होइन, पत्थर हो।' सत्य बोल्ने र न्यायका पक्षमा जनतालाई जागृत गर्ने काम, दायित्व र क्षेत्राधिकार चेतनशीलहरूकै हो।

दरिद्र राष्ट्रमा दुई किसिमका नागरिक भेटिन्छन्– आवश्यकता र प्रलोभनका रोगी। आवश्यकता (निड) पूरा गर्न एकथरि अहोरात्र दुःख गर्छन्। त्यो गच्छेअनुसार टर्छ। प्रलोभन (ग्रिड) जस्तो भयाबह रोगले च्यापेपछि अर्बपतिहरू जस्तोसुकै र जोसुकैको दास बन्छ। त्यो बेला मानिस लोभको गहिरो इनारमा पर्छ। जो कुनै दलमा आबद्ध छैनन् र साँच्चै स्वतन्त्र छन्, त्यस्ता जनता लास र दास बन्न चाहँदैनन्। दुर्भाग्य, स्वाभिमानीहरू क्रमशः अल्पमतमा परिरहेका छन्। सार्वभौमसत्ताको मालिक बन्दैछ ढुंगाको सालिक। सालिक मौन बसेर जघन्य अपराध हेरिरहन्छ, बोल्न सक्दैन। त्यो निर्जीव छ।  

कमजोर मानिस भाग्यवादी भएर बस्छ। ‘भाग्य नै यस्तो रहेछ’ भनेर चित्त बुझाउँछ। सशक्त मानिसलाई त्यस्तो दुःखी चिन्तनले रोक्न र छेक्न सक्दैन। त्यस्ता मानिसहरू आफ्नो भाग्य, मार्गचित्र वा लक्ष्य आफैँ निर्माण गर्छन्। एक्लै उभिन्छन्। भ्रष्ट, पराधीन, परावलम्बी, राष्ट्रघाती, पामर, अधम र अधर्मीलाई नायक मान्नेहरू उनैहरूकै भजन गाउने गायक हुन। आफ्नै दलमा योग्य नेतृत्व चयन गर्ने क्षमता नभएका ती कुपात्रहरू धर्ती पल्टाउने कुरा गर्छन्। आमूल परिवर्तनका कुरा गर्छन्। जनता वाक्कदिक्क छन्, यस्तो टपर्टुइयाँ प्रवृत्तिसँग। यस्तै भाषण, उस्तै पात्र र उस्तै परिवर्तनका नारा नयाँ पुस्ताले ठ्याम्मै पत्याइरहेका छैनन्। त्यो बिम्ब देखिँदैछ, साहित्य, संगीत, कलामा पनि।  

२०६२/६३ सालमा जो भर्खर प्राथमिक तहमा पढ्दै थिए, उनीहरूले स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरिसके। उनीहरूभन्दा पुराना पुस्ताले २०४६ सालपछि हजारौँ पल्ट ढाँट्ने नेताहरूलाई पनि चिनेका छन्। राष्ट्र लुट्नेलाई चिनेका छन्।

जुम्लाका सिँजा निवासी बिर्खबहादुर बुढाले ठट्टा गर्दै भनेका थिए, ;हुम्लीको भेडा, मधेसीको घोडा र जुम्लीको छोराले धेरै दुःख पाउँछ भन्ने उखान छ, कर्णालीतिर।' अहोरात्र कष्ट उठाउनुपर्ने बाध्यताको सानो उपमा हो, त्यो। भूगोल, भाग्य र भवितव्यलाई दोष दिएर उम्कन पाइँदैन अब। राष्ट्रलाई गहिरो खाडलमा जाक्नेहरूलाई जनताले कठोर दण्ड दिएनन् भने सात पुस्तासम्म हाम्रो कथारव्यथा बदलिने छैन। राष्ट्र क्रमशः असफल बनिरहेको सत्य अब स्वीकार्नुपर्छ।  

२०२७ सालमा सत्यमोहन जोशी, बिहारीकृष्ण श्रेष्ठ, प्रा। चूडामणि वन्धु, प्रदीप रिमाल र स्थिरजंगबहादुर सिंहलाई राजा महेन्द्रले कर्णाली क्षेत्रको भाषा, साहित्य, संस्कृति र जनताबारे स्थलगत अध्ययन गर्न पठाए। नेपालगन्जबाट एघार दिन हिँडेर जुम्लाको सिँजा पुग्नुपर्ने भएकाले समय बचाउन विमान चार्टर गरियो। जान–आउन २२/२५ दिन लाग्ने भएकाले विमानबाट जाने आउने प्रबन्ध मिलाइयो। त्यो समय अन्वेषणमा काम लाग्यो।

लास र दासले आफैँ निर्णय गर्दैन। गर्न पनि सक्दैन। जिब्रो र आवाज छ, बोल्न सक्दैन। ऊ मालिकको ईशारा पर्खेर बस्छ। मालिक रुँदा ऊ रुन्छ। मालिक हाँसे, ऊ हाँस्छ।

हिमाली क्षेत्र, तराई र पहाडी जिल्लाहरूमा चेतना, राष्ट्रियता, राष्ट्रिय एकता र मित्रता बढाए मात्र जनता दास र लास हुँदैनन् भन्ने राजा महेन्द्रको सोच थियो। तराईलाई अवहेलना गरियो भन्दै केही एनजिओजीवीहरूको भाषण सुनेपछि कार्यक्रमका वक्ता पत्रकार तीर्थ कोइरालाले व्यग्यांत्मक शैलीमा भने, 'तपाईँहरूले भनेझै राजा महेन्द्र अपराधी नै हुन्। उनले पहाडी जिल्लाहरूलाई उपेक्षा गरेर मेची–महाकाली जोड्ने महेन्द्र राजमार्ग बनाए जताततै सडक, कलेज, स्कुल बनाए। तराईमा राम्रा अस्पताल, बस्ती र सहर विकास गरे। तराईका शिक्षितहरूलाई राम्रा पदमा नियुक्त गरे। राज्यसंयन्त्रमा तराईका मानिसको ठूलो वर्चस्व भयो। आज पनि पहाडका गाउँहरूमा आमा, दिदी, बहिनी र भाउजुहरू एक गाग्री पानी लिनका लागि घन्टौँसम्म उकालो–ओरालो गर्छन्। महेन्द्रले तराईलाई धेरै माया गरे, तर पहाडतिर खासै ध्यान दिएनन् भन्ने मेरो पनि गुनासो छ। त्यसकारण महेन्द्र अपराधी थिए।'

कोइरालाको तर्कले धेरै सहभागी स्तब्ध भए। उनीहरूले जे सुनेका थिए, त्यो सबै सत्य होइन रहेछ। लास र दासले आफैँ निर्णय गर्दैन। गर्न पनि सक्दैन। जिब्रो र आवाज छ, बोल्न सक्दैन। ऊ मालिकको ईशारा पर्खेर बस्छ। मालिक रुँदा ऊ रुन्छ। मालिक हाँसे, ऊ हाँस्छ।

गोरखापत्रको प्रधानसम्पादक छँदा मलाई साहित्यकार कमलमणि दीक्षितले उहाँको घरमा बोलाउनुभयो। गोरखापत्रको वार्षिकोत्सवमा वृत्तचित्र बनाउने कर्ममा व्यस्त थिएँ म। दीक्षित गोरखापत्रको इतिहास र मर्मका ज्ञाता। ‘सयौं साहित्यकार जन्मायो, लेखक हुर्कायो तर हरेक सरकारले गोरखापत्रलाई दास बनाए।’ दीक्षितको कथनमा पीडा थियो। यसको अर्थ, व्यक्तिमात्र होइन, संस्थाहरू पनि दास बनाइन्छन्।

आज संवैधानिक अंगहरू दास र लास बनिरहेका छन्। न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका लाचार छन्। गणतन्त्रको रामनामी ओढाएर लमतन्न सुताएका छन्, दलहरूले। संविधानको मर्मले होइन, स्वार्थी धर्मले ‘चलाइएको’ छ देश।

उच्चतहमा बस्नेका तुच्छ वचनमा उनीहरूको पारिवारिक पृष्ठभूमि, संगत, संस्कार र सभ्यता प्रतिध्वनित र प्रतिबिम्बित भएको पाइन्छ। केही वर्षअघि एकजना पूर्वप्रधानमन्त्रीले आफ्नै दलका नेतालाई कठोर भाषामा भने, 'उनी सहिदका पत्नीहरू ताक्ने गर्छन्।' हालै पूर्वप्रम तथा वामपन्थी नेताले पचास वर्ष पुराना मित्रलाई ‘भिक्टोरिया क्रस’ लगाइदिए, ‘हाँडीघोप्टे’ भनेर। नेपाली शब्दकोशमा त्यसको अर्थ छ,‘कालो र घोप्टो मुख भएको, ज्यादै कालो अनुहारको। सबै आफैँमात्र खाउँ भन्ने, भएभरको खान खोज्ने व्यक्ति।'

प्रकारान्तरले धेरैजसो ‘नेता’ हाँडीघोप्टे नै हुन। आधारभूत चरित्र फरक छैन। २०४६ सालपछि उम्रिएका नेताभन्दा राजदरवारको तालिममा हुर्किएका गतिला हुन्छन् भन्थे, त्यो पनि भ्रम रहेछ। उनीहरूले सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र, संसदीय (बहुदलीय) प्रणाली र गणतन्त्रमा मज्जाले सत्ताको स्वाद लिए। तीमध्ये केहीले करोडौँ तलब भत्ता पनि लिँदारहेछन् भन्ने स्वीकारे। मालिकसँग चित्त नबुझेपछि उनीहरूले मालिक बदले। कमैयाका तीन चार पुस्ताले जमिनदार परिवारको सेवा गरेका घटना धेरै छन्। आफैँ जमिनदार बन्ने रहर जागेपछि केही कमैया अलपत्र परे। राजनीतिमा पनि त्यस्ता उदाहरण छन्।

विराटनगरका वृद्धहरूले सुनाएको कुरा हो। विश्वेश्वरप्रसाद कोइरालाकी आमा दिव्याको दूध खाएर हुर्केका रहेछन्, विश्ववन्धु थापा। केटाकेटीमा ‘दाजुभाइ’ भएर खेले उनीहरू। २०१७ सलामा दलहरूमाथि प्रतिबन्ध लाग्यो। कोइराला कारावासमा जानुपर्‍यो। त्यसपछि निर्दलीय पद्धति सुरु भयो। विश्ववन्धु मन्त्री भएपछि दिव्या कोइरालाको आशीर्वाद लिन जाँदा उनले घरको बार्दलीबाटै हप्काइछन्, ‘तँ यो घरमा पस्न पाउँदैनस्। तँ धोकेबाज होस्।' ती पात्र जीवितै छन्।

छोरालाई धोका दिने मानिस उनले रुचाइनन्। बिपीको आत्मवृत्तात्ममा यो रोचक प्रसंग छ। मानिस जतिसुकै कष्ट सहेर पनि एक ठाउँमा उभियो भने इज्जत रहन्छ। समय, परिस्थिति, जनचाहना परिवर्तन हुँदै जान्छ तर आधारभूत चरित्र गुमाएका व्यक्ति जनताबाट सुसज्जित होइन, अपमानित र लज्जित बन्छ। राजनीति, कूटनीति, राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील अंगमा बसेर राष्ट्रघात गर्ने प्रवृत्ति नेपालमा देखिएको छ। समय आइसक्यो, वास्तविक सूचना पुष्टि भएपछि केही साहसी युवाले ‘राम नाम सत्य है’ गरिदिए हुन्छ। नत्र देश लुटिरहन्छन्। एकदिन नेपालमै हामीलाई विदेशी बनाउन सक्छन्। ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने मान्यता हाम्रो साझा सोच, चिन्तन र दर्शन सिद्ध भएन भने हामी आफ्नै कारणले दण्डित र विखण्डित हुन क्छौं।

नेपाल जस्तै ग्रिस, चीन, जापान, फ्रान्स, इरान, इथियोपिया, इजिप्ट आदि प्राचीन राष्ट्रमध्ये धेरैजसो कमजोर हुँदैछन्। जमिनदारका सन्तानले बजारमा चिया बेच्ने र बैंक ठगेर धनी भएका केही व्यक्ति हजारौँ बिघामा चिया बगान बनाउने मालिक भएझैँ समय, नियति र दुर्भाग्यले हुत्याएर केही पुराना राष्ट्र कष्टमा बाँचेका छन्।

एकपल्ट चौध पन्ध्र घण्टा लामो यात्रा गर्दा ‘एयर होस्टेस’ (‘होस्टेज’ होइन) सँग कुराकानी भयो। उनी इथियोपियाको टेलिभिजनमा समाचार वाचन गर्ने जागिर त्यागेर वायुसेवामा प्रवेश गरेकी थिइन्। पत्रकारितामा सक्रिय भइसकेको हुँदा विश्वघटना र इथियोपियाको इतिहासबारे बताइन्।

उनले भनिन्, अफ्रिकाका प्रायः सबै राष्ट्रउपनिवेश थिए तर हाम्रो देश सदैव स्वतन्त्र थियो, स्वतन्त्र छ। सन् १९१४ देखि चारवर्ष चलेको प्रथम विश्वयुद्धपछि अफ्रिकाको एक मात्र स्वतन्त्र राष्ट्र इथियोपिया कसरी स्वाधीन रह्यो भनेर युरोप–अमेरिकाका कैयन् पत्रकार, लेखक र अन्वेषक आदिस–अबाबा (राजधानी) पुगेको कुरा मैले मेरो बुबाबाट सुनेकी हुँ।'

काठमाडौंबाट उडेको विमानमा मुम्बई पुगेपछि तेल भरियो। उपल्लो श्रेणी (बिजनेस क्लास) मा हामी पाँच सात थियौँ। प्रायः सबै रक्सी खाएर निदाइसकेका थिए। हाम्रो कुराकानी चलिरह्यो। उनी पनि मजस्तै शाकाहारी रहिछन्। ‘अफ्रिकी पनि शाकाहारीरु’ भनेर प्रश्न गर्दा ती सुन्दरी मज्जाले हाँसिन्।

सन् १९७४ मा सम्राट हेली सेलासीलाई हटाएर कम्युनिस्टले लाखौँ मानिस मारे। गृहयुद्धका कारण कृषि उत्पादन घट्यो र भोकमरी फैलियो। भोकले हजारौँ जनता मरे। ‘घरमुली’ गतिलो भएन भने राष्ट्रको पतन निश्चित छ। अन्ततः विदेशीकै षडयन्त्रमा राष्ट्र टुक्रियो र प्रजातन्त्रकै यन्त्र (जनमत संग्रह) बाट इरिट्रिया नामको नवोदित राष्ट्र बन्यो।

इथियोपिया सन् १९७४ सम्म सुरक्षित रहनुको प्रमुख कारक तत्व सबैलाई समान व्यवहार गर्ने राजनेतृत्व थियो। त्यो धर्म, जात, संस्कृति र सामाजिक परम्परालाई सन्तुलनमा राख्ने एकताको कडी थियो। हामी विभाजित भयौँ भने राष्ट्र भयानक भविष्य भोग्न बाध्य हुन्छ भनेर सम्झाइरहने शक्ति थियो, त्यो। सबैलाई जोड्ने सेतु थियो।

आज संवैधानिक अंगहरू दास र लास बनिरहेका छन्। न्याया पालिका, कार्यपालिका र व्यवस्थापिका लाचार छन्। गणतन्त्रको रामनामी ओढाएर लमतन्न सुताएका छन्, दलहरूले। संविधानको मर्मले होइन, स्वार्थी धर्मले ‘चलाइएको’ छ देश।

जाहिर शाहलाई गद्दीच्युत गरेपछि अफगानिस्तानमा फैलिएको गृहयुद्धमा लाखौँ जनता मरे। राजतन्त्र रहुन्जेल इरानले सन्तुलित विदेशनीति लिएको थियो। गणतन्त्र सुरु भएपछि आठ वर्ष चल्यो, इरान–इराक युद्ध। सन् १९८० को सेप्टेम्बर २२ देखि १९८८ अगस्त २० सम्म चलेको युद्धमा लाखौं मानिस मरे। कम्बोडियादेखि लिएर कैयन् राष्ट्रको कथारव्यथा त्यस्तै छ।

राजा चार्ल्स (प्रथम) लाई मारेर ब्रिटेनमा सन् १६४९ को मे १९ मा गणतन्त्र घोषणा गरियो। एघार वर्षसम्म कुनै प्रगति, स्थायित्व, खुसी र उत्सवको वातावरण नदेखेपछि चाल्र्सका छोरालाई जर्मनीबाट ल्याएर राजा बनाइयो। ब्रिटिस इतिहासकारहरूको तर्क छ, राजतन्त्रमा राजाको मात्र होइन, राष्ट्र, जनता, धर्म, संस्कृति सबैको प्रतिष्ठा रहन्छ।

नेपालमा आज हामीले स्पष्ट देखिरहेका छौँ, कार्यपालिका, न्यायापालिका, व्यवस्थापिका, नेतागण, जनता, संघरसंगठन र सबै स्थायी शक्तिहरूको बेइज्जत गर्दै सबैले सबैलाई निर्वस्त्र बनाउने क्रम चलेको छ। अब नांगिन बाँकी को होला?

प्रकाशित: ४ चैत्र २०७८ १५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App