१३ असार २०७९ सोमबार
विचार

नारी दिवस मनाउनुको अर्थ

नारी तिमी सम्मान हौ

तिमी आकाश अनि धर्ती हौ।

जहाँ तिम्रो सम्मान हुन्छ

त्यहाँ देव देवता रमाउँछन्।

आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस। विश्वभर हर्ष उल्लासका साथ मनाइँदैछ। अझ भनौँ भने मार्चको पहिलो हप्तादेखि नै अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छन् सबैतिर। अन्तर्राष्ट्रिय महिला दिवस भनेर मार्च ८ को एक दिन महिलाका लागि समपर्ण गरिनु चेतना जगाउने हिसाबले निकै राम्रो काम हो। नारी जसले मानवको सृष्टिदेखि आफ्नो जीवनभर हरेकरूपमा माया, प्रेम, सद्भाव बाँड्दै आइरहेकी छिन्।

आफ्नो दुःखलाई थाती राखेर खाली अरूको सुख अनि खुसीका लागि समर्पित हुँदै आइरहेकी छिन्। त्यस्ती दया र साहसकी खानीको सम्मानार्थ अर्पित दिवसलाई सार्थक बनाउन सबै क्षेत्रबाट प्रयास गर्नु अत्यावश्यक छ। यसो भएमात्र यो दिवस मनाउनुको अर्थ रहन्छ।

हाम्रो समाज पनि छोरीप्रति गर्व गर्छ, सनातनदेखि नै। त्यसैले त छोरी जन्मँदा लक्ष्मीको आगमन भयो भन्छौँ हामी। बुहारी आउँदा गृहलक्ष्मी भित्र्याइयो भनेर खुसी बाँडचुँड गर्छौँ एकापसमा।अनि कुनै पनि चाड पर्व हुन् या घरमा आयोजित पूजाआजा, छोरीको खुट्टा ढोगेर टीका, दक्षिणा दिन्छौँ। अर्थात छोरीलाई देवीकै अंश मान्छौँ।

यस्तो सुन्दर समाज, यस्तो छोरीमैत्री समाज, जहाँ हामी छौँ, त्यसैले पनि यिनै छोरीहरूको कदरलाई सम्मान गर्ने, उनीहरूका अधिकार प्राप्तिका लागि प्रेरित गर्ने अनि उनीहरूविरुद्ध भइरहेका वा हुन सक्ने सम्भावित दुव्र्यवहारविरुद्ध खबरदारी गर्ने यो दिवसको महत्व निकै गह्रुँगो छ।

सिक्काको अर्को पाटो पनि छ। जसबारेमा आजका दिनमा चर्चा गर्नु सान्दर्भिक हुनेछ। नारीलाई हाम्रो समाजले यसरी पुजिरहँदा पनि किन उनीहरू आज समानताको यात्रामा धेरै पछि छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ।

किन नारी आर्थिकरूपमा परनिर्भर बनाइएका छन् भन्ने सवाल उत्तिकै टड्कारो छ।आफ्नो सुरक्षा किन आफैँ गर्न सकिरहेकी छैनन्? किन नारीमाथि गिद्धेदृष्टि लगाउनेहरू बढिरहेका छन् ?किन समान कामका लागि पनि असमान ज्याला थाप्न बाध्य छिन्? योग्यताअनुसारकोकाम र मान पाउनबाट किन उनलाई वञ्चित गरिन्छ? प्रश्न धेरै छन्। जसको उत्तर खोज्ने दिन पनि हो आज।

यतिमात्र हैन, चेतना वृद्धि गर्नकै लागि र नारीलाई सशक्त तुल्याउनकै लागि थुप्रै अनुत्तरित प्रश्न उजागर गर्ने दिन पनि हो आज। जस्तो– किन आफ्नै घरमा पनिअपहेलित छ नारी?, किन आफन्तबाटै पल/पलमा दुर्व्यवहारमा पर्छन् उनीहरू?, निर्मला, समीक्षा जस्ता काण्ड किन निर्धक्क बढिरहेका समाजमा? कसले मलजल गरिरहेछ यस्तो कुकार्यलाई? किन बाहिर आउने वातावरण छैन महिला हिंसाका घटना?

किन प्रहरीदेखि प्रशासन हुँदै सरकारसम्म महिलामैत्री कानुन र व्यवहार अपनाउन उदासीन छन्? किन हरेक क्षेत्रमा महिलालाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिन्छ? हो, यस्तै सवाल उठाउने अनि तिनको उत्तर खोज्ने र सही उपचार पहिल्याउने काम गर्नुपर्छ दिवसहरूले। अनिमात्र दिवस मनाउनुको अर्थ हुन्छ। प्लेकार्ड बोकेर एकाध घण्टा सडकमा चिच्याउने अनि दुई वटा समोसा र एक गिलास चिया पिउने दिनमात्र हैन नारी दिवस। यसरी मात्र बुझियो भने हामी कहिल्यै उठ्न सक्ने छैनौँ– विभेदको दलदलबाट, असमानताको आहालबाट, हेलत्तोको पोखरीबाट अनि दुव्र्यवहारको सागरबाट।

बिहान भालेको डाँकसँगै उठ्ने नारी बेलुका सबै घुर्न थाल्दासम्म भाँडा मोलिरहेकी हुन्छिन्। सबै परिवारलाई खुवाइवरी बाँकी रहे खान्छिन् नत्र भाँडा चाटचुट गरेर ओछ्यानमा पुग्छिन्। न कुनै गुनासो छ न त कुनै दिन विश्राम नै। तर पनि किन सधैँ पीडित छन् नारी? खुसी हुँदा लक्ष्मी,भगवती,सरस्वती र कालीको उपमा दिइने, खुट्टामा ढोगिने यिनै नारीको ३६५ दिनै भोग्नुपर्ने पीडाबारे किन बेखबर छ हाम्रो समाज? के नारीलाई विश्राम चाहिन्न? के नारीलाई मनोरञ्जन चाहिन्न? के खुसी नारीका लागि बनेको शब्द हैन? के सम्पन्नता नारीको जन्मजात शत्रु हो? के पहिलो दर्जा कुनै हालतमा नस्वीकार्ने कसम खाएका छन् नारीले? अहं, कुनै हालतमा हैन। त्यसैले आजका दिनमा यस्ता प्रश्न/सवाल/मुद्दा/विषय उठान गर्नैपर्छ। यिनलाई बहसको विषय बनाउनै पर्छ। किन पनि भने यसैका लागि हो दिवस मनाउनुपरेको।

नारी दिवस मनाउन सुरु गरिएको वर्ष अर्थात सन् १९१० यता नारीले प्रगति नगरेका हैनन्। विकसित देशको समेत राष्ट्र प्रमुख सम्हालिसकेका छन्। सेना र प्रहरीमा सहभागिता बढाएका छन्। पाइलट बनेका छन्। बनवटी खुट्टाको सहारामा विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत चुमिसकेका छन्। नेपालकै सन्दर्भमा कुरा गर्दा बराबरी नभए पनि निजामती सेवामा महिला २७ प्रतिशत पुगेका छन्।

यतिबेला ७२ जनामा ७ जना महिला सचिव छन्। प्रहरीमा ११.०२ प्रतिशत पुगेका छन्। त्यसैगरी आधारभूत विद्यालयमा शिक्षिकाको प्रतिशत ४६ छ। यसरी हेर्दासंख्या थोरै किन नहोस्, जुनसुकै क्षेत्रमा पनि सङ्ख्यामात्र हैन, स्तर पनि बढ्दो छ महिलाको। अर्थात अवसर पाउने हो भने सक्षम छौँ भनेर प्रमाणित गरिसकेका छन् उनीहरूले।

तर पनि विडम्बनाचाहिँ यो छ कि यो सबै महिलामा लागु छैन। अझै पनि लाखौँ हैन, करोडौँ महिलाका लागि यी प्रगति धेरै टाढाको विषय छन्, करिब करिब असम्भव जस्तै। हो, तिनैका लागि पनि सम्पूर्ण महिलाको जागरुकता जरुरी छ आज। जो अझै पनि विभेदको साङ्गोलोले बाँधिएका छन्। जो अहिले पनि बोक्सीको आरोपमा मलमूत्र खान र मारिनसमेत विवश छन्। जो अझै पनि घरमै, आफन्त भनिएकाबाटै पिटिन, प्रताडित हुन बाध्य छन्।

कार्यस्थलमा हुने यौन दुर्व्यवहार अझै जारी छ। घरेलु हिंसा उत्तिकै छन्। लैङ्गिक हिंसाको जरो झन झन् भित्रभित्रै गडिरहेको छ। कानुनहरू एकातिर एकपाखे छन् अर्कोतिर प्रभावकारी कार्यान्वयन अभावमा भुत्ते सावित भइरहेका छन्।

जस्तो– विवाहोत्तर कसैसँग सम्बन्ध राखेबापत श्रीमतीसँग श्रीमान्ले सम्बन्ध विच्छेद गर्न पाउँछ त्यो पनि अंश नदिइ तर श्रीमान्ले यसै गरेमा के गर्ने भन्नेबारे चाहिँ कानुन मौन छ। कतिपय कानुन बन्नै बाँकी छन्। जसले गर्दा पीडकलाई आपराधिक कार्य गर्न हौस्याइरहेको छ। यस्तो अवस्थालाई महिलाका पक्षमा पूर्णरूपमा परिवर्तन गर्न जरुरी छ। जसका लागि नारी दिवस एउटा उचित मञ्च हुन सक्छ। अहिलेका शिक्षित नारीले बुझ्नुपर्ने कुरा पनि यही हो।

राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सन्धि/सम्मिलनहरूले गरेका महिला अधिकार संरक्षणका व्यवस्थाबारे पुरुषलाई शिक्षा दिने, विद्यार्थीका पाठ्यक्रममा समावेश गराउने, अभाव भएका कानुन बनाउने, भएका कानुनलाई समय सान्दर्भिकरूपमा परिमार्जन गर्ने र तिनको प्रभावकारी कार्यान्वयनले नारीलाई पहिलो दर्जाको नागरिकका रूपमा ससम्मान बाँच्न पाउने अवस्था सिर्जना गर्न सक्छ। जस्तो– मनोरञ्जन क्षेत्रका महिलाका समस्या, सरोगेसी जस्ता महिलासँग सम्बन्धित विषयमा कानुनै छैन। कार्यस्थलमा हुने यौन दुव्र्यवहारबारेको कानुनले अनौपचारिक क्षेत्रका श्रमिकलाई नजरअन्दाज गरेको छ।

त्यतिमात्र हैन, मुलुकमा व्यापकरूपमा मौलाएको दण्डहीनताको अवस्थालाई जरैदेखि उखेल्न सक्दा नारीको अधिकार उपयोगमा देखिएका तगारा पन्छिन सक्छन्। तर यसका लागि नारी अधिकारका पक्षपाती नारीमात्र हैन, सम्पूर्ण जनता जागरुक हुनैपर्छ। त्यसैले यस्तो प्रतिबद्धता व्यक्त गर्ने दिन पनि हो नारी दिवस। अर्थात आजको दिवसबाट लिने एउटा शिक्षा यो पनि हो।

प्रकाशित: २४ फाल्गुन २०७८ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App