१९ मंसिर २०७९ सोमबार
विचार

मिसन अस्तव्यस्त

पटकपटक चोरी गरेको अभियोगमा पक्राउ परेको युवकलाई केरकार गर्ने क्रममा प्रहरीले भने, ‘पहिले पनि चोरीकै अभियोगमा झ्यालखानाको सजाय भोगिसकेका रहेछौ। दोस्रोपटक त्यस्तै अपराध गर्नेलाई रिहा गर्न मिल्दैन।’

चोरले भन्यो, ‘मिल्छ हजुर मिल्छ। दोस्रोपल्ट मात्रै एउटै अपराध गरेको भए पो मिल्दैन, मेरो त सत्रौँपल्ट हो।’

राजनीतिको आवरणमा अनगिन्ती अपराध गर्नेको कुतर्क पनि यस्तै हुने गर्छ। उनीहरू हरेक अपराधलाई कुनै बहाना बनाएर उम्किने प्रयास गर्छन्। आफू बेकसुर भएको अभिनय गर्छन्। पितलमा सुनको जलप लगाएर ‘सुन नै हो’ भन्दै बेच्छन्। चुनावका बेला घरघरमा पुगेर बा–आमाहरूको चरण स्पर्श गर्छन्। 

त्यसपछि बेपत्ता हुन्छन्। ऋण खाएर भागेको व्यक्ति कुनै दिन आउला, ‘नेता’ नामको प्राणी फर्केर आयो भने पाँच वर्षमा झुलुक्क देखापर्ला, मतदातालाई चिन्दैन। त्यसैले जनता धेरैपल्ट ठगिएका छन्, झुक्याइएका छन्, सताइएका छन्, थांनामा सुताइएका छन्, अथवा यसो भनौँ चुनाव नै नियति बनेको छ।

‘मानिसहरू भन्छन्, म तपाईंको कुरा सुनिरहेको छु। तर उनीहरू बोल्नेको अनुहारमा ट्वाल्ल परेर हेरिरहेका मात्र हुन्छन्, सुन्दैनन्,’ साहित्यकार अर्नेष्ट हेमिङ्वेको कथन रोचक छ। हो, हामीमध्ये धेरैजना अरूको कुरा हतपती सुन्दैनौ। मलाई सबै थाहा छ भन्छौँ। यो भ्रम हो। सोक्रेटसले वृद्ध अवस्थामा भनेका थिए, ‘मैले धेरै सालसम्म पढिरहेँ, पढाएँ। अन्त्यमा थाहा भयो– मैले केही जानेकै रहेनछु।’

राजधर्म नामको प्राचीन ग्रन्थमा शासकको कर्तव्यको वर्णन छ। संस्कृत नबुझ्नेहरूका लागि कैयन् भाषामा अनुवाद गरिएको छ सो ग्रन्थ। राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, कूटनीति, रक्षानीति आदि विषयको ज्ञान समेत भएकाले युरोप, अमेरिकाका उत्कृष्ट विश्वविद्यालयले वेद, उपनिषद र भागवत गीताजस्तै राजधर्मलाई महत्वपूर्ण ग्रन्थको मान्यता दिएको पाइन्छ। हार्वर्ड विश्वविद्यालयमा पतञ्जली दर्शन पढाए, भारतीय विद्वान् शंकरदयाल शर्माले। उनी भारतका पूर्वराष्ट्रपति हुन्।

राजा वीरेन्द्रको सम्मानमा आयोजित रात्रिभोजमा भाषण दिँदै शर्माले भनेका थिए, ‘कुनै बेला नेपालको सिमाना गंगा नदी (प्रयाग) सम्म थियो।’ गंगा–जुमनाको दोभान हो, प्रयाग। अचेल इलाहावाद भनेर चिनिन्छ, सो क्षेत्र। शंकराचार्य र मण्डन मिश्रको शास्त्रार्थ भएको सो स्थानमा बाह्र वर्षमा कुम्भमेला लाग्ने गर्छ। प्राचीन स्थान, प्राचीन साहित्य, संगीत, कला आदि सभ्यताका प्रतिबिम्व मानेर धेरै राष्ट्रले जोगाएका छन्। हामी भत्काउने प्रतियोगितामा छौँ।

मौलिक प्रगतिको दौडमा नैतिक, आध्यात्मिक, सामाजिक, कूटनीतिक, धार्मिक, सांस्कृतिक लगायत सबै क्षेत्र अस्तव्यस्त, ध्वस्त र परास्त बनाएर मस्त बन्नेहरूलाई नायक मानेर सुखद परिणति खोज्नु जनताको भुल हो। दुर्भाग्य नै भनौँ, सही र गलतबीचको फरक छुट्ट्याउन नसक्नेलाई अन्धकारमा राखेर ब्रेकडान्स गर्दै छन्, नायकहरू। जब निर्णायकले ‘सिद्ध’ र ‘गिद्ध’ छुट्ट्याउन सक्दैनन्, तब समाजलाई सिनो बनाउँछ गिद्धले। सिद्धहरू दुर्गन्ध सहन नसकेर टाढै बस्छन्, नाक–मुख छोपेर। नेपाली राजनीतिमा पनि यही दृश्य देखिन्छ।

४० किलोग्रामदेखि ११ टनसम्मका डल्फिन पाइन्छन्, सागर–महासागरमा। एउटा आँखा मात्रै चिम्लेर सुत्छ डल्फिन। आत्मरक्षाका लागि उसले पाएको वरदान हो यो। राष्ट्र, व्यक्ति वा जीवजन्तु, सबैको रक्षाका लागि हजारौँ उपाय, सूत्र वा मन्त्र छन्। ती सबै भुल्दै वा उपेक्षा गर्दै जाँदा संकट आउँछ।

भनिरहनुनपर्ला– नेपाल ठूलो संकटमा छ। यो अतिशयोक्ति होइन। दुःख भोगे पनि दुःख नठानेर झुप्रामा रमाइरहेका नेपालीले भोलि स–साना लालाबाला च्यापेर भौँतारिनुपर्ने दिन आउन सक्छ। नेपाल विदेशीको खेल मैदान बनिसकेको छ। कतिपय खेल अदृश्य छन्। यस्तो दुर्दिन आउन सक्छ भनेर राजा वीरेन्द्रले आफ्नो शुभराज्याभिषेकमा आमन्त्रित राष्ट्राध्यक्षहरू, राजाहरू एवं विशिष्ट पाहुनाका सामुन्ने प्रवचन दिँदै नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए।

भारतको अवरोधका कारण (११६ राष्ट्रको समर्थन भए पनि) सो प्रस्ताव अलपत्र पर्‍यो। ऊ बेला शान्तिक्षेत्र घोषणा गरेर संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको भए ‘मिसन अस्तव्यस्त’ यति गहिरो जरा गाडेर बस्ने थिएन। फिरंगीको बथान पस्ने थिएन। असत्यले अबिर अनि सत्यले खरानी घस्ने थिएन।

मयुर नाच्ने नेपाल फूलबारीमा गिद्धको बथान बास बस्ने थिएन। ख्यालठट्टा होइन, आउँदा केही वर्षमा नेपालमा जुन विद्रुप दृश्य देखिनेछ, त्यो बेला काठमाडौं काबुलजस्तै हुन सक्छ। विराटनगर बग्दाद बन्ला। बुटवलमा दिउँसै बोको हरामको जुलुस आउँछ। नाइजेरिया बन्न सक्छ, नेपालगन्ज।

नेपाली–नेपालीबीच भावनात्मक एकता र प्रेम टुटेको छ। मन फाटेको छ। मूलकारण एउटै छ– संविधान। त्यसले राष्ट्रिय एकता होइन, जात–धर्म, भाषा, क्षेत्र आदिमा पहिचान खोज्नुपर्छ भनेको छ। दरिद्रलाई होइन, जातलाई राष्ट्रले सुविधा दिनुपर्छ भनेको छ।

हरेक जातमा दरिद्र, निरक्षर र पछौटेहरू छन्। सहरमा विशाल महल बनाएर बैंकमा अर्बौं रूपैयाँ राख्ने हैसियतको कुनै ‘पिछडिएको’ व्यक्तिका ढोका अगाडि मकै पोलेर बेचिरहेकी हुन्छिन्, ‘शोषक–सामन्त’ भनेर व्याख्या गरिने कथित उपल्लो जातकी बूढी आमा। संविधानले परिभाषा गरेको ‘विभेद’ र वास्तविकतामा कत्रो अन्तराल छ। ‘मिसन अस्तव्यस्त’ सफल बनाउन घरघरमा आगो सल्काउने अनेक कल्पना गरिएको छ। सयौँ वर्षदेखि एकै घरका सदस्य जस्ता थियौँ हामी। आज एउटाले अर्कोलाई शत्रु देख्छ। यस्तो दृश्य अफ्रिकातिर मात्र देखिन्थ्यो, सुनिन्थ्यो।

ब्रिटेनले षड्यन्त्र गरेर भारत–पाकिस्तान विभाजन गर्दा ३८ लाख मानिस मरेको कुरा लेखेका छन्, भारतीय लेखकहरूले। प्रसिद्ध लेखक तथा सम्पादक प्रणय गुप्तेले ‘भेन्जियन्स’ (प्रतिशोध) पुस्तकमा भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि हजारौँ सिख पंजावीको हत्या भएको लेखेका छन्। 

बिबिसी हिन्दी सेवाको खबरमा ‘सिख अंगरक्षकबाट हत्या भयो’ भनिएपछि सिखविरुद्ध भारतभरि घृणा फैलाइयो। नेपालका मिडियाले पनि कुनै घटना–दुर्घटनामा जात नै शीर्षकमा राखेर दुष्प्रचार गरेको पाइन्छ। असल र खराब हरेक जात, धर्म र क्षेत्रमा हुन्छन्।

‘राष्ट्र बचाउनुपर्छ’ भन्ने अदम्य वा दुर्दमनीय संचेतनाले नेपाल पराधीन भएन। त्यस्तो सोच राजादेखि प्रजासम्म सबैमा थियो। पृथ्वीनारायण शाह र उनका वंशज (प्रतापसिंह, बहादुर शाह, रणबहादुर, गीर्वाणयुद्धविक्रम, राजेन्द्रविक्रम, सुरेन्द्रविक्रम, युवराज त्रैलोक्य, पृथ्वीवीरविक्रम, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र) सबैको हृदयमा राष्ट्र अखण्ड एवं सुरक्षित रहनुपर्छ भन्ने प्रबल धारणा रहेको पाइन्छ।

इतिहासकार, समीक्षक र विद्वान्–विदुषीले सयौँ वर्ष यताका घटनाको चर्चा गर्दा ती कसैलाई पनि राष्ट्रद्रोही भन्ने आधार फेला पार्न सकेको पाइँदैन। राजतन्त्र रहुन्जेल राष्ट्र संकटमा छ भन्दै जनताले सडकमा जुलुस निकाल्नुपरेको थिएन। तसर्थ, राजा वा अमुक जात, धर्म, सम्प्रदायलाई शोषणको प्रतीक मान्नेहरूले नेपाली–नेपालीबीचको एकता भाँड्न जुन प्रपञ्च गरिरहेका छन्– त्यही हो ‘अस्तव्यस्त’ मिसन।

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत राष्ट्रका प्रायः सबै अंगमा ‘मिसन अस्तव्यस्त’ सफल भएको छ। भत्काउन, बिगार्न र लथालिंग बनाउने क्रम जारी छ। कुनै दिन यो मिसन सैनिक मुख्यालयमा प्रवेश गर्‍यो भने केही दिनमै विदेशी षड्यन्त्रकारीले काठमाडौंमै अबिर जात्रा गर्नेछन्। त्यो बेला राष्ट्रघातका जन्तीहरू चकलेट चपाउँदै सडकमा बुर्कुसी मारिरहेका हुनेछन्।

इराकमा सिया र सुन्नीबीच रक्तपात गराउने अरू नै थिए। रुवान्डा, बुरुन्डीलगायत राष्ट्रमा लाखौँ जनता मार्ने योजना पश्चिमी राष्ट्रमै बनेको थियो। केन्याको गृहयुद्ध स्वदेशी दिमागको रचना थिएन। शान्तिप्रक्रिया पूर्णाहुति गराउन आएको मिसन नेपाल पसेपछि तराईमा १०९ वटा सशस्त्र संगठनको उदय भयो। ‘साहबहरू’ फर्केपछि हतियारधारीहरू दुलोमा पसे।

कैलालीको टीकापुर काण्ड त्यहाँ रक्तपात गराएर दावानलझैँ नेपालभरि फिँजाउने ‘मिसन अस्तव्यस्त’ अन्तर्गतको रिहर्सल मात्र थियो। एकजना माथिल्लो दर्जाका प्रहरी अधिकृतले पंक्तिकारलाई भने– ‘सरकारले गोप्य राखेको रिपोर्टमा काठमाडौंका केही विदेशी कूटनीतिज्ञको प्रत्यक्ष हात रहेका प्रमाण छन्। त्यसैले टीकापुर घटना गराउने ती डलरजीवीलाई अवाञ्छित व्यक्ति (पर्सोना नन् ग्राता) घोषणा गरेर तत्काल देश निकाला गर्नुपर्नेमा सरकार नै डरायो।’

नेपालका धेरै ‘भिआइपी’ भनाउँदाहरू पर्याप्त सुरक्षा भएर बाँचेका होइनन्, कसैले नमारेका कारण मात्र बाँचेका हुन्। राष्ट्रघाती नै हो भन्ने ठहर भएमा हतियार बोकेर पछिपछि हिँड्नेले नै मालिकलाई ढाल्न सक्छ। निकै शक्तिशाली मानिएका पचासौँ नेता विभिन्न राष्ट्रमा त्यसरी नै मारिएका उदाहरण छन्।

दुर्योधनलाई कहाँ प्रहार गर्दा प्राण लिन सकिन्छ भन्ने ज्ञान दिएका थिए, कृष्णले माल्दाजु भीमलाई। हाम्रा माल्दाजुहरूलाई पनि राष्ट्रघातीको सिकार गर्ने कला थाहा छ। समय आएपछि राष्ट्रघातीहरू मारिन्छन्। यसमा कुनै सन्देह छैन। उचालेको कुकुरले मृग मार्दैन भन्ने उखानै छ। तसर्थ चीन–भारत, इयु वा अमेरिकाको द्रव्यले राष्ट्रघातीलाई चिरञ्जीवी बनाउँदैन। चिरञ्जीवी त त्यो हुन्छ, जसको शरीर नरहे पनि सयौँ वर्ष सन्तान–दरसन्तानले श्रद्धापूर्वक सम्झिरहन्छन्। जनताले जयजय गरिरहन्छन्। राष्ट्रघातीलाई किन सम्झिने? यिनीहरू बाँच्दा के हुन्छ, मर्दा के हुन्छ? रुँदा के हुन्छ, हाँस्दा के हुन्छ?

प्रकाशित: ६ फाल्गुन २०७८ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App