८ वैशाख २०८१ शनिबार
विचार

भुलका अध्यक्ष

घटना नं. १

धनवीर सार्की। माओवादी द्वन्द्वकालमा गाउँमा टिकिसक्नै भएन। त्यसैले लागे पारिको भारत। मजदूरी गर्न। शान्ति सम्झौतापछि फर्के। काम केही भएन। कसैले निःशुल्क पढ्ने व्यवस्था मिलाइदिएपछि पढे। प्राथमिक शिक्षकमा जाँच दिए। तर सफल भएनन्।

डिप्रेसनको समस्या देखियो। पुनः काम गर्न भारत जाने सोच बनाएर २० हजार रुपियाँ सापटी मागे। जोसँग मागिएको थियो उनले सर्त राखे– पढ्नका लागि भए दिन्छु तर भारत जान दिन्न। यही पैसा लिएर धनवीर एमएड पढ्न हान्निए। पढ्दापढ्दै निमावि शिक्षकमा नाम निस्क्यो। पुनः मावि शिक्षकमा नाम निकाले। अहिले आफैँ पढेको कुलाउ उच्च माविमा सामाजिक शिक्षक छन्। इज्जतदार बनेको छ दैनिकी। हेर्दाहेर्दै केही वर्षमा काँचुली फेर्‍यो जिन्दगीले।

घटना नं. २

भारतमै काम गर्दै थिए सुरेशराम सार्की पनि। एकदिन गाउँबाटै परिचित स्वरबाट अनुरोध आयो– ‘गाउँ फर्क, तिमी जस्तो मान्छे पनि त्यहाँ मजदूरी गरेर बस्ने हो? आउ, यहीँ पढ र केही गरौँ।’ पटक–पटकको अनुरोधपछि फर्के। जसले बोलाएको थियो, उसैले पढाइका लागि चाहिने सबै खर्चमात्र हैन, खाजाको व्यवस्थासमेत गरिदिने भएपछि सुरेशले उनकै छत्रछायाँमा बसेर पढाइ सिध्याए। अहिले तिनै सुरेश जसले नेपाल बोलाएर पढायो पनि, उनैको पहलमा गाउँपालिकाको भूमि व्यवस्थापन एकाइ हाँकिरहेका छन्।

घटना नं. ३

पालडीमा एउटा विद्यालय छ– नागार्जुन आधारभूत। ९५ प्रतिशत दलित समुदायका विद्यार्थी पढ्ने यो विद्यालय सुगम ठाउँको बोर्डिङ भन्दा कुनै हालतमा कम देखिन्न। चाहे त्यो पढाइमा होस् या भौतिक पूर्वाधारमा। शैक्षिक वातावरणका दृष्टिले होस् या शिक्षणकर्मीको समर्पणका हिसाबले। यो विद्यालय यत्तिको बन्नुमा दिन/रात खट्ने प्रधानाध्यापक सुरेश सार्कीको मुख्य योगदान छ।

जसलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरखराम सार्कीको पनि उत्तिकै सहयोग प्राप्त छ। सुरेश पनि भारतमै काम गर्न गएका थिए। उनलाई पनि नेपालबाट फोन गरेर बोलाइएको थियो। जसले बोलायो उसैले पढ्न हौस्यायो र आवश्यक सबै सहयोग पनि जुटायो।

त्यसपछि अङ्ग्रेजी विषयमा स्नातक पास गरेका सुरेशलाई बोलाएर पढाइदिने व्यक्तिकै पहलमा यो विद्यालयमा प्रधानाध्यापक बनाइयो। गाउँपालिकाका ३५ विद्यालयमध्ये निकै लोभलाग्दो बनेको यो विद्यालयमा सुरेश यतिखेर २ सय २ दलित विद्यार्थीको भविष्य निर्माणमा जुटेका छन्।

यी ३ जना त प्रतिनिधि पात्रमात्र हुन् जसलाई एकै व्यक्तिले विदेशमा मजदूरी गर्नुपर्ने बाध्यताबाट मुक्त गराएका। खर्च हालिदिएका। ऋण दिएका। हौसाएका। अनि भविष्य उज्ज्वल तुल्याइदिएका। यो गाउँमा दर्जनौँ यस्ता व्यक्ति भेटिन्छन्, जो उनैको सहयोग र छत्रछायाँमा आफू त उत्रे नै, अहिले अरूलाई समेत पार लगाउने माझीको भूमिका निर्वाह गरिरहेका छन्। जुन ठाउँ बैतडीको पञ्चेश्वर गाउँपालिका हो भने यिनै माझीहरूका पनि महामाझी हुन्– कुलाउ उच्च माविका तत्कालीन प्राचार्य गोरखबहादुर चन्द। जो हाल भने उक्त गाउँपालिकाका अध्यक्ष छन्।

सुदूरपश्चिम दलित र यो समुदायसँग जोडिएको छूताछुत प्रथाप्रति अलि बढी नै कठोर छ। दलितलाई छुन नहुने, उनीहरू हिँडेको बाटो हिँड्नसमेत नहुने, देवताको मन्दिरमा पसाउन नहुने, उनीहरूले कुवा र धारोसमेत छुन नहुने जस्ता चलन जिउँदै छन् यस क्षेत्रमा।

तर यही क्षेत्रका गोरखबहादुरका लागि भने यी कुनै पनि चलन बाधक बनेका छैनन्। खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै उनले आफ्नो २७ वर्षको शिक्षण पेसा र त्यसपछिका ५ वर्ष गाउँपालिकाको अध्यक्षका रूपमा दलित समुदायको हित र उन्नतिका लागि थुप्रै काम गरेर उदाहरणीय बनेका छन्।

संस्थागत प्रयासः पालिकाको अध्यक्ष निर्वाचित भएलगत्तै उनले आफ्नो पालिकालाई छुवाछूतरहित गाउँपालिका घोषणा गरे। छुवाछूतरहित गाउँपालिकामा डुम शब्द प्रयोग गरेबापत आफ्नै पहलमा आफ्नै थर भएका केहीविरुद्ध मुद्दासमेत हाल्न लगाए। ‘एक वडाः एक नमुना दलित बस्ती’ उनको अर्को अनुशरणीय सोच र अवधारणा हो। त्यसैगरी गाउँपालिकामा उनले भूमि व्यवस्थापन एकाइ नै खडा गरेका छन्। जसको उद्देश्य गाउँपालिकाभरको जग्गाको तथ्याङ्क लिने, लगत राख्ने, भूउपयोग योजना लागु गर्न प्रयास गर्ने तथा भूमिहीनलाई जमिन उपलब्ध गराउने जस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने आदि छ।

यो गाउँपालिकामा मात्र ६३६ दलित परिवार भूमिहीन भएबाट यो कार्यले सबै भन्दा लाभ यही समुदायलाई पुग्नेमा शङ्का छैन। उनकै पहलमा यो गाउँपालिकाले प्रत्येक वर्ष कृषि, इन्जिनियरिङ, स्वास्थ्य जस्ता प्राविधिक विषय पढ्न छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। करिब ७० जनाले यस्तो सुविधा लिइसकेका छन्। जसमा ३० जना जति दलित समुदायका छन्।

पहिलो प्राथमिकताः आफ्नो लामो प्राध्यापन (शिक्षक र प्राचार्यका रूपमा) अवधिमा उनले सयौँ विपन्नलाई निःशुल्क पढ्न सघाए। स्टेसनरी, विद्यालय पोशाक, खानपिनदेखि अन्य सुविधासमेत उपलब्ध गराए। मिलेसम्म विद्यालयको स्रोतबाट दिलाए। नमिलेका ठाउँमा हजारौँ रुपियाँ आफ्नै खल्तीबाट हाले। यसरी लाभान्वित भएकाहरू पञ्चेश्वरको पालडी, चौडली जस्ता दलित बस्तीमा छ्याप्छ्याप्ती भेटिन्छन्।

उनले जहिले पनि यस्तो कामका लागि दलितलाई पहिलो प्राथमिकतामा राखे। दोस्रो प्राथमिकतामा गरिब परे। अनि महिलाचाहिँ तेस्रोमा। उनको यही पहिलो प्राथमिकतामा परेकै कारण हो कि पालिकाले करारमा राखेकामध्ये १७ जना दलित समुदायकै छन्।

जसले अवसर पाउँदा गर्न सक्षम छौँ भन्ने प्रमाणित गरिरहेका छन्। ‘हामीले करारमा राखेका सबै दलित समुदायका कर्मचारी सक्रिय र सक्षम छन्, राइजनराम सार्की त हाम्रो कार्यबाहक कार्यकारी जस्तै भूमिकामा छन् अर्थात जे गर्न पनि सक्षम छन्’– गाउँपालिकाकी उपाध्यक्ष विना भट्टको भनाइ नै काफी छ उनीहरू कति सक्षम छन् भन्ने थाहा पाउन।

कुनै पनि तालिम होस् वा कुनै कार्यक्रम, सबैमा दलित समुदायलाई प्राथमिकता दिने उनको घोषित नीति नै हो। भर्खरमात्र राष्ट्रिय युवा परिषद् र नबिल ब्याङ्कसँग मिलेर पालिकाले ११७ जना स्थानीयलाई उद्यम/व्यवसाय तालिम दिएको थियो। र, यसरी तालिम लिनेलाई उद्यम गर्न नबिल ब्याङ्कले विनाधितो ऋण दिने प्रक्रिया पनि सुरु भएको छ। यसमा पनि अधिकांश दलित नै छन्।

स्थायी पाहुनाः गैरदलित र अझ त्यसमा पनि ब्राह्मण समुदायका व्यक्तिहरू दलितलाई छुँदैनन्। कसैले छोयो भने सुन/पानीले चोख्याइन्छ भने नबार्नेलाई बहिष्कार गर्नेसम्मका घटना दोहोरिइरहेका छन्। तर गोरखबहादुर चन्द त्यस्ता अपवाद हुन् जसले झुपा वड नामकी करिब ६५ वर्षीया दलित महिलालाई आफ्नै घरमा बसाएका छन्। सौतापट्टिका परिवारले नहेरेपछि दया लागेर आफ्नै घरमा राखेका हुन् गोरखले। झुपा र गोरखको परिवारको भान्सा एउटै हो। बरु गोरखकी आमा बितेको एक वर्षसम्म झुपाले ‘तिम्रो घर अशुभ भएको छ, म तिमीहरूसँग खान्न’ भनेर आफैँ पकाएर खाइन्।

गैरदलितको परिवारमा कसैको मृत्यु भएमा दलितहरू मलामी जान हुँदैन। किरिया बसेका बेला भेट्न जान पनि मिल्दैन। यस्तो बेला उनीहरूले लग्ने फलफूल तथा धूप र कन्दमूल पनि चल्दैन। न त वार्षिक तिथिमा आयोजना हुने कार्यक्रममै दलितको उपस्थिति सह्य हुन्छ। तर गोरखलाई भने यी कुनै पनि नियमले बाँध्न सकेन। गएको माघ ११ गते उनकी आमाको बरखी थियो। जतिखेर दलित समुदायसमेतलाई निम्त्याएर उनले एकै ठाउँमा प्रसाद ख्वाए।

कुरा काट्ने कहाँ हुँदैनन् र ? तर गोरखलाई यसको कुनै मतलव छैन। दलितलाई उकासेको, धर्म नमानेको, छूवाछुत हटाउन खोजेको जस्ता विषय उनीविरुद्धका चुनावी नारा पनि बने। तर पनि उनले विपक्षी नेपाली कङ्ग्रेसका उम्मेदवार भन्दा ९ सय र माओवादीका उम्मेदवार भन्दा १२ सय बढी मत ल्याएर जिते।

अहिले आचोलनाका सबै शब्द भुत्ते भएपछि विरोधीहरूले उनलाई लगाउने आरोपमा नयाँ शब्द थपिएको छ– भुल (सार्की) का अध्यक्ष। गोरखलाई भने यस्ता आलोचना/आरोपसँग कुनै मतलव छैन। भन्छन्– आफूलाई सही लागेको काम गर्दै जानुपर्छ, मूल्याङ्कन गर्ने त भगवानरूपी जनता छँदैछन्।

प्रकाशित: १८ माघ २०७८ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App