५ वैशाख २०८१ बुधबार
विचार

पागल पुर्खा

पृथ्वीनारायण शाहले कालीगण्डकी नदी पूर्व र पश्चिमका झण्डै पचासवटा ससाना राज्य एकीकरण गरेको इतिहास, तथ्य र प्रमाणहरू छोपेर नेपाली नागरिकको प्रमाणपत्र बोक्ने केही टाठाबाठाहरू उनलाई पागल, अतिक्रमणकारी र शोषक भन्ने गर्छन्।

भारतीयहरूले केही वर्षयता भारतीय जनता पार्टीका ‘आस्था केन्द्र’ बल्लभभाइ पटेल राष्ट्रनिर्माता भन्न थालेका छन्। ६५० वटटा जति ससाना ‘राजासाहब’ लाई दिल्लीको आदेश मान्न बाध्य पारे उनले। भारत स्वतन्त्र भएपछि अधिकांश कालखण्ड कांग्रेस पार्टीले शासन गर्‍यो तर सो पार्टीले स्वतन्त्रता सेनानी र प्रथम गृहमन्त्री पटेललाई राष्ट्रनायक मानेन। बरु आफ्नो राज्य खोसेको भन्दै राजाका सन्तान र समर्थकहरूले पटेललाई पागल भने।

कंगोका जनता प्याट्रिस लुमुम्बालाई राष्ट्रपिता मान्छन्। चीनको एकीकरण गर्ने सम्राट छिन–सि–ह्वाङ्तीलाई जनताले आज पनि सम्मान गर्छन्। बिस्मार्कलाई जर्मनीमा एकीकरणका महानायक भनिन्छ। महमहद अली (सन् १७६९–१८४९) लाई आधुनिक इजिप्टका पिता भनिन्छ। विदेशीको षडयन्त्र र चाँजोपाँजोअनुसार प्रजातान्त्रिक प्रक्रिया जनमत संग्रहबाटै राष्ट्र टुक्र्याएर इथियोपियालाई खण्डित गरियो। इरिट्रियाका राष्ट्रपति इसायस अफओएर्की अपवाद हुन, जो विखण्डनकारी, पृथकतावादी भए पनि लेन्डुप दोर्जेझैँ राष्ट्र हाँक्ने ‘असल मान्छे’ भनिदिए, पश्चिमी राष्ट्रले। उनीहरूले त्रुटिवस गड (ईश्वर) लाई ‘डग’ भने पनि त्यो बदर हुँदैन।  

झण्डै बीस वर्ष सरकार तथा राष्ट्रप्रमुख बनेका जोमो केन्याताले राष्ट्रलाई स्वाधीन गराए। उनकै नाममा भयो, केन्या। मेरु, काम्बा, एमु, किकुयु जस्ता जातले ब्रिटिसको छत्रछहारीमा नबस्ने प्रण गरे। जोमो केन्याताले नेतृत्व गरे। ‘माउ–माउ’ विद्रोह भनिन्छ त्यसलाई। नेपालमा माओवादीले गरेको विद्रोह नेपाललाई कमजोर बनाएर विदेशीको हुकुममा चल्ने म्याउँ–म्याउँ विद्रोह थियो। ‘गणतन्त्र ल्याउने’ ठेक्कापट्टा सकिएपछि धेरैजसो माओवादी अगुवा अनाथ जस्ता भए। ‘खेल खतम, पैसा हजम’ भन्छन्, भारतीय चटकेहरू। अब जनतालाई के भनेर ढाँट्ने त भन्दा राष्ट्रनिर्मातालाई मूर्ख भन्दै विधर्मीका वकिल भएर ढाँट्ने काम पाए। अरू बेला बिर्से पनि पुस २७ को सेरोफेरोमा मालिकतिर हेर्दै यिनीहरू धुतुरी फुक्छन्– “पृथ्वीनारायण हत्यारा हुन, मूर्ख हुन।” जसले हजारौँ नेपालीको प्राण लिए, जसले हजाराँै दिदीबहिनीलाई विधवा बनाए, जसले हजाराैं बालबालिकालाई अनाथ बनाए, उनीहरू उदार, लोकतन्त्रवादी, जनवादी अनि नेपाल बनाउने र बचाउने पुर्खाहरू पागल ? यो कस्तो तर्क हो ? अरूले त जे पनि भन्लान् तर आफ्ना हजारौँ कार्यकर्ता काट्ने माओवादीलाई ‘शिरोमणि’ बनाएर कांग्रेस र एमालेले समेत दश वर्षे रक्तपातलाई मान्यता दिए।  

भारतका सहर घुम्दा पर्यटकहरूलाई गाइडले भन्छन्–“यी प्राचीन स्मारक ऊबेलाका राजाहरूले बनाएका हुन्।” ताजमहल, लालकिल्ला, जामा मस्जिद, खजुराओ मन्दिर, कोनार्कको सूर्य मन्दिर, मीनाक्षी मन्दिर आदि सबै त्यहाँका राजाहरूले बनाए। उनीहरूलाई ‘पागल’ भन्ने पनि त्यहाँ छन्। सयौँ वा हजारौँ सालपहिले सीमित साधनस्रोत, यातायातको असुविधा, आधुनिक शिक्षा नभएको अवस्थामा त्यस्ता महान् कामहरू कसरी गरे होला ‘पागल’ पुर्खाले?

काठमाडौँ, ललितपुर र भक्तपुरमा हजारौँ मन्दिर, गुम्बा, बिहार, सडक र प्राचीन दरवारहरू ‘लोकतन्त्रवादी, शिक्षित, समाजवादी र साम्यवादी’ मिलेर बनाएका होइनन्। ती पागल पुर्खाले बनाए, जसले विदेशीबाट केही सिकेका थिएनन्। ती पागल पुर्खालाई मौलिक धर्म, सांस्कृतिक, परम्परा र माटोको माया थियो। सभ्यताको माया थियो। राष्ट्र सर्वोच्च हुन्छ, हुनुपर्छ भन्ने चेतना थियो। त्यसैले राजस्व र देवस्व मासेर मजा गरेनन्, ती पागल पुर्खाले।

गोरखा दरवारका कोठाहरू घुमेपछि मेरा आँखा रसाए। पहाडका तल्सिङ वा जिम्मावालको जस्तै सामान्य घरमा राजा बस्ने भएकाले दरवार भनियो। दलका नेताहरू करोडौँ रुपियाँका महलमा बसेका छन्। अकुत सम्पत्ति कमाएका छन्। बीस वर्षको उमेरमा राजा भएर झण्डै तीस वर्ष राष्ट्र एकीकरणमा समर्पित पृथ्वीनारायणलाई पागल भन्नेहरू सम्पत्ति एकीकरण गर्न व्यस्त र मस्त छन्।

सन् १६७३ मा राजा औरङ्गजेबले लाहोर (हाल पाकिस्तान) सहरमा एउटा विशाल मस्जिद बनाएका रहेछन्। झण्डै सत्र वर्षअघि पत्रकारहरू दुर्गानाथ शर्मा, कमल प्रधान, लोकदीप थापा, केशव पौडेल, बद्री तिवारी र यो पंक्तिकार पाकिस्तान भ्रमणमा जाँदा सो मस्जिद (बादशाही मस्जिद) देखाएका थिए, पाकिस्तानीहरूले। एकैपल्ट एक लाख सुन्नी मुसलमानले नमाज पढ्छन् त्यहाँ। आश्चर्यको कुरा, दुई वर्षमै त्यो तयार पारेछन्, त्यहाँका पागल पुर्खाले। महाराज रणजीत सिंहले शासन गरे, पंजावमा। त्यो विशाल भूखण्ड आज पाकिस्तान र भारतमा विभक्त छ, पंजावकै नाममा। भारततिर अमृतसर र पाकिस्तानमा लाहोर सहर प्रसिद्ध छन्।  

भारतमा सयौँ वर्ष शासन गरे, अंग्रेजले। भारत र पाकिस्तान टुक्रेको थिएन। हालको बंगलादेश निर्माण भयो, सन् १९७१ मा। जसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो। भारत, पाकिस्तान जताततै त्यहाँका पागल पुर्खाले कीर्ति राखे। जंगबहादुर राणाले पंजावकी अन्तिम महारानी (रणजित सिंहकी पत्नी) जिन्दाकौरलाई नेपालमा शरण दिए। शरणार्थी महारानी भनिन्छ उनलाई। अंग्रेज शासकले पंजाव कब्जा गरेपछि उनी गुप्त भेषमा नेपाल आएकी थिइन्। चुनारगढ (इलाहावादछेउ) जेलमा थुनिएकी महारानीले सडक सफा गर्ने कुचिकारको भेषमा हजारौँ माइल यात्रा गरेर काठमाडौँ आएको कथा सुनाउँदा लाहोरकी एक गणित प्राध्यापकले भनिन्– तपाईँले नेपाल र पंजावको सम्बन्धबारे सुनाउँदा आश्चर्य लाग्यो।

उनलाई मैले सुनाएँ– ‘अंग्रेजहरूसँग प्रतिशोध लिन नेपालका वीर बलभद्र कुँवर राजा रणजित सिंहको सेनामा भर्ना भए। उनी नेपालबाट लाहोर पुगेर रणजित सिंह अंग्रेजका कट्टर दुस्मन भएकाले पंजावी राजासँग मिलेर अंग्रेजलाई शक्तिहीन बनाउन चाहन्थे। नेपाल र पंजावबीच कति पुरानो सम्बन्ध थियो भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। कप्तान बलभद्र कुँवरवलाई त्यहाँका राजाले गोर्खा रेजिमेन्टको कमान्डर र जर्नेल बनाए। योग्यले मात्र योग्यलाई चिन्छ।’

‘सिमानाको रक्षा गर्न’ भनेर चीनका सम्राटहरूले ‘ग्रेटवाल’ बनाए। लाखाैं पर्यटकको आकर्षणको केन्द्र छ, त्यो। ताङ हान वंश, छिन वंश, मिन वंश आदिका सम्राटले आफ्नो शासनकालमा पर्खाल बनाइरहे। ऊबेला पनि कतिपयलाई सम्राटहरू पागल रहेछन् भन्ने लाग्यो होला। युरोपका प्राचीन सहर, थिति र परम्परा बसाए पागल पुर्खाले। आज त्यो पागलपन राष्ट्रको धरोहर मानिन्छ।

राष्ट्रलाई बचाउन, जोड्न र राष्ट्रिय एकता जोगाउन धन, नेता, कानुन, सेना, संसद्, सरकार आदिमात्र पर्याप्त हुँदैन। राष्ट्र हाम्रो हो, हामीले नै केही गर्नुपर्छ भन्ने भावना चाहिन्छ। हाम्रो प्राचीन सभ्यता, खानपिन, ओखती, जीवनशैली, संगीत, साहित्य, कला र हरेक जातिका हजाराैं वर्ष पुराना अनुभव विलुप्त भएका छन्। अनुभवी, ज्ञानी, सभ्य र शालीनहरू दुर्लभ वन्यजस्तु र मुर्ख मानिन्छन्। पागल ठानिन्छन्। पुर्खाहरूलाई पागल ठान्नेहरूलाई के थाहा, घडी होइन, घाम हेरेर समय बताउँँथे पागलहरू। अहिले क्यान्सर भनिने अर्बुद रोगको ओखती आयुर्वेदले हजारौँ सालपहिले नै बताएको थियो। ज्ञान, ध्यान, जप र तपमा शक्ति थियो। विदुरले हजारौँ कोश टाढाका कुरा प्रत्यक्ष देख्न सक्ने शक्ति आर्जन गरेको हुँदा नेत्रहीन धृतराष्ट्रलाई महाभारत युद्धको प्रत्यक्ष वर्णन सुनाए।

आमेजोने नामकी अमेरिकी तान्त्रिक महिलाको अन्तर्वार्ता लिएको थिएँ मैले। उनी दसैँैका बेला नौ दिन निराहार व्रत बसेर नवदुर्गाको साधना, प्रार्थना, वन्दना गर्थिन्। उनका साथमा आठ÷दश जना युवती थिए। आमेजोने प्राध्यापक थिइन्। नेपालका ‘देवीदेवता’ शक्तिका स्रोत भएकाले हिमालयको काखमा बस्छन् भन्दै उनले दक्षिणकाली, भद्रकाली, नरदेवी, गुहेश्वरी आदिको दर्शन गरेको सुनाइन्। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री सबैको आराधना गरिन् उनले। विधिविधानपूर्वक उनले शिष्याहरूलाई पनि पूजा गराइन्।

मैले सोधे– “सुरुमा त तपाईँलाई कैयन् अमेरिकीले पागल पनि भने होलान्।” उनले हाँसेर भनिन्– ‘म क्रिस्चियन धर्मावलम्बी घरमा जन्मेकी हुँ। पूर्वजन्मको प्रभाव हो कि के हो, मलाई सनातन धर्मप्रति अगाध आस्था भयो। पागल त भन्ने नै भए, कुरा नबुझ्नेहरूले।” उनले भनिन्– “युरोप, अमेरिकामा भौतिक प्रगति छ। ज्ञान, धर्म, साधन, मानवता र संस्कृतिमा तपाईँहरू धेरै धनी हुनुहुन्छ तर नेपाल र भारततिर घुम्दा आफ्नो खुर्केर अरूको टाँस्ने गरेको देख्छु, मलाई पीडा हुन्छ।”

नेपाल साँच्चै धनी छ। राष्ट्रको बागडोर सम्हाल्ने गतिलो, दूरदर्शी र राष्ट्रवादी नायक नभएर झन अस्थिर बन्दैछ राष्ट्र। कतिपयले यो तरल अवस्थालाई स्वर्ण अवसरका रूपमा लिएका छन्। त्यसैले, उनीहरू राष्ट्रको माया गर्ने, राष्ट्र बनाउने र बचाउनेहरूलाई पागल भन्छन्।

प्रकाशित: ७ माघ २०७८ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App