७ वैशाख २०८१ शुक्रबार
विचार

कोभिड कमान्डरको बाउन्ने कद!

कोभिडको तेस्रो लहरले मुलुक आक्रान्त छ। संक्रमण दिन दुई गुना रात चार गुनाको रफ्तारमा बढिरहेछ। यो महामारीलाई ज्यामितीय विस्तारमा फैलिएको बताउँछन् तथ्यांकशास्त्रीहरू।

यो आलेख टुंग्याउँदै गर्दा नेपालमा मंगलबार मात्रै १० हजार २ सय ५८ नयाँ संक्रमित थपिएका छन्। राजधानीको मात्रै कुरा गर्ने हो भने घरघरै बिरामी बढिरहेछन्। कोभिडग्रस्त नभएका त घरै छैनन् कि झैँ भएको छ। के भएको यस्तो? विभिन्न क्षेत्रका ब्यक्ति खास गरेर अग्रपंक्तिमा रहेका र स्वयम् रोगबाट तंग्रिएकाहरू सामान्यीकरण गर्छन् तर जताततै अन्योल, डर भय, त्रास व्याप्त छ।

अहिलेको संयोग कस्तो पर्‍यो भने नेपाल ल क्याम्पसमा पढ्दाका मेरा ब्याची मित्र विरोध खतिवडा यतिखेरको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन्। कोभिड संक्रमण नियन्त्रणको महाअभियानमा कोरोना कमान्डरका रूपमा कार्यरत छन्।

२०३४–०३९ सालमा पढ्दाताका उनी स्ववियुको सचिव थियो। त्यतिबेलाको शिक्षक आन्दोलनका वामपन्थी अगुवा बद्री खतिवडाको पुत्रमात्र होइन, लडाकु स्वभावको हक्की विरोध भनेर चिनिन्थे अहिलेका स्वास्थ्यमन्त्री विरोध खतिवडा। देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि संसद्मा निर्वाचित भएर हरेक दिन सुनिने केहीमध्ये उनी एक जोदाहा सांसद थिए।

तीन दशकपछि फर्केर हेर्दा विरोध खतिवडा यतिखेर निर्वाचित सांसद र स्वास्थ्य मन्त्री छन्। तर यिनको ओज र तेज भने मन्त्री बनेपछि फिक्का छ। मेरा मित्र प्रभावकारी बन्न सकिरहेका छैनन्। मेरो मन खिस्रिक्क छ र कठैबरा बन्न पुगेको छ।

कोभिडविरुद्धको अभियानमा उनको ‘टावरिङ पर्सनालिटी’ वामपुड्के देखिइरहँदा विकृति/विसंगतिविरुद्ध पञ्चायतकालमा धावा बोल्ने विरोध यतिखेर आफैँ विरोधको चक्रब्यूहमा अल्झेका त होइनन् भन्ने लागिरहेको छ। आँखा चिम्म गरेर ध्यानमुद्रामा अनुमान गर्छु, डाक्टरहरूको सेतो एप्रोन पहिरिएर घाँटीमा स्टेथेस्कोपको जिम्मेवारी बोकेको विरोध सरकारी अस्पताल अगाडि होइन, महँगा नर्सिङ होमको आँगनमा ठिंग उभिएका छन्!

हजारौँको संख्यामा मानिस संक्रमित बनेर पुटुपुटु मरिरहेका खबर आइरहँदा कोभिड÷कोरोना क्राइसिसमा स्वास्थ्यमन्त्री नारायणहरि बनेको छ। यो सब देख्दा मन भित्रभित्रै कुँडिएर चर्किरहेछ। मलाई मात्र हो कि? उसका बा बद्री खतिवडा (जसलाई हामी उतिखेर समाज सुधार अभियानका योद्धा भनेर संबोधन गथ्र्यौँ) लाई फोन गरेँ।

विरोधको कोभिड अव्यवस्थापनको कारण के हो? कि यसैमा गौरवान्वित हुनुहुन्छ, ज्येष्ठ नागरिक उचित उपचारको अभावमा भकाभक मरिरहेकामा के प्रतिक्रिया जनाउनुहुन्छ?

छोरोविरुद्ध बाबुलाई भड्काउन खोजेको आरोप लाग्न पनि सक्छ तर यो सवाल चियाको कपमा उठेको आँधी होइन। यो त मनभित्रभित्रै हुँडलिएको आक्रोश र पीडा हो। किनभने बद्री दाइ आजीवन विपन्न र किनारामा परेका नागरिकको पक्षमा जोदाहा बनेर लागिरहनुभएको छ।

अठासी वर्षको उमेरमा परिवारवाद हावी हुँदोरहेछ कि नाइँ भनेर परीक्षण गर्न मन लागेकाले हो। कतै बद्री दाइ पनि महाभारतको धृतराष्ट्र त बन्नुभएको छैन? म्याराथनमा दौड्नुपर्ने धावक विरोध असारको हिलो खेतमा दौडे जसरी किन अलमलिएको होला? सीमखेतको दलदलमा उसका खुट्टा साँच्चै गाडिएका हुन् त?

कोभिड/कोरोना महामारीले दुई वर्षयता विश्वभर उथलपुथल भैरहेछ। कोभिडले गर्दा अमेरिका जस्तो शक्तिशाली देशका राष्ट्रपति डोनाल्ड ट्रम्प हिँडे, चीनका राष्ट्रपति सि जिङ पेङ भने झन् बलियो बने। नेपालका धेरै हस्ती भनिएकाहरू नारायणहरि भए। भारतमा मोदीलाई ठूलो धक्का लाग्यो। अधिक वक्ता उनी हाल मौनव्रतमा झैँ छन्। बेलायतमा कोभिडले उथलपुथल गरिरहेको छ।

बाल्टिक क्षेत्रका स्क्यान्डानेभियन मुलुकहरू विशेषता प्रदर्शन गरिरहेछन्। आयरल्यान्ड, न्युजिल्यान्ड, आइसल्यान्ड भरपर्दा बनेर अगाडि देखिएका छन्। अस्ट्रेलिया राष्ट्रिय जनावर कंगारुझैँ बनेको छ। सबैका आआफ्नै गति, मति र ल्याकत देखिएका छन्।

हामी नेपाली भने केही अपवाद छाडेर कोभिड व्यवस्थापनमा लण्ठु, हरिलठ्ठक, बेइमान, दहिच्युरे, तोर्पे त सावित भइरहेका छैनौँ? आफ्नै सहपाठी र नेपाल जुर्मुराइरहेका बेला खारिएर पहिचान बनाएको हिरो पनि जीरो नै हुने भयो? हो भने फेरि पनि देशको प्रभावकारी व्यवस्थापन ‘आकाशको फल आँखा तरी मर’ नै हुने भयो? कोभिड नियन्त्रणलाई पनि सिस्टममा लैजान हामी असफल बनिरहेछौँ।

स्थिति बडो नाजुक र लाजमर्दो छ। जनता अकाल मरिरहेछन्। बालबालिका टुहुरा बनिरहेछन्। परिवारको विरह वर्णन गरिनसक्नुको छ। विज्ञहरू दिन, मिति तोकेर भन्दैछन्, यो महिनामा कोभिड फैलन्छ। यसो गरौँ, त्यसो नगरौँ। तर जो नेतृत्वमा गए पनि स्थिति ह्वांगको ह्वांगै! सुधार भयो भनेको फेरि जस्ताको तस्तै!

कोभिड सुरु हुँदाका शक्तिशाली स्वास्थ्यमन्त्री उपेन्द्र यादव ब्रेक फेल भएको गाडीका ड्राइभरझैँ बनेर सकिए। खोप, भेन्टिलेटर, मास्कले चतुर ईश्वर पोखरेल र भानु ढकाल उठ्नै नसक्ने गरी पछारिए। नारायणहरि भए।

केही सिप नलागेर स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने काम प्रधानमन्त्री केपी ओलीले सेनालाई जिम्मेवारी दिन बाध्य भए। दुईतिहाइका शक्तिशाली लोकप्रिय प्रधानमन्त्रीलाई पनि आफ्ना आसेपासेले आर्थिक लाभका लागि कसरी एब्युज गर्दारहेछन् भन्ने छ्याँगै देखियो। धन्न चतुर ओलीले स्थितिलाई सामान्यीकरण गर्न सके।

वडा, स्थानीय सरकार, प्रदेश, संघमात्र होइन, भारतबाट नेपाल आउनेहरूलाई बोर्डरमा कोभिड परीक्षण, उपचार र क्वारेन्टाइनको संरचना नै खडा गरियो। कोभिडको पहिलो र दोस्रो लहरका बेलाका अज्ञानता, तरिका र प्राप्त सफलता अभियान नै बने।

तेस्रो लहर आउँदैछ है भनेर विज्ञहरूले सचेत गराइरहँदा त्यसलाई ‘खोलो तर्‍यो, लौरो बिस्र्यो !’ बनाइयो। ‘पशुपतिनाथले सबैको कल्याण गरिहाल्छन्’ को अवस्थामा देशलाई पुर्‍याइयो। देश सञ्चालन गर्नेहरूले पनि लत्तो छाडे, जनताले पनि लापरबाही गरे। आखिर कोभिडको तेस्रो लहरले सारा देशलाई गाँजिरहँदा मुलुक पुनः पहिलो लहरको अवस्थामा फर्किएझैँ छ।

यतिखेर मास्क लगाउने, हात धुने र एकअर्को व्यक्तिसँग दूरी कायम गर्ने, हुलमुल नगर्ने, हुलमुलमा नजाने जस्ता न्यूनतम व्यवहारमै चरम लापरबाही र हेलचेक्र्याइँ भैरहेछ। सरकारले गर्नुपर्ने के र जनताले गर्न नहुने कुरा के के हुन्? सामान्य नियमकै उल्लंघन किन दोहोरिइरहेछ? 

नेता बिरामी परे विदेशमा उपचार गर्न जान्छन्। स्वदेशका स्वास्थ्य केन्द्रमा उनलाई विश्वास छैन। त्यसैले सरकारी अस्पताल होइन, निजी नर्सिङ होमहरूको व्यापार यतिखेर चम्केको छ।

भुइँचालो र कोरोनाले शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका कमी/कमजोरीलाई औल्याइदिएका छन्। त्यसैले सुधार यिनै क्षेत्रबाट सुरु हुनुपर्छ। भूकम्पले नवनिर्माणमा र कोभिडले स्वास्थ्य क्षेत्रका कमी/कमजोरी र बदमासीलाई उदांगो परिदिएको छ।

महामारीका पाठ के के हुन्? महामारीको बेलामा कोभिड प्रभावमा परेकाहरूको अनुभव आलेखमा समेट्ने प्रयत्न गरिएको छ। कोभिडका समस्या के हुन् ? हुनुपर्ने के हो र के भैरहेको छ? पाठकहरूलाई अनुभवीहरूको कुरा जस्ताको तस्तै राखेको छु।

डा. रामु खरेल, स्वास्थ्यकर्मी

अमेरिकामा कार्यरत डा. रामु खरेलले नेपाली भाषामा जनचेतनामूलक टिकटक र युट्यूब बनाएर सर्वसाधारण नेपालीलाई सचेत बनाइरहेछन्। उनी भन्छन्– ५१÷५२ मरिगए मास्क लगाउन्न ! भन्नेको नजिकै म आउन्न!!

म आफू घरबाहिर जाँदा डबल मास्क लगाउँछु। हात, मुख र नाकमा लग्दिन। लगेँ भने साबुन–पानीले हात धुन्छु वा स्यानिटाइजर लगाउँछु। भ्याक्सिन लगाउँछु। यति गरेकाले मलाई दुई वर्ष अग्रपंक्तिमा रहेर काम गर्दा पनि कोभिड भएको छैन।

सच्चिदानन्द जोशी, कोभिड मुक्त

कोभिडको दोस्रो लहरमा रोग लागेका जोशी धनगढी कैलालीमा बसोबास गर्छन्। कोभिड पोजेटिभ रिपोर्ट आयो। निकै गाह्रो भएपछि अस्पताल भर्ना भएँ। तर डाक्टर नर्सहरू नै मसँग डराए। बलजफ्ती नेपालगन्जमा उपचार गर्न पुगेँ। झन् सिकिस्त भएपछि कर्णाली प्रदेश सरकारले सात लाख पचास हजार खर्चेर हेलिकोप्टरबाट उपचार गर्न काठमाडौँ लगिदियो। छब्बीस दिन ग्रान्डी अस्पतालमा उपचार गराएपछि बाँचेँ। त्यहाँ दैनिक एक लाख खर्च लाग्यो।

जनस्वास्थ्यमार्फत सम्झाएर रोग नलाग्ने अवस्था सिर्जना गर्नुपर्छ। समयमा भ्याक्सिन लगाउनुपर्छ। होइन भने त बाँच्न गाह्रो छ हजुर !

डा. रवीन्द्र पाण्डे समीर, चिकित्सक

भारतमा ओमिक्रोन संक्रमण बढेपछि नेपालमा पनि फैलन्छ भन्ने सबैलाई थाहा थियो तर त्यसबाट पाठ सिकेनौँ। पिसिआर जति धेरै टेस्ट भयो, त्यति कम रोग फैलन सक्छ। जति कम परीक्षण भयो त्यति धेरै फैलन्छ तर टेस्ट महँगो छ। 

सम्पन्न देशले आफू पहिला खोप लगाउन थाले। अरूलाई पछिमात्र दिए। त्यसैले तेस्रो लहर अफ्रिकाबाट सुरु भयो। हाम्रोमा पनि सहरकेन्द्रित गरिएको छ सुविधा। रोग पनि सहरमै केन्द्रित छ।  

ट्राफिक लाइट जस्तै रातो, पहेँलो र हरियो रंगमा कोभिड क्षेत्रलाई वर्गीकरण गर्नुपर्छ। देश पूरै लकडाउन गर्नुपर्दैन।

कोभिडबारेको हल्ला आतंक मच्चाउने जस्ता प्रोपोगन्डा गलत हुन्। जसरी स्वास्थ्यकर्मी मास्क लगाएर रोगीको उपचार गरिरहेका छन् भने त्यस्तै अरूले रोग सर्न नदिन किन मास्क नलगाउने? मास्क नलगाउने, भीडभाडमा जानेहरूलाई वडामा रहेका प्रहरी प्रयोग गरेर रोक्नुपर्छ। किनभने मास्क लगाएपछि, हात धोएपछि र भीडमा नगएपछि रोग सर्दैन भन्ने पुष्टि भैसकेको छ।

ज्योति अधिकारी, पर्यटन व्यवसायी

बोर्डर लक गर्नुपर्ने थियो, देश नै लकडाउन गरेकाले पर्यटन व्यवसाय ध्वस्त भयो। भारतबाट आउने नेपालीलाई नाकामै आइसोलेसनमा राखेर उपचार गरेको भए हिमालसम्म लकडाउन गर्नै पर्दैनथ्यो। पर्यटनको यो सिजन पनि प्रभावित भयो। अब अर्कोमा असर नपरोस्।

आमजनतामा सचेतना बढाउनेबाहेक नेपालले लकडाउन गर्नै सक्दैन। भारतीयले होइन, त्यहाँ काम गर्न गएका नेपालीबाट कोभिड नेपालमा प्रवेश गरेको र फैलिएको हो। आफ्नै देशबासीलाई देश पस्नबाट रोक्न सकिँदैन र हुन्न पनि। तर परीक्षण गरेर निको नहुन्जेलसम्म आइसोलेसनमा राखेर उपचार त गर्न सकिन्छ नि!

डा.रितम न्यौपाने, भाइरसविज्ञ, अमेरिका

अहिले दैनिक दश लाख बढी अमेरिकी संक्रमित भैरहेछन्। दैनिक दुई हजार मानिस मरिरहेछन्। कोभिड संक्रमितबाट अस्पताल भरिभराउ छन्। डाक्टर नर्सहरू नै संक्रमित भैरहेछन्। अमेरिकामा ७०/७५ प्रतिशतले मात्र खोप लगाएका छन्। अहिले खोप नलगाउनेहरू नै बढी संक्रमित भएका छन्।  

अश्विन पुडासैनी, कर्णाली प्रदेश प्रमुख, नेपाल बैंक

मंगलबार कोभिसिल्ड तेस्रो बुस्टर डोज लगाएपछि उनले भने– मलाई पहिलो लहरमै कोभिड भएको थियो। सजगता, अनुशासन र स्वास्थ्यकर्मीहरूले दिएको निर्देशन पालना गर्ने हो भने महामारीबाट आत्तिनुपर्दैन।  

डा. अरूणा उप्रेती, चिकित्सक

कोभिड लाग्यो। ठीक भए। कतिजना हुँदैछन्। यो रोगसँगै बाँच्नुको विकल्प छैन। अस्पताल बढाउने भन्छन् नेताहरू तर म भन्छु भएकै अस्पताललाई सुदृढ गर्नुपर्छ। डाक्टर, नर्स, औषधि, पानी र अन्य व्यवस्थापन हचुवा हुने हो भने जति अस्पताल बनाए पनि के काम? उदाहरण हेर्न वीर अस्पताल नै गए पुग्छ। को नेता मन्त्री जान्छन् त्यहाँ? पैसा भएका कोही जाँदैनन्।

किनभने व्यवस्थापन राम्रो छैन। आयुर्वेदको बखान गर्छन् नेताहरू वर्षमा एक दिन। तर खै हाम्रो घरेलु उपचार पद्धतिमा ध्यान र लगानी? रोग लाग्नुअघि नै तयार भएर बस्ने, खोप लगाउने हो भने रोग फैलन पाउँदैन। बिर्सन नहुने कुरा के भने सामाजिक–आर्थिक विषयसँग जोडिएको रोग हो यो।  

महेन्द्र पाण्डे, पूर्वराजदूत, चीन

कोभिड भएपछि चीनमा के गरिने रहेछ? भर्खरै फर्किएका उनले भने– रोग लागेको थाहा हुनेबित्तिकै बिरामीलाई छुट्टै राखेर उपचार सुरु गरिने रहेछ। त्यो क्षेत्रमा पूरै लकडाउन गरिने रहेछ। सहरबाहिरकालाई भित्र जान नदिने र भित्रकालाई बाहिर जान नदिने। आवतजावत बन्द। आवश्यक सामग्री विशेष व्यवस्थाका साथ उपलब्ध गराइने रहेछ।

बाँचेपछि मात्र अरू कुरा हुने भएकाले प्राथमिकता जीवनलाई दिएको देखियो। सबैलाई भ्याक्सिन अनिवार्य रहेछ। हरेकसँग स्यानिटाइजर हुनेरहेछ। सबैले मास्क लगाएरमात्र हिँडडुल गर्दारहेछन्। मास्क नलगाइ हिँड्नेलाई अर्को व्यक्तिले किन नलगाएको भनेर सोध्ने रहेछ।

प्रकाशित: ५ माघ २०७८ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App