१० माघ २०७८ सोमबार
विचार

ओमिक्रोन व्यवस्थापन

दुई महिनाअघि पहिलो पटक अफ्रिकी महादीपमा देखापरेको कोभिडको नवीन प्रजाति ‘ओमिक्रोन’ ले संसारभर आफ्नो उपस्थिति देखायो।

गत हप्तामात्र संयुक्त राज्य अमेरिकाको ‘सेन्टरस् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ ले डेल्टाको दाँजोमा ओमिक्रोन तीन गुणा संक्रमणकारी भएको बतायो। ओमिक्रोनको प्रभावपछि प्रत्यक दोस्रो दिन कोभिड संक्रमणकारीको संख्या दोब्बर बढेको देखियो।

विगतमा सर्वाधिक छिटो सर्ने रोगको दर्जा पाएको दादुरालाई ओमिक्रोनले उछिनेको पाइयो। भाइरसको सर्ने गतिलाई नजिकबाट नियालिरहेका मेडिया कम्पनी ‘सिएनएन’ का मेडिकल विश्लेषक जोनथन रैनरको विचारमा ओमिक्रोन वर्तमान पुस्ताले भोगेको सबै भन्दा संक्रमणकारी भाइरस हो। वर्तमान परिपाटी हेर्दा ओमिक्रोनका लागि नेपालभर आफ्नो प्रभाव पैmलाउन धेरै कुर्नु नपर्ला। केही हप्ताकै अन्तरालमा नवीन प्रजातिले आफ्नो असर हिमालदेखि तराई अनि मेचीदेखि महाकालीसम्म फैलाउने निश्चित छ।

ओमिक्रोनको संक्रमण प्रक्षेपण अनि भाइरसले बिरामीको स्वास्थ्यमा पार्ने असरलाई नियाल्दै सार्वजनिक स्वास्थ्य नीति तर्जुमा गर्नुपर्ने हुन्छ। त्यसै क्रममा ओमिक्रोन भेरियन्टस्का सम्बन्धमा हालसम्म सार्वजनिक भएका अनुुसन्धानात्मक नतिजा र आधिकारिक सन्देशलाई संग्रहित गर्नु यो आलेखको लक्ष्य रह्यो।

संक्रमण रफ्तार अत्यधिक भएको ओमिक्रोनका कारण रोगीको संख्या अत्यधिक बढ्यो। सार्वजनिक स्थानमा आवतजावत गर्ने अनि कुनै लक्षण नदेखिएका मानिसको स्वास्थ्य परीक्षण गर्दासमेत ठूलो हिस्सामा ‘पिसिआर’ परीक्षण रिपोर्ट पोजेटिभ आयो, कोरोना लागेको देखियो।

अनुसन्धानात्मक तथ्यांककहरूले प्रारम्भिक कोभिड–१९ र डेल्टा भेरियन्ट्सको आक्रमणपछि विभिन्न स्वास्थ्य सिकायत देखिने गरेकामा ओमिक्रोनले गाँज्दा पनि मानिस शारीरिकरूपले हट्टाकट्टा नै देखिएको पुष्टि गर्‍यो। विश्वका विभिन्न देश र भौगोलिक इलाकामा संकलित तथ्यांकले ओमिक्रोन भेरियन्टस्को संक्रमणपछि पनि कुनै प्रतिकूल शारीरिक समस्या नदेखिएका मानिसको संख्या धेरै देखियो।

ओमिक्रोन संक्रमणका कारण अस्वस्थ भइ अस्पताल भर्ना हुनुपर्ने बिरामीको अनुपात विगतका भेरियन्टस्को तुलनामा निकै कम देखिएपछि त्यसको तार्किक जवाफ खोज्नु पर्यो नै। उत्तर खोज्नु वैज्ञानिकको दायित्व भयो।

कोभिड–१९ को भाइरल क्रियाशीलताका लागि अणुवांशिक पदार्थ ‘आरएनए’ अनि झण्डै ३० प्रोटिन अथवा इन्जाइमको भूमिका देखियो। अणुवांशिक पदार्थका आधारमा प्रोटिन बन्ने भएकाले आरएनएमा आउने परिमार्जनले इन्जाइमको चरित्र परिवर्तन हुन्छ।

भाइरसका ३० इन्जाइममध्ये कुनै एउटामात्र प्रोटिनको बनोट पनि फेरियो भने उक्त प्रजातिलाई भेरियन्ट्स भनिन्छ। ‘एमिनो एसिड’ का विभिन्न एकाइ मिलेर एक प्रोटिन बन्ने भएकाले एउटै इन्जाइममा आउने पृथक चरित्रका परिमार्जनले भाइरसका धेरै भेरियन्टस बन्न सक्छ भन्ने हो। अथवा ३० इन्जाइम रहेको कोभिडका सयौँ भेरियन्टस संभव छन्।

भेरियन्टस् भन्नेबित्तिकै उक्त सुक्ष्माणुको कम्तीमा एउटा प्रोटिनको चरित्र पुर्खा भन्दा फरक छ है भन्ने हो। व्यवहारमा भने एउटा भेरियन्टका एक भन्दा बढी प्रोटिनमा परिवर्तन आएको हुन्छ।

भाइरसको क्रियाशीलताका लागि विभिन्न प्रोटिनका आआफ्नै भूमिका हुन्छन्। कुनै प्रोटिनले भाइरसको संख्या वृद्धिमा भूमिका खेल्छ भने कुनैले संक्रमण रफ्तारलाई निर्देशित गर्छ। त्यस्तै कुनै प्रोटिनले बिरामीको कुन अंगमा भाइरल असर पार्ने, बिरामीलाई कति थल्याउने भन्ने कुराको निधो गर्छ। भाइरल प्रभावकारिताका लागि सबै प्रोटिनको आआफ्नै भूमिका रहने भएकाले कुनै एक इन्जाइममा आउने सकारात्मक तथा नकारात्मक प्रभावको असर भने भयानक हुन सक्छ।

उदाहरणका लागि भाइरसको संख्या बढाउने प्रोटिनमा सकारात्मक परिमार्जन भए भाइरसको संख्या त बढ्छ नै तर कदाचित संक्रमण गर्न भूमिका खेल्ने प्रोटिनमा नकारात्मक असर परे मानिसमा भाइरल संक्रमण भने कम हुन्छ नै। त्यस्तो अवस्थामा भाइरसको संख्या धेरै भए पनि रोगको प्रभाव भने न्यून हुन्छ।

भाइरसले शरीरको कुन अंगलाई आक्रमण गर्‍यो त्यसले भाइरसको दानवीय स्वरूप भन्छ। मुटु, फोक्सो, मिर्गौलालगायतका महत्वपूर्ण अंगमा भाइरसको संक्रमण हुँदा बिरामी मर्न पनि सक्छ भने अर्कोतिर कम महत्वका अंगमा भाइरसको असर न्यून हुन्छ। तसर्थ, कदाचित भाइरल प्रोटिनमा आउने बदलाबले भाइरसले ‘भाइटल अर्गेन’ को बदला कम महत्वका तन्तुमा प्रहार गरे बिरामीमा क्षति नगन्य हुन्छ नै।

त्यस्तै प्रोटिनमा आउने बदलाबका कारण भाइरसले आफ्नो ‘इन्फेक्सन क्यापासिटी’ क्षय गर्दा भाइरस नासिन्छ। उदाहरणका लागि इन्जाइममा आएको बदलाबले गर्दा कोरोना परिवारअन्तर्गतकै अनि अहिले आतंकको रूपमा देखिएको कोभिड–१९ को दाँजोमा निकै खराब ‘सार्स’ भाइरस उत्पत्तिको २ वर्षभित्र नै नासियो। तसर्थ, भाइरसमा आउने अणुवांशिक परिमार्जनले सूक्ष्माणुलाई थप विषाक्त बनाउनेमात्र होइन बरु विसर्जनको बाटो पनि देखाउँछ।

बिफरलगायतका धेरै भाइरसबाट बच्न एक खोराक भ्याक्सिन काफी हुन्छ। अनि एक पटकको संक्रमणपछि फेरि अर्को पटक जीवाणुले सताउने संभाव्यता हुँदैन तर कोभिडको हकमा त्यस्तो देखिएन। सामान्य खोराकका अतिरिक्त ‘बुस्टर सट’ लिएका मानिसलाई समेत कोरोना लाग्यो।

एक पटक कोभिड लागेर थलिएको मानिसमा समेत भाइरस दोहोरियो। फरक चरित्रका कारण कोभिडलाई बेग्ले ढंगले व्यवस्थापन गर्नु वैज्ञानिक चुनौती रह्यो। त्यसै क्रममा आरएनए, प्रोटिन तथा डिएनएमा आधारित भ्याक्सिन मात्र परीक्षण भएनन् बरु चक्कीका रूपमा ओखती पनि प्रयोगमा आए कोरोना नियन्त्रण गर्न। सबै उपचार विधिले सकारात्मक परिणाम त दियो तर रोगलाई पूर्ण नियन्त्रण गर्न भने सकेको छैन। वैज्ञानिकहरू अन्य विकल्पका लागि अनुसन्धानरत छन्।

कोभिडको पूर्ण प्रभावकारी उपचार बजारमा नआउन्जेल सबैले सतर्कता लिनुपर्ने हुन्छ। त्यसै सन्दर्भमा गत हप्ता विश्व स्वास्थ्य संगठनका निर्देशकले ओमिक्रोन भेरियन्टसको असर विगतका प्रजातिको तुलनामा निकै कम भए पनि सबै सतर्कता अपनाउन संसारलाई फर्मान जारी गरे। कस्ता आदेश तथा निर्देशन हाम्रा लागि उपयुक्त छन् भन्ने कुराको हेक्का भने नेपाल स्वयंले गर्ने हो।

नेपालमा विगतको संक्रमण तथ्यांक, सर्ने गति र सामाजिक परिवेशलाई उत्खनन गर्दा जनसंख्याको ठूलो हिस्सालाई विगतमा कोरोनाले सताइसकेको भन्न सकिन्छ। त्यस्तै सरकारी खोप वितरणको तथ्यांकले एउटा जमातले भ्याक्सिन घोचेको देखिन्छ। अनि, सार्वजनिक भएका अन्वेषणले खोप लिएका तथा एक पटक कोरोना लागेका व्यक्तिमा ओमिक्रोनको असर तथा अस्पतालमा भर्ना हुनुपर्ने संभाव्यता कम हुन्छ है भन्ने सन्देश दियो।

संसारका विभिन्न भेगवाट आएका तथ्यांकले ओमिक्रोन भेरियन्टसका कारण थलिएर हस्पिटल भर्ना हुने संभावना निकै कम छ भन्छ। त्यसको मतलब ओमिक्रोनका कारण अस्पताल जानै पदैन, मानिस मर्दै मर्दैनन् भन्ने होइन। त्यसो त साधारण रुघाखोकीले थलिएर मानिस मरेको पनि नदेखिएको होइन। कुनै पनि निर्णय गर्दा परिस्थितिको गाम्भिर्यता र विश्लेषणको दरकार पर्छ नै। मृत्यु वरणको संभाव्यता न्यून भएको अवस्थामा भाइरस नियन्त्रणको नाममा भौगोलिक सीमा बन्दाबन्दी गर्नु कहीँ सडक दुर्घटनाबाट बच्नका लागि यातायातका साधन बहिष्कार गरौँ भन्ने जस्तो त हुँदैन?

ओमिक्रोन भेरियन्ट्सका कारण किन सिकिस्त बिरामीको संख्या कम भयो त भन्ने संबन्धमा गत हप्तामात्र सार्वजनिक भएको अनुसन्धानात्मक नतिजा सान्दर्भिक हुने देखियो। संसारका अधिकांश मानिसलाई विगतमा भाइरस लागिसकेको अथवा खोप लिइसकेका कारण ओमिक्रोनका कारण सिकिस्त बिरामी हुनेको संख्या घटेको त होइन भन्ने प्रश्नको उत्तर दिन अनुसन्धानकर्ताहरूले ‘एनिमल मोडेल’ को रिसर्च गरे। संसारमा हालसम्म कोरोना नलागेको र भ्याक्सिन नघोचेका मानिसको आकडा पर्याप्त नभएकाले उत्तरका लागि जनावरको प्रयोग गरियो।

उक्त परीक्षणमा जनावरलाई ओमिक्रोन भेरियन्ट्सले संक्रमण गराइयो अनि भाइरसले शरीरको विभिन्न भागमा पारेको असरको सूक्ष्म अध्ययन गरियो। उक्त अनुसन्धानले ओमिक्रोनले फोक्सोको सट्टा श्वास प्रणालीका माथिल्ला भागमा बढी असर पारेको देखियो।

रेस्पिरेटरी सिस्टमको माथिल्ला भागमा भाइरसको प्रभाव धेरै हुँदा सास फेर्दा जीवाणुको ठूलो जत्था बाहिर निस्कने भएकाले समुदायमा ओमिक्रोनको आयतन एक्कासि बढ्यो। अनि, पूर्ववर्ती भेरियन्ट्सहरू, जस्तो– ओमिक्रोनले महत्वपूर्ण अंग फोक्सोमा संक्रमण खासै नगर्ने भएकाले बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भयो। प्रोटिनमा आएको बदलावले फोक्सोमा संक्रमण गर्ने विगतको आचरण फेर्न सक्नु नै ओमिक्रोन कम खतरापूर्ण भएको पुष्टि भयो।

विगतको तुलनामा कम हानिकारक ओमिक्रोनपछि के भाइरस नासिन्छ त भन्ने प्रश्नको सन्दर्भमा वैज्ञानिकहरू सकारात्मक छैनन्। भाइरसको संक्रमणलाई नियन्त्रणमा ल्याउन नसके नवीन भेरियन्ट्सहरूको संभाव्यता सदैव रहने अनि तिनीहरूको चरित्र अनुकूल तथा प्रतिकूल जे पनि हुन सक्ने देखियो।

जस्तोसुकै चरित्रका भेरियन्ट्सहरू उत्पन्न भए पनि मेडिकल साइन्सले गरेका विकासका कारण कोरोना भाइरसले बिष्फोटक अवस्था ल्याउन नसक्ने कुरामा वैज्ञानिक ढुक्क देखिन्छन्। मुसा मोटाएर बिरालो जत्रो बन्न नसके जस्तै भाइरसको अणुवांशिक पदार्थमा आउन सक्ने परिवर्तनले कोभिड नियन्त्रण बाहिर भने नजाने पक्का छ। कोरोनासँग सावधान बनौँ तर आतंकित हुने अवस्था छैन भन्दा अन्यथा नहोला।

प्रकाशित: २७ पुस २०७८ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App