१० माघ २०७८ सोमबार
विचार

यसर्थ बढ्दैछ भातमरी

कुरा सुरु गरौँ–सिन्धुलीको मरिण गाउँपालिकाबाट। गाउँको सिंहदरबार नजिकै रहेछ स्थानीय सिंहदरबारकै झझल्को दिने शुभ नाम गरेको होटल। लाग्यो– खाना गतिलै होला। जब खाना खान थालियो, एउटा दृश्यले ध्यान केन्द्रित गरायो–भात हाल्ने पन्युँ, तरकारी र दाल हाल्ने डाडु तर साग र अचार हाल्नेचाहिँ संयुक्त औजार रहेछ–चम्चा (चियामा चिनी हालेर चलाउने जत्रो)।

साग माग्यो, दिन त दिन्छन् तर चम्चामा आओस् कति नै। ३–४ चोटि माग्दा पनि एक गास पुग्ने पनि पाइएन। अनि त माग्नै पनि लाज लाग्ने भयो। सोधेँ–अचेल त रायोको साग हुने मौसमै हो त, किन कन्जुस्याइँ हो सागमा? उत्तर आयो–तपाईँहरू जस्ता ‘बाहिरको सर’ ले मात्र खोज्ने हो, यहाँकाले खासै खोज्दैनन्, त्यही भएर पकाकै थोरै छ क्या।

सिन्धुलीकै राममाढीमा रहेछ मुस्कान नाम गरेको होटल। यसो बाहिरबाटै चालामाला बुझ्दा लाग्यो– भातदेखि खोयाबिर्केसम्म पाइने रहेछ। बेलुका सामान्यतया भात नखाने भएकाले रोटी अर्डर गरेँ। साहूनीले गाह्रो मान्दै जवाफ फर्काइन्–बस्नूस् तर टाइम लाग्छ।

उनले भनेको टाइम पौने घण्टासम्म पनि नआएपछि खोइ त रोटी भनेर सोधेँ। अर्को ग्राहकतिर हेरेर भनिन्–खोइ अर्कै होटलबाट मगाको, ल्याइदिन्छ होला। एउटा होटलमा गरेको अर्डर उसले पनि फेरि अर्कोलाई..? भन्दै थिइन्– रोटी बनाउन आउँदैन रे। त्यहाँमाथि रोटी बनाइरहने फुर्सद पनि छैन रे। भातै खानुको विकल्प भएन।

सिन्धुलीको प्रसङ्ग ताजा भ्रमण भएकाले मात्र अगाडि आएको हो। यस्ता थुप्रै घटना छन् जसले नचाहँदा नचाहँदै पनि भातै खान बाध्य पार्छन् र रैथाने तथा पोषणयुक्त खान्गीलाई पाखा लगाउँदैछन्। केही महिनाअघि बैतडीको पञ्चेश्वर पुग्दा प्रत्यक्ष महसुस गरेको अर्को अनुभव यस्तो छ–ब्रोइलरको मासु जति पनि पाइने तर स्थानीय तरकारी खान त के, नामोनिसानै देख्न पनि नपाइने। केही स्थानीय मित्रहरूले असाध्यै माया गर्नुभयो। उहाँहरू पाहुनाका लागि घरमा प्यारो गरेर पालिएको खसी काट्न पनि तयार। तर सागपात भने मरिगए नखुवाउने। शायद, यसो गर्दा पाहुनालाई सम्मान नपुग्ने ठानेर होला।

काठमाडौँको कङ्क्रिटबाट केही दिनका लागि भए पनि उन्मुक्ति पाउने आशाले विभिन्न जिल्ला भ्रमण गर्न लोभ लाग्ने गर्छ। यस क्रममा स्थानीय उत्पादन (चामल, पिठो, तरकारी, दही, दूध, फलफूल) खाने चाहना हुनु स्वाभाविकै हो। तर अधिकांश भ्रमणमा यी चाहना यथार्थमा परिणत हुन सकेका छैनन्।दैलेखको घोडाबासस्थित बोहोरा होटलकी साहूनीले ‘आफूले अहिलेसम्म ढिँडो नपकाएको र पकाउन आउँदा पनि नआउने’ बताएपछि त्यहाँ पनि भातै बजाएर सुत्न बाध्य भएको धेरै भएको छैन।

‘हामी त रोडको चामल खान्छौँ, त्यही मीठो लाग्छ’, दैलेखको पीपलकोटकी एक गृहिणीले तपाईँकै खेतको धानको भात पकाउनूस् न भनेर आग्रह गर्दा थपेकी थिइन्– मीठो हुँदैन। उनीमात्र होइन, उनको गाउँका प्रायः सबै आफूले पालेका भाले, उमारेका भटमास, मास, घिउलगायत अर्गानिक खान्गी ३–४ घण्टा टाढाको कर्णाली राजमार्गस्थित खिड्कीज्युलामा ल्याएर बेच्दारैछन्। अनि स्थानीय व्यापारीले जे/जति दिन्छ हात थाप्नु र रोडको चामल (गाडीले अन्यत्रबाट ल्याएर झारेको) बोकेर उकालो लाग्दारैछन्।

म जति ठाउँमा पुगेको छु, स्थानीय खाद्यान्न, त्यसमा हुने पोषण तत्व आदिबारे जानेका कुरा बताउने गरेको छु। तर त्यसमा धेरैको रुचि नै हुँदैन। सुलुत्त र स्वादिलो २ शब्दले उनीहरूलाई लठ्याइसकेको छ। न अर्गानिकको महत्व थाहा छ न त आफूले सुन बेचेर पित्तल खरिद गरेकै वास्तविकता। पीपलकोटमै हो– १ किलोग्रामको होस् कि ५ किलोग्राम, भाले भनेपछि सबैको मूल्य एउटै अर्थात १ हजार रुपियाँ। आम्दानीको स्रोत सीमित भएकाले आफूले पालेका भाले सस्तैमा खुवाउन बाध्य छन् खिड्कीज्युलाबासी र त्यहाँका ग्राहकलाई।

खासगरी पहाडी जिल्ला दुर्गम छन् तराईको तुलनामा। त्यसैले एक त यस्ता ठाउँमा रासायनिक मल लैजान गाह्रो हुन्छ। दोस्रो, मल किन्ने पैसा पनि हुँदैन। तेस्रो गाईवस्तु पालिने भएकाले खासै आवश्यक पनि पर्दैन। त्यसैले रैथाने उत्पादन स्वतः अर्गानिक हुने गर्छन्। अर्कोतर्फ जति बढी चिसो भयो बाली तयार हुन उति धेरै समय लाग्ने गर्छ। यस्तो अवस्थामा उक्त उत्पादनले जमिनबाट लामो समय जैविक पदार्थ लिन पाउने भएकाले त्यसको फल आफैँमा पोषणयुक्त हुने नै भयो।

तर हामी स्वादे जिब्रोको लहैलहैमा लागेर ‘रोडकै चामल’ को मोहनीमा फसेका छौँ। जसले हामीलाई क्रमशः भातमरीको चक्रब्यूहमा फसाइरहेको छ। यही अवस्थालाई धेरैले नबुझेर भोकमरी भन्ने गरेका छन्। जबकि भात खान नपाउनु र भोकमरीबीच गोरु किनबेचको साइनोसमेत पर्दैन।

सोझै भन्ने हो भने नेपालमा खानै नपुग्ने अवस्था कदापि होइन। ज्यानलाई फाइदा गर्ने आफ्नै उत्पादन गहुँ बेचेर बजार झर्छौँ र चाउमिन खाएर फर्कन्छौँ। घिउ बेचेर कुरकुरे खान्छौँ। अनि दूध बेचेर एसिड हालिएको कोकोकोला पिउँछौँ। त्यो पनि उपरखुट्टी लगाएर अर्थात फूर्तीसाथ। यस्तै ब्रोइलर खानाप्रतिको अत्यधिक रुचिले हो– हामीलाई दिन/परदिन ‘रोडको चामल’ का लागि दक्षिणको छिमेकीप्रति परनिर्भर बनाएको। अनि भन्सार विभागले खाद्यान्न आयातको ग्राफ प्रत्येक दिन मास्तिर तानेको। यस अर्थमा हामीसँग खाद्यान्न हैन, खानपिन व्यवस्थापन कलाचाहिँ अभाव छ।

धेरै मानिस खान नपाएर मर्छन्। खासगरी गरिब अफ्रिकी मुलुकहरूमा। तर हामी नेपाली भने खान नपाएर हैन, खान नजानेकै कारण मरिरहेका छौँ। चिल्लो, पिरो, मसिनो, अमिलो, नूनिलो हाम्रा लागि असाध्यै प्रिय वस्तु बनेका छन्। अनि रङ्गीन चिजले पनि हामीलाई आकर्षित गर्छ। तर हामीले खानुअघि यस्ता सामग्री केबाट बनेका हुन्, स्वास्थ्यलाई फाइदा गर्छ कि गर्दैन भनेर कहिल्यै सोचेनौँ। जसले भातमरीको समस्या दिनानुदिन चर्काउन सघाइरहेका छन्।

नाम चलेका शहरका नाम चलेका रेस्टुरेन्ट गएर ढिँडो खाएको तस्बिर फेसबुकमा पोस्टिन्छौँ तर यही ठाउँका लागि घरमै खाएको ढिँडोसहितको तस्बिर किन लायक हुँदैन? कि घरमा खाएको ढिँडोका तस्बिरचाहिँ स्वीकार्दैन फेसबुकले? मौसममा आफैँले उब्जाएको रायो, तोरीको साग, मूला, स्कुस जस्ता तरकारी खान छाडेर दक्षिणी छिमेकबाट हप्तौँ दिनको यात्रापछि लखतरान आइपुगेको काउलीमा खान लायक तत्व के बाँकी होला र, हामी त्यसैमा मरिहत्ते हाल्छौँ?

हामी आफैँ आफ्ना उत्पादनलाई हेला गर्नेमात्र हैन, खानेलाई समेत खिसिट्यरी गर्छौँ। केही वर्षअघिको कुरा हो। बाजुरा सदरमुकाम मार्तडीबाट साँफेबगर फर्कँदै थिएँ हिँडेर। बाटैको एक घरमा एउटा परिवार कोदोको रोटी खाँदै थिए। मैले पनि अनुरोध गरेर एउटा बनाइदिन भनेँ। नपत्याइ नपत्याइ बनाइदिए। उनीहरूसँगै बसेर खाँदै थिएँ। मार्तडीतर्फ उक्लँदै गरेका ३–४ जना बाटैमा टक्क अडिए। अनि मतिर इशारा गर्दै आफैँ सवाल–जवाफ गर्न थाले। एउटाले भन्यो– हेर्न त्यसले कोदोको रोटी कति मीठो मानेर खाएको।

अर्कोले जवाफ लगायो– यिनेरको तराईमा कोदो हुन्न नि त। त्यसैले खान रहर लाग्यो होला। मलाई कालो वर्णको देखेर उनीहरूले नै तराईबासीको बिल्ला लगाइदिए। म भने खाँदै उनीहरूको कुरा रमाइलो मानेर सुनिरहेको थिएँ, उनीहरूतिर हेर्दै नहेरी।

अन्त्यमा,

रामु बाजे त बितेछन् नि– एउटाले सुनायो। के भएर नि?– सुन्नेले तुरुन्तै जिज्ञासा राख्यो। सित्तैँमा पाएँ भनेर घाँटीसम्मै आउनेगरी खाएछन्, विचरा, अपच भएर मरेछन्। त्यसपछि सुन्नेले प्रतिक्रिया व्यक्त गरेछ– क्या गजब, यसैगरी खान पाए पो १

कतै हामी यही पथतिर त लम्किरहेका छैनौँ?

प्रकाशित: २६ पुस २०७८ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App