२३ असार २०७९ बिहीबार
विचार

सम्बन्ध सुधार्ने सकसहरू

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पच्छिल्ला अभिव्यक्तिहरूमार्फत अबको यात्रा आफ्ना कमी/कमजोरी स्वीकार्दै सम्बन्धहरू सुधार्नेतर्फ केन्द्रित रहने भनिरहँदा एक किसिमको सकारात्मक आभास दिन खोजे पनि विश्वास दिन सकेको देखिन्न। स्पष्टरूपमा व्यक्त गर्न नसके पनि स्वयं तिनका पार्टी कार्यकर्तासमेतले बिग्रेका सम्बन्धहरू सच्याउन शब्दमा व्यक्त गरिएझैँ सहज र सम्भव छ? भनी शंका गर्न नसक्ने अवस्था सिर्जना भै नसकेको देखिन्छ। हुन त नेपालका प्रायः सबै राजनीतिक दलको साझा चरित्र र समस्या भनेको सत्ता सञ्चालनमा सहभागी हुँदाका बखत आफ्नो दलीय संरचनाभित्र एवं समाजको पिँधमा रहेका सर्वसाधारण नागरिकसँगको सम्बन्ध बिग्रेकै देखिन्छ तर खुलेर यसउपर छलफल वा वार्ता गरिने परम्परा भेटिन्न। उही बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराको निरन्तरता गर्दै महाधिवेशनहरू समापन भएको ताजै छ। प्रचण्डले गरेको दस्तावेजउपरको छलफललाई राम्रै सुरुवात मान्न सकिन्छ यदि परिणाम पूर्वनिर्धारित नहुने हो भने।  

अब प्रश्न यो उठ्छ कि प्रायः सांकेतिकरूपमा निर्देशन दिने क्षमता बोकेका पुष्पकमल दाहालले दिएका अभिव्यक्तिले गर्न खोजेको संकेत के हो? के वास्तवमै सम्बन्धहरू सुधार्न खोजेका हुन्? यदि सम्बन्धहरू सुधार्न खोजेकै हुन् भने कुन सम्बन्ध पहिलो प्राथमिकतामा पर्छ? सामाजिक, राजनीतिक, आर्थिक वा वैदेशिक? त्यसमा पनि कुन तहमा व्यक्तिगत, गुटगत कि पार्टीगत? अनि क्षणिक लाभका उद्देश्य बोकेर कि राजनीतिक रूपान्तरणकै लागि? यी केही महत्वपूर्ण प्रश्न हुन् जसको जवाफ खोजिन आवश्यक छ। सम्बन्ध सुधार्ने अभिव्यक्तिले दुईटा कुराको संकेत गर्छ। एक–सम्बन्धहरू बिग्रेको छ भनी महसुस हुनु र अर्को भनेको ती सम्बन्धहरूको महत्व छ भनी अनुभूति गर्नु। तर यसबाट यो अनुमान गर्न सहज छैन कि पछिल्ला अनपेक्षित अवस्थाहरूले प्रचण्ड थकित छन् कि चकित? अथवा सामाजिक परिवर्तनहरूलाई आत्मसात गर्दै सर्वसाधारण नागरिकका वर्तमानका अपेक्षाहरूलाई हृदयंगम गर्ने इमान्दार प्रयासतर्फ उन्मुख हुन खोज्दै छन् वा आफूतर्फ ध्यान तान्न गरेका एक प्रयास हो?

साथै अर्को प्रश्न यो पनि छ कि ती बिग्रेका सम्बन्धहरू सुधार्न त्यसका कारणका पहिचान, निराकरण अनि नदोहोरिने प्रतिबद्धता सहज छ? विभिन्न सम्बन्धहरूका जोडिने र बिग्रिने अवस्था र कारणहरू फरक फरक हुने हुँदा तिनका समाधान पनि समान हुन सक्दैनन् बरु समानता केमा भेट्न सक्छ भने विश्वासहरूको सिर्जना अनि सम्मान आर्जन गर्न सकिने हो भने बल्ल सम्बन्धहरू सुधारिने सम्भावनाले आशा जगाउन सकिन्छ। जसका लागि आवश्यक हुन्छ कठोर आत्मआलोचना, प्रायश्चितका इमान्दार प्रयास अनि यी सबै झल्किने यथेष्ठ उदाहरणहरू। जसरी आफ्नो जिउको पाकेको घाउ आफैँले निचोर्न गाह्रो हुन्छ र सम्बन्धित विशेषज्ञको सहायता चाहिन्छ, त्यसैगरी ती बिग्रेका सम्बन्धहरूका कारणहरूको सही बुझाइका लागि तटस्थ निर्भिक बुद्धिजीवीहरूका निर्मम समीक्षा र विश्लेषण प्रभावकारी रहन्छ। तर नेपालको वर्तमान अवस्थामा जहाँ राज्यको हरेक निकाय राजनीतिक वनझारको प्रकोपले आक्रान्त छ त्यस्तोमा के त्यो तहको बौद्धिक व्यक्तित्व सहजै भेट्न सकिएला? प्राविधिक निपुणताका साथ कुनै दस्तावेज तयार पार्नु एउटा विषय हो भने त्यसले अपनत्वसहितको सामाजिक स्वीकृति पाउनु अर्को किनकि यस्ता थुप्रै विचार विभिन्न विज्ञमार्फत पस्किँदै गर्दा समाजले नस्वीकारेको यथेष्ट उदाहरण पनि छरपष्ट छ। आआफ्ना राजनीतिक दलका आआफ्नै बुद्धिजीवीले गर्ने विश्लेषण कत्तिको प्रभावकारी रहला? यो पनि संवेदनशील पक्ष हो आगामी परिणाममुखी यात्राका लागि। सम्बन्धका लागि आवश्यक विश्वास र सम्मान कसरी आर्जन गर्ने र सुरक्षित राख्ने त्यो विषय मुख्य हो भने सम्बन्धित पक्षहरूलाई आश्वस्त पार्ने सकस प्रचण्डसामु टड्कारोरूपमा उभिएको छ।

हुन त राजनीतिमा जब जब सकसको समय आउँछ नेतृत्व तहले समाजमा बहुसंख्यकरूपमा रहेका सर्वसाधारण नागरिकको सम्झना गर्न थाल्नु कुनै नौलो कुरा होइन। हरेक वाक्यमा ‘जनता’ अत्यधिक प्रयोग गरिनु, तिनका त्याग र बलिदानको गाथा शब्दमा दोहोर्‍याइरहनु तर व्यवहारमा तिनका विषय छलफलमा समेत कहिल्यै नपर्नु पीडादायी यथार्थ हो नेपाली राजनीतिको तर अब समाजसँगको सम्बन्ध सुधार्नुको विकल्प छैन किनकि हरक्षण नेतृत्व तहका हरेक गतिविधि समाजले नियालेर हेर्ने, तुलना र विश्लेषण गर्ने अनि भनाइ र गराइबीचको तालमेल कति छ त्यसको समेत मूल्यांकन गर्दै ती सर्वसाधारणका जीवनका भोगाइहरूमा उत्कृष्टताका बाधकहरू पहिचान गर्न सक्ने सुरुवात भैसकेको छ।

नेतृत्वको पदमा बस्नु आफैँमा ठूलो अवसर र चुनौती पनि हो। त्यसमा पनि दशकौँसम्म एकै व्यक्तिले अध्यक्ष पद सम्हाल्नु स्वस्थ प्रतिस्पर्धा गर्न सकिने वातावरणको निर्माण नभएको संकेत हो। नेतृत्व तहको विभिन्न जिम्मेवारीमध्ये यो पनि प्रमुख जिम्मेवारी हुन्छ कि नेतृत्व गर्न सक्ने व्यक्ति/समूह निर्माण गर्दै जानु ताकि प्रभावकारीरूपमा जिम्मेवारी पूरा गर्न सक्ने भावी सक्षम उम्मेदवार तयार होस् ताकि कुनै व्यक्तिकेन्द्रित संरचना निर्माण नहोस् र हरेक कार्यपद्धति निश्चित प्रणालीअनुरूप बिनाअवरोध चल्न सकोस्। अनि नेतृत्व तहमा बसेकासँग यो छूट हुँदैन कि आफ्ना असफलताहरूका लागि विभिन्न कारण तेर्स्याउन सकून् किनकि तिनै कारणहरूको प्रभावबाट जोगाउन सकियोस् भनेर नै कुनै व्यक्तिविशेषलाई उक्त पदको लायक मानिएको हुन्छ जसले आफूसँगसँगै नेतृत्व समूह निर्माण गर्छ अनि उच्च आचरणका यथेष्ट उदाहरणहरू निर्माण गर्न सक्छ ताकि आफूले नेतृत्व गरेको समूहलाई मोटिभेट गर्दै लक्ष्यसम्म पुर्‍याउन सकोस्। नेपालका राजनीतिक दलहरूमा विचारहरूको खुलारूपमा छलफल र उब्जित प्रश्नहरूको जवाफ दिने जवाफदेहिताको संस्कार अभावले गर्दा कानमा फुस्फुसाउँदै दिने सल्लाह र विचारहरूको बिगबिगी छ जसले गर्दा विभिन्न गुटबन्दीको सिकार बनेको राजनीतिक दलहरू आफ्नै भित्रको सम्बन्ध समीकरण मिलाउन अस्तव्यस्त रहेको अवस्थामा समाजसँगको सम्बन्ध सुधार्नुपर्ने आवश्यकता महसुस गरिनु राम्रो पक्ष हो।  

वास्तवमा रणनीतिक परिवर्तनको कुरा गर्दा त्यसमा लिखित नियमहरूले मात्रै प्रभावकारिता ल्याउन सक्दैन। कतिपय अलिखित नियमहरू प्रभावकारी रहन्छ जस्तो कि सामाजिक मूल्य, मान्यता र संस्कार जसको स्पष्टताले सबैको फरक फरक बुझाइलाई एक ठाउँमा ल्याउने, रूपान्तरणको सुरुवात आफैँबाट गर्न सकिने आधारहरू निर्माण गर्न सहज हुन्छ। अन्यथा शब्दमा व्यक्त गरिएझैँ वास्तविकरूपमा सम्बन्धहरू सुध्रने सम्भावना रहन्न। विशेषगरी त्यो अवस्थामा जहाँ सामाजिक स्वीकार्यता बढाउने आधारहरूको अभाव रहेको हुन्छ।

यदि प्रचण्डको संकेत सामाजिक सम्बन्धहरू जुन राजनीतिका लागि अनिवार्य आधार हुन्, त्यसलाई सुधार्नेतर्फ केन्द्रित रहेको अनुमान गर्ने हो भने त्यसका लागि निम्न सकस पार गर्नुपर्ने देखिन्छ:

– आस देखाउँदै त्रासमा टेकेर सुरुवात गरिएको राजनीति, उपलब्धिसम्म पुग्दा आश जति केही सीमित घेराभित्र संकुचित पारिँदा समाजमा त्रासमात्रैले उब्जेका परिदृश्यहरूले समाजका अपेक्षाहरू ओझेलमा परेको अनुभूति समयमै गर्न नसक्दा टुटेका सम्बन्धहरू जोड्न आवश्यक विश्वासको कडी निर्माण गर्न सहज हुन्न।

– बिग्रेको सम्बन्ध सुधार्ने सुरुवात भनेको निर्मम आत्मसमीक्षा, गल्तीको स्वीकार्यताका साथै प्रायश्चित पनि हो र आफूलाई सजाय दिँदा जति कठोर बन्न सकियो त्यति नै इमान्दारिता झल्किने अवस्था सिर्जना हुने हुँदा त्यसका लागि आफूलाई तयार गर्नु शब्दमा व्यक्त गरिएझैँ सहज हुन्न।  

– समाजले अनुभूति गरेको आचरण, आन्तरिक र बाह्य दुवैतर्फ जीर्ण अवस्थामा पुगिसकेको आस्था र विश्वासलाई पुनः नयाँ स्वरूपमा प्रस्तुत गर्नु सहज छैन किनकि विगतलाई पुनर्निर्माण गर्न सम्भव हुन्न र लत्पतिएका हातहरूले वर्तमानको खाका कोर्दा स्पष्टताको आभास दिन सक्दैन भन्ने उदाहरणहरू अझै पनि ताजै छन्।  

– विगतका दशकहरूमा राजनीतिक कार्यकर्तादेखि लिएर समूहमा आबद्धहरूले नेतृत्व तहसँग त्याग, नैतिकता, आर्थिक पारदर्शिता जस्ता विषयहरूको अनुभूति गर्न नसक्दा प्रचण्डप्रति नै तेर्सिएका ती प्रश्न जसले आफू र आफ्नाहरूका बिनाआधार भएको भव्य जीवनशैलीका स्रोतहरूबारे स्पष्ट जवाफ दिन सक्ने अनुमान गर्न सकिन्न।

– नेतृत्व तहले निर्माण गरेका राजनीतिक संस्कार, पदीय लोलुपताका कारण व्यक्ति व्यवस्थापन कम चुनौतीपूर्ण नहोला।

– त्यसैगरी कर छली र भ्रष्टाचारका अनेक काण्डमा सहयोगी भूमिका खेलेको आरोप रहेको अवस्थामा ती सबैलाई पारदर्शी गर्दै विधिको शासनको अनुभूति गराउन सहज नहोला किनकि भागबन्डाको सन्तुलन बिग्रिँदा परिस्थिति काबुबाहिर जान सक्ने डरको मानसिकता अझै यथावत नै रहेको देखिन्छ।

– आफैँबाट सुरु गर्ने भनिएका कार्यहरूमा पनि आफ्नैबाट गतिरोध आउने सम्भावनालाई नकार्न सकिन्न किनकि खाइपाइ आएको सुविधाबाट विमुख हुन मानवीय स्वभावले रुचाउँदैन।

– समाजले अहिले खोजेको रूपान्तरण भनेको शिक्षा र कृषिमा हो जसको आधारहरूप्रतिको बुझाइ स्पष्ट छैन र अझै पनि पारम्परिक सामाजिक आवश्यकतालाई नै केन्द्रीकृत गर्दै योजना बुन्दै गर्दा त्यसले समाजको वर्तमान अपेक्षा पूरा गर्न सक्दैन र सम्बन्धहरू बनाउने चेष्टा विफल हुने सम्भावना बढ्छ।

यति हुँदाहुँदै पनि यदि आमनागरिकका साझा विषयहरूलाई वास्तवमै पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्न सकिने हो र तिनका दैनिकी सहज पार्न इमान्दार प्रयास गरिने हो भने प्रचण्डसँग सम्भावना छैन भन्न मिल्दैन किनकि जोखिम लिने आँट तिनमा छ अनि साँचो अर्थमा हुने पश्चताप र प्रायश्चितले व्यक्ति रूपान्तरण सम्भव छ। अहिलेको २१औँ शताब्दीमा जहाँ हरेक व्यक्ति कुनै न कुनै रूपमा विश्व प्रविधिसँग जोडिएको र चेतना स्तर फेरिएको अवस्थामा आफ्नो र मुलुकको दीर्घकालीन हित स्वयम बुझ्न र मूल्यांकन गर्न सक्ने भएको हुँदा राजनीतिक दलका हरेक क्रियाकलापलाई कडा कसौटीमा राखेर विश्लेषण गरिरहेका हुन्छन्। कुनै विरासतका आधारमा भन्दा पनि परिणामगत कार्यहरूका आधारमा मूल्यांकन गरिने अवस्थाहरू सिर्जना हुँदैछ जसको पछिल्लो उदाहरण भारतका उदीयमान नेताका रूपमा स्थापित हुँदै गरेका अरविन्द केजरीवाललाई लिन सकिन्छ।

ऐतिहासिक पृष्ठभूमि बोकेकै भरमा जीर्ण आन्तरिक संरचना, अस्पष्ट दोहोरो मापदण्ड अनि अक्षम नेतृत्वले राजनीतिक भविष्य सुनिश्चित हुन सक्दैन। त्यसैगरी त्रासको राजनीतिक भविष्य पनि लामो हुँदैन। यस्तोमा पूर्ण इमानदारी र निष्ठाका साथ समाजका अपेक्षाहरू पूरा गर्ने गरी कटिबद्ध हुने राजनीतिक दलसँग अझै पनि सामाजिक सम्बन्धहरू सुधार्ने सम्भावना छ।

(समाजशास्त्री)

प्रकाशित: १८ पुस २०७८ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App