८ वैशाख २०८१ शनिबार
विचार

मोही माग्ने ढुंग्रो लुकाउनेः रमेश, रञ्जु, शंकर, गगन र विश्वप्रकाश

रमेशप्रसाद खरेल, बहुचर्चित पूर्वप्रहरी अधिकृत हुन्। यिनले नेपाल सुशासन पार्टी खोलेपछि राजनीतिक क्षेत्रमा नयाँ तरंग उत्पन्न भएको छ। नेपाली राजनीतिको तलाउमा ढुंगो खसेपछि अनगिन्ती लहर देखापरेका छन्।

योभन्दा शालीन वा भद्र विद्रोह के हुन सक्छ? उच्च प्रहरी डिआइजीको जागिर छाडेर राजनीतिक पार्टी गठन गर्नुले बहुत सांकेतिक अर्थ राख्छ र यसले ढलमतीझैँ बनेको राजनीतिको निर्मलीकरण गर्न सबैलाई प्रेरित गर्न सक्छ। नेपाल प्रहरीमा रहँदा खरेलले देखाएको स्वच्छता, पारदर्शिता, बर्दीप्रतिको सम्मान,चरित्र र समर्पण साँच्चिकै सम्मानयोग्य छ।

पूर्वप्रहरीको राजनीतिक दल खोल्ने अग्रसरतालाई किन यति महत्व भन्ने सवाल पाठकमा उत्पन्न हुनु अस्वाभाविक होइन। यतिखेर प्रमुख दलहरूमा देखिएका नयाँ विम्बहरूको चर्चा, परिचर्चा र विश्लेषण पो हुनुपथ्र्यो भन्ठान्नु स्वाभाविक हो।

खरेल छुट्टै प्रसंगमा देखापरेका हुन्। यिनले चुनावमा कुनै सिट जित्नेवाला पनि छैनन्। निर्वाचनको इतिहासमा बहुचर्चित व्यक्ति ऋषिकेश शाह,डा. भेषबहादुर थापा, डा. देवेन्द्रराज पाण्डेहरू पनि चुनावमा उठेर अत्यन्त न्यून मत पाएकै हुन्। यिनीहरूले कति भोट पाए जगजाहेर छ। यिनको जमानत नै जफत भयो! तैपनि रमेश खरेललाई यहाँ यसकारण ल्याइँदै छ कि उनी राजनीतिको निर्मलीकरण, स्वच्छता, पारदर्शिता, निष्ठा र सुशासनका लागि अग्रसर भएका छन्।

तस्कर, डन, दलाल, बिचौलिया, माफिया, ठेकेदार, भ्रष्टाचारी, गुन्डा, अपराधीले पार्टी कब्जा गरिरहेका बेला तिनको मुटुमा ढ्यांग्रो ठोकाउने प्रहरीले अवकाशपछि नेपाल सुशासन पार्टी भनेर अगाडि आउनु लर्तरो साहस होइन।

यसको सांकेतिक अर्थ छ। यसले समाज रूपान्तरणका लागि राजनीतिक पार्टीका युवा नेतालाई सोच्न बलियो दबाब सिर्जना गरेको छ। आफ्नो सन्ततिको उज्यालो भविष्यका लागि राजनीति भन्नेका लागि झन् ठूलो चुनौती खडा गरिदिएका छन् खरेलले। उनको उपस्थितिले अपराधी, डन र माफिया बोकेर हिँड्नेहरूका जिउमा काँडा उम्रिसकेको हुनुपर्छ। उनले प्रशस्त भोट नल्याउलान्, चुनाव नजित्लान्, तर गरेको आँट र साहसले अपराधी, तस्कर, डन, माफिया, दलालबाट घेरिएर बसेका दलका नेतामा चिसो पसेको सहजै अनुमान गर्न सकिन्छ।

यत्रतत्र सर्वत्र तस्कर, डन र माफियाको बिगबिगी भइरहेका बेला समाज रूपान्तरणका लागि पूर्वप्रहरीको विद्रोहका रूपमा यो उपस्थिति आफैँमा एउटा विम्ब हो। यस्तै विम्ब ०७४ सालको आमनिर्वाचनमा रञ्जु दर्शना र उज्ज्वल थापा बनेका थिए। थापा र दर्शनाले निराश युवापुस्तामा आशाको सञ्चार गराएका थिए। तर दलीय संयन्त्र र नेपाली समाजको गति ठम्याउन नसक्दा ती त्यसै अलमलिए, हुलमुलमै हराए। जबर्जस्त तरंग भने त्यतिखेर ल्याएकै हुन्।

यो प्रसंगको औचित्य यतिखेर किन पनि क्लाइमेक्समा हुन सक्छ भने देशमा ७० वर्ष नाघेका दुई ठूला पार्टी (एमाले र कांग्रेस)को ऐतिहासिक १०औँ र १४औँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ। दुवै अधिवेशनले विशेष सन्देश दिएका छन्–आगामी निर्वाचनबाट हाम्रो समाजले दुई दलीय राजनीतिक ध्रुवबाट विकासको लय लिन सक्छ भन्ने आशाको किरण पलाएको छ ! समाजमा हलचल ल्याउने प्रसंगबाट आलेखको सुरुवात गरियो, तर एमाले र कांग्रेस महाधिवेशनले चुनेको नयाँ नेतृत्वमा यो केन्द्रित छ।

यही स्तम्भमा एमाले र कांग्रेस महाधिवेशनको मिहिन चर्चा गर्दै देश अब दुई दलीय पार्टी अस्तित्वतर्फ गएको बहस–विमर्श सुरु गरिएको थियो। वामपन्थी धार र यथास्थितिवादी लोकतान्त्रिक धारको रूपमा एमाले र कांग्रेस अगाडि बढ्दै छन् भन्ने तर्कअगाडि सारिएको थियो। कांग्रेसीले सांकेतिक रूपमा गगन थापा र विश्वप्रकाशलाई दुई विम्बका रूपमा जबर्जस्त अगाडि सारेका छन्। यिनीहरू नेपाली समाजमा रञ्जु र रमेश खरेलजस्तै नेपाली कांग्रेसभित्रका विम्ब बनेका छन्।

एमालेबाट त्यो विम्बको प्रतिनिधित्व शंकर पोखरेलले गर्छन्। उनी एमालेभित्र कार्यकारी छवि देखाउन खोजिरहेका छन्। एमालेभित्र केपी ओलीपछि को भन्नेमा उकुसमुकुस भइरहेको थियो। एमाले अध्यक्ष ओलीले आफ्नो उत्तराधिकारी चुनिदिएका छन्।

उनले युवा नेता पोखरेललाई अघि सारेर एमालेको भावी नेतृत्व पहिल्याइदिएका छन्। ओलीले आफ्नो उत्तराधिकारी जबजका व्याख्याताका रूपमा स्थापित शंकरलाई छानेका छन्। शंकर पोखरेलले मदन भण्डारीको निधनपछि अलमलिएको एमालेको सैद्धान्तिक धार छिमलेर लैजान सक्ने अपेक्षा एमाले वृत्तमा छ।

यस आलेखको शीर्षकमा उल्लिखित पाँच नाम नेपालको लोकतान्त्रिक आन्दोलनका संवाहक हुन्। गणतन्त्रका वाहक हुन्। परिवर्तनका विम्ब हुन्। ०४५/४६ को जनआन्दोलनमा शंकर पोखरेल उदाएका थिए। ०६२/६३ को आन्दोलनमा गगन र विश्वप्रकाश चम्किए। गणतान्त्रिक आन्दोलनका यी विम्बले नेपाली कांग्रेस र एमालेलाई गति दिन सक्छन् भन्ने सर्वत्र आशा पलाएको छ।

वामपन्थी धारलाई शंकरले र लोकतान्त्रिक धारलाई गगन/विश्वप्रकाशले अगाडि बढाउन सक्छन्। विकल्प दिन सक्ने यिनको क्षमता र ल्याकत पहिचान गरेका राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्– हेर्दै जानुहोला, अर्को महाधिवेशनमा शंकरले एमाले र गगन/विश्वप्रकाशले नेपाली कांग्रेसलाई नेतृत्व गर्न सक्छन्। डन, तस्कर, अपराधी, बिचौलिया, माफिया, दलाल, ठेकेदारको चंगुलबाट मुक्त समाज बनाउन यिनले राजनीतिलाई स्वच्छता र गति दिनु अपरिहार्य छ। जिम्मेवारी लिएको क्षणदेखि नै यिनीहरू यतातर्फ सचेत र सक्रिय हुन सकेनन् भने यी पनि ‘नारायण–हरि’ हुनेछन्।

एमालेका हुन् वा कांग्रेसका यी विम्बले निम्न पाँच आयाममा आफूलाई केन्द्रित गर्नुको अर्को विकल्प छैन।

१) राजनीति सबै नीतिको माउ नीति भएकाले राजनीतिक स्वच्छता, सच्चरित्र, संगठन, सैद्धान्तिक विचारले मात्र यो अगाडि बढ्न सक्छ। राजनीति अब्बल हो भन्ने कुरा किताब, लेख, अन्तर्वार्ताबाट प्रदीप गिरिले व्याख्या त गरे, तर उनको विचारले कहिल्यै गति लिन सकेन। अब त्यो जिम्मेवारी कांग्रेस र एमालेका नयाँ विम्बहरू गगन, विश्वप्रकाश र शंकरले गर्न सक्छन् कि?  

मूल सफा भए मात्र खोलो सफा हुन्छ भनेझैँ देशका प्रमुख पार्टीको मूल स्वच्छ र आशा जगाउने गरी रूपान्तरण गर्ने जिम्मेवारी महाधिवेशनले यी नेतालाई दिएको छ। अब यी विम्बले नेता ‘चोर’ होइन भन्ने प्रमाणित गर्नुपर्छ। कुनै पनि सभ्य समाजमा चोर, तस्कर, अपराधी, माफिया र भ्रष्टाचारी नेता हुन सक्दैन। राजनीतिक नेता चोर नभएर सादगी, स्वच्छ, सुशासन, पारदर्शी, प्रतिबद्ध, इमानदार हुन्छन् भन्ने ‘सिम्बोल’ शंकर, गगन र विश्वप्रकाशहरूलाई देखाउने चुनौती थपिएको छ।

२) हाम्रो समाजमा आफ्ना मात्रै राम्रो भन्ने संस्कार जकडिएर रहेको छ। लोकतान्त्रिक गणतन्त्रमा यस्तो हुनु हुँदैन। यसैका लागि आन्दोलनमा जनता सहभागी भएका हुन्। हाम्रा भनेर कांग्रेसी प्रतिनिधिले गगन र विश्वप्रकाशलाई चुनाव जिताएका होइनन् कि राम्रा भनेर चुनाव जिताएका हुन्।

महाधिवेशनको मुखैसम्म कृष्ण सिटौला गुटमा थिए गगन। विश्वप्रकाश शेरबहादुर देउवाका प्रवक्तै हुन्। महामन्त्रीको उम्मेदवार बन्दा गगन र विश्वले क्याम्प परिवर्तन गरे। गगन शेखर कोइराला र विश्वप्रकाश प्रकाशमान क्याम्पबाट उम्मेदवार बने।

कोइरालाले पहिलो चरणमा १७०६ मत ल्याउँदा गगनले ३०२३ मत ल्याएर महामन्त्रीमा जिते। प्रकाशमानले ३७१ मत ल्याउँदा विश्वप्रकाशले १९८४ मत ल्याएर महामन्त्री भए। नीति, योजना र कार्यक्रमसहित कांग्रेसलाई जीवित राख्न सक्छन् भनेर आफ्नै अस्तित्वका लागि यी दुवैलाई महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीमा जिताएका हुन्। अब मतदाताको विश्वास पाएपछि उनीहरूको अपेक्षा पनि यिनले पूरा गर्न सक्नुपर्छ।

कांग्रेस महामन्त्री कार्यकारी पद हो। त्यसैले पाँच वर्षको आफ्नो कार्यकालको एक निमेष पनि यिनले खेर फाल्नु हुँदैन। त्यो छुट यिनलाई छैन। यी अलमलिए, गलत विषयमा हिँडे समाजको आशामा तुषारापात गरेको र गतिरोध पुर्‍याएको ठहरिनेछ। यिनले अब साधारण जीवन, उच्च विचार, नैतिक आचरण देखाएर क्रियाशील हुनुपर्छ। यिनले के कुरा हरदम मनमा राखिरहनुपर्छ भने असल नेता, कार्यकर्ता, विज्ञ र विशेषज्ञ यिनलाई खोज्दै आउँदैनन्, यिनीहरू नै धाउनुपर्छ। अब विश्वप्रकाशले उनको टिभी कार्यक्रम ऐनामा मान्छे खोजेझैँ समाजका असल मान्छे खोज्नुपर्छ। समाजलाई गति,आशा र समृद्धि दिने बन्नुपर्छ।

समृद्ध नेपाल, सुखी नेपालीको आर्किटेक्ट शंकर पोखरेल हुन्। सम्मानित नेपाली, समुन्नत नेपालको आर्किटेक्ट गगन थापा हुन्। यिनको शब्द फरक भए पनि दुवैको भाव एउटै हो। लक्ष्य, उद्देश्य एउटै हो। रञ्जु दर्शना र रमेश खरेलको पनि एउटै हो। यसलाई लय दिने र गति लिने क्रममा सबैजना खरो उत्रन सक्नुपर्छ।

३) संघारमै रहेको निर्वाचनलाई निर्धारित समयमै सुसम्पन्न गर्न, सबैको सहभागिता सुनिश्चित गर्न र असल, इमानदार र प्रतिबद्ध जनप्रतिनिधि छान्ने अवसर शंकर, गगन र विश्वप्रकाशले सिर्जना गर्नुपर्छ। त्यसका लागि प्रतिनिधिपात्र मानिएका यिनले आफूजस्तै विम्ब छानेर उम्मेदवार बनाउनुपर्छ। सावधान ! चुनावले ढोका ढकढकाइसकेको छ। त्यसैले अहिलेकै लयमा यिनले आफू र आफ्नो संगठनलाई परिचालन गर्न सक्नुपर्छ।

४) सबैतिर युवा भनेको सुनिन्छ। तर शंकर, गगन र विश्वप्रकाशले युवावस्था पार गरिसकेपछि मात्र जिम्मेवारी पाएका छन्। अब आफैँलाई भएजस्तो ढिलाइ गर्ने छुट पनि यिनलाई छैन।

यिनीहरूले एकक्षण पनि नबिर्सिऊन्, युवा विद्रोही उमेर समूह हो। यो अत्यन्तै संवेदनशील हुन्छ। युवा छिटै आकर्षित मात्र होइन, विकर्षित पनि हुन्छ। युवा भावनालाई दुरूपयोग (एब्युज) गर्‍यो भने यो विध्वंसक र विखण्डनमा लाग्न सक्छ। धेरैले भन्छन्– युवा भनेको आर्थिक स्रोतको भण्डार हो, तर अधिकांशले बुझ्न नसकेको के हो भने युवाले धेरै खर्च पनि गर्छन्। बूढाले एक बोतल बियर खाइसक्दा नसक्दै युवाले तीन बोतल रित्याइसक्छन्।

राजनीतिमा यतिखेर स्वयंसेवा रित्तिएसरह भएको छ। कांग्रेस होस् वा वामपन्थी, सबैमा पैसा खर्च गरेपछि चुनाव जितिन्छ भन्ने भ्रम छ। चुनाव ज्यादै खर्चिलो बनिरहेछ। तर न शंकर पोखरेल, न त गगन र विश्वप्रकाशले पैसा खर्च गरेर जितेका हुन्। पैसाविना पनि राजनीति सम्भव छ भन्ने यी प्रतिनिधि पात्र हुन्। 

रञ्जु र रमेश खरेल पनि पैसाको थैलो अगाडि सारेर राजनीतिमा आएका होइनन्। त्यसैले पैसाको प्रभाव राजनीतिमा हुनुहुन्न भन्ने संस्कृति र व्यवहार बोकेरै यिनीहरू अगाडि बढ्नुपर्छ। तस्कर, दलाल, व्यापारी, माफिया, डन, भ्रष्टाचारीबाट चन्दा बटुलेर राजनीति अगाडि बढाउने कुसंस्कृतिविरुद्ध यिनले जेहाद छेड्नुपर्छ। ‘पार्टीमा सहयोग गरेको, समानुपातिकमा परेको’ अब हुनुहुन्न!

गर्लफ्रेन्ड/ब्वाइफ्रेन्ड, चन्दादाता, परिवारका सदस्य, नातागोतालाई अब राजनीतिक पदमा ल्याउन निषेध गर्नुपर्छ। एउटै परिवारका मान्छे राजनीतिक पार्टी र सरकारमा हुनुहुन्न। यिनले ‘कन्फ्लिक्ट अफ् इन्टरेस्ट’लाई राम्ररी बुझ्नुपर्छ। बुझ पचाउनु हुँदैन। यसको वाहक पनि शंकर, गगन, विश्वप्रकाश बन्नुपर्छ, किनभने अहिलेको राजनीतिको विकृति विसंगतिले युवालाई निराश बनाइरहेको छ। त्यो काम आधुनिक नेपाली राजनीतिका विम्बहरूले पर्गेल्नैपर्छ।

५) नेपालको राजनीति, राजनीतिक पार्टीलाई बिचौलिया, डन, दलाल, अपराधी, भ्रष्टाचारी, ठेकेदारबाट मुक्त पार्नैपर्छ। स्वच्छ छवि, अनुभव भएका काबिल निष्ठावान, समर्पित इमानदार, विषयविज्ञहरू राजनीतिमा हाबी हुनुपर्छ।

नेपालको राजनीतिलाई ‘प्याराडमसिफ्ट’ गर्ने तरंग एमाले र कांग्रेस महाधिवेशनले सिर्जना गरेको छ। राजनीतिमा चरम वितृष्णा भएका बेला एमाले महाधिवेशनले शंकर पोखरेललाई केपी ओलीको उत्तराधिकारीका रूपमा अगाडि सार्‍यो। त्यस्तै, कांग्रेस महाधिवेशनले नयाँ नेताका रूपमा गगन थापा र विश्वप्रकाशलाई अगाडि सारेको छ। हिजो रञ्जु दर्शना युवाहरूको ढुकढुकीका रूपमा देखिएकी थिइन्। आज रमेश खरेल नेपाल सुशासन पार्टी लिएर जबर्जस्त देखापरेका छन्।

अब समयले लटरपटरलाई कुनै हालतमा छुट दिनेवाला छैन। यो रञ्जु, रमेश, शंकर, गगन र विश्वप्रकाशका लागि स्वर्णिम अवसर हो। यिनले लय दिने काम गरून्। समय र जनता यिनकै साथमा छन्।

प्रकाशित: ७ पुस २०७८ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App