१३ असार २०७९ सोमबार
विचार

विश्वास एवं सम्मान जितेका शेखर

नेपाली कांग्रेसको सभापति चुनावको परिणामलाई लिएर सामाजिक सञ्जालमा भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले लेखेका छन्, ‘शेखर कोइरालाले सम्मान जितेका छन्, शेरबहादुर देउवाले सभापति पद, अन्य सभापति प्रत्याशीले दुवै हारेका छन्।

१४औँ महाधिवेशनको सभापति चुनाव नतिजाप्रति प्रायः सचेत नागरिकको धारणा हो यो। यस परिणामले नेपाली कांग्रेसको आन्तरिक गतिशीलता एवं समीकरण तथा भावी राष्ट्रिय राजनीतिमा समेत दुरगामी प्रभाव पार्ने अनुमान गर्न सकिन्छ। प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रोपटक पनि दोस्रो चरणको प्रतिस्पर्धामा नेपाली कांग्रेसका सभापति बन्न सफल भएका छन् अन्य तीन प्रत्याशीको अस्वभाविक साथ पाएर।  

अर्कातिर चुनावअघि सधैँ एकजुट देखिएका इतरपक्ष निर्वाचनसम्म आइपुग्दा भने त्यस्तो देखिएन। लामो समयदेखि एकै ठाउँमा उभिएका कतिपय समविचार सहयात्रीले महाधिवेशनको आदेशलाई नजरअन्दाज गरेका छन्। निर्वाचनको दोस्रो चरणमा स्वाभाविक जित हासिल गर्न महाधिवेशन प्रतिनिधिले अघि बढाएका डा. शखेर कोइरालालाई तिनले साथ दिएनन्। यस अवस्थामा उनको पराजय निश्चित थियो र जितेनन् पनि। यस महाधिवेशनबाट उनले राजनीतिक सम्मान भने जितेका छन्। शक्तिशाली नैतिक बल प्राप्त गरेका छन्। परिवर्तनकारी शक्तिको भरोसा र विश्वासका केन्द्र बनेका छन्।  

नेपाली कांग्रेसको सभापतिको दौडमा आफ्नो विचार समूहको नेतृत्व गरेर परिवर्तनको एक खरो संवाहक बने शेखर। यस धारको प्रतिनिधित्व गर्ने एक कुशल, शालीन तथा लगनशील नेताको परिचय बनाएका छन् उनले। लामो समयदेखि आन्तरिक अलमलमा रुमलिएको कांग्रेसी राजनीति सही दिशाबोध हुने आशा जगाएका छन्। नेपालको राष्ट्रिय राजनीतिलाई चलायमान र भरोसायोग्य बनाउन उनी सफल हुने विश्वास धेरैले लिएका छन्। धरापमा पार्न खोजिएको लोकतन्त्रलाई ठीक ‘ट्र्याक’मा अघि बढाउन सार्थक भूमिका खेल्ने भरोसा दिलाएका छन्। पुस्तान्तरणको ढोका खोल्न सफल भएका छन्। नितान्त निजी स्वार्थमा डुबेको मुलुकको राजनीतिलाई नयाँ जीवन दिन सक्ने नेताका रूपमा उनी देखापरेका छन्।

महामन्त्रीको निर्वाचनमा शेखर विचार समूहका गगन थापाले प्राप्त गरेको करिब दुईतिहाइ मतले पुस्तान्तरण अभियानलाई महाधिवेशनले समर्थन गरेको बुझिन्छ। संसद् तथा सडकमा देखिएको गगनको जुझारु प्रवृत्ति र प्रस्तुतिलाई मतदाताले मन पराएको मानिएको छ।

महामन्त्रीको निर्वाचनमा शेखर विचार समूहका गगन थापाले प्राप्त गरेको करिब दुईतिहाइ मतले पुस्तान्तरण अभियानलाई महाधिवेशनले समर्थन गरेको बुझिन्छ। संसद् तथा सडकमा देखिएको गगनको जुझारु प्रवृत्ति र प्रस्तुतिलाई मतदाताले मन पराएको मानिएको छ। प्रतिपक्षी दल तथा तीनका नेतामाथि उनले सोझ्याएका खरा टिप्पणी, प्रश्न तथा अभिव्यक्तिलाई ठीक ठहर्‍याइएको पाइन्छ। पार्टीलाई विधि तथा पद्धति अनुसार नचलाउँदा उनले उठाएका सवाललाई उचित ठहर्‍याइएको छ। कांग्रेसको गतिशीलता र विश्वसनीय भविष्यका लागि पार्टीको महत्वपूर्ण स्थानमा उनको उपस्थिति अनिवार्य देखिएको छ।  

स्मरण रहोस् स्थानीय चुनावमा पुष्पकमल दाहालसँगको साँठगाँठबाट कांग्रेसको छवि नराम्रोसँग धमिलिएको थियो, विशेष गरी चितवनको माओवादी चुनावी प्रकरणबाट। प्रदेश एवं संसदीय निर्वाचनमा नेकपासँगको लज्जास्पद हार यतिखेर धेरैले बिर्सिएका छन्। त्यसवेला नैतिकताका आधारमा सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने सशक्त दबाब नभएको होइन। यस प्रतिकूल परिस्थितिमा देउवाले विश्वप्रकाश शर्मा प्रवक्ता बनाए। शर्माले जोखिम उठाएर सभापतिलाई साथ दिए र पार्टीको धमिलिएको छविलाई सुधार्न अहं भूमिका खेले। तर चुनावी दौडमा शर्मा देउवाको समूहमा अटाएनन्। उनलाई पछाडि पार्न खोजिए पनि युवा जमात तथा परिवर्तनको वेगले साथ दियो र सहज विजय हासिल गरे। गगन र आफू एक सशक्त ‘हल’ हुने प्रतिक्रिया समेत उनले दिए।  

मानव अधिकारका परममित्र विश्व एवं एम्नेस्टी इन्टरनेसनलका ‘आस्थाका बन्दी’ समेत रहेका गगनको यस विजयबाट मुलुकमा एक सकारात्मक लहर प्रवाह गरेको छ। तेस्रो पुस्ता ठानिएका युवा पिँढी अघि बढेको देखिएको छ। परिवर्तन अवश्यम्भावी भएकोे सन्देश दिएको छ। यस परिणामले गुटको पर्खाललाई तोडेको छ। सक्षम व्यक्तिलाई कांग्रेसको नेतृत्वमा जानबाट कसैले छेक्न नसक्ने संकेत गरेको छ। विचार तथा सक्षमतालाई प्राथमिकता यस अधिवेशनले दिएको छ।

युवा वर्गको प्रतिनिधित्व गर्ने धनराज गुरुङको उपसभापति पदमा भएको विजय साथै मीनेन्द्र रिजालले नैतिकताका आधारमा दिएको राजीनामाले नेपाली कांग्रेसको आन्तरिक तथा राष्ट्रिय राजनीति समेतमा विशेष असर पर्ने छ। शीर्ष भनिएका नेताको नैतिकतामा स्खलन भइरहेको अवस्थामा मुलुकमा एक नयाँ आशाको किरण देखापरेको छ। लोकतन्त्रलाई मजाक र स्वार्थ सिद्धि गर्ने अखडा बनाउनेका लागि रिजालको राजीनामाले बलियो धक्का दिएको छ। राष्ट्रमा स्वस्थ राजनीतिक प्रणाली पुनः स्थापित हुने विश्वास गरिएको छ।

यसै सिलसिलामा दोस्रो चरणको चुनावमा डा. शेखर कोइरालालाई साथ नदिनु प्रकाशमान सिंह र विमलेन्द्र निधिको महाभुल थियो। तिनले परिवर्तनकारी शक्तिलाई साथ नदिएका मात्र होइनन्, आफ्नो राजनीतिक कद पनि घटाएका छन्। प्रधानमन्त्री पद समेत त्याग गरेका स्वार्थविहीन सर्वमान्य नेता गणेशमान सिंह र सत्य वचनका गान्धीवादी आदरणीय नेता महेन्द्रनारायण निधिको सम्मानमा ठेस पु¥याएका छन्। आमनागरिकको नजरमा विश्वसनीयता तिनले गुमाएका छन्।

सिंहले एकै विचार समूहमा रहेका शेखरलाई छाड्नुपरेको भरपर्दो जवाफ दिन सकेका छैनन्। निधिले सार्वजनिक रूपमा दोस्रो चरणमा इतरपक्षलाई साथ दिने भनेर दिएको सार्वजनिक अभिव्यक्ति किन एकै दिनमा फेरियो, समयले बताउला। वरिष्ठ भनिएका नेता रामचन्द्र पौडेल र बिपी पुत्र शशांक कोइरालाको (केन्द्रीय सदस्यमा अत्यधिक मतले जिते पनि) सत्तापक्षप्रतिको मौन समर्थन र गिरिजाप्रसादपुत्री सुजाता कोइरालाले खेलेको भूमिकाले तिनका राजनीतिक भविष्यमा दुरगामी असर पार्नेछ।

१४औँ महाधिवेशनको चुनावी दौडमा नेता रामचन्द्र पौडेलले आफ्नो समूह कमजोर हुने देखेर चुनावी प्रतिस्पर्धामा नउत्रने निर्णय गर्नु विवेकपूर्ण थियो। त्यसबाट उनको राजनीतिक उचाइ तथा सम्मान ह्वात्तै बढ्यो पनि। सामाजिक सञ्जालमा उनको प्रशंसाको लहर चल्यो। त्याग र आदर्शका एक नेताको पहिचान उनले बनाए।

यो छवि २४ घन्टा पनि टिक्न सकेन, जब उनले भोट नहाल्ने निर्णय गरेर सहयात्री समूहलाई कमजोर पार्ने काम गरे। साथै दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई समर्थन नगरेर यस विचार समूहको अभिभावक बन्नबाट चुके। १३औँ महाधिवेशनमा देउवासँगको दोस्रो चरणको प्रतिस्पर्धामा त्यसबेला आफ्नो समूहका कृष्णप्रसाद सिटौलाले साथ छोड्दा भोगेको पराजयको पीडा उनले विस्मृतिमा राखे। देउवालाई परोक्ष समर्थन गरेर परिवर्तनको मागलाई नजरअन्दाज गरे। त्यस विचारको विपक्षमा उभिए। एक आदरणीय व्यक्तित्व बन्नबाट उनी टाढिए।

यता शेखर कोइराला विरासतभन्दा व्यक्तिगत लगन, समयको मागलाई बुझ्न सक्ने एक शालीन तथा मिलनसार व्यक्तित्वको छवि बनाएका कारणले प्राविधिक कारणबाट चुनावमा पराजित भए पनि कांग्रेसी शुभचिन्तकका मन जितेका छन्। परिवर्तन पक्षका एक सशक्त नेता भएर उदाएका छन्।  

शेखरले केन्द्रमा बसेर राजनीति गर्नेहरूका लागि चुनौती थपेका छन्। केन्द्रीय नेतृत्वसँगको उठबस वा विरासतको माला जपेर राजनीतिमा सफलता हासिल गर्न सकिन्छ भन्ने परम्परा तोडेका छन्। आमनागरिक तथा कार्यकर्ताले भोगेका दुःख, कठिनायी तथा वास्तविकता बुझ्न घरदैलोमा पुग्नुपर्ने बाध्यता सिर्जना गरेका छन्। चुनावी पराजयपछिको ‘असल कार्यमा नेतृत्वलाई सधैँ साथ दिने र गलत कुरामा संघर्ष गर्ने’ उनको उद्घोषले कांग्रेसको आन्तरिक जीवन तथा मुलुकको लोकतान्त्रिक प्रणालीका लागि आशाको दियो जगाएको छ। नवनिर्वाचित नेतृत्वका लागि चुनौती थपिदिएका छन्।  

नेपाली कांग्रेसको १४औँ महाधिवेशन स्थानीय, प्रदेश तथा संसदीय चुनावको सँघारमा सम्पन्न भएको छ। विगतको चुनावमा शेरबहादुर देउवाको नेतृत्वलाई आम मतदाताले पत्याएनन्। यो वास्तविकता हो। महाधिवेशन प्रतिनिधिले उनलाई फेरि दोस्रो एवं अन्तिम मौका दिएका छन्। उनले विगतमा गरेका भुल सुधार्ने स्वर्णिम अवसर पाएका छन्। पदाधिकारी तथा केन्द्रीय समितिमा आफ्नो बहुमत भए पनि परिवर्तनकारी विचार समूहको सशक्त उपस्थितिले उनको निर्णय परिष्कृत र परिपक्व हुने विश्वास लिइएको छ। यसबाट कांगे्रसको आन्तरिक राजनीति तथा मुलुकको लोकतान्त्रिक प्रणाली प्रभावकारी हुने ठानिएको छ।

किनभने नेपाली कांग्रेस लोकतन्त्रको पर्याय भए पनि यसले आफ्नो सिद्धान्त तथा दर्शन भुल्दै गएको छ। व्यक्तिगत स्वार्थमा शक्तिपृथकीकरणको सिद्धान्तलाई धराशयी बनाउन जिम्मेवार छ। संसद् अवरुद्ध हुने वातावरण बनाउन सहयोगी भएको छ। एमसिसीको राजनीतिमा फसेको छ। मानव अधिकारको जगमा शासन पद्धति चलायमान भए मात्र लोकतन्त्र सबल र दिगो हुने विश्वव्यापी मान्यतालाई भुलेको छ। सत्ता टिकाउने बहानामा पीडकको संरक्षक भएको छ।

साथै सत्याग्रही गंगामाया अधिकारीलाई सुशील कोइरालाको न्याय दिलाउने पहल बिर्सिएको छ। द्वन्द्वपीडितको सत्य, न्याय, परिपुरण तथा नदोहोरिने सुनिश्चितताको जिम्मेवारीबाट पन्छिएको छ। सत्य र बेपत्तासम्बन्धी ‘न्याय अवरोध गर्ने’ आयोग गठन गरेको छ। आदरणीय गिरिजाप्रसाद कोइरालाको पहलमा भएको शान्ति सम्झौतालाई अधुरो छाडेको छ। दण्डहीनता मौलाउन दिएको छ। वर्तमान विश्व ‘मानव अधिकारको युग’ भएकोप्रति अनभिज्ञ छ।

cprasai@gmail.com

(मंगलबार प्रिन्ट संस्करणमा प्रकाशित आलेखलाई केही अद्यावधिक गरिएको: प्रधानसम्पादक।)

प्रकाशित: ६ पुस २०७८ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App