coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

बिपी विचार र कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४औं महाधिवेशन आज सुरु हुँदैछ। नेपाली कांग्रेसको यो यात्रा २००३ सालदेखिको हो। यस पार्टीले आफ्नो स्थापनाकालदेखि वर्तमानसम्मको दीर्घयात्राका क्रममा संस्थापकमध्ये शीर्ष नेता बिपी कोइरालाले आफ्नो जीवनकालभरि नै वैचारिक सिञ्चन गरिरहे। उनको सांगठनिक नेतृत्वमा सम्पन्न २००७ सालको जनक्रान्तिले नेपाललाई ऐतिहासिक प्रजातान्त्रिक युगमा प्रवेश गरायो।

नेपाली जनतालाई रैतीबाट स्वतन्त्र नागरिकका हैसियतमा उठाउन अनेकौं प्रजातन्त्र सेनानीहरूको रगत र पसिना बगेको छ। इतिहासका ती अमर सेनानीहरू धन्य छन्। राष्ट्रिय राजनीतिमा प्रजातान्त्रीकरणको आरम्भ नेपाली कांग्रेसले गरायो।

बिपी, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई आदि शीर्ष नेताहरूले नेपाली कांग्रेसलाई जन्म दिए। नेपाली कांग्रेसको संस्थापक पुस्ता अब भौतिक रूपमा सक्रिय छैन। कांग्रेस पूर्ण रूपमा प्रथम पुस्ताको भौतिक नेतृत्वबाट मुक्त भइसकेको छ।

नेता गिरिजाप्रसाद कोइरालापछि नै नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा आइसकेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा एवं रामचन्द्र पौडेल दोस्रो पुस्ताका शीर्ष नेताहरू हुन्। दोस्रो पुस्ताकै स्व. सुशील कोइरालाले नेपालको संविधान २०७२ जारी गराउन प्रधानमन्त्रीका हैसियतमा स्मरणीय कार्य गरे। यतिबेला दोस्रो र तेस्रो पुस्ताकै नेताहरूबीच नेतृत्वको लागि प्रतिस्पर्धा देखिँदैछ।

लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हुन्छ। स्वस्थ चुनावी प्रतिस्पर्धा उम्मेदवारको लोकप्रियताको कसी नै हो। कांग्रेसमा प्रतिस्पर्धा कुन उद्देश्यद्वारा प्रेरित छ भन्ने कुराचाहिँ महत्वपूर्ण र विचारणीय छ। तमाम कार्यकर्तामध्ये थोरै मात्रले त्यसतर्फ ध्यान दिएका होलान्। नेपाली कांग्रेसले इतिहासमा धेरै महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी पूरा गरेको छ।

विगतका जिम्मेवारीहरू मुलुकको राजनीतिक व्यवस्थाको परिवर्तन र तिनको स्थिरीकरणका लागि थिए। २०७२ सालसम्म आइपुग्दा ती जिम्मेवारीहरू सामान्यतः पूरा भइसकेका छन्। २०७२ सालमा जारी नेपालको संविधानले राजनीतिक स्थिरीकरणको आधार तय गरेको छ।

संविधानमा समयानुकूल परिमार्जनको सम्भावना सधैं रहिरहन्छ।विगतका ऐतिहासिक दायित्व पूरा गर्ने क्रममा नेपाली कांग्रेसलाई अन्य राजनीतिक पार्टीहरूको पनि सहकार्यात्मक सामञ्जस्य प्राप्त भयो। नेपाली कांग्रेसले विगतमा खेलेको भूमिकाका सुन्दर पक्षहरू हुन् यी।

मुलुकमा २००३ सालदेखि वर्तमानसम्मका संघर्ष, बलिदान, आरोहअवरोहका आयामहरू अनेक छन्। ती सबैमा नेपाली कांग्रेस जोडिएको छ। नेपाली कांग्रेससँग विगतमा दरबार र अन्य शक्तिद्वारा गरिएका शत्रुवत् व्यवहारहरूको प्रतिकारमा पनि नेपाली कांग्रेसले प्रजातन्त्ररूपी विचारवृष्टि गरिरह्यो। वर्तमानको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल त्यस विचारवृष्टिकै परिणाम हो भन्न सकिन्छ।

२०७२ सालमा संविधान जारी भएपछि नेपाली कांग्रेसको राष्ट्रिय जिम्मेवारीको आयाम अझ विस्तारित भएको छ। त्यसतर्फ नेतृत्वको सघन दृष्टि पुगेको पाइँदैन। मूल कुरो नेतृत्वको क्षमतामा छ र प्रश्न पनि त्यहीँबाट सुरु हुन्छ। जब नेतृत्वले आफ्नै मात्र विचारको केन्द्रबिन्दुमा पार्टीलाई चलायमान बनाउन खोज्छ,अन्य सहकर्मी वा कार्यकर्ताहरूको भावनालाई अवमूल्यन गर्छ,त्यो नेतृत्व समयक्रममा असफल नै हुन्छ। नेतृत्वले सहयात्रीका विचार र भावनालाई उच्च महत्व दिएर अनि आफ्ना विचार र दृष्टिकोणलाई तीभित्रै घोलेर निर्णय गर्ने क्षमता राख्छ भने पार्टीमा नेतृत्वप्रति असन्तुष्टि रहँदैन।

बिपीले यसै चिन्तनलाई मध्यनजर राखेर नेतृत्व गरे। उनको नेतृत्व कुशलताको एक प्रमुख कुँजी पनि त्यही थियो। २०१५ सालको प्रथम ऐतिहासिक आम निर्वाचनपूर्व पार्टीका नेताकार्यकर्तालाई सन्देश दिने क्रममा उनले यस्तो विचार राखेका थिए,‘हामी प्रत्येक प्रश्नमाथि आफ्ना व्यक्तिगत दृष्टिकोणले विचार गर्छाैं। हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्छौं। तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रुचि वा अरूचिका छाया मात्र हुन जान्छन्।’

बिपीले भनेका कुरा अझै उस्तै छन्। २०४८ सालयताको समग्र परिस्थितिमा नेतृत्वको हकमा तात्विक परिवर्तन आएको छैन। यो प्रवृत्तिलाई नेतृत्वले कहिले परिवर्तन गर्ने? मुलुकको मुहार परिवर्तन गर्न बाँकी छ। मुलुकको आर्थिक,सामाजिक दुरावस्था र पछौटेपनमा तात्विक परिवर्तन ल्याउन बाँकी छ,तिनमा विषमताका पर्खालहरू ठडिएकै छन्। ‘समाजवाद’को लक्ष्य लिइएको छ।

एकजनाकै मात्र दृष्टिकोण र निर्णय हाबी भइरहने र सहयात्री/सहकर्मीका विचार र धारणाहरूको अवमूल्यन भइरहने हो भने पार्टीले लिएका राष्ट्रिय उद्देश्यहरू कहिले पूरा हुने? ती उद्देश्यहरू प्राप्तितर्फको यात्रामा नेतृत्व एक्लैले सफलता प्राप्त गर्न किमार्थ सक्दैन। 

पार्टीका निष्ठावान् कार्यकर्ताहरूका साथ नभई नेतृत्व/गुटले मात्रै मुलुकको अनुहार फेर्छु भन्न सम्भव छ र? बिपीले पार्टीका सबै नेताकार्यकर्ताको मन जितेर निर्णय लिने गरेका थिए। फलतः २०१५ सालको आम निर्वाचनमा दुई तिहाइ बहुमतसहित पार्टीले विजय प्राप्त गर्‍यो। १८ महिने कार्यकालमा मुलुकको समग्र क्षेत्रमा विकास र परिवर्तनको आधारशिलाको निर्माण भयो। नेपाली कांग्रेसको कुनचाहिँ नेतृत्वले त्यस्तै सामथ्र्य फेरि देखाउन सक्छ? 

यस्तै,बिपीले पार्टीका नेता तथा कार्यकर्ता पंक्तिलाई जनतामा पुग्न, उनीहरूसँग भिज्न र उत्तरदायित्व लिन आग्रह गरेका थिए। जनताप्रतिको जिम्मेवारी वहन गर्नभन्दा नेतृत्व प्राप्त गर्न बढी रुचि राख्ने कार्यकर्ताहरूको स्वभावले जनता र कार्यकर्ताबीचको दूरी बढाउनेछ भन्दै बिपीले नेतृत्वका लागि मात्र सरोकार नराखी कार्यकर्तालाई जिम्मेवारी वहन गर्न बढी सक्रिय रहन आह्वान गरेका थिए।

वर्तमानमा कांग्रेस कार्यकर्ताले यस कुरालाई गम्भीरतापूर्वक लिएको देखिँदैन। यद्यपि, पार्टीमा आफ्नो जिम्मेवारीलाई बढी महत्व दिने कार्यकर्ता नदेखिएका होइनन्। जनताका आँसुहाँसोमा, सुखदुःखमा नजिकै पुगेर उनीहरूलाई साथ दिने कार्यकर्ता पनि छन्।

अर्को कुरा,बिपीले नेतृत्व र पार्टीका सामान्य कार्यकर्ताबीचको दूरी बढाउने अवगुणको चर्चा गरेका छन्। नेतृत्वले आफूलाई अर्कै तहको ठान्ने र सोझा कार्यकर्तालाई गन्दै नगन्ने प्रवृत्तिले पनि दूरी बढाउने हुँदा नेतृत्वले त्यसतर्फ सचेत रहनुपर्ने पनि बिपीको आग्रह थियो।

नेतृत्वले आफूलाई उपल्लो तहको ठान्ने प्रवृत्तिले पार्टी हित र कार्यकर्ताको भावना पनि सम्मान नहुने उनको विचार रहेको पाइन्छ, ‘...हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्तालाई अर्कै तहको भन्ठान्छौं। जनता र पार्टीकै कार्यकर्ताहरूबीचको यस किसिमको अन्तर आज देखिन थालेको छ।’ बिपीले देखेका त्यसबेलाको अन्तरको भावना वर्तमानमा झन् बढ्दै गएको महसुस हुन्छ।

दुःख पाएका कार्यकर्ताहरूलाई पार्टी नेतृत्वले संरक्षण गर्ने र उनीहरूको पीडामा मलम लगाउनबाट पन्छिने अनि चुनावका बेलामा केहीबेर लोलोपोतो देखाउने प्रवृत्ति बढी देखिन्छ। इमानदार कार्यकर्ताले पार्टीमा उपेक्षित भएको महसुस गरे भने के उनीहरूले नेतृत्वलाई सधैं काँधमा बोकेर मात्र हिँडिरहलान्?  बिपीले कार्यकर्तामा वा नेतृत्व तहमा नै अध्ययनको कमी रहेको महसुस झन्डै ६५ वर्ष पहिल्यै गरेका थिए।

सारतः त्यसमा कुनै सुधार भएको देखिँदैन। त्यसबेला अध्ययन नगरिएका, नयाँ सन्दर्भ र विषयसम्बन्धी न्यूनतम अध्ययन वर्तमानका कार्यकर्ता वा विभिन्न तहका नेतृत्वले गरेका होलान्, जुन बिल्कुलै पर्याप्त हुँदैन।

संकोच नमानी भन्ने हो भने नेपाली कांग्रेसका नेताकार्यकर्ता कसैले पनि न आफ्नो पार्टीको इतिहास सघन रू रूपमा अध्ययन गरेका छन्, न राष्ट्रिय राजनीतिका अनेक पक्षहरूको नै। अध्ययनबिना विचार, तर्क, बौद्धिकता केहीमा पनि सामथ्र्य बढ्न सक्दैन। बिपीले भनेका कुरा नेपाली कांग्रेसका नेताकार्यकर्ता सबैका लागि उनीहरूको राजनीतिक व्यक्तित्व र सामथ्र्य बढाउने सूत्र हुन्।

उनले भनेका छन्, ‘हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पहिल्याउनुपर्छ। हामी त्यसो गर्दैनौं। उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु। यसलाई पनि हामीले हटाउनुपरेको छ।’

बिपीको भनाइ त्यसबेला जति यथार्थपरक थियो, वर्तमानमा पनि उत्तिकै छ। यसका निम्ति नेताकार्यकर्ताले अलिकति मात्र गम्भीर हुने हो भने कांग्रेसको छवि नै अर्कै हुने थियो। सतही कुरा र घटनाक्रमसम्बन्धी सामान्य ज्ञान धेरैलाई भए पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिको सूक्ष्म विश्लेषण गरी त्यस्को आलोकमा पार्टीको नीति, कार्यक्रम एवं रणनीति बनाउन सक्ने सामथ्र्य भएका नेताहरू नेपाली कांग्रेसभित्र कति होलान्? यो उनीहरूले नै आत्ममूल्यांकन गर्ने कुरा हो।

दृश्यमा देखिँदै आएको सत्य भने छिपेको छैन, घोषणापत्रसम्म पनि राम्ररी अध्ययन गर्ने जाँगर नभएका कार्यकर्ताहरूको जमात निःसन्देह ठूलो छ। वास्तवमा अध्ययनशील कार्यकर्ताहरू पार्टीका बलिया खम्बा हुन्। तिनीहरूले मात्रै पार्टीलाई वैचारिक हिसाबले पतनशील हुनबाट जोगाउन सक्छन्।

यसैगरी, बिपीले कार्यकर्ताहरूमा हुनुपर्ने नैतिकताबारे सचेत गराएका छन्। राजनीतिमा नैतिकताको प्रश्न नेपाली कांग्रेसमा मात्रै होइन,सबै पार्टीहरूमा उत्तिकै गम्भीर हिसाबले उठ्दै आएको तितो विगतबाट कोही अछुतो छैन।

यद्यपि बिपी विचारद्वारा सिञ्चित हुँदै वर्तमानसम्म बाँचिरहेको एवं मुलुकको सुदीर्घ भविष्यसम्मको राजनीतिक नेतृत्व गर्न चाहने नेपाली कांग्रेसले पार्टीगत वा राष्ट्रिय राजनीतिका संगीन परिस्थितिहरूमा कसैले पनि गम्भीर प्रश्न तेस्र्याउन नसक्नेगरी उभिइहरनका निम्ति यसले आफूलाई तात्कालिक जोड, घटाउ एवं विजय पराजयका गणितीय खेल एवं लाभहानिको चिन्तनबाट पृथक् राख्न सक्नुपर्छ। व्यावहारिक राजनीतिमा पूर्णतः नैतिकताको अपेक्षा गर्न नसकिने भए पनि समन्वयात्मक मार्ग अवलम्बनको उपाय खोज्ने काम अग्रणी पार्टीको हैसियतमा नेपाली कांग्रेसको रहेको बिपीको भनाइ छ।

उनले नैतिकताबिनाको राजनीति निरर्थक रहने र यसको अभावमा कार्यकर्ताहरूको संघर्षमय जीवनको मर्यादा दुर्बल भएर जाने बताएका छन्, ‘साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताबिनाको राजनीति निरर्थक र अलिनो हुन्छ, त्यसो हुनाले अग्राह्य हुन्छ। हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्‍यौं, गैरइमानदार भएर काम गर्‍यौं र आपसमा अविश्वास गर्‍यौं भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्क जीवनको अर्थ नै के रहन्छ र?’

बिपीको यस भनाइको अन्तर्य बुझ्न कुनै गाह्रो छैन। आपसी अविश्वास एवं अन्तर्घातका पार्टीस्तरीय वा संसदीय निर्वाचनका कैयौं शृंखला पार गरेर नेपाली कांग्रेस यतिबेला १४औं महाधिवेशनमा आइपुगेको छ। राष्ट्रियस्तरमा हुने पालिका, प्रादेशिक वा संघीय निर्वाचनहरू पनि अब टाढा छैनन्।

तिनको पूर्वाद्र्धमा पार्टीगत हिसाबले सम्पन्न हुन गइरहेको १४औं राष्ट्रिय महाधिवेशनले निकट भविष्यका निर्वाचनहरूका लागि पृष्ठाधारको काम गर्छ। राजनीतिमा आफू मात्र योग्य, सक्षम, सामथ्र्यवान् हुँ भन्नु नै असत्यको प्रचार हो। नेपाली राजनीतिमा सत्यलाई छोप्न असत्यको प्रचार बढी गर्ने गरिएको छ। संघर्षशील र इमानदार कार्यकर्ताहरूको मधुरो स्वरलाई ठूल्ठूला ढोलापिटाइले थिल्थिलो पारेर कुल्चनाले पार्टीको सामथ्र्यको आधार मक्किँदै जानेतर्फ जिम्मेवार नेतृत्वले गम्भीर बन्नैपर्ने देखिन्छ।

नेपाली कांग्रेसको नेतृत्व तहमा देखिँदै आएको पारस्परिक अविश्वास र गुटबन्दीका कारणले निम्त्याउने भोलिको परिणति के होला,त्यसको पनि चिन्तन विश्लेषण पनि यसै महाधिवेशनमा हुने निर्वाचनका क्रममा हुनु आवश्यक देखिन्छ।

कांग्रेसजन सबैले आफूलाई बिपीका सच्चा विचारवाहक नै हौं भन्दै आएका छन्। विचारको वाहक त्यसलाई व्यवहारमा उतार्न सके मात्र बन्न सकिन्छ। पार्टी कार्यकर्ताका लागि बिपीले छाडेर गएका विचार र दृष्टिकोणहरू उज्याला अक्षरमा मात्र सीमित रहनु किमार्थ उचित हुँदैन। व्यवहारमा तिनको अनुशरण सर्वत्र अपेक्षित छ। १४औं महाधिवेशनले कांग्रेस नेतृत्व एवं कार्यकर्ताहरूलाई यसतर्फ घोत्लिन प्रेरित गरोस्।

प्रकाशित: २४ मंसिर २०७८ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App