१२ माघ २०७८ बुधबार
विचार

मोही माग्ने ढुुंग्रो लुकाउने: जेन्युइन, कुलिन र लाहुरे कांग्रेसको भिडन्त

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन आउँदो साता हुँदैछ। छ दशकअघि नै पहिलो आमनिर्वाचनमा दुईतिहाइ बहुमत ल्याएर सत्तामा पुगेको यो लोकतान्त्रिक पार्टी राजा महेन्द्रले सैनिक कु गरेपछि अठार महिनामै समाप्त भएको थियो।

तीस वर्षको राजनीतिक संघर्षपछि तीस वर्षअघि प्रजातन्त्र पुनस्र्थापना भयो। वामपन्थीहरूसँग हातेमालो गरेर अन्तरिम सरकार चलाउँदै कांग्रेस बहुमतको सरकार बनाउन सफल भयो तर आन्तरिक विभाजनले पूर्ण कार्यकाल सत्ता सञ्चालन गर्न सकेन। २०४७ सालदेखि २०७८ सालबीच बीस वर्ष बढी कांग्रेस सत्ताको बागडोरमै रह्यो। गएका छ महिनादेखि फेरि सत्तामा छ।

कुनै बखत संगठन, अनुशासन, विचारधाराको प्रभाव देशभर पार्न सक्ने कांग्रेस अहिले कतातिर उद्यत छ? बिपीको राष्ट्रियता,प्रजातन्त्र र समाजवादलाई अहिलेसम्म बोकेका तल्लो तहका कांग्रेसीहरू केन्द्रले अर्कै नीति बोकेपछि रनभुल्लमा परेका छन्।

विचारधारात्मकरूपमा भुत्ते बनेको कांग्रेसले युवा, जाति जनजाति, विकासका क्षेत्रलाई कुन नीति कार्यक्रमले दिशावोध गराउने? कांग्रेस, राप्रपा र मधेसीहरूको एउटै भोट बैंकमा कांग्रेसले आफूलाई कसरी प्रस्तुत गर्ने? संगठनात्मक मूल्य, नीति कार्यक्रम र जनचाहनावारे कांग्रेस धारणा के हो? कमजोर अर्थतन्त्र भएको मुलुकमा कांग्रेसी प्रतिज्ञा कसरी पूरा होलान्?

सबै भन्दा ठूलो पार्टी एमाले सत्ताबाहिर छ,साना दलको वैशाखीमा कांग्रेस सत्तामा छ! पार्टी र अदालतको द्वन्द्व छ। राजनीति बहुदलीय हुनुपर्ने,अदालत बहुदलीय बनिरहेछ ! नीतिबिनाको राजनीति छ। लोकतन्त्र बदनाम भैरहेछ। बिपीका विचार निर्धा र कमजोर बनिरहेछन्। महाधिवेशनको संघारमा उठिरहेका यी अहम् सवाललाई देशभरबाट चुनिएर आएका कांग्रेसीहरूले कसरी संबोधन गर्लान्?

स्वनामधन्य कांग्रेसी बुद्धिजीवीहरू कांग्रेसको यो कुम्भ मेलामा आआफ्नो गुट/उपगुटलाई मध्यनजरमा राखेर अर्ती,उपदेश र सुझाव दिइरहेका देखिन्छन्। हाम्रा राजनीतिशास्त्रका बुद्धिजीवीहरूको विगत हेर्ने हो भने पार्टी क्रियाकलापप्रति ती प्रतिक्रिया मात्र जनाउँछन्।

यो गर्न हुन्छ र हुन्न ठ्याक्कै भन्न, लेख्न र अभिव्यक्त गर्न कहिल्यै सकेको देखिएन। लोकतन्त्रका मूलभूत मूल्य,मान्यता,दर्शन, सिद्धान्त यो हो, यसमा तल–माथि गर्न पाइँदैन भनेर उनीहरूले बोल्न सकेका कतै देखिँदैन। जिब्रो चपाउनु नै विज्ञताको पर्याय बनेको छ।

२०४६ सालदेखिको कांग्रेस गतिविधिलाई ननियाली कांग्रेसलाई बुझ्न सकिँदैन। कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा वामपन्थीहरूलाई समेटेर अन्तरिम सरकार बन्यो। त्यसले समयमै प्रजातान्त्रिक संविधान बनायो। राजा र दरवारले ल्याएको संविधानलाई परास्त पार्‍यो।

तर तिनै सफल प्रधानमन्त्री तथा कांग्रेस सभापति भट्टराईलाई उनैले गराएको चुनावमा कांग्रेसकै अर्का नेताको डिजाइनमा हराइयो। गिरिजाप्रसाद नयाँ सरकारका प्रधानमन्त्री त बने तर तीन वर्ष पनि सरकार चलाउन सकेनन्।

उपचुनावमा आफ्नै पार्टी अध्यक्षविरुद्ध सरकारी सञ्चारमाध्यमबाट लामो संबोधन गरेर चुनाव हराए। आफ्नै बहुमतको सरकार विघटन गरेर उनले मध्यावधि निर्वाचन घोषणा गरे। उनले जति साम दाम दण्ड भेद गरे पनि निर्वाचनमा जनताले गिरिजाप्रसादको एक्लै शासन गर्ने सपना मटियामेट पारिदिए।

एमालेको अल्पमतको सरकार मनमोहन अधिकारीको नेतृत्वमा बन्यो। यसले गर्न लागेको मध्यावधि निर्वाचनको घोषणालाई भने सर्वोच्च अदालतले उल्ट्याइदियो। त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने। माओवादी सशस्त्र युद्ध सुरु भयो। संसदीय राजनीतिमा अपवित्र गठबन्धनको शृंखला देखियो। पूर्व पञ्चहरूको नेतृत्वसमेत स्वीकार्‍यो।

सत्तामा सहभागी बन्यो। विकृति/विसंगतिको आहालमा पुनः प्रधानमन्त्री बन्न असंभव भएपछि कृष्णप्रसाद भट्टराईलाई कांग्रेसले भावी प्रधानमन्त्रीमा सार्‍यो। २०५६ सालको चुनावमा कांग्रेसले संसद्मा बहुमत पायो। तर जब भट्टराई बहुमतका प्रधानमन्त्री बने। छ महिना पनि उनलाई सत्तामा रहन नदिएर कोइराला आफैँं प्रधानमन्त्री बने।

कांग्रेसलाई जनताले दुई–दुईपटक चुनाव जिताए। कांग्रेसले चुनाव जितेपछि आफूलाई समयकालअनुसार सुधार्छ र समाज रूपान्तरण गर्छ भन्ने आश जनतामा थियो। किनभने नेपाली कांग्रेसका बिपी कोइरालालगायतका नेताले देशको सार्वभौमसत्ता राजामा होइन, जनतामा हुनुपर्छ भन्ने बिजारोपण गरेका थिए।

२०४६ सालको जनआन्दोलनको सफलतापछि टुँडिखेलमा आयोजना गरिएको विशाल आमसभामा गिरिजाप्रसादले भनेका थिए,यो जीत पञ्चको पनि हो। त्यसपछि उनले हुटिङ खाए।

लाखौँ जनतामा जागेको गिरिजा विरोधी उत्तेजनालाई आन्दोलनका नायक गणेशमान सिंहले शान्त पारे। तर तिनै गणेशमान र कृष्णप्रसाद भट्टराईलाई पार्टी छाड्ने अवस्थामा पुर्‍याइयो। अहिले बिपी, सुवर्णशमशेर,गणेशमान, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराईको तस्बिर कांग्रेसी सभाहरू र साहित्यमा छापिन्छन् तीमध्ये बिपीबाहेक अरू नेता रोएर बाहिरिएको सत्य हो।

२०५८ सालमा राजाले सत्र सालमा जस्तै सेनाको बलमा सत्ता अपहरण गर्ने, कांगे्रस फुटाउने, धरपकड गरेर निरंकुशता लाद्ने कामको विरुद्धमा भने गिरिजाप्रसाद खह्रो उत्रिए। सशस्त्र युद्ध गरिरहेको प्रचण्ड नेतृत्वको माओवादीसहित दलीय गठबन्धन बनाएर नयाँ दिल्लीमा बाह्रबुँदे संझौता गिरिजाप्रसादकै नेतृत्वमा भएको थियो। 

राजा २०६२/६३ को जनआन्दोलनमा पराजीत भएपछि कोइराला देशको सर्वेसर्वा बने। माओवादीलाई चुनाव नै नलडीकन संसद्मा ८२ सिट दिए। गणतन्त्र नेपाल घोषणा भयो। संविधानसभाको निर्वाचन भयो। माओवादी देशको ठूलो पार्टी बन्यो। प्रधानमन्त्री प्रचण्ड बने।

तर आफूलाई प्रथम राष्ट्रपति बनाउने सहमतिविरुद्ध प्रचण्डले रामराजा सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि झसंग भएका कोइरालाले चर्चामै नरहेका डा.रामवरण यादवलाई राष्ट्रपति बनाए। प्रजातान्त्रिक नाम राखेर फुटेको कांग्रेसका शेरबहादुरलाई कांग्रेसमा समाहित पनि गराए तर पहिलो राष्ट्रपति बन्ने आकांक्षा पूरा नभएपछि राजनीतिबाट कोइराला किनारा लागे।

पहिलो संविधानसभाले संविधान बनाएन। दोस्रो संविधानसभाको निर्वाचन भयो। कांग्रेस बहुमत नभए पनि ठूलो पार्टी बन्यो। सुशील कोइरालाको नेतृत्वमा एमाले, माओवादीको मिलिजुली सरकार बन्यो र २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो। सुशील कोइरालालाई पार्टी सभापतिमा पराजीत गरेर शेरबहादुर देउवा कांग्रेसको सभापति बने।

२०७४ सालमा आमनिर्वाचन गराउने प्रधानमन्त्री पनि देउवा नै थिए। तर कांग्रेसको पराजय भयो। केपी ओली झण्डै दुईतिहाइ मत पाएर प्रधानमन्त्री बने। त्यसपछि गत वर्षदेखि देशमा भएको राजनीतिक उथलपुथलको ज्ञाता पाठकहरू स्वयम् हुुनुहुन्छ। यही सन्दर्भमा कांग्रेस महाधिवेशन मंसिर २७–२९ मा हुन गैरहेछ।

कांग्रेस इतिहासको चर्चा यो आलेखमा किन गरिएको हो भने यी तथ्य र तथ्यांकहरूको आधारबिना कांग्रेसलाई न चिन्न सकिन्छ न त यसभित्रका ‘अन्डर करेन्ट’ हरूलाई पहिल्याउन नै। कांग्रेसमा गिरिजाप्रसादको अवसानपछि सुशील कोइराला, शैलजा आचार्य, शेरबहादुर देउवा र रामचन्द्र पौडेल नयाँ पुस्ताको बिम्बका रूपमा देखापरे।

शैलजाको निधनपछि सुशील, शेरबहादुर र रामचन्द्र (एसएसआर) को नेतृत्वमा कांग्रेस रह्यो तर २००७ सालको क्रान्तिपछि पनि रूपान्तरण हुन नसकेको कांग्रेसमा ऐठन र उकुसमुकुस मुखरित हुन छाडेन। कांग्रेस सत्तामा छ। नेकपा फुटाएर माओवादी र माधव नेपाल समूहको वैशाखी टेकेर बनेको सरकारले कत्ति पनि डेलिभरी गर्न सकिरहेको छैन। यस्तो अवस्थामा पार्टीको महाधिवेशनको कुम्भ मेला चार दिनपछि सुरु हुँदैछ।

महाधिवेशनले रौनक दिन सकेको छैन। महाधिवेशन प्रतिनिधि को बन्ने र को नेतृत्वमा पुग्ने भन्नेमा मात्र अधिवेशनको माहौल केन्द्रित रहेको देखिन्छ। गुटैगुटको चरम द्वन्द्वले गोली चल्ने, कुटपिट हुनेसम्मका हर्कत भैरहे। पार्टीको नीति,कार्यक्रम र योजनाबारे विचारधारात्मक बहस, छलफल र नयाँ–नयाँ योजना ल्याउने प्रतिस्पर्धा कांग्रेसमा शून्य छ।

महाधिवेशनमा खारिनुपर्ने विचार गौंण छ। सत्तामा कांग्रेसजन केन्द्रित छन्। त्यसैले कांग्रेसमा उकुसमुकुस छ। वास्तवमा कांग्रेसका विचार, सिद्धान्त र कार्यक्रमबारे अधिवेशनमा होइन, वाहिर मात्र झिनु सुनिँदैछ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वेप्रसंगमा गाइएको गीत जस्तो लाग्छ। यो रत्यौलीले शेरबहादुर देउवालाई पुनः नेतृत्वमा विराजमान गराउने प्रायः निश्चित छ।

कांग्रेसको शक्ति संघर्ष अघिल्लो महाधिवेशनमा यही स्तंभमा पर्घेल्ने प्रयत्न गरिएको थियो। तर पार्टी मौन रह्यो। कांग्रेसभित्रको ‘जेन्युइन’, ‘कुलिन’ र ‘लाहुरे’ प्रवृत्तिलाई देखेको नदेख्यै गरेर एकापसमा हिलो छ्यापाछ्यापलाई प्रश्रय दिइयो।

वास्तवमा जेन्युइन कांग्रेस नै वास्तविक कांग्रेसी हुन्। कुलिन, कुलका सन्तान हुन्। यिनको योगदान भनेको पदधारी कांग्रेसीको सन्तान हुनु मात्रै हो। यिनको योगदान जेन्युइनको तुलनामा रौँ जति पनि छैन। लाहुरे भनेका चैते कांग्रेसी हुन्। कांग्रेस सत्तामा आएपछि सत्ताको लाभ लिएर सामाजिक हैसियत बनाएका ठेकेदार, बिचौलिया, डन, माफिया, दलालहरू हुन्।

पञ्चायतका मण्डलेहरू पनि हुन्। यिनको हालीमुहाली सकल कांग्रेसमा छ। अहिले पनि कुलिन र लाहुरे अर्थात चैते प्रवृत्तिकै चक्रब्यूहमा जेन्युइन कांग्रेस अलमलिएर नारायणहरि भैरहेका छन्। कुलिन र लाहुरेको प्रलोभनमा परेर पाखा लागिरहेको छ। जेन्युन फेरि पाखामा पारियो भने लाहुरे सबैतिर हावी हुनेछ।

जेन्युइन तप्काले कांग्रेसलाई बचाइरहेको छ। जेन्युइन कांग्रेसी नै युवा कांग्रेसी हुन्। परिवर्तनकामी हुन्। मुलुकलाई परिवर्तन गर्ने चुरो यिनीसँग मात्रै छ। गुरु घिमिरे, गगन थापा, विश्वप्रकाश, बद्री पाण्डे, सुरेन्द्र पाण्डेलगायतका जाज्वल्यमान प्रतिनिधि पात्र हुन्। तर यिनलाई कहिले कुलिन कांग्रेसीले कहिले लाहुरे कांग्रेसीहरूले प्रयोग गरेको गर्‍यै छ। शेरबहादुर र रामचन्द्र पौडेल पनि जेन्युइन कांग्रेस हुन्।

तर शेरबहादुर देशव्यापी संगठनमा पकड जमाउन सफल भए पनि लाहुरे गणले भरथेग गरेको छ। जेन्युइन भएर पनि रामचन्द्र कुलिनहरूको पुच्छर बनिरहेका छन्। जेन्युइनमा रहेका टेक्नोक्रेट नेचरका अनगिन्ती कांग्रेस अरूले लिड गरिदिए भने तिनको बलियो खम्बा बनिन्छ भनेर च्याँखे थापिरहेका छन्। तिनको नाम पाठकहरू आफैँ पहिल्याउन सक्नुहुनेछ।

यो अधिवेशनमा अहिलेसम्मका गतिविधि र क्रियाकलापलाई मध्यनजर गर्दै छातीमा हात राखेर भन्ने हो भने अहिलेको भिडन्त र समीकरणका नाइके नै लाहुरे कांग्रेसी हुन्। यिनले र केही कुलिन कांग्रेसीले जेन्युइनलाई प्रयोग गरिरहेका छन्। त्यसैले जेन्युइन कांग्रेसीहरू रत्यौलीका मारुनीझैँं कहिले यता कहिले उता नाचिरहेकाझैँ देखिन्छन्।

तर मारुनीको शृंगार उतारे भने जेन्युइनले रूपान्तरणको सोच र कार्यक्रम अगाडि सार्न सक्छन्। उनीहरूले वामपन्थीहरूले जस्तै प्रगतिशील कार्यक्रम अगाडि सारेर समाज रूपान्तरण गर्ने प्रशस्त संभावना बोकेका छन्। तर लाहुरे र कुलीनको झिलिमिलीको रनभुल्लबाट उनीहरू मुक्त हुनुपर्छ।

यिनको अग्रसरताले मात्रै झिना मसिना भुरे टाकुरे व्यक्तिप्रधान दलहरूरू पनि मूलधारमा नलागी सुख पाउन्नन्। जेन्युइनले मात्र कांगे्रसलाई अगाडि बढाउन र पार्टीको आयतन बढाउन सक्ने सामथ्र्य राख्छ। यो महाधिवेशनमा जेन्युइनले आफूलाई, आफ्नो शक्ति पर्गेल्न, सम्हाल्न र मार्गदर्शन गर्न सकून्। 

त्यसैले अहिले पनि समय छ, जेन्युइनले विशृंखलित नभइ चालु अधिवेशनमा कुलिन र लाहुरेलाई जबर्जस्तरूपमा आफ्नो नीति कार्यक्रमको पछाडि लगाउन सक्नुपर्छ। यसो गर्न सकियो भने कांग्रेस र देशको रूपान्तरणका साथै वामपन्थीहरू पनि बढी लोकतान्त्रिक हुन सक्नेछन्। कांग्रेसले माओवादी र माधव नेपालको भरिया पनि बन्नुपर्दैन।

प्रकाशित: २२ मंसिर २०७८ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App