१० कार्तिक २०७७ सोमबार
विचार

साहसी सम्पादक ब्राड्ली

बेञ्जामिन सी. ब्राड्ली आफ्नो जीवनकालमै अमेरिकी पत्रकारिताजगत्मा विशिष्ट व्यक्तित्व भइसकेका थिए। त्यसैले कार्तिक ४ गते (२१ अक्टोबर) उनको निधन हुँदा आफ्नो पूर्वसम्पादक गुमाउने 'वासिङ्गटन पोस्ट' अखबार प्रभावित भएन। ब्राड्ली ९३ वर्षको उमेरमा कालगतिले बितेका भए तापनि उनको देहावसानको खबर अमेरिकाभरि शीर्ष समाचार बन्यो; बाँकी विश्वका सञ्चारमाध्यमले पनि ब्राड्लीको निधनबारे सचित्र संवाद प्रकाशित, प्रसारित गरे। उनको निर्भीक पत्रकारिता चर्चाको सेरोफेरोमै छ।


तेइस वर्ष 'वासिङ्गटन पोस्ट' को सम्पादक रहेर सन् १९९१ म्ा अवकाश लिइसकेका ब्राड्लीको निधनमा राष्ट्रपति बाराक ओबामाले आफैँ वक्तव्य दिए, पोहोर साल (नोभेम्बर २०१३) आफूले उनलाई 'प्रसिडेन्सीएल मेडल अफ फ्रिडम' नामक पदकबाट विभूषित गरेको प्रसङ्ग उल्लेख गरे। ओबामाको विचारमा ब्राड्लीले पत्रकारितालाई पेसामा सीमित राखेनन्, जनसेवा केन्द्रित गराए। लोकतन्त्रको लागि अत्यावश्यक सेवा उपलब्ध गराउने माध्यम बनाए। यसक्रममा राष्ट्रपति ओबामाले ब्राड्लीको नेतृत्वमा वासिङ्गटन पोस्टले गरेका दुइटा कामको सन्दर्भ उल्लेख गरेका छन् : – १. 'पेन्टागन पेपर्स' नामक गोप्य राख्न खोजिएको त्यो दस्तावेज जनसमक्ष पुर्यालए जसले भियतनाम लडाइँमा अमेरिकी संलग्नताको विवरण समेटेको थियो। २. डेमोक्य्राटिक पार्टीको सम्मेलनस्थल वाटरगेट भवनमा रिपब्लिकन राष्ट्रपति रिचर्ड निक्सनको आदेशमा जासुसी कार्य गराइएको थियो।
पेन्टागन पेपर्स पहिले 'न्युयोर्क टाइम्स' ले सिलसिलेवार ढङ्गले छाप्न सुरु गरेको थियो। लगत्तैजसो ती कागजपत्र 'वासिङ्गटन पोस्ट'ले पनि आफ्नो स्रोतबाट प्राप्त गरेर छाप्ने तयारीमा लाग्यो। त्यही बीचमा निक्सन सरकारको न्याय विभागले अदालतमार्फत् आदेश गराई 'राष्ट्रिय सुरक्षामा असर पर्ने' भनेर विवरण प्रकाशनमा रोक लगायो। दुइटै अखबारले अदालती लडाइँ कस्सिएर लडे र जिते पनि। सन् १९७१ को ३० जुनका दिन सर्वोच्च अदालतले बहुमतको फैसला (६–३) द्वारा पेन्टागन पेपर्स प्रकाशन खुला गरिदियो। त्यस मुद्दामा प्रकाशिका क्याथरिन ग्राहमले अनेक प्रकारका दबाब सहेरै पनि सम्पादक ब्राड्लीलाई समर्थन गरेकी थिइन्। त्यसबखत ब्राड्लीले सम्पादकको जिम्मेवारी सम्हालेको तीन वर्ष भएको थियो। त्यअघिका तीन वर्ष उनी त्यहीँ प्रबन्ध सम्पादक थिए। उतिखेर पोस्ट राष्ट्रिय स्तरको अखबार भैसकेको थिएन।
दक्षिण एसियाको राजनीतिक इतिहास केलाउनेहरूले पेन्टागन पेपर्सको घटना बङ्गलादेशको जन्म भएको वर्षमा भएको भनेर सम्झना गर्दा होलान्।
वाटरगेट काण्डको भण्डाफोर चाहि" 'वासिङ्गटन पोस्ट' एक्लैले गरेको हो। राष्ट्रपति निक्सनका ज्यादती, कानुनतः झूठो मानिने वक्तव्यहरूको खोजी गर्ने, खोतल्ने काम ब्राड्ली र उनका दुई विश्वासी संवाददाता कार्ल बर्नस्टाइन र बब उडवर्डले गरेका हुन्। प्रकाशिका ग्राहमले ब्राड्लीलाई निरन्तर साथ दिइन्; अनेकानेक बाधा, व्यवधान आए तर हतास भइनन्। धैर्य छोडिनन्। निक्सनको स्थिति नाजुक भयो र संसद्मा 'महाअभियोग' को प्रक्रिया अघि बढ्ने भयो। अनि बाध्य भएर सन् १९७४ मा उनले राजीनामा गरे। त्यो घटनापछि वासिङ्गटन पोस्ट अखबारको स्तर वृद्धि भयो। यो राष्ट्रिय महत्वको प्रकाशन भयो। आम्दानी २० गुणाले वृद्धि भयो। प्रकाशिका ग्राहमले साप्ताहिक प्रकाशन 'न्युजविक' समेतको व्यापार वृद्धि गर्न सफलता पाइन्। उनको सामाजिक प्रतिष्ठा र राजनीतिक प्रभावमा टड्कारो बृद्धि भएको जानकारी समसामयिक प्रकाशनबाट पाइन्छ। वाटरगेटबारे 'अल द प्रेसिडेन्टस् मेन' (सबै राष्ट्रपतिका मानिसहरू) नामक चलचित्र नै बनेको छ।
माथि सङ्केत गरियो, प्रकाशिका ग्राहमले ब्राड्लीलाई 'पोस्ट' मा नियुक्त गर्नुअघि त्यो छापा स्थानीयस्तरको थियो। त्यसका प्रतिस्पर्धी छापा स्थानीयस्तरका भएकाले त्यसो भनिएको होला। तर ब्राड्लीको आगमनसँगै यो 'न्युयोर्क टाइम्स' को हाराहारीमा आउने दैनिक अखबार बन्यो। विशेषगरी वाटरगेटको धाँधली जनसमक्ष पुर्याथउने सन्दर्भमा विश्वविख्यात नै भयो। सके यसै पक्षलाई ध्यानमा राखेर होला, राष्ट्रपति ओबामाले 'पोस्ट' लाई मुलुकको एक अग्रणी अखबारमा परिणत गरेको श्रेयसमेत ब्राड्लीलाई दिएका छन्। ब्राड्ली आफैँले चाहिँ अखबारको स्तरोन्नतिमा गहन योगदान प्रकाशिका ग्राहमको भएको मानेका छन्। सन् २००१ मा ग्राहमको निधन भएका बखतको टिप्पणीमा त्यतिखेरका वासिङ्गटन पोस्ट कम्पनीका उपाध्यक्ष ब्राड्लीले प्रकाशिकाको आँट र अठोटको प्रशंसा गरेका छन्।
ब्राड्लीबारे बेलायतको 'गार्डियन' पत्रिकामा आइतबार प्रकाशित एक आलेखमा उनी औसत पत्रकारमा हुनुपर्ने गुणले युक्त अमेरिकी थिए भनिएको छ। अर्थात् उनलाई तथ्यगत कुरा, गोप्य राख्न खोजिएका विवरण र जनसाधरणको जीवनसित सरोकार भएका विषयमा मात्र रुचि रहन्थ्यो। दाउपेचको राजनीति र त्यससित गाँसिएका विषयमा त्यतिबिघ्न चासो राख्दैनथे। बेलायतमा नै छापिने साप्ताहिक 'द इकोनोमिस्ट' ले वाटरगेट घटना सार्वजनिक गर्नुलाई 'देशभक्ति' जनाउने कार्य भनेको छ। यद्यपि त्यसपछिको अमेरिकाका अनुदार (कन्जरभेटिभ) राजनीतिज्ञहरूले प्रेसलाई परचक्री सम्भि्कने प्रवृत्ति व्याप्त भएर आएको 'इकोनोमिस्ट' को मूल्याङ्कन छ। अमेरिकाको 'न्युयोर्कर' पत्रिका लेख्छ : ब्राड्ली सम्पादक छँदा प्रेस अर्कै युगमा थियो। त्यस बखत न इन्टरनेट थियो न टुइटर। एक हिसाबले उनी सहज ढङ्गले आफ्नो योजना कार्यान्वयन गराउन सक्ने, पाउने अवस्थामा थिए। ब्राड्ली निकट रहेर, उनका सहयोगी भएर काम गर्नेहरूले आआफ्ना संस्मरणमा उनको पारिवारिक र शैक्षिक पृष्ठभूमिले पनि उनलाई आत्मविश्वासको साथ काम गर्ने वातावरण दिएको लेखेका छन्। हावर्डको पढाइ र नौसेनाको अनुभवले उनलाई थप साहसी बनायो। शारीरिक सुगठन र उचाइको लाभ पनि ब्राड्लीले उठाए। कसैकसैले सिपाहीबाट सम्पादक भएको व्यक्ति भनेर ब्राड्लीलाई चिनाउँछन्।
सार्वजनिक ओहोदामा बसेर, शपथ लिएर पनि झूठो बोल्ने व्यक्तिका बारेमा ब्राड्लीको विचार कठोर रहनेगर्थ्यो। प्रभावशाली व्यक्ति भनेर कसैप्रति पनि उनी नरम नीति अँगाल्दैनथे। सन् १९९७ को आरम्भमा क्यालिफोर्नियाको युनिभर्सिटी अफ क्यालिफोर्निया, रिभरसाइडमा दिएको प्रवचन पछि एउटा पुस्तिकाको रूपमा छापिएको रहेछ।
त्यो पुस्तिका मैले पनि पढ्न पाएको थिएँ। भियतनामसम्बन्धमा एउटा खास प्रकारको नीति अख्तियार गर्न सरकारले जनतालाई ढाँटेको विषयमा ब्राड्लीले चर्को आक्रोश पोखेका छन्। राष्ट्रपति जोन्सन र उनका प्रतिरक्षामन्त्री रबर्ट म्याक्नामाराको दोहोलो काढेका छन्। भन्छन् : सन् १९६४ मा रक्षामन्त्रीले भियतनाम भ्रमण गरेर फर्किंदा परिस्थिति सुधि्रन लागेको छ भनी प्रेसमार्फत् अमेरिकी जनतालाई भने, तर यथार्थ बेग्लै रहेछ। सात वर्षपछि थाहा भयो। सुरुमै वास्तविकता बताइएको भए नीति अर्कै हुन्थ्यो, हजारौं अमेरिकी (सैनिक) र हजारौं एसियालीको ज्यान जोगिने थियो। सन् १९९६ मा संसद्का सभामुख न्युट गिन्गरिचले कसरी जनतालाई ढाँटे त्यसको चर्चा पनि ब्राड्लीले गरेका छन्। भन्छन् : राष्ट्रपतिको पद खाली हुँदा त्यहाँ पुग्न पाउने तेस्रो व्यक्तिको हालत यस्तो छ।
बेन ब्राड्ली झुठो बेहोरा वा वक्तव्यलाई जस्ताको तस्तै प्रस्तुत गर्ने समाचारदातालाई मतियार ठान्दछन्। तसर्थ, सावधान गराउँछन्। सत्य कहाँछेउ छ त? हो, त्यही प्रश्नको उत्तर खोज्न हामीलाई यस पेसाले तानेको हो। ब्राड्ली यो मान्यताबाट पछि हटेनन् र उनले यसबाट आफ्ना सहयोगीलाई पनि पछि हट्न दिएनन्।
ब्राड्ली पत्रकारहरूले कुनै संवेदनशील विषयमा सूचना/समाचार प्रवाह गर्दा संयमित हुनुपर्छ भन्ने सोचसित सहमत छैनन्। समाचारको असरबारे पत्रकारले चिन्ता लिनुपर्दैन भन्ने उनको कथन छ। यस उद्धरणले ब्राड्लीको दृष्टिकोण प्रष्ट पार्छ : 'अन्तस्करणको आवाजबाट निर्देशित भई न्यायसम्मत ढङ्गले सत्यतथ्य सूचना प्रवाह गर्ने पत्रकारले सम्भाव्य असरबारे चिन्ता लिइरहनुपर्दैन।'
के नेपालका प्रकाशक (लगानीकर्ता) क्याथरिन ग्राहमजस्तो दह्रो, लायक, पेसाप्रति प्रतिबद्ध पत्रकारलाई सम्पादकको जिम्मेवारी दिएर आफ्नो अखबारको विश्वासनीयता कायम गराउन अग्रसर होलान्? प्रष्टै छ, 'साहुजीका सम्पादक' हुन राजी हुने व्यक्तिले ब्राड्लीजस्तो हार्वर्डमा पढेको भएपनि अखबारको स्तर र वितरण–संख्या (सर्कुलेसन) बढाउन सत्तै्कनन्। अखबारसित गाँसिएको विज्ञापन आफैँमा व्यापार हो र त्यसको अतिरिक्त 'ठेक्कापट्टा' लगायतका अरू प्रकारका व्यापारमा समेत हात हालेका लगानीकर्ताबाट त झन् पत्रकारिताको विकास हुने कुरै भएन। यस्तो प्रवृत्ति अचेल रेडियो, टेलिभिजन माध्यमतिर टड्कारो देखिन्छ।
यस्तो अवस्थामा विश्वासनीय माध्यमको खोजी गर्ने पाठक, श्रोता, दर्शक समुदायले के गर्ने? परिस्थितिमा दीर्घकालीन सुधार आउने लक्षण नदेखिएसम्म प्रकाशक र सम्पादक एउटै व्यक्ति भएका माध्यम चयन गर्ने। किनभने लगानी सुरक्षित राख्दै आँटिलो सम्पादकीय पद्धतिको सञ्चालन तिनैले गरिरहेको देखिन्छ। अधिकारिकताको लागि सरकारी माध्यम छँदैछन्।

प्रकाशित: १२ कार्तिक २०७१ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App