२० आश्विन २०७९ बिहीबार
विचार

मोही माग्ने ढुंग्रो लुकाउनेः रूपान्तरणको संघारमा एमाले

नेकपा एमाले मूलधारको राजनीतिक शक्ति हो। यतिखेर यो दल महाधिवेशनमा होमिएको छ। देशभरबाट महाधिवेशनस्थल चितवनमा भेला भएका ८ लाख सदस्यबाट निर्वाचित प्रतिनिधिहरूलाई पार्टीमा रक्तसञ्चार गराउँदै नयाँ नेतृत्व चुन्ने दुर्लभ अवसर प्राप्त भएको छ।

नेकपा एमाले देशको प्रमुख प्रतिपक्षी पार्टी पनि हो। मुलुककै सबैभन्दा ठूलो पार्टी भएकाले सबै पक्षको ध्यान दसौं महाधिवेशनमा केन्द्रित छ। यसका शुभचिन्तक,प्रतिस्पर्धी र आम नागरिकसमेतले चासो, चिन्ता र सरोकार व्यक्त गरिरहेका छन्– चितवन महाधिवेशनले कस्ता निर्णयहरू गर्ला? दसौं महाधिवेशन एमाले रूपान्तरण गर्ने अपूर्व ऐतिहासिक अवसर हो।

नेपाली समाज रूपान्तरणको जुन रफ्तारमा छ, यसलाई नेतृत्व गर्न सक्नु भनेको चानचुने कल्पना र अभ्यासले सम्भव छैन। ‘ग्लोबल–डिजिटल’ रफ्तारलाई पहिचान गरेर अगाडि बढ्ने मार्गप्रशस्त गर्नु लर्तरो दृष्टि, योजना र कार्यक्रमबाट सम्भव हुन सक्दैन। असल, इमानदार, चनाखो र कर्तव्यनिष्ठ नेतृत्वबिना एमाले रूपान्तरण सम्भव पनि छैन।

यो रूपान्तरणको ‘ड्राइभिङ फोर्स’ पार्टी अध्यक्ष केपी ओली नै हुन्। उनले पुष्पलाल,मनमोहन, मदन भण्डारीको बिरासत बोकेका छन्। अनेकन् मोडमा अलमलिएको एमालेलाई नेतृत्व प्रदान गरेर संकटका बेलामा पार्टीलाई सग्लो उतारेको इतिहास छ। दृढ आत्मबल, आत्मस्वाभिमान र देश तथा जनभक्ति नै उनको अहिलेसम्मको जीवनको लगन हो।

राजनीतिक इतिहासको जटिल अवस्थामा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेकाले नै एमालेजस्तो जनाधार भएको पार्टीको अध्यक्ष बन्न ओली सफल बनेका हुन्। तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला सरकारको समयमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि भारतले लादेको ज्यानमारा नाकाबन्दीको सामना गर्ने अप्ठेरो जिम्मेवारी केपी ओलीको पहिलो प्रधानमन्त्रित्वकालको पहिलो दिनदेखि नै आइपर्‍यो।

उनले २०७२ सालको भुइँचालोले थिलथिलो भएको देशको नेतृत्व लिएपछि उत्तरी छिमेकीतर्फ बाटो मात्र खुलाउने सफलता पाएनन् कि प्रशान्त महासागरसम्म जाने मार्ग दिन चीनलाई सहमत पनि गराए। भारत पनि नाकाबन्दी फिर्ता लिन बाध्य भयो। 

त्यसपछि त चीन र भारतका शीर्षस्थ नेतृत्वले निरन्तर भ्रमण गरिरहने भूमि नै बन्यो नेपाल ! नेपाली राजनीति र विकासमा उनले ल्याएका ‘प्याराडम सिफ्ट’ अनेक अर्थमा दूरगामी महत्वका छन्। दोस्रो कार्यकालमा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको चुच्चे नक्सा जारी गरी संविधानको अंग बनाएर राष्ट्रिय एकतासमेत प्रस्तुत गरेका थिए।

पछिल्लो समयमा नेपाली राजनीतिमा आएका उतारचढाव र नेकपा तथा एमालेमा आएका विभाजनले मुलुकलाई फेरि एकपटक संगीन अवस्थामा पुर्‍याएको हो। १५ वर्षसम्म एमालेको नेतृत्व गरेको मात्र होइनन्,प्रधानमन्त्रीसमेत बनेका माधव नेपाल अर्कै पार्टी बनाएर बाहिरिएका छन्।

एकीकरण भएको माओवादी पार्टी प्रतिस्पर्धी बनेको छ। यस्तो अवस्थामा पार्टीलाई सुदृढ गरेर देशको ठूलो र अग्रगामी पार्टीका रूपमा राखिरहने चुनौती र अवसर एमाले नेतृत्वमाथि छ। यो चुनौतीलाई अवसरमा बदल्न अध्यक्ष ओलीले मात्र सक्छन्,किनभने उनको अबको उत्तराधिकारी नै नयाँ पुस्ता हो। नेपाली राजनीतिक रंगमञ्चमा ओली मात्र त्यस्ता शीर्षस्त नेता हुन्, जसको कुनै युवराज, राजकुमार र राजकुमारी छैनन्।

पुष्पलाल, मनमोहन र मदन भण्डारीको विरासत बोकेका मात्र होइनन्, उनी आफैं कठोर जेलनेल यातना भोगेका नेता पनि हुन्। एमालेका कालजयी वक्ता, बहुदलीय जनवादका प्रणेता र बदलिँदो परिप्रेक्षमा वामपन्थी शक्तिलाई समाज रूपान्तरणका लागि मार्गप्रशस्त गर्ने आइकोनिक नेता मदन भण्डारीको निधनपछि एमाले हराउँछ कि भन्ने आशंका व्यक्त भइरहेको बेला ओलीले समन्वयकारी राजनीतिक र संगठनात्मक भूमिका निर्वाह गरेका थिए। वामदेव गौतमले पार्टी फुटाउँदा एमाले जोगाउने प्रमुख रणनीतिकार, योजनाकार उनी नै थिए।

२०४६ सालको परिवर्तनपछि २०५१ सालमा बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार नै नेपालको त्यस्तो पहिलो सरकार हो, जसले राजनीतिक–सामाजिक रूपान्तरणको सुरुवात गर्‍यो, जनताका छोराछोरीलाई शासनसत्तामा पुर्‍यायो। नयाँ विकास, सुशासन र परिवर्तनको त्यो स्वर्णिमकालमा ओली देशका गृहमन्त्री थिए।

ओलीको प्रशासनिक एवं कार्यकारी क्षमता प्रदर्शनको पहिलो शुभारम्भ त्यहीबेला भएको थियो। पूर्वाग्रही नभईकन भन्ने हो भने उनमा रहेको आँट,साहस र प्रतिबद्धताको झल्को त्यतिबेलै देखिएको हो। यसैको विकसित रूप हो, गणतन्त्रको पहिलो स्थानीय निर्वाचनको परिणाम देखेपछि कसैले कल्पनासमेत नगरेको गठबन्धन प्रवृत्तिको उच्चतम प्रयोग ओली नेतृत्वको एमालेले नै गर्‍यो।

माओवादीजस्तो पार्टीलाई एमालेमा एकीकृत गराएर ‘स्टार्टिजिक र ट्याक्टिकल’ कदम ओलीले चाले। त्यसपछि भएको प्रदेश र संघीय निर्वाचनमा मुलुकलाई स्थिरता,स्थायित्व दिने र विकासले लय लिने कुरामा मतदातालाई विश्वस्त बनाए। नभन्दै नेपालको वामपन्थी इतिहासमा झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेर गणतन्त्र नेपालको पहिलो कार्यकारी प्रमुख उनी बने। सशस्त्र युद्ध गरिरहेको माओवादी विप्लव र विखण्डनवादी आन्दोलन गरिरहेका सिके राउतलाईसमेत मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याए।

ओली कार्यकालमा कमजोरी हुँदै नभएको भने होइन। उनले विश्वास गरेका घेरावालले गरेको ‘एब्युज’बारे पत्तो पाउन सकेनन्। त्यो थाहा पाउन सकेको भए ठुल्ठुला राजनीतिक दुर्घटना त्यतिबेलै रोकिन सक्थे।

सरकारको समय पनि झिनामसिना विषयमा खेर जाँदैनथ्यो। आफ्नैहरूले गरेको घेराबन्दीका कारण जनताको अभिमत र पहुँचसम्म उनी पुग्न सकेनन्। माफिया, ठेकेदार, दलाल, बिचौलिया, भ्रष्टहरूको स्वार्थी समूहले एब्युज गरेको पत्तै पाएनन्। निर्धक्क बोल्ने र खुला व्यवहार गर्ने ओलीलाई उनका विश्वासिलाहरूमार्फत नै भ्याइदिए।

यी सबै कुराको विश्लेषण, व्याख्या र कारणहरू पहिल्याउने अवसर हो पार्टीको महाधिवेशन। पार्टी जीवनमा आउने यो यस्तो दुर्लभ अवसर हो, जुन समाज रूपान्तरणका लागि कोसेढुंगा साबित हुन सक्छ। जसले विगतका कमजोरीलाई सुधार्ने र मूल एजेन्डामा लाग्ने मार्गप्रशस्त गर्छ।

 त्यसैले पार्टीको दसौं महाधिवेशन नयाँ युगलाई हाँक्ने र पार्टीले पारित गरेको नीतिनियम र कार्यक्रमलाई कार्यान्वयन गर्न नेतृत्व छान्ने अपूर्व अवसर हो। एमालेका ८ लाख सदस्यमध्येबाट छानिएका करिब ३ हजार डेलिगेट सिंगो समाज र मुलुकलाई नै रूपान्तरण गर्ने संकल्प बोकेर सौराहाबाट फर्किनुपर्छ। केही साताअघि गोदावरीमा सम्पन्न विधान अधिवेशनले तयार गरेको सिद्धान्त, नीति र संगठनात्मक स्वरूपअनुरूपको नेतृत्व र कार्यक्रम तय गर्न सकेन भने समाज रूपान्तरणको गति फेरि पनि अलमलिन सक्छ।

राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, सुशासन, विकास र परराष्ट्रनीतिले अवलम्बन गरेका प्रस्ट मार्गचित्रसहितको कार्यक्रम र नेतृत्व चुनी मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्ने अठोटका साथ निस्कन सके मात्रै अबको निर्वाचनमा पहिलो पार्टी र समाज रूपान्तरणको नेतृत्व गर्ने पार्टी नै एमाले बन्न सक्छ।

धेरै आयामहरू छन्, जसको सन्तुलित व्यवस्थापनबाट मात्रै हाम्रो जस्तो पिछडिएको समाज रूपान्तरित हुन सक्छ। सयौं वर्षदेखि अहंकारी, सन्की, बेवकुफ, दम्भी, निरंकुश तथा कमन सेन्ससमेत नभएका शासक र तिनका झुन्डहरूको रजगज भएको नेपाली समाज रूपान्तरण गर्न लर्तरो कार्यक्रम संगठन नेतृत्व र निष्ठाबिना सम्भव छैन। यो कुरा उपस्थित प्रतिनिधिहरूले मनन गर्नु जरुरी छ।

चितवन महाधिवेशन एमालेको त्यस्तो निर्णायक अधिवेशन बन्नुपर्छ, जसलाई अलमलिने छुट छैन। गुटबन्दी व्यवस्थापनमा रंमगिने बहानाबाजी प्रतिनिधिलाई पनि छैन। एक्काइसौं शताब्दिको दोस्रो दशकको पार्टी व्यवस्थापन ‘पार्कोटेको जन्ती व्यवस्थापन’ जस्तो अराजकता व्यवस्थापन होइन, हुनुहुँदैन। हरेकलाई ‘जी’, ‘हजुरी’ गरेर व्यवस्थापन गर्ने कुरा चितवन महाधिवेशनबाट सदाका लागि अन्त्य हुनुपर्छ। अब राजनीतिक पार्टीहरूमा मौलाउँदै गएको ठेकेदार, बिचौलिया, दलाल, माफियागिरी, खोक्रो झुन्ड र गुन्डा संस्कृतिको अन्त्य हुनुपर्छ।

यो अधिवेशनले व्यक्तिगत लाभ, बिचौलियाका फाइल बोक्ने, व्यापारिक घरानाका एजेन्ट र राज्यशक्ति दुरूपयोग गर्ने, राज्य संयन्त्रमा अघोषित एजेन्ट पुर्‍याउने र राजनीति नै तिनका लागि गर्नेलाई निमिट्यान्न पार्नुपर्छ। माफियाका लागि पार्टीको दुरूपयोग गर्ने,आफ्नो स्वार्थ पूरा गर्न जेसुकै गरेर पनि नेता बन्न खोज्ने जोसुकैलाई महाधिवेशन प्रतिनिधिहरूले निमिट्यान्न पार्न सक्नुपर्छ।

त्यसैले पार्टीमा शुद्धीकरण गर्न ओलीका लागि पनि यो महाधिवेशन अन्तिम तथा स्वर्णिम अवसर हो। प्रतिनिधि छनोटमा तलदेखि सर्वसम्मत गर्ने जुन लहर आएको छ, त्यसले वामपन्थी संगठन विस्तार,लोकतान्त्रीकरण र सहभागितामूलक एवं सर्वसम्मत संस्कृतिको आयाम थपिएको छ। महाधिवेशन यो लयलाई हृदयंगम गरेर सम्पन्न हुनुपर्छ।

तीन दिनसम्म घनीभूत रूपमा हुने छलफलले महाधिवेशनलाई पार्टीको वास्तविकता र देशको यथार्थबारे यस्तो निर्णयहरू गरोस्, जसले देशभर नयाँ राजनीतिक संस्कृतिको जागरण सुरु होस्। गणतन्त्र संस्थागत भएको अवस्थामा जनताका लागि स्वच्छ राजनीति गर्ने जुन सन्देश महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीले दिएका छन्,त्यसलाई हाँक्न सक्ने नेतृत्व महाधिवेशनले चुन्न सकोस्। राजनीतिमा गुन्डागिरी, बिचौलिया, लठैत, तस्कर, भ्रष्टाचारी, दलाल स्वीकार्य हुँदैन। त्यस्ताहरूबाट समाज रूपान्तरण पनि सम्भव छैन। यो त समाजको पछौटेपन, गरिबी,अशिक्षा, बेरोजगारी र निर्लज्ज कुसंस्कृतिको लाभ लिएर शासन गर्ने गरिब विपन्न तथा अल्पविकसित मुलुकहरूको दुःखदायी यथार्थ हो। सभ्य एवं विकसित मुलुकमा तिनीहरूको राजनीतिमा स्थान हुँदैन।

देशको सबैभन्दा ठूलो पार्टीको महाधिवेशनमार्फत एमालेले मुलुक दुई पार्टी भएको अवस्थातर्फ गइरहेको स्पष्ट संकेत दिन सक्छ। लोकतान्त्रिक पार्टीमा रूपान्तरित वामपन्थी धारको नेतृत्व एमालेले र प्रजातान्त्रिक तथा पुरातन एवं यथास्थितिवादी धारको नेतृत्व नेपाली कांग्रेसले गर्न सक्छन्। यसले खुद्रामसिना,भुरेटुक्रे व्यक्ति केन्द्रित पार्टीहरूको गिजलो समाप्त हुन सक्छ, जुन अपरिहार्य छ।

अबको राजनीतिको राजमार्ग एमालेको चितवन महाधिवेशनबाट देखिनुपर्छ। गाउँनगरका वडावडामा एमाले नेतृत्वले सकारात्मक एवं समाज रूपान्तरणको सन्देश दिन सक्नुपर्छ। अधिवेशनका प्रत्येक प्रतिनिधिले स्पष्ट भएर मार्गचित्रसहितको कार्यक्रम तथा कार्ययोजना बनाउनुपर्छ। राजनीति भनेको समाज रूपान्तरणका लागि स्वयंसेवी भएर निरन्तर लाग्नु हो। माफिया, भ्रष्टाचारी, तस्करी, बिचौलिया, डनको मतियार भएर जाने कुसंस्कृतिको अन्त्य गर्नु हो।

प्रकाशित: १० मंसिर २०७८ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App