coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

खोजेको तर नभेटेको

एक जना कुख्यात व्यक्ति बिहारमा विधानसभाको सदस्य भएछन्। पहिले प्राथमिक विद्यालयका शिक्षक भएर सात गाउँमा काम गरेका ती व्यक्तिले चुनावी प्रचारका क्रममा भाषण गरे–‘मेरो जवानी यहाँका गाउँहरूमा बित्यो।

हरेक घरको नून खाएको छु मैले। ऊबेला म अविवाहित थिएँ। सुन्दर थिएँ। त्यसैले यहाँका धेरैले मलाई मन पराउँथे। त्यसकारण यो गाउँका कैयन् युवकयुवतीको अनुहार मसँग ठ्याक्कै मिल्छ। अर्थात यसरी बुझ्नुहोस्, मेरो यो गाउँसँग रोटीबेटीको सम्बन्ध छ।’ जनताले कुरै नबुझी बेस्कन ताली बजाए। लौरोले बजाउनुपर्नेलाई उल्टो जयजयगार गरे–‘वाह नेताजी वाह, क्या बात है ।’ लहैलहैमा समर्थन गरे जनताले।

इतिहास पढाउने हाम्रै कतिपय गुरुले तेङ्री धर्मका अनुयायी चंगेज खानलाई मुसलमान भनेर पढाए। अत्यन्त शक्तिशाली शासकलाई टर्की र मंगोलियातिर ‘खान’ (राजा) भनिन्थ्यो। कतै खाँ मात्र भन्न थालियो। मुसलमानहरूसँग युद्ध भएपछि घरका महिला सदस्य र आत्मरक्षाका लागि एउटा राजवंश स्याङ्जाको विकट पहाडमा आएर बस्यो।

उनीहरूमध्येका दाजुभाइ खान्चा र मिचालाई इतिहासकारहरूले ‘राजा’ (खान वा खाँड) भनेका छन्। राजा कुलमण्डन खाँडलाई सम्राट अकबरले ‘हजुर पनि मजस्तै राजा भएको हुँदा ‘शाह’ उपाधि ग्रहण गर्नुहोस्’ भनेपछि उनले कुलमण्डन शाह लेख्न थालेको इतिहासकारहरूको मत पाइन्छ।

ऊबेला लमजुङ कास्की राज्यअन्तर्गत थियो। कुलमण्डन पराक्रमी र प्रतापी मानिन्थे। उनका छोराहरू नरहरि लमजुङका राजा भए भने द्रव्य शाहले विसं १६१६ मा गोरखाको राजगद्दी सम्हाले। सैनिक संगठन बनाउने प्रथम राजा द्रव्य शाहलाई मानिन्छ।

सोही सालबाट नेपाली सेनाको इतिहास सुरु भएको केही इतिहासकारको तर्क छ। समयको गणना गर्दा अकबर र कुलमण्डन समकालीन शासक थिए भन्ने बुझिन्छ। कुलमण्डनले दिल्ली गएर अकबरको प्रिय पक्षी बाज उपहार दिएको प्रसंग पनि आउँछ।

हरियालीको मौसममा हजारौँ घोडचढी सैनिक लिएर चंगेज खानले हजारौँ गाउँ नियन्त्रणमा लिए। घोडालाई घाँस खुवाउने उपयुक्त मौसममा गान्धार (कान्दाहार), पेसावर, काश्मीर हुँदै भारत पसेका ती मंगोल शासक आसामको बाटो हुँदै स्वदेश फर्किए।‘वीरले मात्र धर्तीको भोग गर्छ’ (वीर भोग्या वसुन्धरा) भन्ने कथन उनले प्रमाणित गरे। अरूसँग झुकेर वा सिरकमा लुकेर कोही शासक हुँदैन।

बीस वर्षको उमेरमा राजा भएका पृथ्वीनारायण शाहले एकीकरण अभियानका क्रममा रैथाने जनताका प्राचीन कला–संस्कृति, भाषा र साहित्य जोगाउन ठूलो मद्दत गरे। तसर्थ उनी अतिक्रमणकारी वा निरंकुश होइनन् भन्ने पुष्टि हुन्छ।

झण्डै पैतीस वर्ष पहिले प्राध्यापक रामकुमार पाँडेले एउटा किम्वदन्ती सुनाउनुभएको थियो– काठमाडौँ उपत्यका जितेपछि पृथ्वीनारायण पाटनका देवदेवीको दर्शन गर्न गएछन्।

उनैलाई लक्षित गरेर मंगलबजार नजिकै गल्लीमा एकजनाले घरमाथिबाट जाँतो फ्ँयाकेछन्। सिपाहीहरूले उनलाई लछारपछार गरेर राजाको सामुन्ने लगे। ती व्यक्तिले ‘हाम्रो राजा (जुजु) हटाएर गोरखाको जुजुले राज गरेको मन परेन’ भन्ने जवाफ दिएछन्। राजाले दण्ड दिनुको साटो स्याबासी दिँदै भनेछन्–‘हो, मैले पनि तिमीजस्तै देशभक्त मन पराउँछु।

अर्को देशको जुजु आएर यहाँको धर्म मास्न लाग्यो भने हामीले विरोध गर्नुपर्छम त तिमीहरू जस्तै यहाँका देवीदेवता पूजा गर्न आएको। यहाँ फिरंगीहरू पसे भने विनाश गर्छन्। म फिरंगी होइन। हामीले मिलेर देश र धर्म बचाउनुपर्छ ।’ यति भनेर उनलाई राजाले केही बकस दिए। यो कुरा शहरमा फैलियो। सबैले पृथ्वीनारायणको प्रशंसा गरे। तीन शहरका बासिन्दाले समर्थन गरे।

राष्ट्र बचाउने काम सानो गुट, घेरा वा संकीर्ण स्वार्थी समूहबाट सम्भव छैन। राष्ट्र संकटमा परेका बेला सबैलाई उठाउने र जुटाउने सुरवीर र विवेकी नायक चाहिन्छ।

मञ्चमा उभिएर एउटा मानिस लगातार बोलिरहन्छ र तल बस्नेहरू कुरै नबुझी थपडी मारिरहन्छन् भने त्यसप्रकारको दासत्वबाट सशक्त नेतृत्वको उदय संभव छैन।

बलियो नेतृत्व, स्पष्ट नीति, लक्ष्य र दूरगामी कार्यक्रमबेगर तदर्थ रूपमा राष्ट्र सञ्चालन गर्न खोज्दा कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका नै आज थला पर्ने अवस्थामा पुगेका छन्। यो असफल राष्ट्रको संकेत र लक्षण हो।

स्विडेन, नर्वे, डेनमार्क, स्पेन, अस्ट्रिया, बेल्जियम, लक्जेमवर्ग, फिनल्यान्ड, जर्मनी र फ्रान्सजस्ता राष्ट्रमा शिक्षा निःशुल्क छ। सास फेरिरहेका जनतासँग अक्सिजनको मूल्य लिन पाइँदैन भने दिमागलाई सजीव तुल्याइराख्ने ज्ञान पनि राष्ट्रले निःशुल्क दिनुपर्छ भन्ने ती राष्ट्रका बुद्धिजीवीको मान्यता र धारणा छ। यो राष्ट्रको दायित्व पनि हो। शिक्षा मानव अधिकार हो भन्ने तर्क गर्दै युरोपका कैयन् विद्वान्ले निःशुल्क शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी, स्वच्छ वातावरण आदिको प्रबन्ध गर्न नसक्ने सरकारलाई प्रजातान्त्रिक भन्न नसकिने तर्क गरेका छन्।

यता नेपालमा बिरामीलाई नेताले अस्पतालमा दुईवटा केरा दिएर फोटो खिच्ने र सञ्चारमाध्यमले त्यस्तालाई ‘परोपकारी’ भन्दै जयगान गर्ने प्रचलन देखिन्छ। केही नेताले त गाउँतिर गएर दरिद्र किसानका एकएक जना सन्तानको जिम्मा लिएको  घोषणा पनि गरे।

राष्ट्रका लाखौँ बालबालिकाको सुखद भविष्यका बारेमा सही ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जब नेताहरू मनोविनोद र आत्मरतिमा रमाउँछन्, त्यो भनेको ‘मूतको न्यानो’ मात्रै हो।

‘जेलब्रेक’ गरेर पैदल बेइजिङ (पेकिङ) पुगे केआइ सिंह। प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सरकारले उनलाई देशद्रोही घोषणा गर्‍यो। राजा महेन्द्रले २०१२ सालमा क्षमा दिएपछि उनी नेपाल आए।

माओको राष्ट्रबाट फर्केका सिंहले कम्युनिस्टको गौरवगाथा र रोचक कथा सुनाउँछन् भनेर उनको सम्मानमा नेपाली कम्युनिस्टले टुँडिखेलमा कार्यक्रम गरे।सिंहले आफूले दिल्ली सम्झौता नमानेपछि मातृकाप्रसादले सिंहदरवारमा थुनेको र कैदी अवस्थामै आफू भागेर माओलाई भेट्न चीन पुगेको कथा सुनाए। सत्ताइस जना कार्यकर्तासँग महिनौँ दिन पदयात्रा गरेर ४५ वर्षीय सिंह कसरी बेइजिङ पुगे भन्ने कुरा रबिन हुडको कथा जस्तो लाग्छ।

‘समाज’ पत्रिकाका सम्पादक मणिराज उपाध्यायका अनुसार सिंहको भाषण सुनेर नेपाली कम्युनिस्ट दिक्क भएछन्। सिंहको भनाइ थियो–चीनका कम्युनिस्टहरू राष्ट्र निर्माण गर्न बाह्र/पन्ध्र घण्टा काम गर्छन्। तिमीहरू दिनभरि अर्काको कुरा काटेर बस्छौ। माओले भेट्यो भने तिमीलाई झुण्ड्याउँछ।

ठुल्ठूला कुरा गर्ने तर राष्ट्रहितमा सानो काम पनि नगर्नेहरू सबैलाई सिंहको भाषण मुटुमा फलामको तातो झीरले घोचेजस्तो थियो। कुरै नबुझी थपडी बजाउने ‘प्रबुद्ध जनसमुदाय’ लज्जित भयो। त्यो चरित्र आज पनि बदलिएको छैन।

हरेक दलका सदस्यले आआफ्ना गाउँ–टोल सफा गर्ने हो भने नेपाल दक्षिण एसियाको सबैभन्दा स्वच्छ बन्छ। हरेक महिना एकएक वटा बिरुवा मात्र रोपे लाखौँ रुख हुर्कन्छन्। अधिकारका भाषण गर्ने तर कर्तव्य नगर्नेहरूको जत्थाले भरिएका छन्,दलहरू। उनीहरू जनसमक्ष आफ्नो औचित्य पुष्टि गर्न सकिरहेका छैनन्।

दलले ‘डग’ लाई गड (ईश्वर) भन्यो भने उसैलाई जनताले मतदान गर्नुपर्ने बाध्यता के छ ? त्यसैले, जनताले खराब जनप्रतिनिधि छान्नु नपरोस् भनेर ‘कसैलाई पनि भोट दिन्न’ (राइट टु रिजेक्ट) भन्ने प्रावधान मतपत्रमै राख्न आवश्यक छ। केही कुख्यातमध्येबाट एउटा कुख्यात छान्नैपर्छ भने त्यो ‘डेमोक्रसी’ होइन, ‘बुलक्रेसी’ (साँढेतन्त्र) हुन्छ। सभ्य, इमानदार, सक्षम र शालीनलाई संसद्मा पुग्न नदिने डनहरू हरेक दलमा छन्। त्यसैले योग्यहरू राजनीतिमा टिक्ने अवस्था छैन।

सुयोग्य नेताको वचन र व्यवहारमा तादात्म्य हुन्छ। उनी कुनै सानो समूहमा होइन, खुला ठाउँमा सबैको हुन रुचाउँछन्। अरूको उत्थानमा सहयोगी बन्छन्। सम्बन्धको सम्मान गर्छन् र कुनै विभेद गर्दैनन्। उनी सदैव उत्तरदायी हुन्छन् र अरूलाई दोष दिँदैनन्।

इमानदार, स्वप्नद्रष्टा र साहसी हुन्छन्। अरूको कुरा ध्यान दिएर सुन्छन् र आफू थोरै बोल्छन्। स्वस्थ आलोचना हाँसेर स्वीकार्छन् र तत्काल भूल स्वीकार गर्छन्। कुन नेता कति महान् छन् भन्ने मापदण्ड यही हो। हामीले खोजेको तर नभेटेको यस्तै नेतृत्व हो।

प्रकाशित: ३ मंसिर २०७८ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App