११ माघ २०७८ मंगलबार
विचार

पञ्चेश्वरको पीडा

प्रसङ्ग १

केही महिनामात्र भो पञ्चेश्वरका बासिन्दाले दैनिक बन्दोबस्तीका सामान लिन महाकाली तरेर ‘विदेश’ जान नपरेको। मोटर चल्न सक्ने बाटो बनेपछि उनीहरूको घर–घरमा खाद्यान्नलगायतका सामान आए। तर यी सामग्री ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भएको छ अहिले। किनकि विदेश पुगेर ल्याएको भन्दा आफ्नै दैलोमा आइपुगेको सामान निकै महँगो भयो। त्यसैले ‘बरु बाटो नबनेकै ठीक रहेछ’ भन्ने निष्कर्षमा समेत पुगेछन् केही स्थानीय त।

प्रसङ्ग २

पञ्चेश्वर गाउँपालिका–४स्थित चौडलीमा बस्छन् राइजनराम सार्की। उनको काकाको घर भने महाकालीपारि छ भारतमा। दुवैको घरबाट दुवैको घर देखिन्छ। तर जान भने महाभारत। किनकि महाकालीमा पुल छैन।त्यसैले राइजन हरेकजसो शनिबार काकाको घर जान ट्युब प्रयोग गर्न बाध्य छन्। जुन निकै जोखिमयुक्त बाध्यता हो।राइजन त प्रतिनिधि पात्रमात्र हुन्। यहाँका धेरैको दिनचर्या यस्तै हो– कालसँग पौँठेजोरी खेल्न बाध्य भइरहनु।

प्रसङ्ग ३

बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध यही गाउँपालिकाको वडा नं.१मा बन्ने निधो भएको धेरै भयो।६५ वर्षअघि नै बाँध बनाउने चर्चा चले पनि आयोजनाले हालसम्म गति लिन सकेको छैन। आजसम्म पञ्चेश्वरबासी उक्त क्षेत्रमा तैनाथ नेपाली सुरक्षाकर्मीको एउटा समूह हेरेर यो आयोजना जिउँदै भएको अनुमान लगाउन विवश छन्।

बाटो,पुल,विद्यालय आदिलाई नै विकास ठान्ने धेरै छन् यस धर्तीमा। जबकि विकासको आधुनिक परिभाषाले यिनलाई विकासका पूर्वाधारमात्र ठान्छ।अनि विकासचाहिँ मानिसको चौतर्फी सन्तुष्टिलाई मान्छ। बैतडीको फुच्चे तर सफा बजार पाटनबाट मेलौली र शिवनाथ पालिका पार गरेपछि आइपुग्छ पञ्चेश्वर।

जहाँ मोटर गुड्न सक्ने बाटो पुगेपछि केही महिनाअघिमात्र स्थानीयले सोचेका थिए–अब हाम्रो पनि काँचुली फेरिने भो।तर विडम्बना,उनीहरूले सोच गलत हुन धेरै समय कुर्नै परेन। आँगनमा आइपुगेका दैनिक उपभोग्य सामग्रीलाई निकै महँगो मूल्य तिर्नुपरेपछि बाटोलाई विकास मान्ने उनीहरूको सोचले हावा खायो।

भारु प्यारो

पञ्चेश्वर गाउँपालिकाको वडा नं.१ स्थित पालडीमा किराना पसल छ हिरा सार्कीको। आफूले गाउँमै मोटरले सामान ल्याउनुअघि ६०–६५रुपियाँ प्रतिकिलोग्राम बेच्ने गरेको मिश्री अहिले सय रुपियाँ भन्दा बढीमा बेच्नुपर्ने अवस्था आइलागेको बताउँछन् उनी। त्यसैगरी सय रुपियाँ प्रतिलिटर बेच्दै आएको तेल अहिले १३० रुपियाँमा बेच्नुपरेको भनाइ पनि उनको छ।

अर्थात भारततर्फबाट बोकाएर ल्याउँदा जतिमा बेच्न सकिन्थ्यो, अहिले दैलोमै ल्याइदिँदा सस्तो हुनुपर्नेमा झन् महँगो भएको हिरामात्र हैन,सबै गाउँलेले भोगिरहेका वास्तविकता हो। साबुन र अन्य सामग्रीको हालत पनि यही छ। यस्तो किन त? ‘बाटोले केही गर्‍यो त धनगढीका व्यापारीलाई गर्‍यो,स्थानीयलाई हैन’–पञ्चेश्वरबासीको सामूहिक प्रतिक्रिया छ।

रमाइलो त यो छ कि पञ्चेश्वरमा कारोबार हुने रकममा नेपाली र भारतीय रुपियाँको हिस्सा बराबर हुन्छ। ‘अहिले त लकडाउनका कारण आवत्जावत् बन्द भएर हो नत्र त नेपाली रुपियाँको कारोबार २० प्रतिशत पनि हुन्नथ्यो’–हिराले सुनाए।

धेरैजसो ठाउँमा किनमेल होस् वा लेनदेनबारे पैसाको कुरा हुँदा भारुमै डिल हुने गर्छ। अर्थात होटलमा नास्ता खाएपछि कति भयो भनेर सोध्दा उसले १० भन्यो भने त्यो भारु हो,नेपाली भए १६ रुपियाँ तिर्नुपर्छ। ठूलो देशले सानो देशमाथि कसरी आफ्नो संस्कृति, संस्कार,आर्थिक र सामाजिक प्रभाव फैलाउन सफल भइरहेको छ भन्ने एउटा राम्रो उदाहरण हो नेपालीको भारु प्रेम।

उस्तै हालत मोबाइलको

‘भारतीय नम्बर दिउँ कि नेपाली?’अर्थात ‘तपाईँ कहाँ बस्ने हो र?’–पञ्चेश्वरको कसैको सम्पर्क नम्बर माग्नुभयो भने उसले नम्बर दिनुअघि तपाईँलाई सोध्ने प्रश्न हो यो।किनकि अलिक चल्तापुर्जा सबैसँग दुईवटै देशका सिम हुने गर्छन्।यो यहाँका लागि बाध्यता पनि हो। कुनै ठाउँमा नेपाली टावर लाग्दैन अनि कुनै ठाउँमा भने भारतीय टावर टिप्दैन। त्यसैले ठाउँविशेषअनुसार सिम प्रयोग गर्नु सीमावर्ती बासिन्दाका नाताले पञ्चेश्वरबासीको बाध्यता नै हो।

हिराको घरमा भारतीय सिममात्र लाग्छ। पसलमा चाहिँ नेपाली। त्यसैले दुवै सिम बोक्नु उनी र उनीजस्ता धेरैको बाध्यता पनि हो।३–४ सय रुपियाँ तिरेपछि नेपाली पसलहरूमै पाइन्छ भारतीय सिम। यति पैसा तिरेपछि २८दिनसम्म नेट र कल दुवै निःशुल्क प्रयोग गर्न पाइन्छ। त्यसैले पनि भारतीय सिम पारि त हुने नै भयो,वारि पनि उत्तिकै प्रिय छ। स्थानीय त नेपाल टेलिकमको भन्दा भारतीय पक्षको टावर बढी भरपर्दो भएकाले पनि उतै बढी विश्वास गर्नुपरेको सुनाउँछन्।भूभाग नेपाली तर आफ्नै टावरले नेपाली सिम चिन्दैन। अनि किन नेपाल टेलिकमप्रति गर्व गर्नुपर्ने यहाँका बासिन्दाले ? सरकारसँग बारम्बार सोधिने तर अनुत्तरित प्रश्न हो यो।

खण्डहर भए खाइलाग्दा बजार

पञ्चेश्वरबाट महाकाली तरेर गाडीमा गएपछि चम्पावत जिल्लाको लोहाघाट बजार आउँछ करिब १ घण्टामा। जुन नेपालपट्टिबाट सबै भन्दा नजिकको बजार हो। यहीँबाट सामान किनेर नेपालतर्फ ल्याउँथे सबैले। 

लोहाघाट जान नचाहने वा नसक्नेले त्यहीँबाट ल्याइएको सामान पञ्चेश्वर गाउँपालिका–३स्थित कुलाउबाट पनि किन्न सक्थे। अनि लोहाघाट जाने/आउनेले थकाइ मार्ने वा खानपिन गर्ने ठाउँ पनि थियो यो। त्यसैले कुलाउ निकै फुर्तिलो र बैँसालु जवानझैँ थियो कोरोना महामारी फैलिनुअघिसम्म। 

जब कोरोनाका कारण लकडाउन भइ वारि–पारि गर्न दिइएन एकातिर भने अर्कोतिर यसै अवधिमा मेलौलीबाट पञ्चेश्वरसम्म बाटो छिमोलियो। जसका कारण कुलाउका खाइलाग्दा बजार हेर्दाहेर्दै खण्डहरमा परिणत भए। अहिले ती घरमा ताला लागेका देखिन्छन्। न सामान ओसार्नेका कारण देखिने रौनक बाँकी छ न त किनमेल गर्ने र जम्काभेट हुनेहरूको भलाकुसारी नै सुन्न/देख्न पाइन्छ।

सोझो अर्थमा भन्दा बैँसमै मुर्झाएजस्तो देखिन्छ यतिखेर कुलाउ। लोहाघाटबाट धेरै पटक डोकामा सामान बोकेर कुलाउमा थकान मेटेका सामाजिक अभियन्ता नरिराम लोहारको अनुभव रोचक छ– हाम्रो आधा थकान त कुलाउको चहलपहलले नै बिर्साइदिन्थ्यो। अहिले यो ठाउँको हालत देख्दा आफैँलाई पनि नरमाइलो लागेर आउँछ।

तुहिएको सपना

पञ्चेश्वर आयोजना बनेपछि गाउँमा धेरैले रोजगारी पाउने, बिजुली झलमलाकार हुने, विकासका पूर्वाधार टन्न बन्ने,आयोजनाकै कारण गतिलो र भरपर्दो सडक निर्माण हुने तथा विद्युत्को रोयल्टीबाट स्थानीयको जीवनस्तर उकासिने आश्वासन बाँडिएको थियो स्थानीयलाई। जीविकोपार्जनका लागि भारतीय गल्लीहरू चाहार्नुपर्ने बाध्यता हटेको घोषणा पनि पटक–पटक सुनाइएको थियो उनीहरूलाई।

सन् १९५६ मै भारतीय पक्षले यहाँ बाँध बाँधेर विद्युत् निकाल्न सकिने चर्चा चलाएको थियो। ३१५ मिटरको बाँध बनाउँदा ६४८० मेगावाट विद्युत् उत्पादन हुने आकलन सन् १९९१ मै भएको हो। महाकाली सीमा नदी भएकाले यो आयोजना द्वै–राष्ट्रिय लगानीमा सञ्चालन गर्ने निर्णय भएको थियो। 

जसअनुसार २०६६ मङ्सिर ९ गते नेपाल सरकारको जलस्रोत मन्त्रालयका सचिव तथा भारत सरकारको जलस्रोत सचिवको संयुक्त बैठकमा पञ्चेश्वर विकास प्राधिकरण गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति पनि भएको थियो। 

तर आयोजनाको काम फिटिक्कै अघि नबढेपछि धेरैले त आशै मारिसकेका छन् अब केही हुन्न भनेर। यो आयोजना के हुँदैछ भन्नेबारे सर्वसाधारणमात्र हैन,गाउँपालिकाका अध्यक्षलाई समेत जानकारी दिन आवश्यक ठानेको छैन आयोजनाले।

त्यसैले पञ्चेश्वर आयोजना ‘आकाशको फल, आँखा तरी मर’ भएको छ यहाँ। धन्न सशस्त्र प्रहरी बलको एउटा समूह महाकाली किनारमै बस्दै आएकाले केही आशा भने जीवितै राख्ने आधार मिलेको छ स्थानीयलाई। बाहिरबाट जानेले निकै घोप्टिएर हेरेपछि देखिने पनि सुरक्षाकर्मीकै निवास हो, अहिलेसम्मको प्रगतिको प्रमाण।  

अन्त्यमा,

नेपालतर्फका काली,गोरी गङ्गा र चमल्या तथा भारततर्फबाट आउने धौली र सरयु(जसलाई मिसिएपछि धौलीगङ्गा भनिन्छ)मिसिएको ठाउँ भएकाले पञ्चेश्वर भनिएको बताउँछन् वेद र पुराणहरू। त्यसैले यो ठाउँ निकै आकर्षकमात्र हैन,पवित्र पनि मानिन्छ धार्मिक दृष्टिले।

तर महाकालीको पानी बाँध बाँधेर विद्युत् निकाल्ने र यो ठाउँको कायापलट गर्ने भनेर ६५ वर्षदेखि पञ्चेश्वरका बासिन्दालाई झुल्याइँदै आएको छ। जुन पवित्र ठाउँमा गरिएको अपवित्र हर्कतबाहेक केही हुनै सक्दैन।

प्रकाशित: २५ कार्तिक २०७८ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App