९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

जैविक दलान नै ठीक छ चुरे

नेपालको मेची–महाकाली फैलिएको चुरे शृंखलाको लम्बाइ ८४० किलोमिटर छ। अग्ला महाभारत पर्वतमुनि फुच्चे देखिने चुरेभित्र चितवन र दाङ जस्ता मैदानी उपत्यका पनि छन्।मेची–महाकाली नै जोड्ने पूर्व–पश्चिम राजमार्ग १ हजार २८ किलोमिटर छ। चुरेभन्दा पूर्व–पश्चिम राजमार्ग १८८किलोमिटर लामो किन भयो त भन्दा त्यो तराई–मधेसको समतल फाँटबाहेक चुरे पहाडका घुम्ती पनि उकालीओराली भएर जानुपर्छ।

पूर्वदेखि पश्चिम अथवा पश्चिमदेखि पूर्व विकास पुर्‍याउन उक्त राजमार्ग २०१९ सालमा राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेका थिए।राजमार्गको नाम पनि महेन्द्र राजमार्ग राखिएको थियो तर राजमार्ग उनको शासनकाल वा उनले प्रतिपादन गरेको पञ्चायत कालमा पनि पूरा भएन। बहुदल आएपछि त्यो बल्ल पूरा भयो। राजमार्ग पूरा भएर झापा काकरभित्ता र कञ्चनपुर गडाचौकी जोडिन ३० वर्ष लाग्यो। अहिले जनजिब्रोमा यो बढी पूर्व–पश्चिम राजमार्ग भनेर चिनिन्छ।  

राजमार्ग र विकास दर्शन

पूर्व–पश्चिम राजमार्ग र विकासका सन्दर्भमा जननिर्वाचित पहिलो प्रधानमन्त्री विपी कोइरालाले २०३६ साल बहुदल प्रचारताका त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा आयोजित एउटा सभामा भनेका थिए कि त्यस खर्चिलो राजमार्गमा दिनभरिमा सयवटा गाडी पनि आवत्जावत् हुँदैन भने त्यसको उपादेयता के पो हुन सक्छ?ठूला राजमार्ग नै विकासको सूचक हुन सक्दैन।

पूर्व–पश्चिम राजमार्गको आफ्नो यात्रा अनुभव समेट्दै त्यतिखेर विपीले इ. एफ. शुमाकरको अर्थशास्त्रीय दर्शन ‘स्मल इज ब्युटिफुल’को प्रशंसामा आफ्ना कुरा राख्दै थिए।‘स्मल इज ब्युटिफुल’ प्रकाशित (सन् १९७३) भएको भर्खर पाँच वर्ष भएको थियो र बौद्धिक जगत्मा त्यसले निकै चर्चा कमाइरहेको थियो।

‘स्मल इज ब्युटिफुल’का अनुसार पुँजीवादबाट सिर्जित सुविधाभोगी जीवनशैली र ठूला उद्योगधन्दाले प्राकृतिक स्रोतमाथि अत्यधिक चाप बढाउँछ जुन अन्ततः विध्वंशकारी हुन जान्छ। यसकारण ठूला हैन साना वा मझौलाखाले विकास परियोजना बढी श्रेयकर हुन्छ।

शुमाकरको यही दर्शनमा टेकेर सन् १९६६ मा आइटिडिजी(इन्टरमेडियट टेक्नलजी डेभेलपमेन्ट ग्रुप) नामक विकास संस्था सुरु भएको थियो जुन अहिले प्राक्टिकल एक्सन भनेर चिनिन्छ।प्राक्टिकल एक्सन अहिले ४० देशमा क्रियाशील छ,नेपाललगायत। ऊ बढी साना किसान,नवीकरणीय ऊर्जा र पछिल्लो समय जलवायु परिवर्तन न्यूनीकरणका आयोजनामा केन्द्रित छ। ठूला परियोजनामा ऊ छैन।

ठूला परियोजनाका हिमायती एसियाली विकास बैंकले सन्२०१६ मा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिसम्बन्धी एउटा आर्थिक तथा वित्तीय विश्लेषण गरेको थियो। उसले छापेको प्रतिवेदनअनुसार उक्त राजमार्गमा प्रतिदिन २ हजार ६०० मालबाहक गाडी चल्दा रहेछन्।

यात्रुबाहक गाडीको हकमा कुल १० हजार जति रहेछ।अर्थात् एक किलोमिटरमा १२,१३ वटा सम्म गाडी त्यहाँ कुदिरहेको हुँदो हो जुन राजमार्ग निर्माण खर्चको तुलनामा निकै कम हो। नेपालमा अनुमानतःएक किलोमिटर राजमार्ग बनाउन २ करोड रुपियाँ लाग्ने रहेछ। पहाडी भिरालो र कमलो भूगर्भमा बनेका यी राजमार्ग हरेक वर्षादमा बिग्रिरहेका हुन्छन्। त्यसको मर्मतमा लाग्ने खर्च छुट्टै छ।

साक्षी बनेको चुरे

एसियाली विकास बैंककै अङ्क जोड्दा केलाउँदा पूर्व–पश्चिम राजमार्ग पूरा भएयता करिब १३ करोड जति यात्रुबाहक तथा मालबाहक गाडीका चक्का खिइएको हुनुपर्छ। जल तथा ऊर्जा आयोगका अनुसार नेपालबाट बग्ने पानीको बहाव ७ हजार १२५ घनमिटर प्रतिसेकेन्ड छ।

अनुमान लगाऔँ,यो समयावधिमा कति पानी बग्यो होला? त्यस्तै, अनुसन्धानकर्मीहरूका अनुसार पानीसँगै प्रतिवर्ष ३७ करोड टन माटो पनि बगेको अनुमान गरिन्छ।यी सबैको साक्षी भने चुरे शृंखला नै हो।यस कारणले कि यो हिमालय पर्वतमालाको सब भन्दा दक्षिणमा अवस्थित छ र नेपालका सबै नदीनाला उत्तरबाट दक्षिण भएर चुरेलाई सिँचित गर्दै निष्काशन हुन्छ।

भौगर्भिक विज्ञान के भन्छ भने हिमालय पर्वत प्रणालीमा चुरे सबभन्दा कान्छो शृंखला हो।हिमालय पर्वतमाला ४ देखि ५ करोड वर्षपहिले सृष्टि भएको अनुमान गरिन्छ।चुरेको प्रदुर्भाव भएको २ करोड वर्षयतादेखि हो। अर्थात् बिनापुच्छरका बाँदर एपस् रामापेथिकस सँगसँगै चुरे पनि देखापरेको रहेछ। रामापेथिकसको बङ्गारा बुटवलतिरैबाट उत्खनन भएको छ।

प्राग–भौगर्भिक विज्ञानका अनुसार चुरेमा मियोसिन काल (५ लाख–२ करोड वर्षअघि) तिर न्यानो ओसिलो हावापानी विद्यमान थियो। त्यहाँको जङ्गलमा भीमकाय हात्ती जस्ता स्टेगोडन,जिराफ चर्थे र दलदले मैदानमा हिप्पो,ठूलठूला कछुवा आदि आहाल लाएर बस्थे। चुरे बन्दाबेलाका यी सबै साक्षी अहिले लोप भैसकेछन्। तिनका जीवावशेष भने कहीँकतै भेटिएला।

जीवनको सकस

धेरैको विचारमा ७० वर्षअघिसम्म चुरे पहाड निर्जन थियो। मानिसको आवादी त्यहाँ पूर्व–पश्चिम राजमार्गको निर्माणसँगै बढ्न थालेको हो।राष्ट्रिय तथ्याङ्क (सन् २०११) अनुसार चुरे क्षेत्रमा ७ लाख ८४ हजार घर छन्। यहाँ करिब ३६ लाख ३३ हजार मानिस बस्छन्।

त्यस्तै,चुरेको जनघनत्व १७३ प्रतिवर्गकिलोमिटर छ जुन राष्ट्रिय जनघनत्व (२०३ मानिस प्रतिवर्गकिलोमिटर) को तुलनामा पातलो हो। विभिन्न अध्येताका अनुसार मानिस त्यहाँ एउटै कारणले बस्न आएका भने हैन। तर एउटा कुरामा भने सामञ्जस्यता छ–गरिबी।

भूमि अधिकारको पक्षमा क्रियाशील आत्मनिर्भर केन्द्रले केही वर्षअघि छ जिल्ला (मकवानपुर, बारा, रौतहट,धनुषा,सिरहा र सप्तरी) को चुरे क्षेत्रको सामाजिक तथा आर्थिक सर्वेक्षण गरेको थियो। जसअनुसार चुरेमा बस्न आउनेमा जनजाति, बाहुन–क्षत्री, सीमान्तकृत दलित सबै छन्। सबभन्दा धेरैचाहिँ खाद्य सङ्कट (२६ प्रतिशत) र बाढी/पहिरो (२५ प्रतिशत) का कारण आएछन्।

यहाँका धेरै किसानी गर्छन्। तर अधिकांशको जग्गा दर्ता छैन।केन्द्रका अनुसार यी जिल्लामा जोतिएको २६ हजार कठ्ठामध्ये १८ प्रतिशत मात्र दर्ता थियो।२७ प्रतिशत भूमिहीन थिए। खेतीबाट वर्षभर खान पुग्ने परिवार १८ प्रतिशत थिए भने ६ महिनालाई बल्लतल्ल पुग्ने ४३ प्रतिशत थिए।

चुरेमा खेती भन्ने मात्र हो, त्यसले मानिसलाई गरिबीबाट उकास्दैन। यसको कारण के पनि हो भने चुरेमा खेतीयोग्य जमिनै न्यून छ। गुगल म्यापमै पनि देखिन्छ,नेपालको चुरेमा कृषि भूमि २० प्रतिशत भन्दा कम छ। माथिल्लो तह ८५ प्रतिशत ढुङ्गा,माटो र गेग्रानले ढाकेको छ।

प्रकृतिलाई मानव संरक्षण?

भौगोलिक हिसाबले चुरे पहाडको क्षेत्रफल १७,६७९ वर्गकिलोमिटर छ अर्थात् यसले नेपालको कुल क्षेत्रफलको १३ प्रतिशत ओगटेको छ। देशका ३६ जिल्लामा फैलिएको चुरेमा पारिस्थितिक हिसाबले नेपालका ११८ मध्ये १४ प्रणाली पर्छन्।

चुरे क्षेत्रको जान्नुपर्ने गुण भनेको नेपालका पाँच भौगोलिक पेटीमध्ये सबभन्दा धेरै जङ्गल भएको भूभाग यही हो। वन सर्वेक्षणको पछिल्लो तथ्याङ्कअनुसार चुरेको ७०प्रतिशतभन्दा बढी भूभाग जङ्गलले ढाकेको छ।

पछिल्लो समय बीचबीचमा टुटेरमात्र हो नत्र नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली जोड्ने एकमात्र प्राकृतिक मार्ग वा जैविक दलान(बायोलजिकल करिडोर)पनि चुरेमात्र थियो जहाँबाट वन्यजन्तु निर्वाध आवत्जावत् गर्थे। त्यसैले त जङ्गली हात्तीहरू अहिले पनि यतातिर आइरहन्छन्। उसको पारिवारिक स्मृतिमा त्यही नै छ। मान्छेले मात्र हो बिर्सेको।

चुरे शृंखला जङ्गलहरूको थुप्रो र वन्यजन्तुको लावालस्करमात्र पनि होइन। चट्टान,ढुङ्गा र बालुवा थोपरिएको हेर्दै उराठ लाग्ने त्यही फुस्रो भूमि नै चुरेभन्दा दक्षिण तराई–मधेसमा बस्ने १ करोड ३३ लाख नेपालीका लागि वरदान भएको छ। चुरे नहुँदो हो त न खेतीका लागि ऊर्वर भूमि उपलब्ध हुन्थ्यो न पिउने पानीकै जोहो हुन सक्थ्यो।

तराईका घर–घरमा २५–३० मिटरको हल्का गहिराइबाट पानी त्यत्तिकै पलाएको होइन। यसमा कुनै शङ्का छैन कि तराई नेपालको अन्न भण्डार हो, बिर्सन नहुने कुराचाहिँ यसलाई सिँचित गर्ने चुरे पहाड हो। चुरे आफू सुक्खा रहेर पानी जति जम्मै तराईतिर रसाएर पठाउँछ। अनि चुरेलाई थाम्ने तराई–मधेस हो जसरी हाम्रो पैतालाले खुट्टा थामेको हुन्छ।

चुरे अब क्रमशः भत्किँदैछ। विभिन्न बहाना र विकासका नाममा चुरेमाथि मानिसको अतिक्रमण बढिरहेकै छ। मान्छेकै हातले खोस्रिन सकिने उसको कमलो भूगर्भ डोजर आतङ्कअगाडि अति सजिलो र सस्तो छ।

२०७४ सालमा यस क्षेत्रको संरक्षण र विकासनिम्ति भनेर राष्ट्रपति चुरे–तराई मधेस संरक्षण बोर्डले एउटा गुरुयोजना बनायो जसले २० वर्षका लागि २ खर्ब ४९ अर्ब ७० करोड रुपियाँको बजेट प्रक्षेपण गरेको छ। गुरु योजनाको उद्देश्य छ–समृद्ध नेपालको राष्ट्रिय लक्ष्य पूरा गर्न चुरे क्षेत्रको संरक्षण, स्रोतको दिगो व्यवस्थापन र पारिस्थितिकीय सेवाहरूको सुधारमार्फत गरिबी न्यूनीकरणमा सघाउने।

बोर्डको यो उद्देश्य नितान्त मानव–स्वार्थकेन्द्रित छ जसले चुरेको प्राकृतिक समग्रतालाई संबोधन गर्दैन। सिमेन्टीका२–४ सय तटबन्ध निर्माण गरेर वा छेकबाँध बनाएर चुरेलाई स्थिर गर्ने, यसका खहरेलाई नियन्त्रण गर्ने सोचाइ नितान्त प्राविधिक हो। त्यो वैज्ञानिक छैन। प्रकृतिलाई खासमा मान्छेको कृपा चाहिँदैन। बाधा नपुराए पुग्छ। गतिशीलतामै ऊ संरक्षित हुन्छ।

चुरेको गतिशीलता यसको अन्तर्निहित भौगर्भिक गुण हो जसले टेक्टोनिक गतिसित तादात्म्य राख्छ, मानिसले बनाउने भौतिक निर्माणसित हैन।सबैलाई थाहा छ– चुरे शृंखला यस्तो गतिबाट सब भन्दा बढी प्रभावित छ किनकि यो तरुण हिमालयको पनि सब भन्दा कान्छो पहाड हो। बडो चञ्चले छ यो।

सन् २०१६ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागले चुरे बोर्डलाई बुझाएको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ कि १० जिल्ला (मकवानपुर,बारा,रौतहट,सिन्धुली, सर्लाही,महोत्तरी,धनुषा, उदयपुर, सप्तरी र सिरहा)मा मात्रै ३ हजार ४५६ भूक्षय असरल्ल छन्। मानिसको कुन जुक्ति र कुन प्रविधिले ती थामिएलान्? रह्यो वृक्ष रोपणजस्ता अभियानका कुरा। ७० प्रतिशत भन्दा बढी सखुवाले ढाकेको चुरेको वनलाई मान्छेले केही वर्ष छाडिदिनु पर्छ त्यो आफैँ हौसिएर लटरम्म ढाक्न आइपुग्छ।

राजमार्गहरूको घुइँचो

यसैबीच पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गका अतिरिक्त यसको उत्तरमा पुष्पलाल लोकमार्ग निर्माण संपन्न हुँदैछ। यी दुई फराकिला मार्गबीच अर्को राजमार्ग शिलान्यास भैसकेको छ–मदन भण्डारी राजमार्ग। सबभन्दा दक्षिणमा हुलाकी राजमार्ग पहिलेदेखि बन्दैछ। थप पूर्व–पश्चिम रेलमार्ग पनि यहीँ परिकल्पना गरिएको छ।

नेपालको भूगोल भन्छ–यसको उत्तर–दक्षिण चौडाइ १९३ किलोमिटर छ। उत्तरको पुष्पलाल लोकमार्ग र दक्षिणको हुलाकी राजमार्गबीचको दूरी १०० किलोमिटर भएको अवस्थामा औसत २० किलोमिटरको दूरीमा एउटा मार्ग हुन्छ।पहाडको घुम्ती हुँदै बाटो बनाउँदा पनि यो दूरी ४० किलोमिटर हुन आउँदैन। जस्तै–पूर्वमा फिदिम (पुष्पलाल लोकमार्ग) र केचना (हुलाकी राजमार्ग) बीचको राजमार्ग दूरी जम्मा नै १६९ किलोमिटर छ।

उता पश्चिममा यिनै दुई मार्गबीच बैतडी पाटनदेखि कैलाली धनगढीसम्म दूरी भनेको १७५ किलोमिटर हो। यही दूरीभित्र पाँचवटा राजमार्ग हुने भए। के यति यति धेरै बाटा आवश्यक छ? अनि यी सबै बन्ने उही चुरे भएर हो। अहं प्रश्न यो पनि छ– के अब चुरे सिध्याउने हो?

केही वर्षयता चुरे र नजिकका बस्तीमा खासगरी जङ्गली हात्तीको बथान र बाघको आवागमनले मानिस असुरक्षित हुँदै गएका छन्।मानिस–वन्यजन्तु हताहतीको संख्या पनि बढ्दो छ। हामी यसलाई मानव–वन्यजन्तु द्वन्द्व भनिरहेका छौँ। मानव अधिकारका सार्वभौम घोषणाको धारा ३ ले व्यक्तिको सुरक्षालाई इङ्गित गरेको छ, द्वन्द्वलाई हैन।

पारिथितिकीय प्रणालीको खाद्य चक्रमा मानिसको सिकारी अनुपस्थित छ, बरु ऊ नै सुपर–प्रिडेटर हो। यो यथार्थमा मानव–वन्यजन्तु द्वन्द्व भन्नु गलत हुन्छ। व्यक्तिको सुरक्षा प्रकृतिसित द्वन्द्वले होइन, सहकार्यले मात्र संभव हुन्छ। मानव अधिकारको प्रसङ्गमा प्रकृति र प्राकृतिक स्रोतको संरक्षण गर्ने कार्य जीविकोपार्जन र मर्यादित जीवन बाँच्नेसित अक्षुण्ण विषय हो।

अन्तमा

नेपालको विकास साना र सुन्दरतिर हैन, ठूला र भद्दा परियोजनातिर लम्केको देखिन्छ। बिपीका अनुयायीले शुमाकरको‘स्मल इज ब्युटिफुल’भन्ने अर्थ–दर्शनको कुरा छाडिदिउँं,बिपीलाई नै बिर्सिसके। बाँकी इतरकाहरू राजमार्ग निर्माणमा व्यस्त भैहाले। चुरे प्रकृतिको सानो र सुन्दर रचना हो,भद्दा विकासले त्यसलाई कुरूप बनाउँदैछ।

चुरेमा बसोबास गर्न पुगेका र तराइ–मधेसमा खेतीकिसानी गर्ने गरिबको रोजिरोटी चुरेको दोहनमा होइन, संरक्षणमा निर्भर हुन्छ। नेपालमा मानव बस्नयोग्य निर्जन जमिन चुरेबाहेक अन्यत्र पनि छन्। जलवायु सङ्कटबाट बच्न पनि चुरेभन्दा अन्य क्षेत्र खासगरी उपल्ला भेग उपयुक्त हुनेछन्।

विकसित प्रविधिले गर्दा ती बढी सुविधायुक्त र सुरक्षित गर्न सकिनेछ। सडकको विकास चुरे अल्लोपल्लो होइन, अन्यत्र चाहिएको छ।यसको पातलो भूगोल मानिसका लागि असुरक्षित र प्रतिकूल छ। बाँकी प्राणीलाई भने सुरक्षित र अनुकूल छ। चुरे शृंखला मान्छे गुड्ने र सामान ढुवानी गर्ने राजमार्गको सञ्जाल होइन,वन हुर्कने र वन्यजन्तु हिँडडुल गर्ने जैविक दलान नै कायम हुन दिउँ।

(चुरे शृंखलाको देशव्यापी पारिस्थितिक सर्वेक्षण गरी पहिलो तथ्याङ्क आधार तयार पारेका भुजु नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुन्।)

प्रकाशित: २४ कार्तिक २०७८ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App