coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कांग्रेस अधिवेशन: उत्साहमा परिणत गरौँ

नेपाली कांग्रेसको अधिवेशनले कार्यकर्तामा उत्साह उत्पन्न गर्नुपर्ने हो। नेतृत्वको कार्यशैलीले १४औँ अधिवेशनको सुरुवातबाटै कार्यकर्ता निरुत्साहित बनेका छन्। 

अधिवेशन आगामी समयको पार्टीको राजनीतिक, आर्थिक नीति, वैदेशिक सम्बन्ध, देश विकासको समयानुकूल दृष्टि, सामाजिक सम्बन्ध लगायतका विषयमा छलफल गरी दिशा निर्धारण गर्ने माध्यम बन्नुपर्दथ्यो तर पदाधिकारी र सदस्य निर्वाचित हुने पद्धतिको सुरुवातपछि कांग्रेसका अधिवेशनहरू निर्वाचनमय मात्र भएका छ। प्रस्ताव र छलफल औपचारिकतामा सीमित छन्।

अहिले त क्रियाशील सदस्यता वितरणमा भएको गोलमालले नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्ने तहसम्म पुगेको छ। पटकपटकको कार्यतालिका हेरफेरबाट १४औँ अधिवेशन कहिले हुने हो भन्ने अनिश्चिततामा बस्न हामी विवश छौँ।

नेकाको अधिवेशन सबै नेपालीको चासोको विषय हुने गर्छ। देशमा भरपर्दो अन्य प्रजातान्त्रिक पार्टी नभएकाले र यसको विगतको गौरवपूर्ण इतिहासका कारण नागरिक समाजले आशाका साथ हेर्ने गर्छन्।

नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका क्रान्ति र आन्दोलनको नेतृत्व गरी लोकतन्त्र स्थापना गरेको श्रेय नेकालाई जान्छ। साथै स्थापित लोकतन्त्र सबल नहुनु र विकृति जन्मनुको अपजसको भागिदार पनि नेपाली कांग्रेस भएको छ। लोकतन्त्र स्थापना गरी जनअधिकार बहाल गराउन सफल हुने कांग्रेस लोकतन्त्रलाई संस्थागत गरी सबल बनाउन र जनविश्वास बनाइराख्न किन चुकिरहेको छ ? यसको विश्लेषण गरी समाधान गर्नु जरुरी छ।

चौधौँ महाधिवेशनले नीतिगत समीक्षाका साथै योग्य नेतृत्व छनोट गरी नेकालाई पुनर्ताजगीकरण गर्नु जरुरी छ। ऐतिहासिक जिम्मेवारी पूरा गर्दै नयाँ चुनौती सामना गर्न सक्ने पार्टी लामो समयसम्म अस्तित्वमा रहन्छन्। इतिहासमा मात्र रमाउने पार्टी प्रजापरिषद् बन्छन्। नेकालाई सशक्त बनाउन यसको नीति नेतृत्व र संगठनमा व्यापक सुधार जरुरी छ।

नीति र नेतृत्व

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसका आदर्श सिद्धान्त हुन। सबै नेपालीलाई एकताको सुत्रमा बाँध्ने राष्ट्रियताको भावना हो। राष्ट्रियताको भावनाबाट आबद्ध नेपालीको प्रयत्नबाट नै समुन्नत र समृद्ध नेपाल निर्माण सम्भव छ।

हामी नेपाली सबै समान हौँ। कोही पनि सानो, ठूलो, विशेष होइन। कसैलाई विशेषाधिकार छैन। हुनु हुँदैन। तसर्थ समुन्नत समृद्ध नेपालको निर्माण प्रजातान्त्रिक बाटोबाट नै सम्भव छ भन्ने हाम्रो विश्वास छ।

प्राकृतिक रूपमा सबै मानिस समान हुन्। असमानता मानव निर्मित कृत्य हो। हाम्रो समृद्धिको लक्ष्य सबै नेपालीका अनिवार्य आवश्यकता पूर्ति गरी उन्नत प्रविधियुक्त र वातावरणमैत्री समुन्नत नेपाल निर्माण हो। राष्ट्रियता, प्रजातन्त्र, समाजवादका यी आदर्श प्राप्त गर्न, सुदृढ बनाउन र विकसित गर्न आवश्यक पर्ने समयानुकूल नीति नै नेपाली कांग्रेसका नीति हुन।  

वर्तमान समयमा राष्ट्रियता सुदृढ छ कि कमजोर बनेको छ? प्रजातन्त्र किन संस्थागत र सवल बन्न सकेन? अपेक्षित आर्थिक प्रगति किन भइरहेको छैन? जनताको सुविधा अभिवृद्धिमा के कारणले व्यवधान आयो ? पार्टीका आदर्श अनुरूपको लक्ष्य किन हासिल गर्न सकेनौँ? यसको विश्लेषण, आत्मसमीक्षा गरी नीति निर्माण गर्नु र त्यसलाई अधिवेशनबाट अनुमोदन गराउनु नेतृत्वको जिम्मेवारी हो।

उपयुक्त नीति निर्माण गर्न नसक्नु वा नीति असल हुँदाहुँदै पनि कार्यक्रम र कार्यान्वयन ठीक नहुनुलाई नेतृत्वको कमजोरी मानिन्छ। आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्न नेतृत्वमा सैद्धान्तिक ज्ञान, रचनात्मक विचार, स्वच्छता र इमान्दारिता, व्यक्तिगत वा पारिवारिक स्वार्थको त्याग, दृढ इच्छाशक्ति, सेवाभाव र क्रियाशीलता जरुरी हुन्छ। यी गुणको अभाव भएको नेतृत्वले पार्टीलाई लोकप्रिय बनाउन सक्दैन। पार्टी कमजोर बन्छ।

संगठन र नेतृत्व

नेपाली कांग्रेस जनतामा आधारित (मास बेस्ड) पार्टी हो। यसको अर्थ संगठन नै नचाहिने होइन। संगठन तथा नेतृत्व जनभावनानुकुल चल्नुपर्छ भन्ने हो। लेनिनवादी–स्टालिनवादी पार्टीमा संगठन नै सर्वेसर्वा हुन्छ। जनमतलाई संगठनको बलमा पार्टीले निर्देशित गर्छ।

प्रजातान्त्रिक पार्टीमा जनभावनालाई पार्टीले सम्मान गर्छ। आफ्ना नीति कार्यक्रम, सिद्धान्त जनतालाई बुझाइ जनमत सिर्जना गर्न संगठन महत्वपूर्ण छ। संगठनभित्र सिद्धान्त बुझेका, प्रजातान्त्रिक आचरणमा रहने, कांग्रेस पार्टीको संस्कारको ज्ञान भएका जनप्रिय कार्यकर्ता हुँदा पार्टी एकताबद्ध, गतिशील र लोकप्रिय बन्छ।अन्यथा पार्टी स्वार्थी र अवसरवादीहरूको झुण्डमा परिणत हुन्छ।

पार्टीले असल नेतृत्व प्राप्त गर्‍यो भने पार्टीलाई लोकप्रिय र गतिशील बनाउन उपयुक्त नीति निर्माण गरी कार्यान्वयन गर्छ। पार्टीमा जनताको आकर्षण रहन्छ। लोकप्रियता प्राप्त गर्छ। खराब नेतृत्वले ठीक काम गर्न नसक्दा पार्टीमा विकृति भित्रन्छ र विग्रह आउन थाल्छ।

करिब एक वर्षअघि एक कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको नेतृत्वलाई गाउँमा विद्यालयहरूमा नेविसंघ छैन, तपाईहरू नेताको वरिपरिमात्र बस्नुहुन्छ, गाउँमा जानुहोस् भनी आक्रोशित शैलीमा निर्देशन दिनुभयो। यथार्थ हो।

नेविसंघ केन्द्रीय नेतृत्व राजधानीमा सीमित छ।जिल्ला नेतृत्व जिल्ला सदरमुकाममा। विद्यालय/क्याम्पसमा नेविसंघका कुरा बुझाउन कोही जाँदैन। राजधानीमा तथा जिल्ला सदरमुकाममा बसेर नेतृत्व प्राप्त हुन्छ भने किन गाउँ जानु ? १०–२० जनालाई मासु चिउरा जलपान गराएर हुन्छ भने किन विचारशील बन्नु ? केन्द्रीय नेतृत्व प्राप्त गर्ने गुण नै नेताको निकटको हुनुपर्ने भएपछि किन गाउँ/जिल्ला दगुरी पसिना बगाउनु?

पार्टी कस्तो बनाउने?

नेपाली कांग्रेसलाई कस्तो पार्टी बनाउने? यो हाम्रो उद्देश्यले निर्धारण गर्छ। उद्देश्य कुनै तरिकाले चुनाव जित्ने वा तालमेलबाट सत्तामा पुग्ने, प्रधानमन्त्री या मन्त्री भएर सत्तासुख लिनेमात्र हो भने पार्टी एउटा भर्‍याङ मात्र हो। नेतृत्वलाई जुन किसिमको भर्‍याङ सहज हुन्छ, त्यस्तै बनाउँछ।

अवसरको खोजीमा रहने सिद्धान्त तथा विचारविहीन व्यक्तिहरूलाई पार्टीमा भित्र्याउने ठेकेदार, बिचौलियाहरूको भरपुर सहयोग लिइ कार्यकर्ता र जनतालाई भ्रमपूर्ण वचन तथा नाराले गुमराह गरी चुनाव जिती सरकारमा जाने, सत्ताबाट आफू तथा आफ्ना सहयोगी स्वार्थी तत्वहरूलाई लाभ दिलाउने काममात्र गर्ने।

यो उद्देश्य पूरा गर्न नियमित अधिवेशन, स्वस्थ प्रतिस्पर्धा, सिद्धान्तनिष्ट कार्यकर्ता, क्रियाशील र अनुशासित भातृ संगठन बाधक हुन्छन्। यसका लागि पनि संगठन त चाहिन्छ तर आदेश पालक समूहका रूपमा मात्र।

नेतृत्व छनोटका आधार

चौधौँ महाधिवेशन नेपाली कांग्रेसका कार्यकर्ताहरूसमक्ष चुनौतीका रूपमा उपस्थित भएको छ। हामी नेपाली कांग्रेसको इतिहासको सर्वाधिक खराब अवस्थाबाट गुज्रिरहेका छौँ।

सैद्धान्तिक रूपमा नेपाली कांग्रेस ठीक बाटोमा भए तापनि नेतृत्वको नीतिविहीनता, अकर्मण्यता, पदलोलुपता र आर्थिक विचलनका शंका उपस्थित हुनाले कार्यकर्ताको तेजोबध भएको छ।

यो अवस्थाबाट पार पाउन चौधौँ अधिवेशन उपयुक्त अवसर हो। वडा तहदेखि केन्द्रीय तहसम्मका नेतृत्व छान्ने कार्यकर्ताले लोभलालचबेगर विवेकपूर्ण मत प्रयोग गर्ने हो भने यो अधिवेशन कांग्रेस पार्टीलाई संजीवनी दिने अपूर्व अवसर बन्न सक्छ। आफ्नो हातमा भएको अधिकारको उचित प्रयोग गर्न चुक्ने हो भने पछि कांग्रेसको नेतृत्व खराब भनी आलोचना गर्नुको अर्थ रहँदैन। नेतृत्व चयनका निम्न आधार हुन सक्छन्:

१) प्रथमतः कार्यकर्ता स्वयं कुनै पनि आग्रह र मनोगत चिन्तनबाट मुक्त बन्नुपर्छ। आफ्नो व्यक्तिगत हित साधनालाई केन्द्रमा राखेर लिइएको निर्णयले गलत पात्र छनोट पनि हुन सक्छ।

पार्टीलाई नै कमजोर बनाउने नेतृत्वले गर्ने मायाले सम्बन्धित व्यक्तिलाई पनि राजनीतिक लाभ मिल्दैन। त्यसैले आफूले मत दिन लागेको व्यक्ति पार्टीलाई लोकप्रिय बनाउन, आदर्शबाट विमुख नभइ उपयुक्त नीति निर्माण गर्न र सबैको भावनालाई सम्मान गर्दै साथ सहयोग लिएर काम गर्ने क्षमता राख्छ कि राख्दैन भन्ने मूल्यांकन गरी छनोट गर्नु जरुरी छ।

२) उच्च नेतृत्वको आकांक्षी व्यक्ति आर्थिक क्रियाकलापमा कति स्वच्छ छ ? त्यसको विगत कस्तो छ? आर्थिक पारदर्शिता कायम गरेको छ कि छैन? हेर्नुपर्छ। आर्थिक चरित्र स्वच्छ नभएको व्यक्तिले उचित निर्णय लिन सक्दैन्।

३) व्यक्तिमा सेवाभाव छ कि अधिकारभाव, यसको ठूलो प्रभाव रहन्छ। पदाकांक्षी व्यक्ति सेवाभावको हो भने त्यसले आफ्नो पदको दुरूपयोग गर्ने सम्भावना ज्यादै न्यून हुन्छ। उत्तम किसिमले जनसेवा कसरी गर्न सकिन्छ भन्नेमा नै उसको चिन्तन हुन्छ। यदि अधिकारभावको व्यक्ति छ भने त्यसले पदको दुरूपयोग गर्ने निश्चित छ।

४) राजनीतिक पार्टीका लागि निर्वाचनको माध्यमबाट सत्तामा पुग्नु एउटा अवसर हो। सत्तामार्फत देश निर्माण र जनहितका आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने अवसर मिल्छ। देश, जनताको सेवा गर्ने मौका पाउनका लागि नै राजनीतिक पार्टी गठन गरिएको हुन्छ।

निर्वाचनमा विजयी भएको अवस्थामा प्रायः पार्टी प्रमुखले नै सत्ताको नेतृत्व गर्छ। त्यसैले पार्टी प्रमुखको हातमा पार्टीको मात्र नभएर देशकै भविष्य जोडिएको हुन्छ। सरकार प्रमुखले राष्ट्रहित र जनहितका काममा मात्र एकाग्रताका साथ लाग्ने हो भने अहिले देशमा देखिएका विकृति र अधिकांश समस्या समाधान हुन्छन्।

५) नेपाली कांग्रेस प्रजातान्त्रिक विचार राख्नेहरूको पार्टी हो। प्रजातान्त्रिक विचार राख्छु भनेरमात्र हुँदैन। व्यक्तिको चरित्र पनी प्रजातान्त्रिक हुनुपर्छ। प्रजातान्त्रिक व्यक्तिमा सहिष्णुता हुनु जरुरी छ। आलोचना सहन नसक्ने व्यक्ति प्रजातान्त्रिक हुन सक्दैन।

यी कुरालाई विचार गरेर नेतृत्व छनोट गर्न सक्यौँ भने चौधौँ अधिवेशन कांग्रेसको लागि उत्साह भर्ने अवसर बन्न सक्छ। चौधौँ अधिवेशन:निराशालाई उत्साहमा परिणत गरौँ।

प्रकाशित: १० कार्तिक २०७८ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App