१९ मंसिर २०७८ आइतबार
विचार

राजा फर्किने हल्ला

विजयादशमी भर्खरै बिदा गरेर दीपावली र छठ जस्ता पर्व पर्खेर बसेका छन् करोडौँ नेपाली। आफूलाई ‘पूर्वराजा’ घोषणा गरेर बेलाबखत देशबासीलाई सन्देश दिने ज्ञानेन्द्र शाहले दसैँका अवसरमा दिएको शुभकामना सन्देश निकै चर्चित भएको छ। 

त्यसमा केही जिज्ञासा, असन्तुष्टि, आक्रोश र शुभेच्छा मिश्रित भावना छन् भन्नेहरू धेरै छन्। सन्देश सुनेपछि राजसंस्था समर्थकहरू चाहिने भन्दा धेरै उत्साही देखिए। गणतन्त्रवादीमध्ये धेरैजसो मौन बसे। आफूलाई ‘राजावादी’ भन्न रुचाउनेमध्ये कतिपय उत्ताउलाहरूले लडाईँ नै जितेझैँ चर्को प्रतिक्रिया जनाए। सच्चा राजतन्त्रवादी (मोनार्किस्ट) थोरैमात्र भएकाले उनीहरूले ‘राजाको सदाशयपूर्ण मनसाय’ स्वागतयोग्य छ भन्नेमात्र टिप्पणी गरेका छन्।  

संसारमा धेरै राजा गद्दीच्युत भए पनि कालान्तरमा जनताले ससम्मान गद्दीमा फिर्ता बोलाएको इतिहास पनि छ। राजाका वरिपरि ज्ञानी, विवेकी, उदार, सज्जन र दीर्घकालको मार्गचित्र बनाउन सक्ने क्षमतावान (कम्पिटेन्ट) मानिस छन् भने राजतन्त्रको पुनर्बहाली हुने प्रबल सम्भावना रहन्छ। 

यसका लागि ताप्केको बिँड तातेर हुँदैन, ताप्के नै तात्नुपर्छ। ‘राजतन्त्र पुनर्बहाली गरिदिन्छौँ’ भन्दै बितेका बाह्र/तेह्र वर्षमा धेरैले ‘पूर्वराजा शाहलाई ठगेको कथा सुनाएका थिए, निर्मल निवासका विश्वासपात्र दिवाकरविक्रम (डिबी) राणाले। डिबी जंगबहादुरका भाइ बमबहादुर राणाका वंशज हुन्। सूर्यबहादुर थापासँग इलाहावाद (भारत) मा कलेज पढेका राणाका अनुसार आफूलाई ‘राजावादी’ भन्ने दल, युवा समूह, राजनीति नै नबुझेका उरन्ठेउलाहरूलगायत धेरैलाई करोडौँ रुपियाँ मद्दत गरिए पनि खासै उपलब्धि भएन। 

तर राजगद्दीमा बस्ने इच्छा भन्दा पनि राष्ट्र स्वाधीन रहोस् भन्ने राजाको सदिच्छा छ भन्थे उनी। जनबल (पिपल्स पावर) भन्दा भूराजनीतिक कारणले नेपाली राजनीतिमा बाह्य शक्ति आज प्रबल देखिन्छ। जगजाहेर छ, विश्वको सबै भन्दा ठूलो कम्युनिस्ट ढुंगा फुटाउन युरोप र अमेरिकाले चीनलाई घेरिरहेका छन्। 

नेपालबाट उत्तरतिर प्रहार गर्न ठूलो अदृश्य शक्ति काठमाडौँलाई स्टेसन बनाएर बसेको छ। चीन बर्बाद हुँदा प्रकारान्तरले अमेरिका नै बलियो हुन्छ। अमेरिका कमजोर हुँदा चीनको चकचकी अवश्य बढ्छ। त्यसैले दुवै महाशक्तिले चीनको पेट मानिने तिब्बतमा धेरै ध्यान दिएका पाइन्छ। चीनको भुँडी फुट्दा ऊ मुर्छा पर्छ। भुँडी फुटाउन खोज्नेहरू नेपाललाई आधार इलाका बनाएर चीनमा प्रहार गर्न तयार देखिन्छन्।  

भारतलाई सन् २०११ देखि आणविक मित्र बनाएर अमेरिकाले चीन विरोधी महामोर्चा बनाइरहेको छ। जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भारतलगायतका बलिया साथीहरू अमेरिकाले ल्याएको इन्डो–प्यासिफिक स्ट्राटेजी (एसिया प्रशान्त क्षेत्रमा अमेरिकी रणनीति) अन्तर्गत हिँडिरहेका छन्।

चीनको मोर्चा पनि कमजोर छैन। तर रसिया सर्बिया, युक्रेन, भेनेजुयला, इन्डोनेसिया, इरान, नाइजेरिया, अंगोला, पाकिस्तान, उत्तर कोरिया आदि चीनका साथीले संकटमा कति मद्दत गर्लान् भन्ने प्रश्न झन जटिल बन्दै गएको छ।

संकटका बेला कसले कसरी मद्दत गर्छ भन्ने परीक्षा हुन्छ। बुद्धले भनेका छन्– ‘दुःखमा परेपछि मान्छे चिनिन्छ।’ चीनलाई ध्वस्त पार्न तिब्बत स्वतन्त्र गराउने उद्देश्यले अमेरिकाले नेपालका हिमाली जिल्लाहरूमा हजारौँ खम्पा (खाम–पा) विद्रोहीलाई पर्याप्त हतियार, पैसा र तालिम दिइरहेको सूचना पाएपछि राजा वीरेन्द्रले २०३१/३२ सालतिर चीन विरोधी गतिविधि निस्तेज पारे। 

राजा महेन्द्र र माओबीचको प्रगाढ मित्रताकै निरन्तरता थियो– चीनसँग राजा वीरेन्द्रको सम्बन्ध। नेपालमा ‘मोनार्की’ छउन्जेल चीनको कूटनीति र राष्ट्रिय सुरक्षालाई मद्दत पुगेको चिनियाँहरूले स्वीकारेका छन्। तर काठमाडौँमा राजा ज्ञानेन्द्रको शासन सुरु भएपछि पहिलेको जस्तो सम्बन्ध नरहेको कुरा चीनका केही पत्रकारले यो पंक्तिकारलाई सुनाएका थिए।

अहिले नेपालमा युरोप र अमेरिकाको खिचडी पाकिरहेको छ। चीन र भारतले सूक्ष्मरूपमा यसबारे गुप्त सूचना लिएकै होलान्। यसमा नेपालको होइन, तत्तत् राष्ट्रको स्वार्थ मुखरित भइरहेको देखिन्छ। दिल्ली र बेइजिङमा सम्पर्क भएका प्रबुद्धहरू भन्छन्– पहिले चीन र भारतका विरुद्ध कुनै गतिविधि नहोस् भनेर राजदरवारले ‘वाच टावर’ भएर काम गरेको थियो। 

अब त्यो अवस्था छैन। राजस्व खानेहरूमध्ये धेरै ‘फरेन करेन्सी’ (विदेशी मुद्रा) खान्छन्। उनीहरू ती दाताहरूप्रति वफादार रहनु स्वाभाविक हो। एमसिसी र बिआरआइ जस्ता परियोजनाबारे एकसरो अध्ययन समेत नगरी एउटा पक्षले जिन्दावाद र अर्को पक्षले मुर्दावाद भनिरहेको छ। यसले नेपाली कूटनीति दरिद्रतम् बन्दै गएको पुष्टि हुन्छ।

राजनीति र कूटनीतिबारे सिंहावलोकन गर्दा वा विंहङ्गम दृष्टि लगाउँदा नेपालमा ‘राजनीतिक स्थिरता’ चाहिन्छ भन्नेमा चीनको बढी चासो र चिन्ता देखिन्छ। भारतको स्पष्ट धारणा पाइँदैन। भारतीय जनता पार्टीले नेपाल ‘हिन्दु राष्ट्र हुनुपर्छ’ भनेर कुनै आधिकारिक दस्तावेज प्रकाशित गरेको जानकारीमा आएको छैन। तसर्थ हिन्दु अधिराज्य (हिन्दु किङ्डम) उसको अन्तरमनमा छ भनेर पत्याउने आधार देखिँदैन।  

चीन र भारत नेपालमा संघीयता र धर्म निरपेक्ष चरित्र फुलोस् फलोस् भन्ने चाहँदैनन् भन्ने कताकता प्रतिध्वनित भइरहेको छ। यसको अर्थ ती दुई अन्तरवस्तुको ‘घटकद्रव्य’ पश्चिमा वैद्यहरूले नै बनाएका हुन् भन्ने कुरा चीन र भारतले मज्जाले बुझेका छन्। नेपालमा श्वेतप्राणीका प्रियजनले मरिहत्ते गरेर गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बचाउनुपर्छ भन्नुको कारण स्पष्ट बुझ्न सकिन्छ। ठूला दल, ठूला मिडिया, ठूला एनजिओ र नेपालीबाहेक अरू दाता राष्ट्रका इसारामा काम गर्ने र बेलाबखत छिचिमिरा बनेर नागरिक समाज भन्दै उफ्रिनेहरूका चालामाला हेर्दा उनीहरूको नाभी गाडिएको ठाउँ पत्ता लाग्छ।

पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो सन्देश केवल सन्देश हो वा चेतावनी, त्यो स्पष्ट छैन। मोनार्की र डेमोक्रेसी (राजतन्त्र र प्रजातन्त्र) एकीकृत हुँदामात्र राष्ट्र बलियो हुन्छ भनेका छन् उनले। उनको यो सुन्दर र प्रजातान्त्रिक विचारलाई ‘ओलम्पिक ज्योति’ झैँ जताततै पुर्‍याइदिने भरपर्दो शक्ति, संगठन र समुदाय खोइ त ? राजा त्रिभुवन आफैँले राणा शासन ढाल्ने प्रतिज्ञा गर्दा दक्षिण एसियाको सर्वाधिक लामो (१०४ वर्ष) सैनिक शासन ढल्यो। राजा महेन्द्रले विकास र राष्ट्रियताको आलोक छर्न दलहरू चाहिँदैन भनेर मौलिक प्रणाली अपनाउँदा करोडौँ जनताले समर्थन गरे। 

त्यसले नेपालमा बाह्य हस्तक्षेप धेरै रोकियो। ‘पूर्वराजा’ शाहले आफ्नो स्पष्ट मार्गचित्र, योजना र कार्यक्रम मिडियामार्फत अविलम्ब घोषणा गरेर ‘आजदेखि म मैदानमा ओर्लेको छु, नेपाल नेपालीकै अधीनमा रहनुपर्छ भन्नेहरूलाई म मन, वचन र कर्मले राष्ट्रिय स्वाभिमान बचाउन शान्तिपूर्ण आन्दोलनमा साथ दिन आग्रह गर्दछु’ भन्ने उद्घोष गरे भने काठमाडौँलगायत पचासौँ ठाउँमा लाखौँ जनता सडकमा आउने निश्चित देखिन्छ। तर अन्य व्यक्ति वा बेलाबखत उम्रिने ससाना समूहप्रति जनताको विश्वास देखिँदैन। उनीहरूमार्फत पूर्वराजाको सदाशय र सदिच्छाले स्पष्ट नतिजा ल्याउन नसक्ने कुरा जगजाहेर छ।

नायक वा कमान्डरलाई भ्रममा राखेर, असत्य र अतिरञ्जित सूचनामा अल्मल्याएर वा ‘सबै राम्रो छ’ भनेर लडाइँ जितिँदैन। राजगद्दी सम्हालेपछि छत्तीस महिनाको प्रत्यक्ष शासन गर्ने उद्घोष गरेका बेला बाह्य षडयन्त्र र कतिपय आन्तरिक कारणले ऊबेला राजा ज्ञानेन्द्रले असफलता भोग्नु पर्‍यो। त्यसको सबै भन्दा ठूलो कारण थियो– सूचनाको अभाव। 

राष्ट्रिय/अन्तर्राष्ट्रिय षडयन्त्रसँग ‘जुद्ध’ गर्नुपर्ने बेलामा राजाको मोर्चा सम्हाल्नेहरूमा धेरैजसो लोयल अर्थात ‘वफादार’ मात्र थिए र क्षमतावान (कम्पिटेन्ट) थोरैमात्र देखिए। त्यो प्रश्नचिह्नमय अतीतले पूर्वराजालाई पक्कै पनि झस्काइरहँदो हो।

राष्ट्र गणतन्त्रको चक्रमा परेपछि कम्बोडियाका राजा नरोदम सिंहानुकले चीनमा शरण लिए। त्यहाँ उनलाई राजाकै सम्मान दिएर सुखपूर्वक बस्ने प्रबन्ध गरियो सन् १९७३ मा। चीनमा बस्दा सिंहानुकले एघार राष्ट्रको भ्रमण गरेर ‘कम्युनिस्टलाई उचालेर आफूलाई अमेरिकाले गद्दीच्युत गराएको’ सत्य कथा सुनाए। ‘माइ वार विथ द सिआइए’ (सिआइएसँग मेरो संघर्ष) पुस्तकमा उनले अमेरिकाले कसरी कम्युनिस्टहरूलाई प्रयोग गर्छ भन्ने खुलासा गरेका छन्।

राजा ज्ञानेन्द्रको कथाव्यथा कम्बोडिया, इथियोपिया, इरान, अफगानिस्तानलगायतका राजाहरूको भन्दा फरक छ। उनले जघन्य अपराध गरेका भए भागेर युरोप, अमेरिकामा शरण लिन सक्थे। उनी कमजोर भएपछि शक्तिशाली बनेका गणतन्त्रवादी नेताहरू मिलेर उनीविरुद्ध मुद्दा चलाउन सक्थे। सानो कसुरमात्र भेटेको भए पनि छाड्ने थिएनन्। तसर्थ उनी स्वदेशमै बस्नुको कारण माटो र जनताप्रतिको माया नै हो भन्ने बुझ्न सकिन्छ।

राजतन्त्र र प्रजातन्त्रबीचको समन्वयले मात्र नेपाल सुदृढ, शान्त, समुन्नत हुन सक्छ भनेर स्पष्ट सन्देश दिएका छन् उनले। बिपी कोइरालालगायत धेरैले यही भनेको पाइन्छ। राजतन्त्रवादी र गणतन्त्रवादीलाई विभक्त गराउने विदेशीको खेल हामीले बितेका बाह्र/तेह्र वर्षमा दिनदिनै हेरिरहेका छौँ। यसले नेपालमात्र हारिरहेको छ, कसैले जितेको देखिँदैन। 

नेपाललाई विदेशीको खेल मैदान हुन नदिने हो भने अब जनताले आग्रह/पूर्वाग्रह बिर्सिनुपर्छ भन्ने चेतना जागृत भएको छ। राष्ट्रिय हित चाहने राजसंस्था, जनता, सेना र दलहरू ऐक्यबद्ध हुनैपर्छ भनिरहेका छन् जनता। आपसमा विभाजित हुँदा नेपालले बितेका वर्षमा राष्ट्र झन कमजोर भएको देखेपछि अधिकांश गणतन्त्रवादीहरू नै भनिरहेका छन्–राजतन्त्र चाहिन्छ।

पुराना कम्युनिस्ट नेताहरू मोहन वैद्य, नारायणमान बिजुक्छे, सिपी मैनालीलगायतका नेता राष्ट्रलाई साम्राज्यवाद र विस्तारवादको दुष्प्रभावबाट बचाउन स्थायी शक्तिका रूपमा राजसंस्था चाहिने रहेछ भन्न थालेका छन्। राष्ट्रियता बचाउन राजासंँग पनि सहकार्य गर्न सकिन्छ भनेका छन् नेत्रविक्रम चन्दले। 

नेपाली कांग्रेसका केवी गुरुङ, ओमकारप्रसाद श्रेष्ठ, पिएल सिंह, पूर्णबहादुर खड्कालगायत धेरैजना राजसंस्थाप्रति नकारात्मक छैनन्। राष्ट्रिय एकता, सन्तुलित कूटनीति, राष्ट्रिय सुरक्षालगायत यावत दृष्टिबाट हेर्दा ‘राजा फर्किने हल्ला’ निराधार अफबाहमात्र होइन रहेछ भन्ने पुष्टि भइरहेको छ। दलहरूले राजालाई अपमान गर्ने र राजाले दलको अस्तित्व अस्वीकार गर्ने कटु नियति शायद अब दोहोरिने छैन।

समयले हामीलाई धेरै कुरा सिकाएको छ। राजा र जनता विभाजित हुँदा राष्ट्र कमजोर बन्दोरहेछ भन्ने विगतले प्रमाणित गरिसकेको छ। अस्थिरता र कलह भइरहँदा विदेशीले आदेश–निर्देश दिँदारहेछन् भन्ने सिकाएको छ समयले। तसर्थ हामीसँग अब एउटामात्र ‘च्वाइस’ बाँकी छ– स्वदेशी राष्ट्रनायकलाई अघि बढाउने कि विदेशीको सुरक्षा छातामुनि बस्ने ?

प्रकाशित: ५ कार्तिक २०७८ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App