९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

नेपाल हिँड्नुपर्ने बाटो

मानिस अक्सर जुन काम गर्छन, त्यो काम विल्कुल अरुचिपूर्वक किन गरिरहन्छ भन्ने थाहै नपाई वा आत्मबोध नभइकनै गर्दारहेछन्। खासगरी नेपाल जस्ता अल्पविकसित मुलुकको विडम्वनापूर्ण यथार्थ हो यो। जीवनभर राजनीतिमा लागेको मानिस उत्तरार्द्धमा आएर ब्यर्थमा राजनीति गरिएछ भन्दै हिँड्छ। अरु पेशा व्यवसाय जेमा लागेको व्यक्ति पनि अपवाद छाडेर पछुतो नै व्यक्त गर्छ। आफूले जीवनभर गरेको कामप्रति गौरव गर्ने व्यक्ति कमै भेटिन्छन्। औँलामा गन्न सकिने केही सिमित व्यक्तिबाहेक कसैले पनि आफूले विगतमा सम्पादन गरेको काम या वर्तमानमा संलग्न पेशा या क्षेत्रप्रति गौरव गरेको पाइँदैन। अनि त्यस्तो समाजमा तत्तत् क्षेत्रले कसरी प्रगति गर्छ? या त्यो क्षेत्र कसरी विकसित र सम्मानित हुन्छ? कतिसम्म भने वडा प्रमुखदेखि कार्यकारी प्रमुखसम्मले बेलाबेलामा निराशा व्यक्त गरेको सुनिन्छ। अनि कसरी त्यो आधारभूत तह र समग्र देशले प्रगति हासिल गर्न सक्छ? आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न निरन्तर लाग्ने, डटेर लाग्ने र फेरि पनि लागिरहने नभइकन कहाँबाट उद्देश्य पूरा गरी लक्ष्य भेटाउन सकिन्छ? तर गरिब देश र गरिब परिवारले भोगिरहेको यथार्थ यही हो। मन र मस्तिष्कमा क्रान्ति नभइकन परिवार/समाजमा क्रान्ति हुन 
सक्दैन। संकल्प र अठोटबिना व्यवहारमा परिवर्तन आउन सक्दैन। अनि हामीले सकारात्मक परिणामको अपेक्षा कसरी गर्ने? यो विषयको चर्चा किन गरिएको हो भने भरखरै नेपाल आएर फर्किएका मित्रराष्ट्र भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले दुई दिने बसाइलाई जसरी अधिकतम उपयोग गरी नेपाल–भारत सम्बन्धलाई नयाँ आयाम प्रदान गर्ने कोसिस गरे, त्यसबाट कुनै पनि व्यक्तिभित्र अन्तर्निहित क्षमता, ऊ संलग्न भएको क्षेत्रप्रतिको इमानदारिता र उसको कर्तव्यबोधको झलक मिल्छ। मोदीले जसरी आफ्नो देश भारत र छिमेकी राष्ट्रलाई चिन्ने र बुझ्ने कोसिस गरे के हामीले त्यसरी चिन्ने कोसिस गर्यौंे त? उत्तर सकारात्मक आउँदैन। हाम्रो राजनीति र राजनीतिक क्षेत्रले अघि सारेका विकासका प्राथमिकता के के हुन्? वा विकासको मोडल कुन हो र कति वर्षभित्र नेपाललाई कहाँ पुर्यााउने हो? आजसम्म यो विषय विवादित नै देखिन्छ। 
साम्यवादको 'युटोपिया' वा 'स्वैरकल्पना' मा नराम्ररी फसेका नेपालका कम्युनिष्टहरु केवल सत्ता कब्जाको सपनाबाहेक केही देख्दैनन्। आफ्नो जवानीमा तथाकथित क्रान्तिकारी कम्युनिष्ट बनेका व्यक्तिहरु बुढ्यौली लागेपछि परम्परागत कम्युनिष्ट बाटो गलत हो भन्ने निष्कर्षमा पुग्छन् र उदार लोकतन्त्रको वकालत गर्न पुग्छन्। तसर्थ नेपालको साम्यवादी भंगालोबाट मुलुकको विकास र उन्नति कदापि सम्भव नै छैन। विचार, दर्शन र राजनीतिक धरातल नै गलत भएपछि त्यसैको गर्भबाट पैदा हुने योजना र क्रियाकलापहरु सही हुन सक्दैनन्। आफू हिँडेको बाटोप्रति नै गाढा निष्ठा राख्न नसक्नेहरुले देश र जनताप्रति निष्ठा राख्लान् वा इमानदार भएर काम गर्लान् भन्न सकिँदैन। त्यसैले नेपालको कम्युनिष्ट विभाग त्यस्तो विभाग हो, जसको कुनै पनि उत्पादकत्व र उपायदेयता छैन। मोदीले भनेजस्तो शस्त्र र युद्धको बाटोको कुनै पनि अर्थ छैन। हिंसा अंगालेर हिँड्नुको कुनै औचित्य छैन। अब रह्यो लोकतान्त्रिक प्रवाहको कुरा जो विशाल सरिता जस्तै निरन्तर प्रवाहित भइरहन्छ, जसको नीति र नेतृत्वसँग मुलुकलाई समृद्धिको बाटोमा लैजाने के–के उपाय छन् त? मोदीले आफ्नो अन्तस्करणबाट व्यक्त गरेका सुझाव उपयोगी छन् या छैनन्? यस विषयमा संक्षिप्त चर्चा गर्नु उपयुक्त हुनेछ। 
प्राकृतिक सम्पदा
नेपाल राष्ट्र निर्माण हुँदै हामीले प्रकृतिबाट प्राप्त गरेका अपार सम्पदाहरु हाम्रो सिंगो पुँजी हो। हिमालदेखि तराईसम्मको भूगोलमा अन्तरनिहित शक्ति र क्षमता पहिचान गरी तद्अनुरूप योजनाहरु निर्माण गर्नु र त्यसको इमानदार कार्यान्वयन गर्नु आजको आवश्यकता हो। त्रेता युगको प्रसंग राम र रावणको लडाइँलाई जोड्दै मोदीले भने– 'लक्ष्मण बेहोस भएपछि हनुमानजी जडीबुटी खोज्न हिमालयतर्फ आएर हिमाल नै बोकेर गए। संजीवनी पाएर लक्ष्मणले पुनर्जीवन पाए।' त्यसैले हाम्रो हिमालय जडीबुटीको भण्डार हो र सँगसँगै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत दर्जनभन्दा बढी अग्ला शिखर यहीँ छन्। यो निकै ठूलो सम्पत्तिको स्रोत हो। संसारको मन खिच्ने साहसिक पर्यटनको सम्भावना यहीँ नै छ। हजारौं नदीनाला छन्, जहाँबाट हजारौं मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ। अनेक तालतलैयाहरु छन् जसको मनमोहकतामा लाखौं/करोडौं विदेशीलाई लठ्याउन सकिन्छ। यो शक्तिलाई चिन्न ढिला गर्नुभएन। हाम्रो नेतृत्व यस दिशातर्फ अभिमुख हुनुपर्छ। आफ्नै नाभीमा कस्तूरी बोकेर भौतारिने कस्तूरी मृगजस्तो बन्नुभएन। 
धार्मिक सम्पदा 
विश्व शान्ति र अहिंसाका महानायक गौतमबुद्धको जन्मस्थान लुम्बिनी र हिन्दुहरुका आराध्य पशुपतिनाथको मन्दिर नेपालका अनेकानेक तीर्थस्थलमध्ये सर्वाधिक महत्वपूर्ण छन्। बराह क्षेत्र, मुक्तिनाथलगायतका अन्य तीर्थस्थलसमेत महत्वपूर्ण छन्। संसारभरका हिन्दु र बौद्धमार्गीहरु आफ्नो जीवनमा एकपल्ट नेपाल आउन चाहन्छन् र झण्डै एक अरब हिन्दु भारतमा मात्रै छन्। उत्तरतिरको मित्रराष्ट्र चीनमा बौद्धमार्गी प्रशस्त छन्। हामीलाई प्राप्त यो सम्पदा निर्विवाद छ र संसार नतमस्तक 
छ तर हामीसँग योग्यताको कमी छ। राजनीतिक नेतृत्वले आजसम्म संसारलाई यो बुझाउन सकेन कि एक पटक नेपाल आउ र आफ्नो मनोकामना पूरा गर। यसले हाम्रो विकासको गतिलाई निकै सुस्त तुल्याएको छ। मोदीले यो कुरा पनि हामीलाई राम्ररी सम्झाएर गएका छन्। महाभारतको लडाईँको प्रसंगमा सञ्जयले धृतराष्ट्रलाई गीताको अन्तिम श्लोकमा बताएजस्तो : 
यत्र योगेश्वर कृष्णो : यत्र पार्थ धनुर्धर। 
तत्र श्री विजयो भूर्तिध्रुवा नीर्तिमतिम्।
अर्थात् जहाँ भगवान कृष्ण र सर्वोत्कृष्ठ धनुर्धर अर्जुन छन् वा जुन पक्षमा यी दुई छन्, विजयी त्यही पक्ष हुने निश्चित छ। त्यस्तै प्रकारले यत्रा उच्च धार्मिक सम्पदा भएको देशको उन्नति सोझै हुनुपर्ने हो तथापि हामीमा केही न केही ठूलो कमजोरी छ भन्ने यथार्थ समयमै बुझ्न आवश्यक छ। 
संघीयता 
पुरानो राजनीतिक प्रणालीमा विद्यमान प्रशासनिक संरचनाहरु देश विकासका लागि सहायक हुन सकेनन् भन्ने निष्कर्षका साथ हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा गएका छौं। तर यो कस्तो हुने, आजपर्यन्त विवाद जारी छ। हाम्रा माग र तर्क फरकफरक छन्। जातिविशेष र क्षेत्रविशेषलाई आ–आफ्नै प्रदेश चाहिएको छ। प्रदेशहरु संख्यामा जतिसुकै हुन्, साधन र स्रोतको प्रचुरता होस् या नहोस्, नेपालीबीचको आपसी सद्भाव कायम रहोस् या नरहोस्, भविष्यमा राष्ट्रिय अखण्डता अक्षुण्ण होस् या नहोस्, भूगोलको विभाजनमा हामी केन्द्रित छौं। यो निकै नै विडम्वनापूर्ण छ। मोदीको स्पष्ट सल्लाहले हामी ब्युँझियौ या ब्युँझेनौं थाहा छैन तर उनको भनाइ निकै नै सुझबुझपूर्ण र परिपक्व छ। कुनै पनि विदेशीको सल्लाह हामीले मान्नैपर्छ भन्ने छैन तर उनले कस्तो सल्लाह दिए भन्ने कुरा मुख्य हो। हिमाल, पहाड र तराई जोड्ने संघीयताको विकल्पमा कदापि जानुहुँदैन। भविष्यमा देशकै अस्तित्वलाई दाउमा लगाउने संघीयता अपनाउनु भन्दा संघीयता नभएकै वेश हुनसक्छ। तसर्थ हाम्रो राजनीतिक नेतृत्वले यस विषयमा दृढतापूर्वक कदम चाल्नुपर्छ। 
हरेक नेपालीले एउटा कुराको हेक्का सधैँ राख्नुपर्छ– हामी कुन क्षेत्रमा छौं, हाम्रो जिम्मेवारी के हो र हामीले के गर्नुपर्छ भन्ने कुराको सुझबुझबिना कुनै पनि कदम चाल्नुहुँदैन। खासगरी राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्तिले त अझ सचेत र सजग हुनु जरुरी छ। निकै ठूलो मेहनत, लगानी, त्याग र बलिदानबाट मात्र राष्ट्र निर्माण हुने गर्छ। नेपाल एकै दिनमा बनेको देश होइन। र, यो व्यक्तिविशेषले बनाएको देश पनि होइन। हामीसँगै बनेका देशहरु समृद्धिको उत्कर्षमा छन्। हामी भने गरिबीको उत्कर्षमा छौं। त्यस्तो किन? पक्कै पनि हामीमा ठूलो कमजोरी छ भन्ने कुरा बुझ्नुपर्छ र हाम्रो राजनीतिक नेतृत्वले थोरै भए पनि मोदीबाट सिक्नुपर्छ। जनताको मनमा बस्न नसक्ने हो भने राष्ट्रको नेतृत्व गर्नुको कुनै औचित्य हुँदैन। भारतका बारेमा अनेकाअनेक नकारात्मक धारणा बनाएर बसेका नेपालीहरुको मन दुई दिनमै कसरी जित्न सके भारतीय प्रधान मन्त्रीले भन्ने कुरा बुझ्न कोसिस गर्न सक्नुपर्छ। त्यहीअनुसार चल्न थाल्नुपर्छ। नेता जनताको अभिभावक र संरक्षक पनि हो। सुख र दुःखमा जनतासँग नउभिने व्यक्ति सच्चा नेता हुन सक्दैन। हामीलाई मोदीले दिएको शिक्षाको सार पनि यही हो।

प्रकाशित: २८ श्रावण २०७१ २०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App