६ कार्तिक २०७८ शनिबार
विचार

दुर्गासप्तशतीमा सत्तासूत्र

न तातो न माता न बन्धु न दाता।

न पुत्रो न पुत्री न भृत्यो न भर्ता।।

न जाया न विद्या न वृतिर्ममैव।

गतिस्त्वं गतिस्त्वं तमेका भवानी।।

देवी आराधना र उपासनाको पर्व नवरात्रको प्रारम्भ भइसकेको छ। माथि उल्लिखित देवी स्तुतिका पंक्ति आदिगुरु शंकराचार्यद्वारा रचना गरिएको भावन्यास्टिकको सुरुको श्लोक हो। केटाकेटीदेखि सुन्दै आएको भएकाले अत्यन्त प्रिय लाग्छन्। जसको नेपाली भावार्थ हुन्छ– ‘भवानीबाहेक पिता, माता, भाइ, दाता, पुत्र, पुत्री, मृत्यु, स्वामी, स्त्री, विद्या र वृत्तिहरू सबै मेरा होइनन्, तपाईँ भवानी नै एकमात्र गति र मोक्षदायिनी हुनुहुन्छ।’ सांसारिक सम्बन्ध र बन्धन परित्याग गरेर संन्यास मार्ग ग्रहण गरेका शंकराचार्य जस्ता आध्यात्मिक पुरुषको त्यो भावलाई बुझ्न र छिचोल्न सक्ने विषय निश्चय पनि होइन र समर्पित भाव भएका अनन्य उपासक र साधकहरूले मात्र त्यसलाई छिचोल्न सक्ने आनुमान गर्छु। केटाकेटीमा नै सुनेको भएकाले उक्त पंक्ति अत्यन्त रसमय र प्रिय लाग्छन्।

‘दुर्गासप्तशती’ भन्नासाथ देवी पुजनमा गरिने पाठ हो भन्ने बुझाइ थियो मेरो। संस्कृत भाषाको ज्ञान नभएर पनि त्यस्तो भएको हुन सक्छ। जब डा. स्वामी रामानन्द गिरीद्वारा अनुवाद गरिएको ‘दुर्गासप्तशती’ (पूजा विधि, नेपाली अनुवाद एवं व्याख्या) र राष्ट्रकवि माधव घिमिरेले अनुवाद गर्नुभएको ‘दुर्गासप्तशती’ नामका दुई कृति पढ्दा लाग्यो– सात सय श्लोक भएको ‘सप्तशती’ देवीको आराधना र उपासनाका विषयमात्र नभएर शासनसत्तासँग सम्बन्धित गुह्य रहस्य पनि छन्।

घिमिरेको कृति ‘सप्तशती’ को भूमिका सागरमणि आदिले लेख्नुभएको छ। जुन कृतिको भन्दा धेरै पृष्ठ छन्। त्यस्तो लामो, विस्तारित भूमिका अहिलेसम्म पढेको थाहा छैन। अझ घिमिरेको यस कृतिको उल्लेखनीय पक्ष वि.सं. २००२ मा रचना गरिएको कृतिको प्रकाशन भने २०५८ सालमा आएर जगदम्बा प्रकाशनले गरेको छ। जुनबेला भूमिकाको लेखक सागरमणि आदिको भौतिक उपस्थितिको अन्त्य भइसकेको थियो। श्रीमद्भागवत्गीता र दुर्गासप्तशतीको सम्बन्धमा भूमिका लेखकले ‘जहिले जहिले असंख्य संकटहरूको भुँवरीमा पर्ला उहिले उहिले यिनै दुई पुस्तक पवित्र देशलाई यो सुतेको जातिलाई जागृत हुन प्रेरणा गर्नेछन्’ भनेर लेख्नुभएको वाक्यांश निकै अर्थपूर्ण र सान्दर्भिक अहिलेको परिवेशमा लाग्यो।

राष्ट्रका लागि तप र साधनाका लागि हो भन्ने आसय नै दुर्गासप्तशतीको शासनसूत्र त होइन भन्ने सम्बद्ध पक्षलाई नवरात्र पर्वले बोध गराउन सकोस्।

त्यस्तै भूमिकामा नै उल्लेख भएको ‘गीता र दुर्गासप्तशतीको मननपूर्वक अध्ययन गर्ने विद्वज्जनहरूलाई दुवैमा प्रगाढ राजनीति विज्ञान समावेश भएको अवश्य थाहा हुन्छ। गीतामा कर्मयोग–आत्मज्ञानको प्रधान्य छ। दुर्गासप्तशतीमा राजनीतिको मुख्य सिद्धान्त शक्ति विज्ञान छ। प्रत्येक व्यक्तिलाई संसारमा कुशलतापूर्वक सभ्य जीवन बिताउन राजनीतिक विज्ञानको ज्ञान आवश्यक छ। कुनै समयमा प्रत्येक आर्यले राजनीति राम्ररी बुझेको थियो र यसै कारणबाट ‘त्यस कालको संसारमा आर्य जातिको प्रतिद्वन्दी कोही थिएन’ भन्ने वाक्यांशले अझ ‘दुर्गासप्तशती’ मा रहेको सूत्र बुझ्न घच्घच्यायो।

मार्कण्डेय पुराणको एक भाग हो ‘दुर्गासप्तशती’। दैवी र आसुरी शक्तिबीचको युद्धको गाथा अर्थात् देवासुर संग्रामका चर्चा निश्चय पनि छन्। शुम्भ, निशुम्भ, महिषासुर, चुण्ड, मुण्डको विनाशको प्रसङ्गभन्दा बढी राज्यविहीन अवस्थामा पुगेका राजा सुरथ र वैश्यवृत्तिका समाधि र ऋषि मेघाबीच भएको संवाद सत्तासूत्रको विषयमा निकै अर्थपूर्ण छन्। चैत्रवंशमा उत्पन्न भएका राजा सुरथ कोलाविध्वंसीद्वारा युद्धमा पराजित हुन्छन्। सम्पूर्ण पृथ्वीको राज्य गुमाए पनि आफ्नो राजधानी फर्केर सानै देशको भए पनि राजा हुने उनको चाहना पूरा हुँदैन। आफ्नै मन्त्री, सेना र राजकोषका कारण उनी राज्यविहीन अवस्थामा पुग्छन्। त्यसपछि उनी एक्लै घोडा चढेर निर्जनवनतर्फ जान्छन्। त्यस्तै परिवारजनबाट परित्यक्त वैश्य समाधि पनि वनमै हुन्छन्। समान अवस्थाका उनीहरू अन्ततः मेघा ऋषिको आश्रममा पुग्छन्। जहाँ हिंस्रक जीवहरू पनि सौम्य र शान्तरूपले घुमिरहेका हुन्छन्। राजा र वैश्य दुवै ऋषिको आश्रममा रहन्छन्।

राज्यविहीन अवस्थामा पुगेका राजा सुरथ र परिवारबाट त्यक्त वैश्य समाधिलाई मनोसामाजिक परामर्श ऋषि मेघाबाट प्राप्त हुन्छ। सुरथको अवस्थाले २०४६ सालपछि भएको नेपालको राजनीतिक अवस्थाको स्मरण गरायो। बहुमत प्राप्त सरकारहरू आफ्नै दलका कारण सत्ताच्युत भएका छन्। संभवतः २०५४ साल जस्तो लाग्छ, तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन खोज्दा आफ्नै दलका दुई जना सांसद अनुपस्थित भएका कारण प्रस्ताव पारित नभएर सत्ताच्यूत भएका थिए। स्मरणीय छ कि त्यसभन्दा अगाडि दुई दुईपल्ट प्रतिपक्षले ल्याएका अविश्वासको प्रस्तावलाई असफल पार्ने देउवा आफ्नै दुई जना सांसदका कारण विश्वासको मत लिन असफल भएका थिए। त्यो शृंखला कायम रहिराखेकै छ अहिलेसम्म। निषद देशका राजा नललाई आफ्नै भाइ पुस्करले कपटपूर्ण जुवाको माध्यमबाट राज्यच्यूत गराएका थिए। अहिले आफ्नै दलको सरकारलाई आफ्नै दलले अपदस्थ गराउने शृंखला यथावत छ। यसलाई भोलि इतिहासले कसरी लिन्छ? मूल्याङ्कन गर्छ? सुरथ राजाको नियतिको क्रम भंग भएको छैन। भइराखेको छ राजनीतिक व्यवहारमा अहिले पनि।

अन्तमा, ऋषिको मेघाबाट दीक्षित राजा सुरथ र वैश्य समाधि नदीको तटमा बसेर देवीको आराधना गर्छन्। तीन वर्षसम्मको निरन्तरको आराधनाबाट देवी प्रसन्न भएर प्रकट भएर वर माग्न भन्दा राजाले आफ्ना सबै सत्रुलाई परास्त गरेर राज्य पुनः प्राप्त गर्न र अर्को जन्ममा भने कहिल्यै पनि नष्ट नहुने निष्कण्टक राज्य प्राप्त गर्न वर माग्छन् भने वैश्य समाधि मुक्तिको आकांक्षा राखे, त्यही वर प्राप्त गरे। राजालाई देवीबाट तिम्रा सबै सत्रुहरू नष्ट हुनेछन्, पहिलाको राज्य प्राप्त गर्नेछौ, मृत्युपछि तिमी भगवान सूर्यको अंशद्वारा पुनर्जन्म धारण गर्नेछौँ र संसारभर सावर्णिक मनु भनी प्रख्यात हुनेछौ भन्ने वर प्राप्त हुन्छ भन्ने प्रसङ्गको साथै सप्तशतीको अध्याय पनि समाप्त भएको छ। यसको अर्थसत्ता भोगको सुविधा, शान, शौकातका लागिमात्र होइन, जनसेवाका लागि पनि हो। राष्ट्रका लागि तप र साधनाका लागि हो भन्ने आसय नै दुर्गासप्तशतीको शासनसूत्र त होइन भन्ने सम्बद्ध पक्षलाई नवरात्र पर्वले बोध गराउन सकोस्। यही शुभ विजयादशमीको कामना!

प्रकाशित: २४ आश्विन २०७८ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App