६ कार्तिक २०७८ शनिबार
विचार

राष्ट्रवादको अर्थ

केही वर्षअघि भारतको लखनउ सहरमा अवस्थित कफी सपमा त्यहाँकी एक विदुषीसँग भेट भयो। उमेर यस्तै पचास वर्ष हुँदो हो, उनको। उनले लखनउ विश्वविद्यालयको राजनीतिशास्त्र विभागद्वारा स्वीकृत रामायण र महाभारतकालीन राजनीतिमा केन्द्रित ग्रन्थ ‘जनतन्त्रवाद’ विषयमा चर्चा गरिन्। ग्रन्थका लेखक रहेछन्, प्रसिद्ध विद्वान् डा. श्यामलाल पाण्डेय।

कालीदास का राजतन्त्र, संस्कृत साहित्य मे राजनीति, भारतीय राजशास्त्रप्रणेतालगायत धेरै ग्रन्थ लेखेका रहेछन् पाण्डेयले। पांचाल, कोशल, किरात, कलिङ्ग, कर्णाटक, कम्बोज, पख्तु, द्रविण, चोल, बलुच, सिंहललगायतका राज्य नेपालको हिमालयदेखि हालको अफगानिस्तान (गान्धार वा कान्दाहार), कम्बोडिया, थाइल्यान्ड आदि भन्दा परसम्म थिए। ती दुई सयमध्ये तीस राज्य महाभारत युद्धमा प्रत्यक्षरूपमा सामेल भए। नेपालले किराँती फौज पठाएको हुँदा ऊबेला नेपाल किराती राजाबाट शासित रहेछ भन्ने छर्लङ्ग हुन्छ भन्ने प्रा. पाण्डेयको तर्क छ।

राजा वीरेन्द्रको भ्रमणका बेला तत्कालीन भारतीय राष्ट्रपति डा.शंकरदयाल शर्मा (हावर्ड विश्वविद्यालयका पूर्वप्राध्यापक) ले रात्रिभोजमा विद्वतापूर्ण भाषण दिए। कहिले पनि पराधीन नभएको नेपालको दक्षिणी सिमाना गंगा–जुमना नदीको संगम (प्रयाग) सम्म थियो भन्दै संस्कृतका प्राचीन श्लोकहरू सुनाए शर्माले। पश्चिममा सतलज नदी (हाल भारतको पंजाव) र पूर्वमा कामारु–कामाक्ष मन्दिर रहेको आसामको ठूलो भूखण्ड नेपालकै थियो। हजारौँ वर्षदेखि आसाम (असम) राज्यमा बसेको हुँदा नेपालीलाई हेला नगर्नू र ‘नेपाली’ भनेर इज्जत गर्नू भन्दै त्यहाँको सरकारले निर्णय गरेको छ। भारतीय जनता पार्टी असमका नेता प्रकाश दाहाललगायतले यस्तो निर्णयको स्वागत गरेको नवभारत टाइम्स (२०२१ जुलाइ १०) मा उल्लेख छ।

विश्वमा छरिएर बसेका करोडौँ नेपालीको जात, धर्म, पेसा, पैतृक थलो फरक भए पनि उनीहरूको मुटुमा नेपालको मनोरम चित्र छ। सुन्दर, शान्त, समुन्नत र स्थिर नेपाल हेर्ने उत्कट चाहना छ। राष्ट्र हाँक्ने र बाटो देखाउने एउटा इमानदार र सक्षम नायक भइदिएको भए हामी आज दरिद्र राष्ट्रको ताँतीमा उभिनुपर्ने थिएन। लाखौँ युवा अर्काको राष्ट्रमा श्रम बेच्न जानुपर्ने थिएन। जनताको दुःख बुझ्ने केही असल व्यक्ति राजनीतिक क्षेत्रमा भइदिएको भए छिमेकीले पटक–पटक हामीलाई लात हान्ने थिएन। ‘राष्ट्र बचाउने’ पदेन रक्षकहरू सजीव, सशक्त, साहसी र इमानदार बनेको भए नेपाल आमालाई हातपात गर्न दिन्नौँ भन्ने कञ्चनपुरका गोविन्द गौतमहरू मारिने थिएनन्। तराईमा लाखौँ बिघा जमिन मिचिने थिएन। दारु र भारुमा कैयौँ नेता बिक्ने थिएनन्।

‘देशलाई माया गर्नुपर्छ’ भन्ने सरल भावना हो, देशभक्ति। यस्तो भावना हरेक राष्ट्रमा प्रायः सबैमा हुन्छ। राष्ट्रलाई सुरक्षित र संरक्षित राख्न बाह्य हस्तक्षेप, विदेशी विचार, अन्धानुकरण र परावलम्बी सोच त्याग्नुपर्छ भन्ने मान्यता हो, राष्ट्रवाद। राष्ट्र प्रबल र सक्षम हुनुपर्छ भन्ने अदम्य विचार हो, राष्ट्रवाद। यो पवित्र विचारलाई छोप्न  मार्क्सवाद, माओवाद, साम्यवाद, समाजवाद वा यस्तै रंग पोत्ने गरिन्छ। यदाकदा अन्तर्राष्ट्रवादको धुतुरी फुक्ने गरिन्छ। चीन, भारत, ब्रिटेन, फ्रान्स, अमेरिका आदि राष्ट्रमा सरकारी कार्यालयदेखि दलका कार्यालयमा स्वदेशी राजनेता र विभूतिहरूका तस्बिर सजाइन्छन्। नेपालमा कैयौँ दल छन् जसलाई विदेशीको तस्बिर हेर्दा मात्र आनन्द लाग्छ। उनीहरूलाई राष्ट्रवादमा विश्वासै छैन।

हामीलाई आफ्ना प्राचीन धर्म–संस्कृतिप्रति गर्व गर्न लाज लाग्छ ? राष्ट्रलाई आत्मनिर्भर बनाउँदा आत्मग्लानि हुन्छ ? राष्ट्र अखण्ड, सशक्त, स्वावलम्बी र समृद्ध हुँदा पीडा हुन्छ ? नेपालबाहेक अरूको इच्छामा चल्नुहुँदैन भन्नु अपराध हो ? होइन भने राष्ट्रवादको विरोध किन ? किन हामी राष्ट्रको गरिमामय इतिहास र अतीतप्रति कृतज्ञ हुन सकिरहेका छैनौँ ? किन नवीन पुस्तालाई राष्ट्रको भविष्यप्रति उत्साही, उमंगी, आशावादी र आश्वस्त तुल्याउन प्रयत्न गरिरहेका छैनौँ ?

खेतबारीमा अनेक रोग लाग्छ। धर्के गोबारोले मकैबाली नास गर्छ। मकैको जरामा सुर्तीको धुलो र म्यालाथन हालेपछि कीरा मर्छ। धानमा मरुवा, डडुवा, कालो पोके रोग लाग्छ। ढुसी, जीवाणु आदि र ओस लाग्छ टमाटरमा। बिरुवा पहेलिँदै जान्छ। नेपाल राष्ट्रको राजनीति, राष्ट्रवाद, प्राचीन धर्म संस्कृतिलगायतका क्षेत्रमा यस्ता अनेक रोग लागेका छन्। धर्के गोबारो र कालो पोकेहरू घुम्ने कुर्सीमा फनन घुम्छन्। हामी कालो पोकेलाई माला लगाइदिन्छौँ।नेल्सन मन्डेलाको भनाइ छ– सबैले सबैलाई इज्जत गरेर हामी सबै एकै घरका सन्तान हौँ भन्ने सोच्यौँ भनेमात्र राष्ट्र र राष्ट्रवाद बलियो हुन्छ।

आज नेपाल अस्तित्व रक्षाका लागि छट्पटाउनुका केही कारण छन्। एकातिर हामी आफैँ अन्तरध्वंशको सिकार भइरहेका छौँ। कार्ल माक्र्सले भनेका छन्– ‘हरेक बस्नुको पतन आफैँभित्रबाट सुरु हुन्छ। बाहिरका  तत्त्वहरूले धेरै ठूलो क्षति पुर्याउन सक्दैनन्।’ नेपाल कमजोर हुनुका पछाडि पनि यस्तै कारण छन्। हामीले राष्ट्र हित भन्दा पनि विदेशीको हितमा दलहरू केन्द्रित भइरहेको देखेका छौँ। त्यो सबै बुझेर पनि प्रबुद्ध वर्ग साहसपूर्वक बोल्न सकेको छैन। उनीहरूका केही आशा र अपेक्षा होलान् तर त्यसले राष्ट्रलाई कमजोर बनाइरहेको छ।

चीन र अमेरिकाको प्रतिस्पर्धाले नेपालको सामरिक महत्त्व बढेको जस्तो देखिए पनि आउँदा दिन सहज छैनन्। हामीले भारत र चीन दुवैलाई चिढ्याइरहेका छौँ। यस्तै युरोपेली युनियन र अमेरिकी स्वार्थ बुझ्न नसक्दा नेपाली कूटनीति क्षतविक्षत हुँदै गएको देखिन्छ। कपडा धेरै उध्रिएपछि त्यसलाई टाल्ने कि फाल्ने भन्ने प्रश्न उत्पन्न हुन्छ। अहिले नेपाली कूटनीति त्यस्तै स्थितिमा छ।

केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच भएको वार्ताले विश्वमा निकै ठूलो महत्त्व  पायो। विश्वमा ध्रुवीकरण बढिरहेका बेला युरोप र अमेरिकाका शक्तिशाली राष्ट्रहरूसमेत ध्रुवीकृत भइरहेको स्थिति छ। फ्रान्सले अस्ट्रेलियालाई ३८ अर्ब ६० करोड अमेरिकी डलरको पनडुब्बी बेच्ने तयारी गरिरहेका बेला अमेरिकाले अस्ट्रेलियालाई त्यस्तो पनडुब्बी बेच्न सम्झौता गरेपछि फ्रान्स अहिले निकै रुष्ट भएको छ। यसले अमेरिका र युरोपको सम्बन्ध गम्भीररूपमा प्रभावित हुन सक्ने रणनीतिका विज्ञहरूको तर्क छ। यस्तै जर्मनी पनि चीनलाई चिढ्याउन नहुने पक्षमा उभिएको छ भने आर्थिक समृद्धिलाई महत्त्व दिइरहेका युरोपका कतिपय राष्ट्र अमेरिका भन्दा चीन आर्थिक कारोबारमा भरपर्दो शक्ति हुने विश्लेषण गरिरहेका छन्। यतिबेला सिद्धान्त भन्दा सम्पत्ति महत्त्वपूर्ण देखिन थालेको छ।

जापान, अस्ट्रेलिया, भारत र अमेरिकाबीच ‘क्वाड’ नामको सम्झौता भएपछि त्यसमा दक्षिण कोरिया, भियतनाम र न्युजिल्यान्डसमेत अमेरिकाका पक्षमा उभिएका छन्। अमेरिका र युरोपबीच ध्रुवीकरण बढ्ने खतरा बढिरहेका बेला त्यस्तो परिस्थिति उत्पन्न भएमा नेपाल जस्ता राष्ट्रलाई जटिल अवस्थामा पुर्याउने स्पष्ट देखिन्छ। हामीलाई राष्ट्रवादको महत्त्व बुझ्न सकेनौँ भने अन्तर्राष्ट्रवादको बहानामा नेपाल विदेशी शक्तिको खेल मैदान बन्न सक्ने अवस्था धेरै टाढा छैन।

अस्ट्रेलिया र अमेरिकासँग असन्तुष्ट भएको फ्रान्सले वासिङ्टन र क्यानबेराबाट आफ्ना राजदूत फिर्ता बोलाउनु राम्रो लक्षण होइन। युरोपेली राष्ट्रमध्ये केहीले चीनसँग घनिष्टता बढाउने संकेत देखाएकाले विश्वमा नयाँ ध्रुवीकरणको अवस्था आउने निश्चित जस्तै देखिएको छ। यस्तो परिस्थितिमा विश्वमा बदलिइरहेको कूटनीति र नेपाली राष्ट्रवादबीच तारतम्य मिलाउन राजनीतिक शक्तिहरूले निकै चातुर्य देखाउनुपर्ने अवस्था छ।

अमेरिकी सर्वोच्चता स्वीकार्न युरोपेली राष्ट्रहरू तयार नभएको टड्कारो हुँदै गएको छ। चीनलाई चिढ्याएर युरोप धनी र स्थिर बन्न सक्दैन भन्ने त्यहाँका बुद्धिजीवीहरूको विश्लेषण छ। सन् २००३ मा अमेरिकाले इराकमा हस्तक्षेप गर्दा पनि ब्रिटेन र फ्रान्सबीच कैयन् विषयमा मतभिन्नता बढेको थियो भने अहिले रसिया, चीन, पाकिस्तानलगायतका केही राष्ट्र अमेरिकाविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। हजारौँ वर्ष पुरानो नेपालले इतिहासका ठूलाठूला आरोह–अवरोह भोगेको छ। प्रथम र द्वितीय विश्वयुद्धको अवस्था अहिले छैन। तर कथम्कदाचित तेस्रो विश्वयुद्ध सुरु भएमा विश्वको मानचित्रबाट कैयन् राष्ट्र लोप हुन सक्छन्। त्यस्तो अवस्थामा पनि नेपाल र नेपालीलाई बचाउन सक्ने सक्षम नेतृत्व चाहिएको छ नेपाललाई।

प्रकाशित: १५ आश्विन २०७८ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App