६ कार्तिक २०७८ शनिबार
विचार

बहुपक्षवादको सुदृढीकरण

गत वर्ष संयुक्त राष्ट्र संघले विश्वका १९३ देशका १० लाख सर्वसाधारणसँग परामर्श ग¥यो। यो परामर्शले केही महत्त्वपूर्ण तथ्य इंगित गरेको छ। यो सन्दर्भमा संयुक्त राष्ट्र संघको चालु साधारण सभाले नियममा आधारित बहुपक्षवादको विकासमा पहल गर्नुपर्छ।

गत वर्षको परामर्शले विश्वका महिला, पुरुष, युवा तथा युवतीको अपेक्षा तथा आशा समान देखाएको थियो। अधिकांशले राम्रो स्वास्थ्य हेरचाह, सरसफाइ तथा शिक्षाको चाहना राखेका थिए। यसैगरी महामारीले अत्यधिक प्रभावित तथा गरिबीमा बाँच्न बाध्य नागरिकको समस्या समाधान गर्न थप ऐक्यबद्धता आवश्यक रहेको पनि औल्याएका थिए। अधिकांश सहभागीको सबै भन्दा ठूलो चिन्ता जलवायु परिवर्तन र जैविक विविधतामा आएको ह्रासप्रति थियो। ९० प्रतिशत सहभागीले विद्यमान चुनौती सामना गर्न विश्वव्यापी सहयोग आवश्यक रहेको बताएका थिए। महामारीले यसप्रकारको सहयोगको आवश्यकता झन बढेको उनीहरूको धारणा थियो। विशेषगरी विश्वका युवाले अन्तर्राष्ट्रिय सहयोगलाई झन सुदृढ पार्नुपर्ने बताएका थिए।

गत वर्षको परामर्शले विश्वलाई केही गर्न आह्वान गरेको थियो। हालै संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरसले संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ वर्षगाँठको अवसरमा गत वर्ष जारी गरिएको घोषणाअनुरूप ‘आवोर कमन अजेन्डा’ नामक प्रतिवेदन सार्वजनिक गरेकाछन्। उक्त अजेन्डामा वर्तमान र भविष्यमा आइपर्न सक्ने चुनौतीको सामना गर्न ठोस योजना समावेश गरिएको छ। विश्व व्यवस्था टुट्ने चुनौतीलाई अवसरका रूपमा हेरिनुपर्छ। त्यसैले संयुक्त राष्ट्र संघका महासचिवको प्रयास र अजेन्डालाई सबैको समर्थन आवश्यक छ। विश्वले कोभिड–१९ को चुनौतीसँग लडिरहेको वर्तमान सन्दर्भमा विश्व एकापसमा जोडिएको र अन्तर्सम्बन्धमा आश्रित भएको तथ्य उजागर भएकोछ। पछिल्ला केही महिनामा हामीले तातो हावा, विनाशकारी बाढी तथा जंगली आगोका कारण धेरै मानिस प्रभावित भएको देख्यौँ। यसले जलवायु परिवर्तनले अतुलनीय चुनौती ल्याएको प्रष्ट भएकोछ। अन्तर्राष्ट्रिय प्रणालीमा संयुक्त राष्ट्र संघ केन्द्रविन्दुमा छ। अन्तर्राष्ट्रिय समस्या समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ भन्ने उद्देश्यले ७६ वर्षअघिसंयुक्त राष्ट्र संघ स्थापना हुनु आफैँमा महत्त्वपूर्ण परिघटना हो। त्यो भन्दा पनि महत्त्वपूर्ण पक्ष के हो भने विभिन्न चुनौती र अभाव हुँदाहुँदै पनि यो निकाय निरन्तर अगाडि बढेकोछ। यो निकायले शान्तिपूर्ण, दिगो भविष्यका लागि सही बाटो देखाएकोछ। प्रतिस्पर्धा भन्दा पनि आपसी सहयोगका महत्त्वलाई प्राथमिकता दिएको छ।

त्यसो हुँदाहुँदै विश्वका यस्ता अन्तर्राष्ट्रिय प्रकृतिका निकायको सुरुको उद्देश्य अन्तरदेशीय चुनौती सम्बोधन गर्नु थियो। सम्बन्धित देशका सीमा भन्दा बाहिर पर्ने वित्तीय संकट, महामारी, आतंकवाद, अपराधका नेटवर्क, समुद्र तथा जलवायुलाई आइपर्ने चुनौती सामना गर्नु यी निकायको मौलिक उद्देश्य थिएन। त्यसैले बहुपक्षीय निकायलाई आधुनिक बनाउन आवश्यक छ। त्यसो गर्न सकेमा मानव समुदायले बेहोरिरहेका विश्वव्यापी र पिँढीगत चुनौतीलाई यी निकायले सम्बोधन गर्न सक्छन्। संयुक्त राष्ट्र संघ स्थापना हुँदा बखतको पिँढी र हालको पिँढीमा धेरै असमानता छ। त्यही कारणले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्, साधारण सभा एवं इकोनोमिक एन्ड सोसियल काउन्सिलाई सुधार गर्न गत वर्षदेखि व्यापक छलफल सुरु भएको छ। गत वर्षको नोभेम्बर १० मा मेड्रिडमा जारी गरिएको सयुक्त वक्तव्यअनुसार बहुपक्षवादलाई सुदृढ पार्न ३ क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्न आवश्यक छ।

पहिलो हो, हामीले अन्तर्राष्ट्रिय सहयोगप्रति नयाँ प्रतिबद्धता देखाउनुपर्छ। बहुपक्षीय निकायलाई जमिन स्तरमा परिवर्तन ल्याउन सक्ने गरी संसाधान तथा म्यान्डेट दिइनुपर्छ। संयुक्त राष्ट्र संघ, क्षेत्रीय संगठन तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू नीतिगत तथा सञ्चालनगत स्तरमा आफूलाई परिमार्जन गर्नुपर्छ। बहुपक्षीय प्रणाली थप खुला र समावेशी हुनुपर्छ र यसमा युवा, नागरिक समाज, निजी क्षेत्र, प्राज्ञ तथा अन्यको सहभागिता रहनुपर्छ। यो दिशामा केही शुरुवात पनि भैसकेको छ। चालु साधारण सभामा यही उद्देश्यअनुरूप ‘समानता तथा समावेशिताका लागि संयुक्त राष्ट्र संघीय साझा अजेन्डा कार्यान्वयन’ नामक भर्चुअल इभेन्ट आयोजना गरिएको छ। पाथफाइन्डर फर पिसफुल, जस्ट र इन्क्लुसिभ सोसाइटी इनिसियटिभसँग मिलेर गरिएको यो कार्यक्रमले सबैको आवाज सुनिनुपर्छ भन्नेमा जोड दिएको थियो ।

दोस्रो कार्य क्षेत्रअन्तर्गत संयुक्त राष्ट्र संघका महासचिवको अजेन्डा कार्यन्वयन गर्ने विषय पर्छ। यो योजनाअन्तर्गत गरिबी तथा असमानताविरुद्ध लड्न, समावेशिता, न्याय तथा समान सहभागिताका लागि थप प्रयास गर्न आवश्यक छ। यसैगरी जलवायु परिवर्तन तथा जैविक विविधताको ह्रास रोक्न एवं भविष्यमा आइपर्ने महामारी सम्बोधन गर्न पनि थप प्रयास अपरिहार्य देखिएकोछ। कोभिड–१९ संकटले रोगको महामारी, नयाँखाले लडाइँ, साइबर आक्रमण, वातावरणीय संकट तथा अन्य अपेक्षा नगरिएका संकट सामना गर्न हाम्रो सामूहिक क्षमता बढाउन आवश्यक छ भनेर प्रष्ट पारेको छ। त्यसैले महासचिवले प्रस्ताव गरेअनुसार हामीले समयमै भविष्यवाणी गर्न सक्ने तथा जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता बढाउनुपर्छ। यसैगरी अन्तर्राष्ट्रिय स्तरमा छुट्टै ‘इमरजेन्सी प्लेटफर्म’ स्थापना गर्ने महासचिवको प्रस्ताव पनि उपयुक्त छ।

तेस्रो तथा अन्तिम कार्यक्षेत्र भनेको सन् २०२३ मा आयोजना गर्न प्रस्ताव गरिएको ‘समिट अफ द फ्युचर’ हो। यो सम्मेलनलाई अन्तर्राष्ट्रिय सहयोग सृदृढ पार्ने अवसरका रूपमा लिनुपर्छ। सीमा क्षेत्र बाहिर र पिँढीगत हिसाबमा विभिन्न समस्या देखिएको वर्तमान विश्वमा एउटा चुस्त, प्रभावकारी तथा उत्तरदायी बहुपक्षीय प्रणाली आवश्यक छ। यसले आमनागरिका आवश्यकता र विश्वका चुनौतीलाई प्रभावकारी हिसाबले सामना गर्न सक्छ। हामी यो दिशामा अग्रपंक्तिमा रहेर काम गर्न चाहन्छौँ। हामी सबै मिलेर काम गरे नियममा आधारित बहुपक्षवाद सुदृढ पार्न सजिलो हुन्छ। यो कामका लागि बलियो र समावेशी संयुक्त राष्ट्र संघको आवश्यकता छ। यो नै वर्तमानको सबै भन्दा ठूलो राजनीतिक कार्य हो।

(कारलोस अलभाराडो क्विसेड कोस्टारिकाका राष्ट्रपति हुन् भने जेसिन्डा अर्डम न्युजिल्यान्डकी प्रधानमन्त्री हुन्। स्टेफान लोफभेन स्विडनेका प्रधानमन्त्री र सिरिल राम्फोसा दक्षिण अफिकाका राष्ट्रपति हुन् भने म्याकी सल सेनेगलका राष्ट्रपति हुन्। पेड्रो सान्चेज स्पेनका प्रधानमन्त्री हुन् ।) प्रोजेक्ट सिन्डिकेट

प्रकाशित: १५ आश्विन २०७८ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App