७ वैशाख २०८१ शुक्रबार
विचार

अनाथ कूटनीति

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले भारतलाई अमेरिकाले चीनका विरुद्ध उकासिरहेको आरोप लगाएका छन्। नेपालका कतिपय दल राष्ट्रहित त्यागेर चीन, भारत, अमेरिकाको दाना खाँदै गाना गाइरहेका बेला अनाथ बनेको नेपाली कूटनीति सुटुक्क विदेशी चकलेट खाएर घुटुक्क थुक निलिरहेको छ।

एउटै ध्रुव बनाएर अमेरिकाले विश्वको नायक बन्न खोजेको चीन र रुसका नेताको आरोप मिथ्या होइन। दक्षिण एसिया र एसिया–प्रशान्त क्षेत्रमा व्याप्त आशंकाका विषयमा नेपाल अझै गम्भीर देखिएको छैन। सत्य र भीडमध्ये एउटा रोज्नुपर्दा ‘राजनेता’ सत्यका पक्षमा हुन्छन् भने ‘राजनीतिज्ञ’ भीडका पक्षमा। अहिले नेपाली कूटनीति अनाथ हुनुको प्रमुख कारण दूरदर्शी र कुशल राजनेताकै अभाव हो।

इजरायल–अरब युद्ध र त्यसपछि इजरायलका नेता ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्दै एकै पंक्तिमा उभिए। लामो गृहयुद्धपछि चीनमा च्याङकाई सेकले नेतृत्व गरेको राष्ट्रवादी शक्ति ‘कोमिन्ताङ’ र माओले नेतृत्व गरेको कम्युनिस्ट पार्टीमा ठूलो मतभिन्नता थियो तर जापानले चीनमा हमला गर्दा कम्युनिस्ट र राष्ट्रवादी दल मिले।

भारतमा झन्डै एक सय वर्ष स्वतन्त्रताका पक्षमा अनेक प्रयत्न भए। त्यसमा सबै दल, जात, धर्म, क्षेत्र एकजुट भए। ब्रिटेनबाट अमेरिकालाई सन् १७७६ मा स्वतन्त्र गराउन सबै ऐक्यबद्ध भए। 

जोमो केन्यताको नेतृत्वमा केन्यालाई स्वतन्त्र गराउँदा सबैले समर्थन गरे। उनकै सम्मानमा राष्ट्रको नाम राखियो, केन्या। बोलिभरको नाममा बोलिभिया राष्ट्र स्थापित भयो। जनता र नेता राष्ट्रिय हितमा जुटे भने त्यो राष्ट्र कदापि अनाथ हुँदैन। कूटनीति टुहुरो बन्दैन।  

राष्ट्र निर्माणमा हाम्रा पुर्खा ‘नेपाली’ भएर संघर्षमा जुटे। राजा आफैँ वन, लेक, बेसी र पूर्व–पश्चिमतिर सैनिकसँगै कुदे। गोरखाको टाकुरामा जन्मेर २० वर्षमै राजा भएका पृथ्वीनारायण शाहले सिपाहीले जे खान्छन्, त्यही खाए। उनीहरू जहाँ सुत्थे, त्यहीँ सुते। माटो मात्र होइन, जनताको हृदय जिते। त्यसैले उनी सबैका भए, सबै उनका भए। 

चीन र भारतसँग सन्तुलित भएर बस्नु भन्दै दुई ढुंगा बीचको तरुल सही ठाउँमा बसेन भने किचिमिची हुन्छ भन्ने अर्ती दिए। कूटनीति जब चकचके, उत्ताउलो, अस्थिर, अवाञ्छित र अन्योल मार्गमा हिँड्न थाल्छ, तब राष्ट्र दुर्घटनामा पर्छ। हामी आज दुर्घटनाको डिलमा उभिएका छौँ। पछाडि ठूलो पहिरो छ, अगाडि दुर्लङ्घ्य पर्वत।

सन् १९६२ (२०१८/१९ साल) यता चीन भारतभन्दा सैनिक शक्ति र अर्थतन्त्रमा दश गुणा बलियो बनेको लेखेका छन्, भारतीय लेखक स्वामीनाथन अड्ढयरले। ‘इकोनोमिक टाइम्स’ पत्रिकामा उनको विश्लेषण छ– ‘जवाहरलाल नेहरूले चीनका बारेमा जुन भूल गरे, नरेन्द्र मोदीले त्यसै गरे भने भारतले धेरै ठूलो मूल्य चुकाउनुपर्ने छ।’

चीनले पाकिस्तानलाई दक्षिण एसियाको सबैभन्दा भरपर्दो साथी मानेको भारतले बुझेको छ। तालिबानले गद्दी आरोपण गर्दा रुस र चीनसँगै उभिएर थप्पडी मार्‍यो, पाकिस्तानले। भारतले अब कुनै दिन पाकिस्तानलाई एक थप्पड हान्नुपरेमा धेरैपल्ट सोच्नुपर्ने अवस्था आएको छ। इस्लामावादका हितैषी बनेका मस्को, काबुल र बेइजिङ त्यो बेला भारतलाई जवाफ दिन तयार हुनेछन्। त्यो महँगो पर्न सक्छ।

स्वामीनाथनले सुझाव दिएका छन्, ‘विदेशी कम्पनीलाई भारतमा बोलाउने र ‘आत्मनिर्भर’को नारा लगाउने मोदीतन्त्र विरोधाभासपूर्ण देखिन्छ।’ अर्बौं डलरको व्यापार गरिरहेका चीन र भारतले विश्वासको वातावरण बनाएर पश्चिमा राष्ट्रप्रति तटस्थ बस्न पनि मोदीलाई केही भारतीय विश्लेषकले सुझाव सल्लाह दिएका छन्। भारत अमेरिकाको पदचिह्नमा हिँडेकामा सत्तारुढ भाजपाभित्रै असन्तुष्टि छ।

‘मूर्खतापूर्ण लापरबाही वा भूल’ (ब्लन्डर) कूटनीतिमा अक्षम्य मानिन्छ। सन् १९०६ को अप्रिल १० मा अमेरिका गएका रसियन लेखक म्याक्सिम गोर्कीले एउटी महिलासँग होटलमा रात बिताएका कारण उनी ठूलो विवादमा परे। रसिया र अमेरिकाको तीक्तता त्यहीँबाट सुरु भयो। 

रसियन भाषामा तीतोको अर्थ ‘गोर्की’ हुँदो रहेछ। उपनाम नै कटु (तीतो) थियो, गोर्कीको। कूटनीतिक सम्बन्ध नै तीतो बनाए, ती कामुक लेखकले। फिलिया हजम्यानले एउटी महिलासँग अवैध सम्बन्धका कारण गोर्कीले कूटनीतिक क्षति गराए भनेका छन्। अमेरिकाले सुरुमा स्वागत गरे पनि ती महिलाका कारण मिडियामा पनि गोर्कीसँगै रसिया बदनाम भयो।

कूटनीतिमा स–साना कुराको हिसाबकिताब गरिन्छ। गिरिजाप्रसाद कोइरालाले चीनमा त्यहाँका समकक्षीसँग हात मिलाउनुअघि दाहिने हातको कान्छी औंलाले नाक कोट्ट्याउँदै गएको र चीनका सैनिक अधिकृतले ‘पहिले हात धोएर आउनुहोस्’ भनेको कुरा सौरभले एउटा आलेखमा लेखेका छन्।

सन् १९९२ मा अस्ट्रेलिया भ्रमणका बेला ब्रिटेनकी महारानी एलिजाबेथलाई त्यहाँका प्रधानमन्त्री पल किटिङले ढाडमा हात राखेको भन्दै विवाद भयो। यस्तो ‘हर्कत’ कूटनीतिमा राम्रो मानिदैन।

इटलीका प्रधानमन्त्री र ‘मिडिया टाइकुन’ सिल्भियो बर्लुस्कोनीले बाराक ओबामाका बारेमा उशृंखल र असभ्य टिप्पणी गर्दा त्यसले पनि कूटनीतिक संस्कृति घुर्मैलो बनायो। ओबामा युवक, सुन्दर तर अलि ‘काला मान्छे’ छन् भनिदिए उनले। विनोदप्रिय हुन नजान्नेको समस्या नै यही हो भन्दै इटलीकै सञ्चारमाध्यमले निन्दा गरे। 

अमेरिकासँग सम्बन्ध राम्रो नभए पनि इरानका राष्ट्रपति महमद अहमदिनेजादले शिष्टाचारपूर्वक शुभकामना पठाएर ओबामाको तारिफ गरे। उनले सन्देशमा लेखे, ‘तपाईं इतिहासमा शुभनाम राख्न सफल बन्नुहोस्।’ त्यो सुमधुर सम्बन्धको याचना थियो।

नचाहिँदो कुरा प्याच्च बोल्ने, कूटनीति नै थाहा नहुनेहरू ‘कूटनीतिज्ञ’ बन्ने, केही नेता, दल र एउटा छिमेकीलाई हँसाउन अर्कोलाई शत्रुवत व्यवहार गर्ने प्रवृत्तिले नेपाली कूटनीति ५० ठाउँ कुच्चिएको कारजस्तो बनेकोे छ। सरकारी गाडी मन्त्री, सचिव वा उनका नातागोताले सिक्ने क्रममा धेरै ठाउँमा ठोक्काउँदा चाउरी परेको मुहारजस्तो बन्छ। नेपाली कूटनीतिको हुलिया आज त्यस्तै छ। सक्कली रूप हराएको छ।

‘मुन्सीखाना’ थियो, परराष्ट्र मन्त्रालयको प्रसूतिगृह। त्यहीँ जन्मियो, नेपालको कूटनीति। त्यसो त मल्लकालमै ल्हासा सहरमा नेपाली मुद्रा चलाएर आर्थिक कूटनीति सुरु गर्ने नेपाल दक्षिण एसियाकै उदाहरण थियो। 

पछिल्ला वर्षमा दरबारले काखमा हुर्काएका कूटनीतिज्ञ, राजनीतिज्ञ र कतिपय सैनिक अधिकृतहरू बैंस छिप्पिएपछि विदेशीका ‘प्रिय’ बन्दै गए।

पटना, ल्हासा, बनारस, कलकत्ता जस्ता सहरमा हाम्रा वाणिज्यदूत थिए, राणाकालमै। उनीहरू ‘प्राण जाओस्, वचन नआओस्’ भन्थे। भारत, ब्रिटेन, फ्रान्स र अमेरिका हाम्रा पुराना साथी हुन्। हामी कुनै बखत साँच्चै असंलग्न थियौँ। अहिले ‘पेन्डुलम’ भएका छौँ।  

भेषबहादुर थापा, यदुनाथ खनाल, नयनबहादुर खत्री, पदमबहादुर खत्री लगायत केही पुराना कूटनीतिज्ञको नाम आज पनि श्रद्धापूर्वक लिइन्छ। सुगौली सन्धि (सन् १८१६) देखि १३ वर्षसम्म नेपालमा राजदूत भएर बसेका ब्रिटेनका कूटनीतिज्ञ एडवर्ड गार्डनर नेपाल बुझेका विदेशीमा गनिन्छन्। 

२३ वर्ष नेपालमा दूत भएर बसे, ब्रिटेनका ब्रायन हज्सन (हड्सन)। उनी नेपाली, नेवारी बंगाली र संस्कृत पनि जान्दथे। जुन क्षेत्रमा काम गर्ने हो, त्यहाँको भाषा, साहित्य र संस्कृति जानेका कूटनीतिज्ञ सफल मानिन्छन्। हड्सनले आफूलाई दरबारको गुप्त सूचना दिने ऊ बेलाका राजनीतिज्ञ रंगनाथ पौड्याल र कृष्णराम मिश्रलाई मन्त्री बनाउन सफल भएको इतिहासकारको तर्क छ। विदेशी हस्तक्षेप गरेको भन्दै सैनिक विद्रोहको अवस्था आएपछि हड्सनलाई भगाएर शिमला (भारत) पठाइयो। पछि उनी दार्जिलिङ गएर बसे।

प्रधानमन्त्री माथवरसिंह थापाले आफूलाई नटेरेको भन्दै हड्सनले थापालाई भिसा नदिन परिपत्र गरे। ऊबेला कलकत्तामा भिसा (अनुमति पत्र वा प्रवेशाज्ञा) दिइन्थ्यो। ब्रिटेन जान लागेका माथवरसिंह बेइज्जतीपूर्वक कलकत्ताबाट नेपाल फर्के। 

पृथ्वीनारायणकै पालादेखि नेपालमा पश्चिमा राष्ट्रको षड्यन्त्र भइरहेको इतिहास साक्षी छ। विदेशबाट आएको बट्टाको दूध होइन, आमाकै दूध खाएका र विदेशीसँग लसपस नगरेका ऊबेलाका राजा, सैनिक र जनताले एकजुट भएर विदेशीको सामना गरे।

वडावडामा सार्वजनिक शौचालय बनाउन आज विदेशी दातालाई हात जोड्ने चलन छ। हिन्दू र बौद्धका मन्दिर र गुम्बा बनाउन वा मर्मत गर्न पनि विधर्मीका ढोका ढकढक्याउन थालियो। गाउँघरमा छोराछोरीलाई दुई छाक खुवाउन नसक्नेले अरूका घरमा गोठालो बनाउँथे। ५०औँ लाख नेपाली आज विदेशीका नोकर बसेका छन्। उनीहरूलाई विदेशतिर फालेर संघीयता पालेको छ नेपालले।

२०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएपछिको १३ वर्षमा पनि राष्ट्र किन स्थिर, शान्त, खुसी, सुरक्षित र समुन्नत हुन सकेन ? किन राष्ट्रिय एकता, स्वतन्त्रता र स्वाभिमान प्रश्न चिह्नको घेरामै छ ? किन राजनीति, कूटनीति र राष्ट्रिय सुरक्षामाथि कालो बादल मडारिएको छ ?

गणतन्त्रका ‘महान् उपलब्धि’ हास–परिहासमा रूपान्तरित हुँदैछ, किन ? किन गणतन्त्र पक्षधरहरू नै पश्चाताप गरिरहेका छन् ? किन विश्वमा नेपालको अवमूल्यन भइरहेको छ ? किन जनताको जीवनस्तर कष्टप्रद बन्दैछ ? किन राष्ट्र हेपिएको र छेकिएको छ ? राष्ट्रका सबै शक्तिको तेजोवध गरिएको छ, किन ? त्यसो भए गर्व गर्ने ठाउँ कहाँ छ ? लाखौं जनताले श्रद्धापूर्वक सम्मान गर्ने नायकहरू को–को हुन् ? तपाईं भन्न सक्नुहुन्छ ?

प्रकाशित: ८ आश्विन २०७८ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App