१ आश्विन २०७८ शुक्रबार
विचार

आशा देखाउनेहरूका नाममा

जुनसुकै राजनीतिक पार्टीको सरकार बनोस्। प्रधानमन्त्री जोसुकै बनोस्। मन्त्री जोसकुै बनुन्। त्यसमा जनतालाई त्यति चासो हुन्न। जुनसुकै पार्टीको सरकार बने पनि अथवा जोसुकै प्रधानमन्त्री बने पनि आफूहरूलाई सुख र खुसी मिलोस्। यत्ति हो जनताको चाहना। यत्ति हो जनताको अपेक्षा र यत्ति हो जनताको आशा। त्यसैले जुनसुकै राजनीतिक पार्टीको सरकार बने पनि, जोसुकै प्रधानमन्त्री बने पनि र जो/जोसुकै मन्त्री बने पनि जनता आशा गरिरहन्छन्। 

सत्तासीन राजनीतिक पार्टी, सरकार र सरकार प्रमुखले पनि परम्परालाई निरन्तरता दिँदै सत्तामा पुगेकै दिनदेखि जनतालाई अनेकौँ आशा देखाउन थाल्छन्। आश्वासन बाँड्न थाल्छन्। त्यो आशा र आश्वासनले लोभिएर जनता खुसी हुन्छन् तर त्यो खुसी दिगो हुँदैन। 

त्यो आशा पूरा नहुँदै सरकार बदलिन्छ। आश्वासन पूरा नगर्दै सरकार फेरिन्छ। अनि जनताका आशा अपुरै रहन्छन्, अधुरै रहन्छन्। फेरि अर्को राजनीतिक पार्टीको सरकार बन्छ। नयाँ मान्छे प्रधानमन्त्री बन्छ। नयाँ मान्छेहरू मन्त्री बन्छन् र उसैगरी आशा, सपना र आश्वासन बाँड्न थाल्छन्। जनता फेरि आशा गर्न थाल्छन् र आशैआशामा बाँच्छन्। जनता आशा गरेर बस्न विवश छन्। जनता आशा गरेर बाँच्न अभिशप्त छन्।

कुन राजनीतिक पार्टी सरकारमा पुग्यो, को प्रधानमन्त्री बन्यो र कोको मन्त्री बने भन्ने कुरामा राजनीतिक पार्टीका नेता र कार्यकर्तालाई चासो हुने कुरा हो। राजनीतिको आडमा व्यापार, व्यवसाय गर्न, कमाउधन्दा गर्न, ठेकापट्टा हात पार्न अवसर कुरेर बस्ने अवसरवादीका लागि मात्रै हो नयाँ सरकार, नयाँ प्रधानमन्त्री र नयाँ मन्त्रीप्रति बढी चासो हुने। 

सरकार बदल्न, प्रधानमन्त्री फेर्न र मन्त्री फेर्न पनि तिनैले चलखेल गर्ने हुन्। अनि सरकार फेरिँदा, प्रधानमन्त्री फेरिँदा र मन्त्री फेरिँदा खुसी हुने पनि तिनै केही मान्छे हुन् र दुःखी हुने पनि तिनै मान्छे हुन्। विजय जुलुस निकाल्ने पनि तिनै हुन्। विरोध जुलुस निकाल्ने पनि तिनै हुन्। सरकार फेरिँदा, प्रधानमन्त्री फेरिँदा र मन्त्री फेरिँदा आमजनता न खुसी हुन्छन् न त दुःखी नै। बरु तिनीहरू पुरानै आशालाई दोहोर्‍याउन बाध्य हुन्छन्, यो सरकारले त केही गर्छ कि र केही सुख दिन्छ कि भनेर।

सन् साठीको दशकसम्म अभाव र अस्थिरतामा रुमलिएको थियो सिंगापुर। तत्कालीन राष्ट्रपति लिले उच्च आयको अर्थतन्त्र निर्माण गरेर जनतामा आशा जगाए। कोरियाली युद्धपछि विभाजित दक्षिण कोरियाली जनतामा व्याप्त निराशालाई राष्ट्रपति पार्कले तीव्र आर्थिक विकास र औद्योगिकीकरणमार्फत् आशामा परिणत गरिदिए। उता मलेसियाली प्रधानमन्त्री महाथिर पूर्वाधार निर्माण, आधुनिकीकरण र तीव्र आर्थिक वृद्धिमार्फत् देशलाई समद्धि मार्गमा डोर्‍याएर  जनतामा उस्तै आशा जगाउन सफल भए। 

यी सबै नेताले आफ्ना जनतालाई आशा दिलाए, आशा जगाए र त्यो आशा पूरा गरिदिए। त्यसैले त्यो सिंगापुर आजको सिंगापुर बन्न सम्भव भयो। त्यो मलेसिया आजको मलेसिया बन्न सम्भव भयो र त्यो दक्षिण कोरिया आजको दक्षिण कोरिया बन्न सम्भव भयो। तर नेपालमा त्यस्ता राजनेताको सधैँ अभाव खट्किरह्यो। हाम्रो नेतृत्व तह जनतामा आशा जगाउन र जनताको आशा पूरा गर्न असफल रहँदै आयो।

नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बने र केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटे। नयाँ प्रधानमन्त्री पाएर केही जमात मानिस खुसी भए। उत्सव मनाए। प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन र फूलको गुच्छा टक्र्याउन तँछाडमछाड गरे। शायद नयाँ नयाँ योजना पनि बनाए होलान्, अब नयाँ प्रधानमन्त्रीबाट कसरी फाइदा लिने भनेर। यसपटक अचम्मको दृश्य पनि देखियो।

 प्रधानमन्त्रीबाट हट्दा पनि समर्थकहरूले जुलुस निकाले। बालुवाटारबाट बहिर्गमन भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोटसम्म पुर्‍याउन मोटर र मोटरसाइकलमा हजारौँ समर्थकको लावालस्कर लाग्यो। केपी शर्मा ओलीको जय/जयकार पनि गरे। 

समर्थकको एकोहोरो भीडलाई देखेर केपी शर्मा ओली खुसी भए र आफ्नो घरको बार्दलीबाटै समर्थकहरूलाई सम्बोधन गर्दै सर्वोच्च अदालत र आफ्नै पार्टीका केही मानिसलाई धारे हात लाए। समर्थकको लावालस्कर र आफ्नो जय/जयकार सुनेर उनले आफूले चालेको गलत कदमलाई पनि सही नै ठाने। उनलाई भ्रममा पार्न र भ्रममा राख्न उनका समर्थक र कार्यकर्ता सफल भए।

जो प्रधानमन्त्रीबाट बहिर्गमनमा परेका केपी शर्मा ओलीको समर्थनमा सडकमा भीड जम्मा गर्न उद्यत भए ती केपी शर्मा ओलीबाट लाभान्वित कार्यकर्ता र उनका लाभग्राही हुन्। भीड जम्मा पारेर सडकमा उफ्रिने र सर्वसाधारणलाई सास्ती दिनेहरू कोही केपी शर्मा ओलीबाट लाभ प्राप्त गरेर गद्गद् भएका पार्टीका लाभग्राही हुन् भने केहीचाहिँ आगामी दिनमा लाभ पाउने आशामा आएका हुन्। जो केपी शर्मा ओलीबाट व्यक्तिगत लाभको आशा राख्दैनन् तीचाहिँ सडकमा उभिएर तमासा हेर्ने आमसर्वसाधारण जनता हुन्। 

जो कुनै राजनीतिक पार्टीको विजय जुलुसका पनि तमासे बन्छन् र विरोध जुलुसका पनि तमासे बन्छन्। देश विकास होला कि ! जनतालाई केही सुख देला कि भनेर सरकार र राजनीतिक पार्टीहरूप्रति आशावान बनेर बसेका जनता सधैँभरि यसैगरी तमासा हेर्न विवश छन्। कहिले अन्त्य हुन्छ जनताको आशामाथिको तुषारापात ? र, कहिले हुन्छ यसरी जनताले तमासे भएर सडकछेउमा उभिनुपर्ने दिनको अन्त्य ?

जनप्रतिनिधिले आशा देखाउँछन्। राजनीतिक पार्टीका नेता र कार्यकर्ताले पनि आशा देखाउँछन्।सरकारले पनि आशैमात्र देखाउँछ। तर जनतालाई आफैँले देखाएको आशा पूरा गर्न किन कोही कहिल्यै तयार हुँदैनन् ? के जनताले सधैँ आशैआशमा बस्नुपर्ने हो ? जनताको आशा पूरा गर्ने दायित्व जनप्रतिनिधि, नेता, कार्यकर्ता र सरकारको होइन ? केपी शर्मा ओली प्रधानमन्त्री बन्नासथ दुई वर्षभित्र देशभरिबाट तुइन विस्थापन गर्ने आश्वासन दिएका थिए। उनले त्यो आश्वासन पूरा गरेको भए दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता हुने थिएनन्। तुइनबाट नदी तर्न धेरै नागरिकले सास्ती खेप्नुपर्ने थिएन। अनि तुइनबाट खसेर जयसिंह धामीजस्तै अरू धेरै नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने थिएन।

आशा, सपना र आश्वासन बाँड्नकै लागि मात्रै हो र ? अनि आशामुखी जनताको कामचाहिँ आशा गरेर बस्नुमात्रै हो र ? सरकारको काम आमजनताको सेवा गर्नु र आमजनताको सुरक्षा गर्नु हो भने केही नेता र कार्यकर्ताको घेराबाट बाहिर किन आउँदैन सरकार ? सडकछेउमा उभिएर राष्ट्रिय तमासा हेर्दै गरेका जनताको मनमा यस्तै प्रश्न उठ्ने गर्छन्।

भूकम्पले बेघर भएका जनता अझै पनि सरकारको आश गरेर बसेका छन्। बाढी–पहिरोले उठिवास भएका जनता अझै पनि सरकारकै आश गरेर बसेका छन्। गरिबीले पिरोलिएका जनता सरकारको आश गरेर बसेका छन्। बेरोजगारीले रन्थनिएका जनता सरकारको आश गरेर बसेका छन्। कोरोनाको भयले भयभीत जनता खोपका लागि सरकारको आश गरेर बसेका छन्। 

यस्तो बेलामा सरकारचाहिँ केही नेता र कार्यकर्ताको माग पूरा गर्नमा व्यस्त हुनुहुँदैन। केही आफन्त र आसेपासेलाई सेवा र सुविधा दिनमा लाग्नु हुँदैन। केही ठूलाबडालाई सम्मान दिनमा लाग्नुमा हुँदैन। सधैँ आश गरेर बस्ने जनतासम्म पुग्नुपर्छ सरकार। हाम्रा लागि पनि सरकार छ भन्ने अनुभूति आमसर्वसाधारण जनताले गर्न पाउनुपर्छ।

लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।आफ्ना कुनै आशा पूरा नहुँदा जनता निराश छन्। लोकतन्त्रप्रति नै वितृष्णा जागेको छ। लोकतन्त्रप्रतिको यो वितृष्णा र निराशाले पक्कै राम्रो संकेत गरेको छैन। सरकारलाई यो कुराको हेक्का रहोस् र जनताको आशा पूरा होस्।

प्रकाशित: ३० भाद्र २०७८ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App