८ कार्तिक २०७८ सोमबार
विचार

रङ्गी–विरङ्गी फिरङ्गी

पृथ्वीनारायण शाहले प्राचीन धर्म, संस्कृति, परम्परा, मूल्य/मान्यता र आदर्श मास्ने र त्यसका लागि अरूलाई उकास्ने सबैलाई फिरङ्गी भनेका छन्। नेपाली राजनीति, कूटनीति र हरेक संयन्त्रमा धेरथोर आज पनि फिरङ्गीले फन्फनी घुमाएका छन्। यो रिँगडामा परेर वडादेखि सिंहदरवारसमेत बुद्धिभ्रष्ट भइरहेको देखिन्छ।

१८३१ असोज १३ गते गोर्खाली सेनाले इलाम जित्यो। जितेको भूभागमा फिरङ्गीहरूले षडयन्त्र गर्लान् भन्ने औडाहा पनि थियो। स्थानीय सुब्बा, जमिनदार र प्रभावशालीहरूले अंग्रेजसँग ‘भेराईँचो’ बढाएर पृथ्वीनारायणलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउने हुन् कि भन्ने त्रास पनि थियो। तसर्थ, पृथ्वीनारायणले तमोरपूर्वका किरातीहरूलाई ‘सेयर होल्डर’ बनाए। राष्ट्र हाम्रो हो भन्ने अदम्य उत्साह जगाए।

दूधकोसी तरेपछि यो रणनीतिले सफलता हासिल गरेको इतिहासकारहरू स्वीकार गर्छन्। पश्चिमका धेरै भूखण्डमा पराजय भोगेका पृथ्वीनारायणले लडाइँ जित्छ भने स्थानीय जनताको स्थायी समर्थन, सहयोग र विश्वास चाहिन्छ भन्ने बुझे। हाल इलाम बजारको उत्तरतिरको गढीमा जंगी निशान फर्फराउँदै सो क्षेत्रलाई आफ्नो बनाउन सेना र जनताको विश्वासले ठूलो काम गरेको थियो। नेपालबाट फिरंगीलाई धपाउन यही नीति अचुक र अमोध मन्त्र ठहरियो।

सेना राजाका प्रमुख प्रशासक रहे पनि स्थानीय जनताका हाङ (राजा) थिए, केही किरातीहरू।काठमाडौँ सहरको दक्षिण–पश्चिम दिशामा अवस्थित शोणितपुर (हाल थानकोट) किराती राजाको राजधानी रहेको र नेपालमा उनन्तीस पुस्ताले शासन गरेको इतिहासकारहरूको मत छ। महाकवि भारबिद्वारा लिखित ‘किरातार्जुनिया’ ग्रन्थमा महाभारतकालमै किरातीहरू सुरवीर, प्रतापी र विवेकी थिए भनिएको छ।

तमोरदेखि टिस्टासम्म र त्योभन्दा पर पूर्वी सिक्किमसम्म आज पनि लाखौँ किराती छँदैछन्। तसर्थ, उनीहरूलाई प्रसन्न राख्न पृथ्वीनारायणले स्थानीय जग्गाको हकभोग गर्ने अधिकार (किपट प्रथा) यथावत राखेको पाइन्छ। अभिमानसिंह बस्न्यात, कीर्तिसिंह खवास, पारथ (पार्थ) भँडारी र बलि बानियाँलाई च्याङ्थापु (पाँचथर) कब्जा गरेकामा धन्यवाद दिँदै पृथ्वीनारायणले पत्रमार्फत धन्यवाद दिए। उनले इसलिम्बा, च्याङ्थापुसम्म जित्ने सेनाका कमान्डरहरूलाई ‘टिष्टा–पश्चिमको जग्गा पनि कब्जा गरिहाल, सुखिम (सिक्किम) सँग सन्धिको कुरा चलाऊ’ भनेका छन्।  

विसं १८२४ असोज १५ गते सिन्धुलीको युद्धमा १ हजार ६ सय अंग्रेज सैनिक मारिएका र ८ सय जना जति घाइते भएर रुँदै रुँदै भारततिर फर्केका इतिहासकारहरूले लेखेका छन्।

ऊबेलाको वीरगाथा सुनेर कवि यदुनाथ पोखर्‍यालले लेखे– ‘फिरंगी हटाइ लुटिपीटि चाँडो। पुगी आज गंगा पखाल्नु छ खाँडो ।’ फारसी भाषामा युरोपलाई ‘फिरङ्क’ भनिन्छ। फिरङ्कको अपभ्रंश भएर ‘फिरङ्गी’ बन्यो। युरोप (फिरङ्क देश) बाट धेरै राष्ट्रमा ‘सिफिलिस’ भन्ने यौन रोग फैलियो। त्यसैले धेरैले फिरङ्गीलाई सिफिलिसका रोगी भनेर घृणा गर्थे।

कम्युनिस्टका ‘महान् नेता’ लेनिन त्यही रोगको सिकार बनेको इतिहासकारले लेखेका छन्। नेपोलियन बोनापार्ट, हिटलर, मुसोलिनी आदिलाई त्यही रोगले गाँज्यो। जहाँ फिरंगी, उहाँ भिरङ्गी भनेजस्तो भयो।नेपाल कब्जा गरेको रंगी–विरंगी फिरङ्गीले हाम्रा प्राचीन धर्म, संस्कृतिमा भिरङ्गी (सिफिलिस) रोग सार्ने थिए।लाखौँ नारीको अस्मिता लुट्ने थिए।त्यसैले, पृथ्वीनारायणले राष्ट्र र राष्ट्रवासीलाई बचाउनकै लागि फिरङ्गीलाई डाँडा कटाएका रहेछन् ।

फिरङ्गीका सन्तान अनेक भेषमा पसे। हजारौँ सालदेखि आत्मनिर्भर नेपालीलाई ‘परोपकार गर्न’ सयौँ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र उनीहरूमा आश्रित झड्केलाहरू प्रलोभन दिइरहेका छन्। स्कुल र कलेजका पाठ्यक्रमबाट राष्ट्रियता, राष्ट्रिय विभूति र राष्ट्रियतासँग सम्बन्धित विषय क्रमशः निर्मूल गर्ने रणनीति ल्याइँदैछ। राष्ट्र निर्माण र प्रगतिमा योगदान गर्नेलाई राष्ट्रका शत्रु ठान्ने, प्राचीन धर्म–संस्कृतिलाई उनन्यनको तगारो मान्ने र एउटा जातलाई अर्को जातको शत्रु बनाउने प्रयत्न भइरहेको देखिन्छ ।

‘लर्ड’ म्याकालेले ब्रिटेनको संसद्मा विश्वलाई फिरंगी शिक्षाबाट कसरी दास बनाउन सकिन्छ भन्ने आशयको प्रतिवेदन दिए सन् १८३५ फेब्रुअरी २ तारिखमा।उनलाई ब्रिटेन सरकारले भारतीयहरूलाई परम्परागत धर्म र संस्कृतिबाट कसरी विमुख गर्न सकिन्छ भन्ने अध्ययन गर्न पठाएको थियो। संसद्मा उनले दिएको लामो प्रवचनको सारांश छ–‘मैले भारतको चारैतिर भ्रमण गरेँ।एउटा पनि भिखारी भेटिनँ। चोर पनि भेटिनँ। धर्म, संस्कृति, नैतिकता, मूल्य/मान्यता र सभ्यता अप्रतीम छ। त्यहाँ आद्यात्मिक र सांस्कृतिक मेरुदण्ड भाँच्नुपर्छ। त्यो भनेको हाम्रो (युरोपको) शिक्षा पद्धतिबाट मात्र सम्भव छ। उनीहरूको प्राचीन शिक्षा पद्धति मास्नुपर्छ। ‘इङ्लिस’ भाषा व्यापक गराउनुपर्छ। त्यसो भएपछि संस्कृति मासिनेछ र हाम्रो राज चल्नेछ।’

छोराछोरीले संस्कृत, संस्कृति, सनातन र प्राचीन प्रणाली नबुझेकामा हामीलाई फिटिक्कै पीडा छैन। फरर अंग्रेजी बोलिदिए हरेक साल तिरेको लाखौँ रुपियाँले ठूलो उपलब्धि गरेको ठान्छौँ हामी। अन्तर्राष्ट्रिय भाषा, साहित्य जान्नु राम्रो हो तर ‘बा–आमा’ भनेको के हो भन्छ भने उसले भट्याउने ‘फादर–मदर’ घर परिवारलाई इधर न उधर ।

देशको सिमाना चिन्दैन। फुपू, माइजू, काकी र सानिमालाई एउटै डोकोमा राखेर आन्टी भन्छ। बाबुबाहेक उनका दाजुभाइ, भान्दाइ, मामा सबैलाई अंकल भन्छ। चैते दसैं, बुद्ध जयन्ती, भानु जयन्ती, शिवरात्रि, घोडेजात्रा, म्हपूजा, छठ पर्व, एकादशी, औँसी–पूर्णिमा केही बुझ्दैन। यार्तुङ र उँधौली–उँभौली झन् के बुझोस्। टाइ झुण्ड्याएर ट्याउँट्याउँ ‘इङ्लिस’ बोल्छ। के पढ्यो, उसैलाई थाहा छैन। गुरुजी चिन्दैन, पब्जी चिन्छ।

फिरङ्गी शिक्षाले राष्ट्र कमजोर बन्दैछ। आदर्श, नीति, सिद्धान्तबाट च्युत छन् दलहरू। मध्यरातमा ५ करोड रुपियाँ लुटेर कुनै बलियो दललाई १–२ करोड ‘चन्दा’ दिएपछि डाँका पनि आठ दश दिनमै मन्त्री बन्छ। भएका छन्। असल मान्छे राजनीतिमा आए भने नीतिनियममा चल्छन्। मतदाता, कार्यकर्ता वा सरकारी तलवजीवीमध्ये धेरैलाई इमानदार नेता चाहिएकै छैन। त्यसैले राष्ट्रको उत्थान–पतनमा जनता नै बढी दोषी छन् किनभने भ्रष्ट, नालायक र फिरंगीका प्रतिनिधिलाई भोट दिने उनीहरू नै हुन्।

पद्धति नै गलत छ भने त्यसले असललाई पनि भ्रष्ट बनाउँछ।अहिलेको अवस्थामा नेपालमा संसद्को निर्वाचन जित्न कम्तीमा १ करोड रुपियाँ खर्च गर्नैपर्छ। हिमाल, पहाड वा तराई कतै पनि जनताले चन्दा उठाएर असल मान्छेलाई जिताउँछौँ भन्दैनन्। चुनाव जित्ने मानिस लोकप्रिय भएर पुग्दैन, धनाढ्य र बेइमान हुनैपर्छ। केही अपवादबाहेक विदेशीको धनमा जित्ने धेरै छन्। राष्ट्रियता र राष्ट्रिय एकताको कुरा उनीहरू पनि गर्छन्। तसर्थ, बिगार्ने काम फिरंगीले मात्र होइन, हामीले नै गरिरहेका छौँ।

राष्ट्र बिग्रेको चिन्ता गर्ने धेरै छन्। इजरायल जस्तो ठूलो संघर्ष गर्नु नपरेको २००७ सालपछिको पुस्ताका कैयौँ ‘युवा’ आज पनि राजनीति गरिरहेका छन्। प्राण रहेसम्म उनीहरू पदविहीन, सुविधाहीन र सर्वसाधारण हुन चाहँदैनन्। जति नालायक भए पनि जनता उनीहरूलाई बोक्न तयार छैन। 

हाँस्य कवि चट्याङ मास्टरले लेखेका छन्– ‘हुने यिनै हुन्। पाउने यिनै हुन्।’ तसर्थ, कुर्सीमा बस्ने पात्रहरू बदलिए पनि नेपाली जनता आमूल परिवर्तन चाहँदैनन् भन्ने स्पष्ट भएको छ, बितेका १२/१३ वर्षमा। परिवर्तन चाहनेले जोखिम उठाउन चाहँदैनन्। सुनको थालमा कसैले सत्ताको चाबी टक्रयाउँदैन। लाखौँ जनतालाई सडकमा ल्याउन साहस, समर्थन र सामर्थ्य चाहिन्छ। अहिले जे भएको छ, त्यो गलत छ भन्ने विशाल जनशक्ति गतिलो नेतृत्व खोजिरहेको छ। लोभी र सुखभोगमा मात्रै अलमलिनेहरूबाट क्रान्ति सम्भव छैन।

प्रकाशित: १८ भाद्र २०७८ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App