२० मंसिर २०७८ सोमबार
विचार

विज्ञानका दीर्घकालीन प्रक्षेपण

मानव हितलाई केन्द्रमा राखेर अध्ययन अनुसन्धान गर्नु विज्ञानको कर्तव्य हो। अल्पकालीन समस्या समाधान र दीर्घकालीन जनकल्याणका खातिर काम गर्छन्, वैज्ञानिकहरू। केही दशक अघिसम्म पोलियो, दादुरा, बिफर लगायत रोगले बर्सेनि लाखौँ मानिस मारिन्थे। विज्ञानले खोप बनायो। रोगहरू नियन्त्रणमा आए, समस्या निर्मूल भयो। 

गत वर्ष भूमण्डलीय चुनौतीको रूपमा देखापरेको कोरोना भाइरस भ्याक्सिनको आविष्कारपछि झन्डै नियन्त्रणमा आइसकेको अवस्था छ। शताब्दीकै चुनौतीको रूपमा रहेका क्यान्सरजस्ता दीर्घरोगका समेत ओखती बन्ने र छिट्टै काबुमा आउने देखियो। त्यस्तै, कृषिमा भित्रिएको वैज्ञानिक प्रविधि र अनुसन्धानका कारण अन्नको उत्पादन बढ्यो, भोकमरी नियन्त्रणमा आयो। यसरी कृषि र आयुर्विज्ञानका क्षेत्रका अनुसन्धानका कारण मानिसको आयु निकै बढ्यो।  

हामीलाई दीर्घजीवी बनाउन मात्र होइन, यातायात, सञ्चार लगायत देखिने तथा भोगिने भौतिक साधन तथा सुविधा विज्ञानका उपज हुन् भन्दा अन्यथा नहोला। वैज्ञानिक अनुसन्धान तथा औद्योगिकीकरणका कारण एकातिर मानिसको जीवन सुखमय भएको छ भने औद्योगिकीकरणका कारण धेरै किसिमका समस्या भित्रिएका पनि देखिए। आधुनिकीकरणका क्रममा ‘खनिज तेल’को प्रयोग अत्यधिक बढ्यो। खनिज तेल दोहनका क्रममा ‘कार्बन डाइअक्साइड’ उत्पन्न हुन्छ। उकासिँदो ‘कार्बन डाइअक्साइड’ ग्यासका कारण वायुमण्डलीय सन्तुलन बिथोलियो। आवधिक तथ्यांकले औद्योगिकीकरणपछि हावामा कार्बन डाइअक्साइडको मात्रा झन्डै ५० प्रतिशत बढेको देखायो।  

वायुमण्डलको तापक्रम बढाउने चरित्र भएका ग्यासलाई ‘ग्रिन हाउस ग्यास’ भनिन्छ। ग्रिन हाउस ग्यासअन्तर्गत मिथेन, ओजोन, कार्बन डाइअक्साइड लगायत हावा पर्छन्। औद्योगिकीकरणपछि अन्यका तुलनामा अत्यधिक रफ्तारमा घनत्व बढेका कारण कार्बन डाइअक्साइडका बारेमा चिन्ता गरिनु अन्यथा भएन। उल्लिखित ग्यासले सूर्यका किरण सोसेर ‘विकिरण’ विधिमार्फत सौर्य ऊर्जा वायुमण्डलमा पुर्‍याउँछन्। त्यसले गर्दा पृथ्वीको तापक्रम बढ्छ। त्यसैले पृथ्वीको तापक्रम स्थिर राख्न ‘ग्रिन हाउस ग्यास’को परिणाम नियन्त्रण गर्नुपर्छ। तर, खनिज तेलमा आधारित औद्यागिक युगमा ग्रिन हाउस ग्यासको नियोजन असम्भव देखिन्छ।  

पछिल्लो एक सय वर्षमा पृथ्वी सतहको तापक्रम एक डिग्री सेल्सियसभन्दा अधिक बढेको देखियो। तापक्रम उकासिने क्रम रोकिने कुनै सम्भावना छैन। भर्खरै झन्डै १३ सय विशेषज्ञ वैज्ञानिक सम्मिलित ‘द इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ले एउटा प्रतिवेदनमार्पmत पृथ्वीको तापक्रम अर्को एक सय वर्षभित्र पाँच डिग्री सेन्टिग्रेड बढ्ने बतायो। साथै, सन् २०१६ देखि २०२० सम्मको ‘ग्लोबल टेम्पेरेचर’ विश्लेषणले समेत पछिल्ला वर्षमा गर्मी बढ्यो नै भन्छ। कुनै निश्चित स्थान र भू–भागमा तापक्रम तल–माथि भएको देखाए पनि बृहत्तर अध्ययनले पृथ्वीको सतह बर्सेनि न्यानो हुँदै गएको देखायो। अब तापक्रम बढ्दा वातावरण सन्तुलन कसरी बिग्रन्छ त ?

तापक्रम बढ्दा हिमनदी तथा हिमतालका आकार घट्दै गए, सधैँ हिउँले भरिने टाकुरा नांगा हुन थाले। सदैव चिसो हुने उत्तरी र दक्षिणी गोलाद्र्धमा हिउँका रास बिस्तारै खुम्चँदै गएको देखियो। यसरी पहाड तथा गोलाद्र्धका हिउँ पग्लिएपछि समुद्रको सतह बढ्नु अस्वाभाविक भएन। समुद्री सतह बढेपछि तटका बसाइ चुनौतीपूर्ण हुने नै भयो, बाध्यात्मक स्थानान्तरण अपरिहार्य बन्न थाल्यो। तटीय बस्ती समुद्रमा विलीन हुने भए।  

वातावरणीय असन्तुलनका कारण नियमित वर्षा हरायो। अनि अल्पवृष्टि तथा अनावृष्टि नियति बन्यो। कहिले अत्यधिक वर्षाले विनाश गर्ने अनि कुनै साल खडेरीको चपेटामा पर्नु नियति बन्यो। हालै मेलम्चीमा देखिएको बाढी–पहिरोजस्ता घटना संसारकै नियति बन्यो। विश्वभरि नै नियमित वितरणको बदला कुनै ठाउँमा अत्यधिक पानी पर्ने अनि अर्को ठाउँमा पटक्कै बादल नउठ्ने अवस्था देखियो।  

तापक्रममा आउने परिवर्तनले हावाको चाप परिवर्तन गर्छ। अत्यधिक चाप भएको स्थानबाट न्यून चाप भएको स्थानमा प्रवाह हुनु वायुको चरित्र हो। पछिल्लो समयमा देखिएको उकासिँदो तापक्रमका कारण हावाको चापको ढाँचालाई ‘ग्लोबल’ हिसाबले नै परिवर्तन गर्‍यो। चिसो हावा बहनुपर्ने स्थान र समयमा तातो पवनले सुसेल्दा गर्मी हुने नै भयो। यसरी हिउँदमा ग्रीष्मको महसुस गर्नुपर्ने अनि विपरीत ऋतुको अनुभवको जड बढ्दो पृथ्वीको तापक्रम देखियो। पछिल्ला वर्षमा देखिएका अनियमित बेमौसमी मनसुनी वर्षाका लागि तापक्रमलाई दोष दिनुपर्ने भयो।  

वातावरण सन्तुलनका क्षेत्रमा काम गर्ने वैज्ञानिकहरू ग्रिनहाउस ग्यासका कारण पृथ्वीको तापक्रम बढेकाले त्यसलाई स्थिर राख्न सम्बन्धित वायुको उत्पादनमा व्यापक कटौती गर्नुपर्ने भन्छन्। उक्त सिफारिसलाई कार्यान्वयन गर्न सके ग्रहको तापक्रम बढ्ने गतिलाई धेरै हदसम्म घटाउन सक्ने ठहर गर्दै संसारका विकसित राष्ट्रले ‘फोसिल फ्युल’को प्रयोग घटाउने प्रतिबद्धता जाहेर गरे। परिणामतः कार्बन डाइअक्साइडको प्रमुख स्रोतका रूपमा रहेको कोइला तथा खनिज तेलको बदला अन्य वैकल्पिक ऊर्जाको उत्खनन गर्ने क्रम सुरु भयो। इलेक्ट्रिकल, सोलार पावरको क्षेत्रमा अनुसन्धान बढ्यो। तर, के ती प्रयास लक्ष्य भेदनका लागि पर्याप्त छन् त ?  

कार्बन डाइअक्साइडको उत्पादन घटाउँदा पृथ्वीको ‘वार्मिड ट्रेन्ड्स’लाई केही हदसम्म घटाउन सकिए पनि उक्त कार्यले मात्र ग्रहलाई प्रतिकूल अवस्थाबाट लामो समयसम्म जोगाउन सकिँदैन भन्ने वैज्ञानिकको समूह ठूलो छ। विज्ञले त्यस्तो सोच राख्नुको मुख्य कारण करोडौँ वर्ष अघिको हिमक्षादित पृथ्वी अहिलेको अवस्थामा आउनुमा मानवीय क्रियाकलापको कुनै भूमिका नरहेको देख्नु नै हो। ‘ह्युमन एक्टिभिटिज’बिना पनि लाखौँ वर्षको अन्तरालमा पृथ्वीको तापक्रम कैयौँ डिग्रीले बढ्छ। मानव सभ्यतालाई अर्को हजारौँ वर्षसम्म जोगाउन ठोस कदम आवश्यक देखियो। ग्रिन हाउस ग्यासको उत्पादन शून्य गरेपछि पृथ्वीको तातिने क्रम नरोकिने बरु सुस्त मात्र हुने भएकाले पृथक् मार्ग आवश्यक देखियो।  

वैज्ञानिक आविष्कारका लागि सिद्धान्तको प्रमाणीकरण आवश्यक पर्छ। सानो स्वरूपमा गरिएको प्रयोगको नतिजाले बृहत् वैज्ञानिक अन्वेषणको मार्गचित्र कोर्छ। सन् १९९१ मा फिलिपिन्सको पिनाटुबो पर्वतमा ज्वालामुखी विस्फोट भयो। उक्त विस्फोटका क्रममा झन्डै दुई करोड टन सल्फर डाइअक्साइडका अतिरिक्त विभिन्न प्रकृतिका सूक्ष्म कर्ण वातावरणमा आए। अन्ततः पृथ्वी सतहभन्दा झन्डै १० किलोमिटर माथिको ‘स्ट्राटोस्फेयर’मा फिँजारियो, सतह ढाक्यो। वायुमण्डलको माथिल्लो तहमा सूक्ष्म कण पैmलिएपछि कुहिरीमण्डल बन्यो। 

सूक्ष्माणुले शौर्य प्रकाश परावर्तन गरेका कारण सूर्यको तेज जमिनमा परेन। १८ महिनापछि पृथ्वीको सरदर तापक्रम झन्डै आधा डिग्री सेल्सियसले घट्यो। ग्रहको तापक्रम औद्यागिकीकरण पूर्वको अवस्थामा फर्कियो। पिनाटुबो ज्वालामुखी एउटा ठूलो प्रदूषणकारी विध्वंश थियो। तर, उक्त प्रकोपले सूक्ष्म कणलाई वायुमण्डलको उपल्लो तहमा परत मिलाएर राख्ने हो भने ग्रहको तापक्रम सजिलै घटाउन सकिने सन्देश दियो।  

वैज्ञानिक सदैव अनुसन्धानका भोका हुन्छन्, सूक्ष्म आशाका किरणको पछि लाग्छन्। नभन्दै त्यस्तै भयो। अमेरिकाको हावर्ड विश्वविद्यालयका प्राध्यापक फ्रांक कुस्चले पिनाटुबो ज्वालामुखीमा देखिएको प्राकृतिक दृश्यलाई ‘सोलार जियोइन्जिनियरिड’ प्रोजेक्टका रूपमा सुरु गरे। चुनढुंगाको सूक्ष्म कणलाई वायुमण्डलको ‘स्ट्राटोस्फेयर’ सतहमा छर्न सके पृथ्वी सतहको तापक्रम सजिलै घटाउन सकिने उनको मान्यता हो। त्यसो गर्न सके सूर्यका किरण जमिनमा पुग्नुअघि नै चुनढुंगाको कणमा ठोक्किई अन्तरिक्षमा परावर्तन हुने भएकाले पृथ्वीको तापक्रम घटाउन सकिने देखियो। प्राध्यापक कुस्चले ल्याबमा विभिन्न चरणका अन्वेषण गरे, नतिजा पनि सकारात्मक आयो। ‘स्ट्राटोस्फेयर’ पृथ्वी सतहभन्दा निकै माथि भएकाले वातावरणीय प्रभावको असर खासै नपर्ने भएकाले एकपल्टको लगानीले लामो समयसम्म प्रतिफल दिने ठान्छन्, डा कुस्च।  

हावर्डको ‘सोलार जियोइन्जिनियरिड प्रोजेक्ट पृथ्वीको सतह चिस्याउन सहायक सिद्ध हुने देखिए पनि जलवायु परिमार्जनसम्बन्धी योजनाले विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्ने भएकाले बहुआयामिक प्रभावकारिता विश्लेषणको दरोकार पर्छ नै। उदाहरणका लागि हरियो वनस्पतिले सूर्यको किरणको उपस्थितिमा ‘फोटोसिन्थेसिस’ विधिमार्फत खाना (ग्लुकोज) बनाउँछ। 

फोटोसिन्थेसिसकै कारण वनस्पति रहेका कारण यस जगत्मा प्राणीको अस्तित्व रहेको यथार्थ बिर्सन सकिन्न। यसरी ‘सोलार जियोइन्जिनियरिड’मार्फत सोलार लाइटको प्रभावकारिता घटाउँदा ‘ग्लोबल फुड’को अवस्था कस्तो होला ? संसारमा खाद्यान उत्पादन घटी भोकमरी आउला कि भन्ने हेर्नैपर्ने हुन्छ। पृथ्वी सतहको तापक्रममा केवल १–२ डिग्री सेन्टिग्रेडको परिवर्तनले वातावरणीय उथलपुथल पार्न सक्ने भएकाले पृथ्वीको टेम्पेरेचरसम्बन्धी निर्णय गर्नुअघि सम्बन्धित पक्ष चनाखो हुनुपर्छ।  

पृथ्वीको अहिलेको तापमान मानव सभ्यता फस्टाउन उचित देखियो। पछिल्लो समय पृथ्वीको तापक्रम अनियन्त्रित रूपले बढ्दै जाने र त्यसलाई नियन्त्रण गर्ने कुनै संयन्त्र विकास गर्न नसक्ने हो भने वातावरणीय परिवर्तन धान्न नसकेर मानव अस्तित्व मासिन सक्ने देखियो। एकातिर पृथ्वीको तापक्रम नियन्त्रणका लागि सूर्यको किरणलाई नियोजन गर्नुपर्ने दखियो भने अर्कोतिर उक्त छेकबारले कृषि उत्पादन तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने सम्भाव्यता देखियो। 

यस्तो अवस्थामा सूक्ष्म अन्वेषण आवश्यक हुन्छ नै। वैज्ञानिकले तत्कालीन दुःख हरणका लागि मात्र काम गर्दैनन्, बरु मानव सभ्यतालाई नै चुनौती दिने ‘ग्लोबल वार्मिड’जस्ता सर्वोच्चतम समस्या समाधानका खातिर समेत सोच्छन् भन्ने देखियो। विज्ञानले ग्रहको उपयोग मात्र गर्दैन, बरु पृथ्वीलाई जोगाउन पनि भूमिका खेल्छ भन्ने ध्यान दिन आवश्यक देखियो। 

प्रकाशित: १५ भाद्र २०७८ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App