८ कार्तिक २०७८ सोमबार
विचार

रामकुमारीको त्यो तस्बिर

बाइरोडको बाटोमा

‘तुफान आना भी जरुरी होता है जिन्दगी में, तभी पता चलता है कि कौन हाथ पकड़ता हैं और कौन साथ छोड़ता है’ अर्थात् ‘जिन्दगीमा तुफान आउनु पनि जरुरी हुन्छ, त्यसपछि थाहा हुन्छ कसले हात समात्छ र कसले छाड्छ। ’

पत्रकार बबिता बस्नेतको फेसबुक स्टाटसले तस्बिर भन्दा बढ्ता भावुक बनाएको छ। नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका बेला नेता माधवकुमार नेपालको हात बलियोसँग समाएर गइरहेकी युवा नेतृ रामकुमारी झाक्रीको तस्बिरमाथि अनेकन कोणबाट व्याख्या भएका छन्।    

समय परिस्थितिको बाध्यता वा रणनीतिक हिसाबले नेपालपक्षीय भनेर चिनिएका दोस्रो पुस्ताका नेता त्यो बेला आसपासमा देखिएनन्। झाक्रीले भने उनलाई यो कठिन घडीसम्म पनि साथ दिइरहिन्। यो तस्बिरका कारण नेकपा (एमाले) विभाजन गरेकामा नेपाललाई गाली गर्ने भन्दा नेतृ झाक्रीको निरन्तरको विद्रोही भूमिकालाई लिएर बढ्ता चर्चा भएको छ।  

एक, यो बेला धेरैले युवा नेतृत्वप्रति आशापूर्ण नजरले हेरिरहेका छन्। प्रमुख राजनीतिक दलको नेतृत्वमाथि गुनासो हुँदाहुँदै पनि आफूले भर गर्न सकिने युवा नेताहरू को हुन सक्लान् भन्ने खोजी भइरहेको छ। यसै पनि समाजले प्रत्येक कालखण्डमा आदर्श नेतृत्वको खोजी गरिरहेको हुन्छ।  यस्तैका काँधमा देशको भार रहोस् भन्ने चाहना हुन्छ नै।  

युवा नेतृ झाक्रीको यो सशक्त तस्बिरसँगै मेरो मन भने विगततिर फर्किरहेको छ।  २०४६ सालको जनआन्दोलन सफल भएपछि ‘साप्ताहिक विमर्श’ मा एउटा समाचार छापिएको थियो–को हुन् जे एन ? भूमिगत राजनीति गरिरहेका तत्कालीन नेकपा (माले)का नेतालाई सबैले चिनेका थिएनन्। त्यो बेला नेता झलनाथ खनाललाई चिनाउन त्यो समाचार लेखिएको थियो। जनआन्दोलनको सफलतापछि खनाल मन्त्रीसमेत भएका थिए। अहिलेसम्म पनि उनै खनाल विद्रोहकै बाटोमा छन्। नेपालले बनाएको नयाँ दललाई साथ दिन उनले उपचारकै सिलसिलामा रहँदा पनि बोलिरहेका छन्।  

पञ्चायतका बेला हामी नेताको अनुहार खोजिरहेका हुन्थ्यौँ। ती अनुहार सार्वजनिक थिएनन्। तर, तिनका काम र नाम आदर्श थिए। राष्ट्रिय पञ्चायत वैठकमा तत्कालीन सांसद पद्यरत्न तुलाधरले रुँदै गरेको भाषण कालान्तरमा हामी विद्यार्थीका निम्ति आफूलाई राजनीति बुझाउने एउटा माध्यम बनेको थियो। हामीले लुकेर त्यो भाषण सुनेका थियौँ। समयको उच्छवास महसुस गरेका थियौँ। कैयन् नेता भने कस्तो छन् देख्नै पाइएन। जब ती भूमिगत जीवन त्यागेर बाहिर आए हामीले खोजेको आदर्श त्यहाँ थिएन।  

सिपी मैनाली, राधाकृष्ण मैनाली आदि त्यो समयका जल्दाबल्दा नाम हुन्।  परिवर्तन भर्खर भएका बेला भारतीय पत्रिकाहरूले कैयन् नाम राम्ररी उच्चारणसमेत गर्न सकेका थिएनन्। कृष्णप्रसाद भट्टराईलाई ‘कृष्णप्रसाद भट्टारी’, राधाकृष्ण मैनालीलाई ‘राधाकृष्ण पैन्युली’ आदि लेखेका समाचार पढेर आश्चर्यमा परिन्थ्यो।  

समय धेरै छिटो अगाडि बढिसकेको छ। आज भन्दा तीस वर्षअघि आएका यी नेता अहिले क्रमशः सत्तरीको दशकमा पुगिसकेका छन्। तिनका ठाउँमा रामकुमारीहरू देखिन थालिसकेका छन्।  गगन थापाहरू, रामकुमारीहरू आदि पनि अबका केही दशकमा यस्तै स्थितिमा पुग्छन्। रामकुमारीले यस पटक नेपालको हात पक्रेर अगाडि बढाएको दृश्य भने साह्रै भावुक बनाउने किसिमको छ। अबको प्रत्येक युवा नेतृत्वले यसरी नै समयलाई आफ्नो पकडमा राखेर अगाडि बढ्ने बेला आएको छ। त्यसो हुने हो भने परिवर्तन संस्थागत हुन्छ। हाम्रो भविश्य पनि सुरक्षित हातमा हुनेछ।  

नेपाल यस पटक निर्वाचन आयोगमा जाँदा पनि ‘अन्डरडग’ हरूलाई लिएर पुगे। चिनिएकाहरू त्यहाँ थिएनन्।  चिनिएकाहरू फेरि पनि एमाले अध्यक्ष खड्गप्रसाद ओलीबाट सकारात्मक कदम चालिने अपेक्षा गर्दै पर्खिरहेका छन्। ओलीलाई सबै भन्दा बढी चिन्ने व्यक्ति नेपालले अब केही हुन सक्दैन भनेर अर्को दल बनाउन हिँडिसक्दा पनि दोस्रो पुस्ताहरू अझै उनी परिवर्तित हुने अपेक्षामा छन्।  प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा पनि नेपाल त्यसरी नै एक्लै बसिरहेका थिए। मतदान गरिसकेर उनी एक्लै बसेको दृश्यले धेरैलाई सोच्न वाध्य बनाएको थियो। मनमा चोट नपरी ६९ वर्षको उमेरको कोही व्यक्ति नयाँ दल बनाउन हिँड्दैन। राजनीति सकिदिन लागेपछि अरू उपाय के छ र ? यस हिसाबले पनि रामकुमारी जस्ता वलिष्ठ हात यतिबेला चाहिएको छ।  

राजनीतिमा वचनको पक्का हुनु सजिलो छैन।  पछिल्ला दिनमा राजनीति वचनको पक्का हुनु भन्दा बढी ढाटढुटमा चलेको छ। नेपालको संविधान, २०७२ र लोकतन्त्रमाथि नै धावा बोल्न थालेपछि नेपाल त्यसविरुद्ध अन्तिम संघर्षमा होमिएका छन्। आफैँले बनाएको दल, आफैँसँग विगतमा काम गरेका नेताका विरुद्धमा विद्रोह गर्नु सहज छैन। परिस्थितिले उनीबाट त्यही माग्यो। जीवनलाई सुविधाको स्थानमा मात्र राखिरहनेले आफूलाई कहिल्यै परिवर्तनको कारक बनाउन सक्दैन। त्यसका निम्ति नेपाल तयार भएका हुन्। र, रामकुमारीहरू त्यो विद्रोहको राँको लिएर अघि बढ्न तयार भएको देखिएको छ।  

यसले देखिने गरी केही परिवर्तन गरिसकेको छ। अहिलेका नेताहरू भन्दा कुनै अर्थमा कम योगदान नभएकी अष्टलक्ष्मी शाक्य जस्ता नेतालाई वाग्मती प्रदेशको मुख्यमन्त्री बन्न नेपाल निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न जानैपरेको छ। सात प्रदेश रहेको मुलुकमा एक प्रदेशसमेत महिलाका निम्ति खाली हुन सकेन।  ओलीले बल्ल अष्टलक्ष्मीलाई पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर दिएका छन्।  यस अर्थमा पनि रामकुमारीले डोहोर्‍याएको त्यो हातको अर्थ छ।  

आफूले वर्षौंँ नेतृत्व गरेको दल छाडेर यतिबेला नेपाल नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्।  उनी त्यो दिनसम्म प्रतीक्षा गरिरहे जुन दिनसम्म उनलाई सांसद पदबाटै हटाउने गरी प्रतिनिधिसभा सचिवालयमा दर्ता गराइयो। नेपालले आफू निकट दोस्रो पुस्तालाई दल मिलाउन अभ्यास गर्ने समय पनि दिइरहे। तर तिनले दल मिलाउन ओलीसँग गरेको आग्रहले कुनै प्रतिफल निकाल्न सकेन।  

नेपालविरुद्ध एमालेको संस्थापन पक्षकाहरूले आरोप लगाएका छन्– आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर कांग्रेस नेतालाई प्रधानमन्त्री बनाएको, आफ्नै दल विभाजन गरेको आदि इत्यादि। यो विषय एमालेभित्रको राजनीतिमा मात्र सीमित छैन। यो मुद्दा बृहत्तर लोकतन्त्रसँग सरोकार राख्छ। समय परिस्थितिले आफ्नो दल भन्दा माथि उठ्नुपर्ने बाध्यता हुन्छ। आफ्नो दलको नेतामा पलाएको चरम अधिनायकवादी चरित्रविरुद्ध उभिनुबाहेक नेपालसँग विकल्प थिएन। यसकारण नेपालले सुरु गर्ने अर्को राजनीतिक यात्राका निम्ति ओलीबाट बेवास्तामा परेका कैयन् लामबद्ध हुन तयार भएको देखिएको छ।  

ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न राष्ट्रपति निवास पुगेका युवा नेता काम फत्ते नगरी फर्किएका थिए।  त्यसपछि ओलीले चालेका एकपछि अर्का कदमले मुलुकको राजनीतिलाई उल्टो बाटोतर्फ लगिसकेका थिए। उनको त्यो यात्रामा साथ दिन दक्षिणपन्थी शक्तिहरूको सक्रियता हेर्न लायक थियो।  जसलाई लोकतन्त्रसँग कुनै साइनो रहेन ती पनि ओलीका निकै प्रिय बनेर देखापरेका थिए। पछिल्ला वर्षहरूमा लोकतन्त्रका नाममा उदाउन थालेका अधिनायकवादी शासनशैली छरछिमेकमै पनि देखिँदै छन्। यस कारण पनि भोलिको राजनीति जोगाउनुपर्ने आवश्यकता देखिएको हो। बंगलादेशी मोडलको राजनीति यहाँ ल्याउन खोजिएको चर्चा भइरहेकै छ।  

जनआन्दोलन २०६२३/६३ ताका रामकुमारीहरूको टाउको तत्कालीन अधिनायकवादी सत्ताले फोरेको हो। ती युवा सडकमा नआएका भए त्यही बेला मुलुक अँध्यारो सुरुङभित्र छिरिसकेको हो।  लोकतान्त्रिक शासन प्रणालीका विरुद्ध राजतन्त्र मात्र रहेनछ, आफ्नै दलभित्रसमेत रहेछ।  आज तिनै रामकुमारीहरूले फेरि त्यसका विरुद्ध सक्रिय हुनुपरेको छ। राजनीतिक नेतृत्व त्यतिबेला जन्मिन्छ, जतिबेला यथास्थितिविरुद्ध क्रियाशील हुने आँट आउँछ। नेपाललाई साथ दिएका यस पटकका कम नाम चलेका अनुहारहरू आफैँमा भोलिका निम्ति भरलाग्दा आशाका किरण हुन्। सधैँ ‘सेलिब्रिटी नेता’ बोकेर राजनीति अगाडि बढ्दैन। भाइरल भइसकेको रामकुमारीको त्यही तस्बिर फेसबुकमा राख्दै मिडिया अध्येता भानुभक्त आचार्यले लेखेका छन्– युवाहरूले वृद्ध नेता घिसार्ने कि वृद्ध नेताको टाँगमुनि टाउको लुकाउने... अप्ठेरो परेका बेला साथ छोड्नु हुन्न।  

यस्तै यस्तै भावना प्रष्फुटित भएका छन् अरू धेरैबाट। वास्तवमा हाम्रो अहिलेको राजनीतिको विडम्बना अप्ठेरो बेलामा साथ छाड्ने हो। यतिबेला नेपाल निकट भएर आफ्नो व्यक्तित्व बनाएका धेरै युवा नेताहरूलाई आममानिसले जिज्ञासापूर्वक हेरिरहेका छन्। तिनलाई नेपाल आफैँले सुरक्षित घरमा बस भनेर छाडिदिएका हुन् भने यो भन्दा उदात्त प्रेम के हुन्छ ? समयको प्रतीक्षामा उनीहरू छन्। यो न्याय र अन्याय छुट्याउने बेला हो।  सत्यको बाटोमा लाग्दा कठिनाइ हुन सक्छ तर त्यो अत्यन्तै मूल्यवान हुन्छ।  

रामकुमारी त समयले स्थापित गरेको एउटा बिम्ब भइसकेकी छन्। उनी जीवनमा सफल भए पनि नभए पनि अहिलेको उनको साहसलाई सलाम नगरी को रहन सक्छ र ? बलेको आगो सबैले ताप्छन्।  निम्न लागेको आगोका फिलिङ्गाहरू जगाउने नै यथार्थमा क्रान्तिकारी हुन्। पुस्तक पोथा पढेर होइन रामकुमारी भएर संघर्षलाई सफलतामा पुर्‍याउन सकिन्छ।

प्रकाशित: ६ भाद्र २०७८ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App