४ वैशाख २०८१ मंगलबार
विचार

शिव महिमायुक्त साउने सोमबार

२०७८ साउन महिनामा पाँच सोमबार परेका छन्। पशुपतिनाथलगायत नेपाल, भारतका कैयौँ शिव मन्दिर, शिवालयमा साउनको सोमबार हरेक बर्ष हिन्दु नरनारी खास गरेर हिन्दु महिला आस्थाका साथ पूजाआजा, आराधना गर्न पुग्छन्। पशुपतिनाथ हिन्दुका आराध्यदेव हुन्। हिन्दु तथा बौद्धले पशुपतिनाथका साथै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा मान्छन्। कैलाश मानसरोवर शिवजीको क्रिडा तथा तपस्थान र हिन्दु तथा बौद्धको पवित्र तीर्थस्थल हो। अहिले तिब्बतमा परे तापनि यो क्षेत्र पनि हिमवत्खण्डको भूभाग हो। विशाल नेपालको एकीकरण भएका समयदेखि कैलाश मानसरोवर क्षेत्र नेपालकै थियो। 

कहिलेदेखि कैलाश मानसरोवर तिब्बतको हुन गयो ? यसको एकीन समय जानकारीमा छैन। यसमा अझै पनि नेपाल सरकार र चीन सरकारबीच समझदारी गरेमा कैलाश मानसरोवर शिवजीको बासस्थान नेपालकै हुन सक्थ्यो। मलाई लाग्छ– हुम्लादेखि कैलाश मानसरोवरसम्म जाने बाटो र कैलाश मानसरोवरले चर्चेको भूभाग मात्र नेपालको रेखदेखमा भएका चीन सरकारसँग नेपाल, भारत र विश्वभरका हिन्दुहरू आभारी हुने थिए। अहिले तिब्बत–चीनको अधीनमा कैलाश मानसरोवर भए तापनि हरेक हिन्दु तथा बौद्धहरू कैलाश मानसरोवरमा बिना रोकटोक यात्रा गर्न स्वतन्त्र रहन्छन्।  

अराध्यदेव पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिङ्ग आदि विभिन्न नामले पुकार्ने गरिन्छ। नेपाल तथा भारत हिन्दु धर्म दर्शनको उद्गम हो। साउनको सोमबार शिवजीको जन्म दिनस्वरूप भक्तिपूर्वक धूमधामका साथ मनाइन्छ। साउनको सोमबारमा बोलबमको नाममा राता र पहेँला वज्र लगाएका महिला/पुरुषबाट पवित्र नदीहरूको जल घडामा लिएर पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, धरानको पिण्डेश्वरलगायत नेपाल, भारत र विश्वका सिंगारिएका शिवजीका मन्दिरहरूमा हिन्दुहरूबाट भक्तिपूर्वक जल चढाइन्छ। 

प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको उल्लेख छ। अठार पुराणहरू सबैमा शिवको महिमा छ। शिव पुराण शिवजीको बयानको वृतान्त हो। पशुपतिनाथभित्र हिन्दुहरूलाई मात्र प्रवेश भन्ने मूल ढोकामा सूचना टाँसिएको छ। सूचना पढेर कतिले त्यसको विरोधमा टीकाटिप्पणी गर्ने गरेका छन्। मस्जिद र चर्चहरूमा अन्य धर्मावलम्वीलाई कस्तो व्यवहार गरिन्छ भन्ने कुरा पनि अध्ययनको विषय भएको छ। भगवानको दर्शन गर्ने कुरामा कसैलाई रोकटोक हुनुहुन्न भन्ने कुरा राम्रो लागे तापनि नेपालका हिन्दु मन्दिरहरूमा कतिपय कुरा स्थापित मान्यता भइसकेका छन्।  

हिन्दु संसारका धर्ममध्ये एक उदार र सहिष्णुवादी धर्म हो। इतिहासको कालखण्डमा हिन्दु देवस्थलहरू माथि आक्रमण हुन थालेपछि हिन्दु मन्दिर र धामहरूमा हिन्दुबाहेक अन्य धर्मावलम्बीलाई रोक लगाउन प्रारम्भ भएको हो। विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतीस हजार मुसलमान पल्टन लिएर नेपालका  मन्दिर तथा बिहारहरू ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिरसमेत ध्वस्त पार्ने धृष्टता गरेका थिए। लिच्छवि वंशका अन्तिम राजा जयर्जुनदेव कमजोर राजा भएकाले त्यही मौका छोपेर मुस्लिम आक्रमणले सारा हिन्दु तथा बौद्धहरूमा कोलाहल मच्चियो। त्यस्तो विकराल अवस्थाबाट यस क्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा र लमजुङका राजाहरूको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे। तीस हजार चार सय मारिए र छ सय जति बाँचेर भागे। (भक्तपुर तलेजु स्तम्भको शीलालेख)  

जयस्थिति मल्ल काठमाडौँ उपत्यकाको राजसिंहसानमा बसेर पशुपति क्षेत्रमा जीर्णोद्घार तथा पुनरुत्थान गरी वाग्मतीपारि राम मन्दिर निर्माण गरे र नेपाल सम्वत् ४७० मा कुम्भेश्वर महादेव स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु इतर आक्रमणकारीहरूबाट बाँच्नका लागि हिन्दु तथा बौद्धलाई मात्र प्रवेश र अरूहरूका लागि प्रवेश निषेध गर्ने नियम चलाएकाले अहिलेसम्म त्यही परम्परा चल्दै आएको छ। संविधानहरू समयानुकूल परिवर्तन भइरहन्छन् तर परम्परागत स्थापित मान्यताहरू संविधान भन्दा माथि हुने भएकाले परम्पराका रूपमा त्यसको समर्थन हुँदै आएको छ। यस्तो परम्परा अन्य धर्ममा पनि प्रशस्त छन्।  

पशुपतिनाथलगायत नेपाल, भारत र विश्वका कैयौँ शिव मन्दिर, महादेवस्थान, गोसाइँ–कुण्ड, पिण्डेश्वर, डोलेश्वर महादेवलगायत अनेकौँ शिवालयमा शिवरात्रि, अक्षतृतिया, एकादशी, साउनको सोमवार, बालाचतुर्दशी, तीज, गोकर्णे औँसी, स्वस्थानी आदि दिनमा भगवानको आराधनाका लागि हिन्दु नरनारीको घुइँचो लाग्छ। हिन्दु तथा बौद्धहरूले पशुपतिनाथका साथै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा मान्छन्। पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिङ्ग आदि विभिन्न नामले पुकार्ने गरिन्छ। 

साउनको सोमबार शिवजीको जन्म दिनस्वरूप भक्तिपूर्वक धूमधामका साथ मनाइन्छ। साउनको सोमबारमा बोलबमको नाममा राता र पहेँला बस्त्र लगाएका महिला पुरुषबाट पवित्र नदीहरूको जल घडामा लिएर पशुपतिनाथ र शिवमूर्तिहरूमा भक्तिपूर्वक चढाउने कार्य हुन्छ। समय समयमा राजनीतिक परिवर्तन हुँदै आए तापनि हाम्रा धाम र मन्दिरहरूको परम्परागत मान्यता र पहिचान बचाउने कार्य हुँदै आएको छ। हिन्दुहरूको नेपाल, क्रिस्चियन र यहुदीहरूको जेरुसेलम, मुसलमानहरूको मक्का मदिना पवित्र स्थल मानिन्छन्। क्रिस्चियनहरूको क्रस र चर्च, यहुदीको षडकोण, मुसलमानको नमाज तथा मस्जिद र हामी हिन्दु र बौद्धहरूको पशुपतिनाथ र स्वयम्भूनाथ त्यत्तिकै पूजनीय छन्।  

हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौँ उपत्यका रुद्रको अति प्रिय क्षेत्र हो। महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेका र लिच्छवि वंशका पहिला राजा ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ का रूपमा पशुपतिनाथ र वज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुतलीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवत्खण्डमा उल्लेख छ। विक्रम सम्वत् १७१४ भन्दा अगाडि संन्यासीहरू पशुपतिनाथका पुजारी थिए। त्यसपछि यहीँकै राजोपाध्यायहरूबाट पशुपतिनाथको पूजा गरिन्थ्यो। 

क्रमशः पशुपतिनाथका पुजारीको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरूलाई पशुपतिको भण्डारे बनाइए। पछि प्रताप मल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा दाइजोका रूपमा आएका र पछि तिनै तान्त्रिक भट्टहरूको मागअनुसार भट्टहरू पशुपतिनाथका पुजारी बनाइए। अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मूल भट्टसहित दक्षिण भारतका चार जना भट्ट पुजारी र १०६ जना नेवार भण्डारी छन्। पशुपति क्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरूलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ। भट्ट र भण्डारीहरू गृहस्त हुन्छन्। पशुपतिनाथको चार ढोका बिहान चार बजे खुल्छ। बिहान साँढे आठ बजे भट्टहरू भित्र प्रवेश गर्छन्।  

विक्रम सम्वत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका थिए– ‘पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति वाग्मतीको तिरमा हुनुहुन्छ र यहीँं पूज्य वाशुकी नाग पनि हुनुहुन्छ।’ राजाहरूमा प्रताप मल्लले पशुपतिनाथको धेरै सेवा गरेको पशुपतिनाथमा प्रशस्त शीलालेख पाइन्छन्। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा वंशावलीमा उल्लेख छ। पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका विजयपछि विक्रम सम्वत् १८२६ मा वसन्तपुर दरबारको अभिलेखमा उल्लेख छ– ‘राजा पृथ्वीनारायण शाहको वंश गुह्येकाली र पशुपतिको दुई पाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस्।’ 

यसैगरी शाहवंशीय राजाहरूमा रणबहादुर शाह र विक्रम सम्वत् १८६७ मंसिरमा राजा गिर्वाणयुद्धविक्रम शाहबाट पुजारीहरूको अलग अलग खान्की तोकिदिएका थिए। राजा महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साविकबमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजासम्बन्धी अनेकौँ लालमोहरहरू लागु हुँदै आएका छन्। हिमवत्खण्डका स–साना टुक्रामा विभाजित हिन्दु राज्यहरूलाई गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्व र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको सक्रियतामा  विश्वको एकमात्र हिन्दु अधिराज्य स्थापित हुन सकेको हो।  

संसारका सार्वभौमसत्ता सम्पन्न राष्ट्रमध्ये नेपाल पुरानो सार्वभौम पवित्र देवभूमि हो। हिमवत्खण्डबारेमा वशिष्ट ऋषिले लेखेका छन्– ‘भारतखण्डे उत्तरायणे हिमवत्खण्डे पूण्यभूमि–स्वर्णभूमि’–(वशिष्ट उपनिषद्)। यहाँका हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदीहरू, ताल, धाम, जंगल, भूभागले सिँचित छ। उता भारतखण्डमा एक हजार वर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दु र बौद्धका अस्मिताहरू तोडफोड गरेर बिटुलो बनाएर आफ्नो भाषा, धर्म र संस्कृति लाद्ने काम गर्‍यो। एकमात्र पवित्र भूमिका रूपमा सुरक्षित हुँदै आएको सार्वभौम–नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ।  भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँ–कुण्ड, बाराह क्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ, पाथिभरा जस्ता प्रसिद्ध धाम छन्। भारतमा अवस्थित तिरुपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्धवासिनी, कामाक्ष–कामरूप आदि पवित्र स्थलहरूमा नेपाल र भारतबीच त्यत्तिकै तादात्म्यता छ। 

समय समयमा पशुपतिनाथमाथि आक्रमण नभएको होइन। विक्रम संवत् १४०० तिर मुसलमान र र विक्रम संवत् २०६५ मा माओवादी सरकारमा रहेको बेला परचक्रीहरूको इशारामा पशुपतिनाथको अस्मिता र महिमामाथि आक्रमण नभएको होइन। तर जति नैं अपमान गर्न खोजे तापनि पशुपतिनाथको ज्योतिर्गमय स्वरूप अजर–अमर रहिआएको छ। तर अराध्यदेव पशुपतिनाथ र यस क्षेत्रको प्रतिष्ठा वृद्धि गर्नमा प्रयन्तशील हुनुपर्नेमा पशपतिनाथ क्षेत्रभित्र रहेका १०८ शिव मन्दिरहरूमा पूजा आराधना गर्न कतै शिवजीको मूर्ति छैन, कतै मन्दिर छ, मूर्ति छैन। कतिपय ठाउँमा मन्दिर पनि छ शिवजीको मूर्ति पनि छ तर त्यसका पूजारी नै हुन्नन्। 

पशुपतिनाथ क्षेत्रमा पहिला पहिला सनाइ, नगरा, सुरही, बाजाहरू बजेका हुन्थे, अहिले सुनिँदैन। त्यस्तै पशुपतिनाथ तथा यहाँका मन्दिरहरूमा घन्टहरू बजाइन्थे तर आजभोलि घन्ट  बज्दैनन्, कहीँ रालो छैन। यसरी परम्परागत घन्टहरूलाई तन्दुरुस्त राखेर यहाँ प्रस्तुत गरिएमा गुनासाहरूमा ध्यान केन्द्रित गरेर पशुपति कोषबाट यथाशीघ्र सुधार गरी यसलाई निरन्तरता दिइ यी प्रचलनलाई कायम नै राखिनुपर्छ। आराध्यदेव पशुपतिनाथको हामीले सम्मान गर्न सक्यौँ भने विश्वका हिन्दुहरूका लागि यो तीर्थस्थलको महानता अरू बढ्नेछ।

प्रकाशित: ३२ श्रावण २०७८ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App